Comments Add Comment

नायिकाको पीडा: जे पनि गर्न तयार हुनेले हाम्रो भविष्य बिगारे !

विजय ‘आवाज’

नेपाली सिनेनगरीको रंगीन संसारमा पसेर चर्चामा आएको कल्पना गर्ने वित्तिकै नवनायिका अशिष्मा नकर्मी कुनै बेला मख्ख पर्थिन् । टेलिभिजन र फिल्महलका पर्दामा देखिने हिरो हिरोइन जस्तै हुने सपनाले उनमा सानैदेखि एक दिन फिल्म खेल्ने हुट्हुटी जागेको थियो । नेपाल भाषाका केही चलचित्र र म्यूजिक भिडियोमा अभिनय गरेपछि ठूलो पर्दाको ‘अन्तराल’ सिनेमाबाट नेपाली रजतपटमा छिरेकी नवनायिका अशिष्मा दोधारमा छिन् । नेपाली सिने नगरी भित्रका धमिला दृश्यले उनले कुनै बेला देखेका सपना अहिले अलपत्र पर्ने अवस्थामा पुगेका छन् । लाखौं दर्शकको मनमा बस्न आएकी अशिष्मा सिनेजगतमा राखेको पाइला न अगाडि बढाउन सक्ने अवस्था छिन् न त पछाडि नै । दोधारमा परेकी उनको मनले सानैदेखि देखेका सपना सबै झुठा रहेछन् भन्न थालेको छ ।

सिने नगरी भित्रका अपत्यारिला तथ्य र दृश्यहरु देखेपछि उनी अहिले फिल्म लाईन छोड्ने या समाइरहने घनचक्करमा परेर अड्किएकी छिन् ।

आफूले बुनेका रंगिन सपनाहरु पूरा गर्न गलत बाटोसमेत अपनाउने पर्ने बाध्यता बुझेपछि संकटमा परेकी अशिष्मा मनको बह अनलाइनखबरसँग पोखिरहंदा पटक – पटक भक्कानिएकी थिइन् । सिनेनगरीमा जम्नका लागि आफ्नो नैतिक चरित्रलाई समेत दाउमा राख्नुपर्ने अवस्था आएपछि अत्तालिएकी उनले सम्हालिंदै सिनेमानगरी भित्रका कुरा यसरी बाहिर ल्याइन् ।ashisma-nakarmi

मेरो परिवारको पृष्ठभूमि सिनेनगरीसँगै जोडिएकाले मैले यो क्षेत्रमा आउन ठूलो संघर्ष गर्नुपरेन । धेरैले सिनेकर्मीहरुले मेरो बुबालाई (मनराजा नकर्मी-संगीतकार) चिन्ने भएकाले मलाई यो क्षेत्रमा पाईला राख्न समस्या भएन । यो क्षेत्रमा प्रवेश गर्दा बेवास्ता नगर्नेहरुले बुबाको नाम लिएपछि भने चासो दिएर कुरा गर्न थाले । म दोश्रो पुस्ताकी नायिका हुँ ।

मेरो बुबाले नेपाली सिनेक्षेत्रमा राखेको नामलाई अझै उचाईंमा पुर्‍याउन म यो क्षेत्रमा प्रवेश गरेकी हुँ । म मेरो क्षमता देखाउँदै राम्रो छवि बनाएर सिने क्षेत्रमा जम्न चहान्छु । यो क्षेत्रमा मेरा आइडियल भनेकै मह जोडी र मिथिला शर्मा हुनुहुन्छ । उहाँहरु आजसम्म जसरी सफा छविकासाथ अघि बढेर उचाईमा पुग्नु भएको छ, भोलिका दिनमा म पनि उहाँहरु जस्तै हुन चहान्छु ।

सुरुमा मैले देखेको रंगिन दुनियाँ यहाँ छिरेपछि भने वित्थामा यो क्षेत्रमा पाईला राखेछु भन्ने लाग्छ । हुन त अहिले यो नगरी युवापुस्ताको पकडमा छ । म पनि एउटा युवा नै हो । तर पनि जिरोबाट संघर्ष गरेर अघि बढ्दा कम्ता हण्डर खानुपर्दो रहेनछ । आखिर कलाकार त कलाकार नै हो नि त्यो वरिष्ठ होस् या जुनियर ।

तर जिरोबाट अघि बढ्दा यहाँ चिनेर पनि कसैले वास्ता गर्दा रहेनछन् । सिने क्षेत्रमा रमाउन आएकी म अहिले दोधारमा छु । अहिलेसम्म मैले कसका लागि र किन सिनेमा खेलें ?  त्यसको उत्तर आज आएर आफैंले दिन नस्कने अवस्थामा छु । नेपाली सिनेक्षेत्र अहिले संकटग्रस्त अवस्थामा छ भन्ने लाग्छ । जबसम्म फिल्म बनाउन बगाएको पैसा उनीहरुले फिल्म चलेपछि फिर्ता पाउने अवस्था हुँदैन तबसम्म कुनै पनि कलाकार हिट हुनुले कुनै अर्थ राख्दैन ।

केही नेपाली सिनेमा खेलेपछि अहिले मेरो मनले भनिरहेको छ, तँ अब अरु कुनै काम गर्, त्यसमा तँ बढी खुसी हुन्छेस् । नेपाली सिनेजगतको रंगिन दुनियाँमा भविष्य खोज्न आएकी म अहिले आफैं हराए जस्तो लाग्न थालेको छ । वर्तमानमा हराइरहेकी मैले मेरो भविष्य कहाँ कस्तो अवस्था छ ठम्याउन सकिरहेकी छैन । लाखौं दर्शक र शुभचिन्तकहरुका सेलिब्रेटी भएर पनि हामी किन यति धेरै अन्यौलमा रुमलिन बाध्य छौं ? यो प्रश्नले मेरो मष्तिस्कमा बारम्बार घोचिरहेको छ ।नेपाली सिनेजतको हैसियत बुझ्न मैले मेरो घरको दैलो उघारेर बाहिर गईराख्नु पर्दैन । मेरो घरमा तीनवटा टेलिभिजन छन् तर ती टेलिभिजनमा नेपाली टेलिभिजन बजेको मैले विरलै देखेकी छु । नेपाली भएर नेपाली सिनामेका माया नगर्ने हामीले अब कसका लागि सिनेमामा खेल्ने ? मलाई नेपाली सिनेनगरीका मानिसहरुले चिन्छन् तर वलिउड र हलिउडका एक एक हिरो हिरोइनलाई चिन्ने नेपालीले म जस्ता नेपाली कलाकारलाई चिन्ने अवस्था कहिले बन्ला ?

म मात्र होइन सिनेनगरीको रंगिन संसारमा रमाउन छिरेका अरु धेरै कलाकारहरु पनि अन्यौलमा छन् । नेपाली सिनेजगतको भित्री यथार्थ देखेर पनि एक मनले अझै केही वर्ष संघर्ष जारी राख् भन्छ भने अर्को मनले घृणा गर्दैछ । मैले डेब्यू गरेको चलचित्र अन्तराललाई पत्रकार र चलचित्रकर्मीले मनपराएका थिए । तर, खै के भएर हो हलमा लागेपछि दर्शकले गरेको प्रशंसाको स्वर त परै जाओस् नाम पनि उच्चरण गरेको सुन्न पाएकी छैन । अहिले आफैंलाई सोध्दैछु, मलाई कसले चिन्यो, मैले दुखः गरेर खै के पाएँ त ?

अहिलेको समय सामाजिक सञ्जालहरुको हो । फेसबुकसहितका सामाजिक सञ्जालमा नायिकाहरुको फोटोमा दर्शकहरुले गर्ने प्रतिकृया पढ्दा मन कुँडिएर आउँछ । कसैले पनि नेपाली नायिकाहरुलाई राम्रो नजरले हेर्दैनन् । ‘एउटा बिराउने शाखा पिराउने’ उखान सानैमा सुनेकी थिएँ, अहिले त्यो उखानले मलाई बारम्बार घोचिरहन्छ, यसलाई व्यक्त गर्ने शव्द म सँग छैन । नेपाली सिने नगरीलाई सरकारले बेवास्ता गरेको जस्तो । बलिउडमा एउटा सिनेमा खेल्ने कलाकारसँग हरेक कुरामा सम्पन्न हुन्छन् ।

यति लामो इतिहास बोकेको नेपाली सिने जगतका कलाकारहरु हामी किन अझै पनि सुन्दर भविष्य खोज्दै भौतारिरहेका छौ ? थाहा छैन । मलाई थाहा छ, नेपालमा किन नायिकाहरु बदनाम भइरहेका छन् । तर म यो बिषयमा प्रतिक्रिया दिएर सिने नगरीकै बेइज्जत गर्न चाहन्न । तर केही नायिकाहरुले केही गर्छु र स्वच्छ छवि बनाउँछु भनेर आउँदा धेरै गाह्रो भएको छ । हामीले पनि सोच्नु पर्छ हामीलाई किन मिडियापर्सन भनियो भनेर । जे पनि गर्दै हिड्ने छुट हामीमा छैन ।

एउटा घटना म तपाइलाई सुनाउँछु । एकजना कास्टिङ डिरेक्टरलाई एकजना युवतीले फोन गरेर आफू सिनेमा खेल्नको लागि जे पनि गर्न तयार रहेको बताइछन् । ती कास्टिङ डिरेक्टर मेरो साथी भएकाले उनले मलाई सबै कुरा सुनाए । मैले उनले युवतीलाई भेट्न जाँदा मलाई पनि लैजानु भनें । साँच्चै मैले ती युवतीलाई भेटेको भए २ थप्पड लगाउँथे ।

जे गर्न पनि तयार हुनेले २ झापड खान पनि तयार हुनुपर्‍यो नि हैन र ? यस्ता केहीले स्वच्छ छवि बनाएर अघि बढ्न खोज्नेहरुलाई गाह्रो भएको छ । अब त मलाई दिक्क लागिसकेको छ । म छोरी हुँ । भोलि बिहे गरेर पराई घरमा जानुपर्छ । तर सिने नगरीमा आउने युवतीलाई हेर्ने दृष्टिकोण नै राम्रो छैन । मलाई त्यो परिवारले स्विकार गर्ला या नगर्ला ? म पटक पटक यही कुरा सोचिरहन्छु । मैले राम्रो काम गरेर पनि अन्य पेशाबाट नाम दाम कमाउन सक्छु । मैले यो काम किन गरिरहेको छु, भन्दा मेरो रगतमा नै यो पेशा छ । तर म एकदमै दोधारामा परेकी छु । थाहा छैन म यहाँ संघर्ष गरुँ या नगरुँ । तर के गर्नु सानैदेखिको नशा थियो छुट्न नै गाह्रो भयो, कसो गरौं ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment