Comments Add Comment

सितोरियो कराते टोली जापान प्रस्थान

२७ भदौ, काठमाडौं । सातौं विश्व सितोरियो कराते डो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बिहीबार जापानको टोकियो प्रस्थान गरेको छ ।

शनिबारदेखि सुरु भइ तीनदिनसम्म चल्ने उक्त प्रतियोगितामा समान ३-३ पुरुष/महिला खेलाडीले ६ व्यक्तिगत र २ टिम इभेन्ट गरी जम्मा ८ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ मुकुन्द्र महर्जनले ६७ केजीमुनि, एघारौं दक्षिण एसियाली खेलकुद -साग) का स्वर्णधारी सुनील लामाले ६० केजीमुनि र विजय लामाले ५५ केजीमुनि प्रतिस्पर्धा गर्नेछन् ।

महिलाको ६८ केजीमाथि एघारौं सागकी स्वर्ण विजेता गंगादेवी अधिकारी, ५० केजीमुनि अनु अधिकारी र ५५ केजीमुनि मल्लिका थापाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । नेपालले पुरुष र महिलाको टिम कुमुतेमा पनि सहभागिता जनाउनेछ ।

सन् २००० मा टोकियोमै भएको तेश्रो संस्करणमा नेपालले पुरुष टिम कुमुतेमा कांस्य जितेको थियो । सुरेन्द्रलाल श्रेष्ठको नेतृत्वमा रहेको टोलीले कांस्य जितेको हो । त्यो नै विश्व सितोरियो च्याम्पियनसिपमा नेपालले हासिल गरेको अहिलैसम्मकै ठूलो उपलब्धी हो । विश्व कराते महासंघका महासचिव इवाकी हासिमोतोको निमन्त्रणामा नेपाल सितोरियो कराते संघ एवं नेपाल कराते महासंघका संरक्षक समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव युवराज लामा पनि टोलीसंगै टोकियो प्रस्थान गरेका छन् ।

टोली नेतामा सितोरियो कराते संघ एवं कराते महासंघका अध्यक्ष दावा गुरुङ तथा प्रशिक्षकमा आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) का स्वर्णधारी दीपक श्रेष्ठ छन् । पदकको सम्भावना, नियमित प्रशिक्षण, अनुशासन र फिजिकल फिटनेसका आधारमा खेलाडी छनोट गरिएको प्रशिक्षक श्रेष्ठले जनाएका छन् । विश्व च्याम्पियनसिपमा सहभागी हुने सबै छ खेलाडी राष्ट्रिय टिमका हुन् ।, सबै खेलाडीको यो पहिलो विश्व च्याम्पियनसिप पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment