Comments Add Comment

लागूऔषध कारोवार : गुप्ताङ्गदेखि मोटरसाइकलको ट्याङ्कीसम्म

२९ भदौ, बिराटनगर । कोलम्बियाकी एक युवती नक्कली गर्भवती बनेर कोकिनको कारोवार गर्दा पक्राऊ परेको दुई दिनमात्रै भएको छ । तर, लागूऔषधको ओसार-पसार यतिबेला नेपाल पनि कम देखिएको छैन ।गत चैत्रमा बिराटनगरको जोगवनी नाकाबाट गुप्ताङ्गमा लुकाएर लागुऔषध ल्याउने क्रममा धरानकी एक युवती प्रहरीको फन्दामा परिन् । धरान नगरपालिका-८ की २० वर्षीया राई थरकी ती युवतीलाई एभिल, निरोजोसिक, एभिल इन्जेक्सन ८७ थानसहित प्रहरीले पक्राऊ गरेको थियो ।adict-1

गत असारमा बिराटनगरवाट मोटरसाइकलको तेल टंयाकीमा हालेर लागुऔषध ल्याइएरहेको अवस्थामा इटहरीका एक युवक प्रहरीको फन्दामा परेका थिए । यस्तै नयाँ-नयाँ प्रयोग गरेर पछिल्लो समय विभिन्न नाकाबाट नेपाली भूमीमा भित्राउने क्रम बढेको छ । जसले गर्दा प्रहरीको लागुऔषध नियन्त्रण गर्ने अभियान चुनैतीपूर्ण बनाइदिएको छ ।सुराकी परिचालन गरी लागुऔषधको कारेावारलाई नियन्त्रण गर्ने प्रहरीको एक मात्र भरपर्दो सूत्र बनेको अवस्थामा विभिन्न विधि अपनाएर कारोवार गर्नेहरुले लागुऔषध भित्राउने कार्यमा तीब्रता दिएका छन् ।

सुनसरीको धरान र इटहरी क्षेत्रमा कारोवारीहरुले आफनो डिलर विस्तार गर्दै जानु र लागु औषध भित्रयाउने नयाँ विधि अपनाउने कार्यले हाम्रो परम्परागत अनुसन्धानको विधिलाई समेत यसले चुनैती दिन थालेको लागुऔषध नियन्त्रण ब्युरो इकाई विराटनगर प्रमुख एव प्रहरी निरीक्षक ध्रुव श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठका अनुसार झोलाको प्रयोग गरेर ल्याइने लागुऔषध अहिले शरीरका विभिन्न भित्री अंगदेखि पेटमा बाँधेर ल्याउने क्रम बढेको छ ।

प्रहरीको निगरानीलाई छल्दै लागुऔषध कारोबारीहरुले आफ्नो सञ्जाललाई मोरंगका ग्रामीण क्षेत्रसम्म विस्तार गरिहेको प्रहरी अनुसन्धानवाट खुलेको छ । खुल्ला सीमानाको फाइदा उठाउँदै कारोवारीहरुले जोगवनी नाका हुँदै बिराटनगर, रंगेलीमार्गवाट लागुऔषध भित्राउने गरेको प्रहरीको दाबी छ ।पूर्वक्षेत्रमा लागुऔषध कारोवारमा संलग्न भई पक्राउ पर्नेहरुको संख्यामात्रै हेर्ने हो भने पनि प्रहरीको दाबी सही सावित हुन्छ । प्रहरीले तीन वर्षको अवधिमा पूर्वीनेपालका १६ जिल्लामध्ये मोरङवाट मात्रै १४ विदेशी नागरिक सहित ४ सय ६ जनालाई नियन्त्रणमा लिएर २ सय ६० लाई मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्वराज पोख्रेलले लागुऔषध भित्राउने क्रममा जिल्लाका विभिन्न नाकावाट पक्राऊ पर्नेहरुको संख्या उच्च देखिएको बताउनुभयो ।’प्रहरी उपरीक्षक पोख्रेलले भन्नुहुन्छ- ‘हामी जसरी भएपनि बिराटनगरको केन्द्र तोड्ने प्रयासमा छांै । मोरङ प्रहरीका अनुसार पूर्वनेपालमै सबैभन्दा बढी भारतको जोगवनी क्षेत्रवाट बिराटनगर हँुदै पूर्वी नेपालमा लागुऔषध भित्रिने गरेको छ । त्यहाँबाट बिराटनगर प्रहरीको निगरानी छल्दै अन्य जिल्लामा कारोवारीहरुले लागुऔषध भित्राउने गर्दछन् ।

लागूऔषधको बढ्दो माग, महिला पनि बढे

गृह मन्त्रालय र केन्दि्रय तथ्याङ विभागले गत वर्ष सार्वजनिक गरेको एक रिपोर्टअनुसार नेपालमा करिव पाँच वर्षको अन्तरालमा लागुऔषध प्रयोगकर्ताको संख्या दोब्बर बढेको छ । ०६९ सालको सो रिपोर्टमा ९१ हजार ५ सय ३४ जना लागुऔषध प्रयोगकर्ताहरु छन् । जसमध्ये ८५ हजार २ सय ४ पुरुष र ६ हजार ३ सय ३० महिला छन् ।यसअघि सन् २००७ को रिर्पोट अनुसार त्यतिवेला नेपालमा ४६ हजार ४ सय ९ जना लागुऔषध प्रयोगकर्ता थिए । जसमध्ये ४२ हजार ९ सय ४ पुरुष र ३ हजार ३ सय ५६ महिला रहेका थिए ।adict-2

सन् २००७ को तथ्यांकमा पूर्वाञ्चलमा सबैभन्दा बढी सुनसरीमा ३ हजार १ सय ४६ जना लागुऔषध प्रयोगकर्ता रहेका थिए यसमध्ये २ हजार ८ सय ५४ जना पुरुष र ३ सय ३२ महिला रहेको सरकारी तथ्याङकमा उल्लेख छ ।लागुऔषध प्रयोगकर्ताहरुको पुनःस्थापना तथा उपचारमा संलग्न हुँदै आएको संस्था किरात याक्थुङ चुक्लुङले गरेको सर्वेक्षणमा पनि हाल सुनसरी जिल्लामा ४ हजारको हाराहारीमा लागुऔषध प्रयोगकर्ता रहेका छन् । जसमा धरानमा मात्रै २५ सयको हाराहारी प्रयोगकर्ता रहेका छन् ।सुनसरीमा लागुऔषध प्रयोगकताको संख्या बढेसँगै जिल्लामा लागुऔषधको मागसँगै आयात पनि अन्य जिल्लामा भन्दा वढी देखिएको केन्द्रका पोग्राम म्यानेजर विजय लिम्वुले जानकारी दिनुभयो । प्रहरी अधिकारीहरु पनि सुनसरीको धरान र इटहरीमा बढीमात्रामा लागुऔषधको मागसँगै खपतको क्रम पनि अन्य जिल्लाको तुलनामा बढी हुने गरेको बताउँछन् ।

 कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यादवराज खनाल सुनसरीको धरानपछि प्रयोगकर्ताहरु इटहरीमा बढिरहेको बताउनुहुन्छ ।भारतमा विक्री वितरणमा खुल्ला रहेका कतिपय लागुऔषध नेपालमा प्रतिवन्धित रहेकाले कारोवारमा संलग्नहरुलाई नेपाल भित्राउन सहज भएको एसएसपी खनाल बताउनुहुन्छ । उहाँले पछिल्लो समय कोशी अञ्चलमा प्रयोगकर्तामात्र हैनन्, ओसार-प्रसारमा संलग्नहरुको संख्या पनि बढेको बताउनुहुन्छ ।

ठूलो परिणाममा बरामद

एक साताअघि मोरङको बिराटनगरबाट प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई पक्राउ गर्‍यो । लागुऔषध स्पासमोप्रोक्सिन प्लस सात हजार तीन सय असी, १ सय एमएलका ९३ बोतल कोरेक्स र नाइटो्रसन २ सय चक्कीसहित धरानका राजेन्द्र लिम्वु र सन्तोष लिम्वुलाई प्रहरीले पक्राउ गर्‍यो ।मोरङमा मात्र नभएर भर्खरै विकासको तिव्र चरणमा रहेको सुनसरीको इटहरीमा पनि स्थानीय प्रहरीले इटहरी-५ स्थित जनता वस्तीमा ठूलो परिमाणमा लागूपदार्थ बरामद गरेको थियो । प्रहरीले झापा, मोरङ,र सुनसरीमा एक पछि अर्को गर्दै लागु औषध नियन्त्रणको अभियानमा सफलता पाएको दावी गरिरहँदा लागुऔषध नियन्त्रण अभियान प्रहरीसमक्ष चुनौतिपूर्ण वन्दै गएको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरका अनुसार विगत तीन वर्षयता झापामा १८ सय केजी, सुनसरीमा ६ सय र मोरङ जिल्लावाट ३ सय ८३ केजी गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । आ व ०६७/०६८ देखि चालु आर्थिक वर्षको भदौ २६ गतेसम्म झापामा २४ विदेशी नागरिकससहित गरी १ सय ५१ जना विरुद्ध प्रहरीले लागुऔषध असोरप्रसारमा संलग्नलाई मुद्दा चलाएको छ । भने प्रहरीले सो अवधिमा २ सय १५ जनालाई पक्राउ गरेको छ । यसैगरी सुनसरीमा ३ विदेशीसहित ६७ जना विरुद्ध प्रहरीले मुद्दा चलाएको छ भने यस अवधिमा सुनसरीबाट २ सय ४ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीले मोरङमा तीन वर्षको अवधिमा २ सय ६० वटा लागुऔषध ओसार प्रसारको कसुरमा मुद्दा चलाएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार झापा, सुनसरी र मोरङ जिल्लापछि पुर्वाअञ्चलका अन्य जिल्ला सिराहा, सप्तरी, तेह्थुम र उदयपुर जिल्लामा पनि लागुऔषध कारोवार बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment