Comments Add Comment

यसरी फेरियो अकस्मात् वैद्य माओवादीको लाइन

२९ भदौ, काठमाडौं । पोखरामा सम्पन्न पूर्ण केन्द्रीय समितिको बैठकबाट चुनाव बहिस्कार गर्ने र संविधानसभाको चुनावलाई ध्वस्त बनाउने निर्णय गरेको नेकपा-माओवादीले आफ्नो कार्यनीति र कार्यदिशामा महत्वपूर्ण परिवर्तन गरेको छ ।शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा माओवादी नेताहरुले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिए मंसिर ४ को चुनावमा समेत सहभागी हुन सकिने बताएपछि वैद्य माओवादीले पोखरा बैठकको कार्यदिशा सच्याएको स्पष्ट भएको हो ।

‘वैद्यजीहरुलाई मुखले मात्रै चुनावमा भाग लिन्छौं भन्नुभएको होइन, हृदयदेखि नै उहाँहरु चुनावमा आउन चाहनुभएको हामीले महसुस गरेका छौं ।’ एमाओवादी नेता नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो- ‘पोखरा बैठकको लाइनबाट उहाँहरु सिफ्ट हुनु भो, यसलाई हामी सबैले सकारात्मकरुपमा लिनुपर्छ ।’शीतलनिवासमा शुक्रबार साँझ बैठक सकिएपछि एमाओवादीका नेताहरु अलग्गै समीक्षा बैठकमा बसेका थिए । यसक्रममा वैद्य माओवादीका नेताहरुमा देखिएको परिवर्तनका विषयमा पनि समीक्षा भएको थियो । शीतलनिवास बैठकको दुई दिन पहिले नै लाजिम्पाटमा दुबै माओवादीका नेताहरुवीच चुनावमा सहकार्य गर्ने बारे छलफल भइसकेकाले एमाओवादी नेताहरुले वैद्य पक्षको लाइनमा सकारात्मक सुधार आएको निश्कर्ष निकालेको स्रोतले बतायो ।

पोखरा बैठकको लाइन र कार्यादिशालाई परिवर्तन गरे पनि नेकपा माओवादीको केन्द्रीय समिति बैठकले चुनावमा भाग लिने लाइनलाई औपचारिकता दिन बाँकी छ । तर, केन्द्रीय समितिको बैठक नबसे पनि पोलिटब्यूरोले सहमतिमा जाने निर्णय गरेको छ ।

वैद्यको चारबुँदा पदाधिकारी र ३३ दलमा अनुमोदन

राष्ट्रपति कार्यालयको सर्वदलीय बैठकमा जानुअघि नेकपा-माओवादीको पदाधिकारी बैठक बसेको थियो । पदाधिकारी बैठकले तय गरेको ४ बुँदे प्रस्तावलाई ३३ दलका नेताहरुवीचबाट अनुमोदन गराइएको थियो । ‘सहमतिका लागि हामीमा कुनै समस्या छैन, पदाधिकारी बैठकबाट पारित एजेन्डाका आधारमा हामी अगाडि बढेका छौं ।’ माओवादी प्रवक्ता पम्भा भुसाल भन्नुहहुन्छ- ‘हामीले राखेका विषयमा सहमति हुन सकेन भनेर अर्को पक्षले भन्यो भने त्यसपछि के गर्ने भनेर हामी फेरि आन्तरिक छलफल गर्न सक्छौं ।’

पहिले चुनावमा सहभागिता, त्यसपछि कार्यगत एकता

नेपाली कांग्रेस र एमालेलगायतका दलहरुले मोहन वैद्यलाई चुनावमा सहभागी गराउँदा एमाओवादीको भोट काट्न सकिने अनुमान गरेका छन् । तर, एमाओवादीले भने वैद्य माओवादी निर्वाचनमा आएको खण्डमा सकभर पार्टी एकता हुने र त्यसो हुन नसके पनि दुई माओवादीवीच चुनावी तालमेल हुने विश्वासमा छ । दुई माओवादीहरु एक्लाएक्लै चुनाव लड्नुको औचित्य नहुने भन्दै एमाओवादीका नेताहरुले मिलेर चुनाव लड्नुपर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment