Comments Add Comment

श्रीमानको चाहना दबाएर राखें : नन्दिता केसी

विजय ‘आवाज’

उज्यालो मुहार, मोहनी लगाउने मुस्कान अनि अभिनयले दर्शकलाई मोहित बनाउने नेपाली रजतपटकी चम्किली तारा उनी अहिले के गर्दैछिन् धेरैलाई थाहा छैन । ५० भन्दा बढि चलचित्रमा आफ्नो कला पस्किसकेकी नायिका नन्दिता केसीका फिल्म नेपाली दर्शकले हर्ने नपाएको धेरै भइसक्यो ।nandita-kc-picलगातार फिल्म खेलिरहँदा दर्शकको मन मुटुमा बसेकी नायिका केसीलाई अहिले पनि दर्शकले हलको पर्दामा कुरिरहेका छन् । छोटो समय दमदार अभिनय गरेर औंलामा गनिने अवस्थामा पुगेकी उनले नेपाली रजतपटमा आएपछि कम्ता हण्डर व्यहोर्नुपरेन । अन्य नायिकाहरु पनि यो क्षेत्रमा लामो टिकेको इतिहास छैन । नन्दिताले पनि उचाईं लिदैं गरेको आफ्नो फिल्मी करिअरलाई किन एक्कासी विश्राम दिइन् ? दर्शकहरु अझै अन्योलमा छन् ।

फिल्म खेल्न छोडेपछि ओझेलमा रहेकी उनले नयाँ नयाँ अनुहारलाई चम्किने मौका दिन आफू पछि हटेको बताउँदै आएकी छन् । कुनै बेलाकी गुमनाम शोभा केसी नन्दिता बनेर चम्केकी थिइन् । अहिले नन्दिता पुरानै शोभाजस्तै गुमनाम बन्ने चिन्ताले उनका शुभचिन्तक र फ्यानहरुलाई पिरोलेको छ । फिल्ममा छाएर चर्चा बटुलिसकेपछि पनि उनले भोगेका हैरानी भनिसाध्य छैनन् ।

पुरुषको इशारामा चल्ने यो समाजमा उनले हिरोइनको ट्याग लागेपछि पनि धेरै भुक्तमानहरु ब्यहोर्नुपर्‍यो । बोलेको र सँगै हिंडेको देख्नेवित्तिकै उनीमाथि औंला उठाउनेका कारण उनको मन कम दुखेको छैन । परिवारकै कोही आफन्तसँग सँगै हिंड्दा पनि उनले नानाभाती कुरा सुन्नुपर्‍यो । अनि उनको मनले भन्यो, ‘२१ औं शताव्दीमा नारी पुरुष बराबर भन्ने चियागफका फुस्रा कुरा मात्रै रहेछन् । त्यसो होइन भने नेपाली नारीहरुले अहिले पनि किन यति सताइनुपर्ने ?’

नेपाली फिल्मीक्षेत्रमा लागेर सफल हिरोइन भएपछि पनि उनी आफूलाई नेपाली समाजमा सुरक्षित महसुस गर्न सकेकी छैनन् । उनलाई अझै डर छ, भविष्यमा कसैकी पत्नी बनेर जाँदा अहिले अनाहकमा घोचिरहने प्रश्नहरुले त्यो बेलामा पिरोलिरहने हुन् कि ? अहिले फुर्सदिली बनेकी नन्दिता विगतको समीक्षा गर्दै नयाँ भविष्यबारे चिन्तन गरिरहेकी छिन् । नेपाली सिनेजतमा केन्दि्रत रहेर कुराकानी गर्न गएको अनलाइनखबरसँग अभिनेत्री नन्दिताले आफ्नो मनको बह यसरी पोखिन् :

बाल्यकालदेखि नै मैले नर्स बन्ने सपना बोकेकी थिएँ । विद्यालय शिक्षा लिंदैदेखि मेरो जीवनको एउटै लक्ष्य थियो, नर्स बनेर विरामीको सेवा गर्ने । अहिले पनि म भन्छु, मलाई कहिल्यै फिल्म लाईनले तानेको थिएन । हिरोइन हुन्छु भन्ने मैलो सोचेकै थिइन । फिल्म खेल्ने ईच्छाले मलाई कहिले पनि तानेन । प्रवेशिका उत्तीर्ण भएपछि म स्टाफ नर्स बन्न मैले मेरो जन्मथलो अर्घाखाँची छोडेकी थिएँ ।

अहिले म सम्झन्छु, आफूले चाहे र भनेजसरी कहाँ चल्दोरहेछ र, जिन्दगी । त्यही भएर मानिस भाग्यले जता डोर्‍याउँछ, त्यतै जान विवश हुँदोरहेछ, म पनि त्यस्तै एक मानिस हुँ । म मेरो रहरले होइन भाग्यले डोर्‍याएर नेपाली फिल्मीक्षेत्रमा आएकी हुँ । मैले फिल्म खेलेर जे जस्तो उपलव्धी गर्न सकेकी छु, त्यसमा म खुसी छु ।

मेरो काम प्रति मलाई कुनै पछुतो छैन । अहिले पनि म हिजो जुन् अवस्थामा थिएँ, त्यही अवस्थामा छु । अहिले मैले फिल्म खेलेकी छैन तर अझै पनि मेरा दर्शकहरुले मलाई मन मुटुमा सजाएर राख्नु भएको छ । यो मेरो जीवनकै ठूलो उपलव्धी हो । दर्शकको अपार मायाले म धनी भएकी छु, यसैमा म रमाएकी छु र खुसी पनि छु ।

नेपाली फिल्मीक्षेत्रमा राम्रा भन्दा नराम्रा कुराको बढी चर्चा हुन्छ । म पनि त्यसको मारमा परेकी छु । मैले फिल्म नपाएर खेल्न छोडेकी होइन, मेरो अनुहारमा समस्या भएपछि चिकित्सकहरुले फिल्म नखेल्न भनेपछि म पर्दामा आएकी छैन । अहिले पनि फिल्मी क्षेत्रमा नन्दिता नेपाली फिल्ममा डाँडामाथिकी घामजुन जस्तै भइन् भन्ने गरेका छन् । कतिले त भन्दा रहेछन्, अब नन्दिताका दिन गए । मैले स्वास्थ्योपचार सक्न लागेकी छु, अब म चाँडै कमव्याक गर्दैछु । मेरो कमब्याकबाट पुनः मलाई माया गर्ने दर्शकको मनमा बस्न सकौं भन्ने योजनामा छु ।

फिल्मीक्षेत्र समुद्र हो । यहाँ जो राम्ररी पौडन सक्छ, ऊ सफल हुन्छ । अहिले धेरै नयाँ कलाकारहरु आएका छन् । उनीहरुसँग मेरो कुनै प्रतिस्पर्धा छैन र, उनीहरुले मलाई विस्थापित गरे भन्ने पनि लाग्दैन । हिजो म आउँदा म भन्दा वरिष्ठ नायिकाहरु जम्नुभएको थियो, त्यसपछि हामी आयौं, अहिले नयाँ नयाँ आएका छन् । यो समयको चक्र हो, यसमा कसैले मन दुखाउनु हुदैंन । हिजोको जति जोश म मा थियो आज नहोला तर पनि म मा नेपाली फिल्ममा कमव्याक गरेर जम्न सक्छु भन्ने विश्वास छ ।nadita-kc-danceनर्स बन्ने सपाना बोकेकी म हिरोइन भएर लाखौं मानिसको मनमा छाउन सकें, यसमा मलाई गौरव छ । सिनेनगरीमा आएर मलाई कुनै पछुतो छैन । नर्स पढ्न आएकी सानी केटी, भाग्यको पछि लागेर सिनेनगरीमा आएर जे उपलव्धी गरे म निक्कै खुशी छु ।

नेपाली समाजमा केटी १८ काट्न पाउँदैनन्, उनीहरुमाथि विहेको तरवार झुण्ड्याइन्छ । मलाई पनि प्रवेशिका उत्तीर्ण गरेदेखि नै विहेको दवाव आएको हो । मैले मेरो परिवारलाई कुरा बुझाउन सकेकाले घर छाडेर राजधानी सम्म आउन सकें । यदि त्यसो नभएको भए म पनि आमगृहहिणीहरु जस्तै लालाबाला स्याहारेर बसेकी हुन्थे । मैले जे हिम्मत गरें, त्यसले म सफल पनि भएँ । बिहे त समय आएपछि पक्कै पनि हुन्छ, मैले विहे गर्दिन भनेकी छैन, भाग्यले कहाँ पुर्याएर विहे जुराउँछ थाहा छैन । बेलुकी सुत्दा सिरानी च्यापेर पतिको न्यानो अंगालोको कल्पना गर्दै कहिलेसम्म सुत्ने मलाई थाहा छ । तर, मैले करिअरका यस्ता सबै चाहनालाई पैतलामुनि दबाएर अघि बढ्दा म सफल भएँ । म पनि मानिस हुँ, पतिको अंगालोको चहाना मलाई पनि छ, तर मैले दबाएर राखेकी छु ।

मलाई केही हिरोइनहरु जस्तै एउटै घानमा हालेर हेर्छन्, तर म नढाँटी भन्छु, आजसम्म म कसैको प्रेममा परेकी छैन, मैले प्रेम गरेको सिनेमा र मेरो कामलाई मात्र हो । विहे त पक्कै पनि हुन्छ, तर मेरो कामलाई वुझ्ने, पति पत्नीको सम्वन्धलाई गहिरो अर्थ लगाएर बुझ्न सक्ने समझदार युवक मलाई चाहिएको छ । मैले आफ्नो शारीरिक आवश्यकतालाई दबाएर आफैलाई अन्याय गरेकी छैन । म एकदिन त पक्कै पनि मेरो आवश्यकता खुलाउँछु नि हैन र ?,त्यसैले यो अन्याय होइन ।

सिनेनगरीमा आएपछि मेरो नाम पनि विभिन्न व्यक्तिहसँग जोडियो । यो कुराले कहिलेहाँही मन दुखाएको छ । यी सबै कुरालाई हावादारी मान्दै एक कानले सुनेर अर्को कानले उडाएकी छु । हिरोइन हुनेवित्तिकै मानिसहरु उसको नैतिकतालाई तराजुमा राखेर तौलिन थाल्छन् । कोहीसँग बोल्दैमा र हाँस्दैमा चरित्रमाथि प्रश्न उठाउँदै बद्नाम गर्छन् ।

एउटा घटनाले अहिले पनि मलाई पिरोल्छ । म चोभारमा सिनेमाको सुटिङमा व्यस्त थिएँ । मलाई भोलिपल्ट फोटोसुट गरेर पर्सीपल्ट धरान जानु थियो । त्यसैले मेरो केही सामान भेनाजुले गाडीमा चोभारसम्म ल्यादिनुभएको थियो । तर यहाँ त मेरै भिनाजुलाई मेरो व्याइफ्रेन्ड बनाइएछ, उहाँसँग नाम जोडेर हल्ला गरिएछ । मैले त्यो घटनालाई पनि ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’ भन्दै हावामा उडाइदिएँ ।

तनावका वीचमा पनि म रमाउन सक्छु । मैले कामका क्रममा कहिल्यै दिक्क मानिन किन कि काम मेरो पूजा हो । तर कहिलेकाँही हुने हल्लाले भने हैरानी दिंदो रहेछ । फुर्सदको बेलमा म सोच्छु, ‘आखिर यहाँ किन यस्तो हुन्छ ?’ म नेपाली नारी भएकाले भोलि कसैकी पत्नी र बुहारी बन्छु । म चहान्छु, मलाई अहिले मेरो जन्मघरका सबै सबै सदस्यहरुले जसरी माया र विश्वास दिनुभएको छ, म अर्को घरमा गएर पनि त्यसैगरी विश्वास जित्न चहान्छु । तर काम भन्दा कुरा गर्ने कुरौटेहरुका कारण नखाएको विष पनि लाग्ने जुन् अवस्था छ, त्यसले मलाई अहिले पनि हैरान बनाएको छ ।

भनिन्छ नि हण्डर र ठक्कर नखाएको मान्छेले सहन सक्दैन भनेर । म अहिले त्यस्तै भएकी छु, हण्डर र ठक्कर खाँदा खाँदा म मा धैर्य गर्ने र सहनसक्ने शक्ति बढेको छ । त्यसैले यो कुरौटेहरुको संसारमा म सही बाटोमा भएकाले मैले जित्छु । मैले फिल्म खेल्दा कहिल्यै पनि एक नम्बरकी हिरोनी बन्छु भन्ने सपना पालिन । एक नम्बर हिरोनी बन्न मैले कहिलै गलत आशय र प्रलोभनमा परेर आफूलाई मिसयूज गरिन ।

अहिले पनि मेरो प्रतिस्पर्धा म सँग मात्रै हो । भोलिका दिनमा आज मैले हांसिल गरेको उपलव्धीलाई म बचाएर राख्न चहान्छु । मेरो सपना अब यतिमा मात्रै सीमित हुने छैन । अहिल्यै मैले फिल्म निर्माण र निर्देशनबारेमा सोचेकी छैन । तर, म चाँडै केही नया काम गर्न जाँदैछु, त्यसबाट म सफल हुन्छु भन्ने विश्वास छ । सिनेमामा नआएकी भए मलाई कसैले चिन्दैन थिए । तर मैले फिल्मलाईनबाट जे कमाएँ, जे पाएँ, त्यो मेरा लागि गौरवको कुरा हो । त्यसैले मैले लिएको उचाईंमा टिकिरहन सक्छु कि सक्दिन भन्ने कुराले ठूलो अर्थ राख्दैन । अहिले पनि म मेरा दर्शकको मन र मष्तिष्कमा छाईरहन पूर्ण लगनशील भएर मेहनेत गर्छु र गरिरहनेछु ।

अन्त्यमा मलाई तपाईंले पटक पटक पे्रमका कुरा सोध्नुभयो, तर म तपाईंलाई मेरो मनको कुरा भन्छु, ‘मलाई कुनै युवकको आकर्षणले तानेन…म प्रेममा कहिलै पनि परिन…अब त विश्वास गर्नुहुन्छ होला नि ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment