Comments Add Comment

क्यान्सर सम्मेलन : मनिषा, फत्तेमान र डा. वाग्ले

अरुण बराल

Arun Baralराजधानीको याक एण्ड यतिमा शुक्रबारदेखि रक्त क्यान्सरसम्बन्धी दुई दिने अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटनमा अभिनेत्री मनिषा कोइरालाले ‘क्यान्सर मृत्यु होइन’ भन्ने भावुक अभिव्यक्ति दिनुभएको छ ।क्यान्सरसम्बन्धी नेपालमा अन्तरराष्ट्रिय सम्मेलन भइरहँदा संयोग कस्तो परेको छ भने हामीले भर्खरै ‘मर्न बरु गाह्रो हुन्न’ बोलका बरिष्ठ गायक फत्तेमानलाई राजभण्डारीलाई फोक्सोको क्यान्सरका कारण गुमाउनुपरेको छ । अर्का डा. चित्रप्रसाद शर्मा वाग्ले आर्थिक अभावका कारण क्यान्सरको उपचार गर्न नसकेर मृत्यु पर्खेर बस्न विवश हुनुहुन्छ ।

क्यान्सरका कारण गायक फत्तेमानलाई मर्न गाह्रो भएन त, डा. वाग्लेलाई गाह्रो भइरहेको छ । यस्तो बेलामा डा. वाग्लेको मनले शायद सोधिरहेको हुनुपर्छ- मनिषाजी, क्यान्सर कसरी मृत्यु होइन ? फत्तेमानको ‘आत्मा’ले पनि अवश्यै सोध्ला- ‘म अलि समय बाँच्ने थिएँ कि ? मेरो उपचारमा कहाँनेर गल्ती भयो ?’

क्यान्सर मृत्यु होइन भन्ने अभिनेतृ मनिषा कोइरालाको अभिव्यक्ति उहाँको जीवनको अनुभूतिजन्य निश्कर्ष हो । यो अभिव्यिक्तमाथि शंका गरिरहन किन जरुरी छैन भने मनिषा आफैंले क्यान्सरसँग ६ महिनाभन्दा बढी समय संघर्ष गरेर आफूलाई विजयी बनाउनुभएको छ । क्यान्सर मृत्यु होइन भन्ने उहाँको अनुभवबाटै शिद्ध भइसकेको विषय हो । मनिषाको यो अभिव्यक्तिले क्यान्सरसँग जुधिरहेका हरेक विरामीको मनोबल बढाउन र रोगसँग लड्ने क्षमता अभिवृद्धि गराउन पक्कै पनि योगदान पुर्‍याउने छ । आफ्नो फाऊको जीवन क्यान्सर पीडितहरुको सेवामा लगाउने मनिषाको प्रतिवद्धता पनि सह्रानीय छ ।

तर, मध्यमवर्गको मान्छेले समेत क्यान्सरसँग जुध्ने बजेटको व्यवस्था गर्न सक्दैन भने गरिब वर्गको मान्छेलाई क्यान्सर लाग्यो भने ‘क्यान्सर मृत्यु हैन’ भनेर कसरी मान्न सकिएला ? कि क्यान्सरलाई गरिबहरुको मात्रै मृत्युको कारण मान्ने हो कि ? जबसम्म यो रोगको सामनाका लागि महंगो उपचार विधिको पहुँच सामान्य मानिससम्म पुग्न सक्दैन, त्यतिबेलासम्म क्यान्सर रोग हुनेखानेहरुका लागि सामान्य तर, हुँदा खानेहरुका लागि भने मृत्युको अवश्वंभावी कारण बन्ने खतरा छ । यसको प्रमाणका रुपमा डा. वाग्लेले बोकिरहनुभएको पेटको क्यान्सरलाई लिन सकिन्छ ।

करिव ३ सय विशिष्ट व्यक्ति एवं विज्ञहरुको सहभागितामा भइरहेको रक्त क्यान्सरसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा उपचार विधि वा मेडिकल साइन्सका विषयमा मात्रै होइन कि क्यान्सरको उपचारमा सर्वसाधारण एवं गरिब समुदायका मानिसले कसरी सहज पहुँच प्राप्त गर्न सक्छन् भन्नेमा पनि गम्भीर बहस गरिनुपर्ने खाँचो छ ।नेपाल सरकारले मृगौला र मुटुलगायतका केही रोगहरुमा नागरिकलाई सामान्य सहुलियत दिने नीति लिँदै आएको छ । तर, राज्यले गर्ने त्यस्तो सहयोग एकातिर पर्याप्त छैन भने अर्कोतर्फ सो सुविधाबाट धेरैले लाभ लिन सकेका छैनन् । पहुँचवाला र नेताहरुलाई राज्यबाट स्वास्थ्योपचार सम्बन्धी खर्च व्यहोर्ने विकृति हामीकहाँ नभएको होइन ।

जुन रोगको उपचार सम्भव छ र त्यो रोग मृत्युको कारक हैन, त्यस्तो रोगबाट आफ्ना नागरिकलाई मर्न नदिन राज्यले उपयुक्त प्रकारको स्वाथ्यनीति अवलम्बन गर्न जरुरी छ । राष्ट्रपतिको स्वास्थोपचारमा ६० लाख खर्च गर्ने राज्यले डा. वाग्लेले क्यान्सरको उपचारका लागि खर्च नपाएर तड्पिइरहनुको पीडावोध गर्न सक्नुपर्छ ।

क्यान्सर लागेपछि जीवनको महत्व बुझेको बताउँदै  क्यान्सर पीडितका लागि केही गर्ने अठोट लिएर नेपाल फर्किनुभएकी अभिनेत्री मनिषा कोइरालाले अब डा. वाग्लेलाई बचाउने अभियानको नेतृत्व गर्न सकेमा यसले साँच्चै नै ठूलो मानवीयताको सन्देश दिने छ । होइन भने काठमाडौंमा अन्तरराष्ट्रिय सम्मेलन भइरहेका बेला क्यान्सरबाट निको भएकालाई मात्रै सम्झने तर रोगसँग जुझिरहेका वाग्लेजस्ता पीडितलाई बिर्सने हो भने यस्तो सम्मेलनले मेडिकल साइन्स र सोसियल साइन्सवीच तादाम्य राख्न सक्ने छैन । मेडिकल साइन्स समाजका लागि हुनुपर्छ, मानिसका लागि हुनुपर्छ । मान्छेको पहुँचभन्दा बाहिरको मेडिकल साइन्सले मानवको सेवा कसरी गर्न सक्छ ?

क्यान्सरसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटनमा मनिषा कोइरालालाई निम्त्याइयो र बोल्न लगाइयो । तर, यो उद्घाटनमा डा. वाग्लेलाई पनि निम्त्याएर बोल्न लगाइएको भए राम्रो हुन्थ्यो । सबैले स्मरण गरौं, क्यान्सरका कारण गायक फत्तेमानलाई मर्न गाह्रो भएन त, डा. वाग्लेलाई गाह्रो भइरहेको छ । यस्तो बेलामा डा. वाग्लेको मनले शायद सोधिरहेको हुनुपर्छ- मनिषाजी, क्यान्सर कसरी मृत्यु होइन ? फत्तेमानको ‘आत्मा’ले पनि अवश्यै सोध्ला- ‘म अलि समय बाँच्ने थिएँ कि ? मेरो उपचारमा कहाँनेर गल्ती भयो ?’

क्यान्सरसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनले एकपटक डा. वाग्लेलाई पनि सम्झने कि ? मनिषाले एकपटक डा. वाग्लेलाई भेट्ने कि ? अन्यथा ‘क्यान्सर निको हुने रोग हो’ भन्ने पूर्वपुष्टि भैसकेको पदावलीमा मात्रै छलफल सीमित हुनेछ यो सम्मेलन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment