Comments Add Comment

उपन्यासभन्दा कम छैन निबन्धको बजार

२९ भदौ, काठमाडौं । नेपाली साहित्यका कतिपय ‘पण्डित’हरु भन्छन्, “उपन्यासबाहेक अरु विधाको खासै बजार छैन ।” छापामाध्यम र फेसबुकमा प्रचार भएको देख्दा त्यो भनाइ सत्य हो कि जस्तो लाग्छ । तर, यथार्थ बेग्लै छ । पछिल्लो समय उपन्यासले होइन, निवन्धात्मक कृतिले बजार पिटिरहेका छन् ।

आत्मपरक निवन्ध कम देखिए पनि आत्मकथा, यात्रा संस्मरण, अनुभूतिजन्य निबन्धहरुको ओइरो नै लागेको छ । निबन्ध शिल्पीहरु मात्रै होइन कहिल्यै अक्षरको खेती नगरेकाहरु समेत अरुलाई लेख्न लगाएर भए पनि निबन्धात्मक कृति सार्वजनिक गरिरहेका छन् ।

DSC_0335पछिल्लो समय बजारमा एकछत्र कब्जा जमाएका हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ र विनोद चौधरीको ‘आत्मकथा’ यसैका दृष्टान्त हुन् । यही एक महिनाभित्रै पनि रोशन शेरचनको ‘धोवीघाट एक्सप्रेस’ पत्रकार शेखर खरेलको ‘मैले नदेखेका हिप्पी’, खरेलकै गुरु डा. अभि सुवेदीको ‘साहित्य र आमवृत्त’, कुनै बेलाका राल्फाली गायक-कवि मञ्जुलको ‘कहिले आकाशमा, कहिले धर्तीमा’, समालोचक गीता त्रिपाठीको ‘म एक्लो र उदास उस्तै’, राष्ट्र बैंकका कर्मचारी भीष्म उप्रेतीको ‘हतार छ, हतार छैन’, हास्य कलाकार मनोज गजुरेलको हास्यव्यङ्ग्य निबन्ध ‘जोकशास्त्र’ सार्वजनिक भए । अघिल्लो महिना सांगि्रला बुक्सले प्रकाशन गरेको पूर्वसभासद शान्ता चौधरीको आत्मकथाले पनि एक महिनामा ५ हजारप्रति बिक्री भएर बेस्टसेलरको स्थान बनायो ।

विगत एकवर्षको अवधिमा बजारमा निस्केमध्ये पत्रकार दीपक सापकोटाको ‘लोकेशन’ र भूपिनको ‘चौबीस रिल’ले निकै राम्रो चर्चा बटुले । यी दुबैमा अनुभूतिको मीठो बान्की छ । निबन्धविधाको सर्वोत्कृष्ट उत्तम शान्ति पुरस्कार समेत प्राप्त गरिसकेको भूपिनको ‘चौबीस रिल’ दुई लाख राशीको पद्मश्री पुरस्कारको दावेदार कृतिमध्ये अग्रपंक्तिमा रहेको बताइएको छ । मधुपर्क मासिकका सम्पादक श्रीओम श्रेष्ठ रोदनको ‘एक्लो परिचय’ चाहिँ मदन पुरस्कारको दावेदार उत्कृष्ट पाँचमा परेको स्रोतको भनाइ छ ।

बितेको एक वर्षको अवधिमा निस्केमध्येमा गोविन्द वर्तमानको ‘हरियो साइकल’, श्यामलको ‘रित्तो गाउँ’, पत्रकार सौरभको ‘सौरभका पच्चीस वर्ष’ बजारमा निकै रुचाइए । यसै समयमा नारायण ढकालको कालजयी निबन्धकृति ‘शोकमग्न यात्री’ र गोविन्द वर्तमानको ‘सोह्र साँझहरु’लाई फाइनपि्रन्टले नयाँ कलेवरमा पुर्नमुद्रण गर्‍यो । नेपालयले बजारमा ल्याएको राधा पौडेलको ‘खलंगामा हमला’ र नवीन जिरेलको ‘आँधीमय दिनहरु पनि बिक्रीमा अगाडि देखिए ।

समालोचक डा. देवीप्रसाद सुवेदीको ‘हिउँ फूलको मुस्कानमा बेलायत यात्रा’, मानवअधिकारवादी कृष्ण कँडेलको ‘पाताल वृत्तान्त’ र ‘लोकतान्त्रिक गणतन्त्रको यात्रा’, अर्का मानवअधिकारवादी कृष्ण पहाडीको ‘यो एकवर्ष’, भेषराज रिजालको ‘छरिएका पाइला, कोरिएका डोब’, कमल जंगलीको ‘मेरो जीवनयात्रा’ आदि पनि विगत ६ महिनायता बजारमा आएका निबन्धात्मक कृति हुन् । जंगली अकाल मृत्युवरण गरेका प्रभावशाली कवि जीवन आचार्यका पिता हुन् ।

मनोज गजुरेलको ‘जोकशास्त्र’ र ‘मगज’ बाहेक बितेको एक वर्षमा एकसे एक हास्यव्यङ्ग्य निबन्ध कृति बजारमा निस्किए । त्यसमध्ये सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेको ‘स्वाहा’, रोहिणीविलास लुईँटेलको ‘बुद्धिबंगारो’ र हरि खनालको ‘भोकासुर’ उत्कृष्ट देखिए ।

जानकारहरुका अनुसार निबन्धात्मक कृतिको यस्तो लहर यसअघि कहिल्यै आएको थिएन । ‘निबन्धको बजारै छैन भन्नेहरुलाई अहिलेका कृतिहरु गतिलो जवाफ हुन् ।’ निबन्धात्मक कृतिको बजारलाई नजिकबाट नियालिरहेका मधुपर्क मासिकका सम्पादक तथा निबन्धकार श्रीओम श्रेष्ठ रोदन गर्व गर्दै भन्छन्, “निबन्ध विधाको जति पाठक अरुविधाको न हिजो थियो, न आज छ !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment