Comments Add Comment

रगतको खोलो बग्यो भने रेग्मीले जिम्मा लिनुपर्छ : नारायणकाजी

१० असोज काठमाडौं । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी न्युयोर्क भ्रमणमा जानै लागेका बेला उहाँलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउने आन्तरिक गृहकार्य शुरु भएको छ । यो गृहकार्यको अगुवाइ एमाओवादी नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले गर्नुभएको छ ।

एमाओवादी नेता प्रकाशको यो अभियानमा नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले पनि सैद्धान्तिक सहमति जनाउनुभएको छ । त्यसैगरी एमाले नेता माधव नेपाल, विष्णु पौडेल, कांग्रेसका डा. शेखर कोइराला र मधेसी मोर्चाका उपेन्द्र यादवसमेतले रेग्मीलाई राजीनामा गराउने अभियानमा सैद्धान्तिक र व्यवहारिक साथ दिनुभएको छ ।kaji-1

अध्यक्ष रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा दिन लगाएर वैद्य माओवादीलाई चुनावमा ल्याउने रणनीतिअनुसार एमाओवादी नेता श्रेष्ठले विहीबार ललितपुरको हरिसिद्धीस्थित आफ्नै निवासमा माओवादी नेता मोहन वैद्य, ३३ दलका नेता पासाङ शेर्पा र कांग्रेस, एमालेका केही नेताहरुसँग ‘मिनी वार्ता’ समेत बोलाउनुभएको छ ।

विगतमा चार दल र सरकारले गम्भीरतापूर्वक आग्रह गरेको भए रेग्मीले प्रधानन्यायधीशबाट राजीनामा दिने श्रेष्ठको दाबी छ । ‘प्रधानन्यायधीशलाई राजीनामा गराउन सम्भव थियो, यसमा गम्भीरतापूर्वक सोच्ने र यो दिशातिर घटनाक्रमलाई लैजाने काम भएन भन्ने मेरो दृढ मत छ ।’ विहीबार एमाओवादी नेता श्रेष्ठले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो, ‘खिलराज संविधानसभा विघटन गर्ने मान्छे हुन् भनेर चिनिएका छन् । फेरि उनकै कारणले देश गृहयुद्धमा गयो भने रगतको खोलो बगाउने जिम्मेवार पनि खिलराज रेग्मी नै हुन्छन् ।’ श्रेष्ठको थप भनाइ छ,-‘यो स्थितिलाई बुझाएर रेग्मीजीसँग कुरा गर्न सकिँदैनथ्यो र ? यदि यो बुझ्दै नबुझ्ने हुन् भने खिलराज रेग्मी के हुन् त ? खिलराज रेग्मीको नियत के हो त भन्ने प्रश्न इतिहासमा उठ्छ । यसको जवाफ उनले दिनुपर्छ ।’

रेग्मीलाई राजीनामा गराई चुनाव सारेर भए पनि वैद्यलाई चुनावमा ल्याउनुपर्छ भन्ने आफ्नो मागमा कांग्रेस नेता शेरबहादुर देउवा, एमाले नेता माधव नेपाल र विष्णु पौडेल र कांग्रेस नेता शेखर कोइरालाको सहमति रहेको श्रेष्ठले अनलाइनखरबरलाई बताउनुभयो । त्यसैगरी आफूले यसबारे नागरिक समाजका अगुवासँग पनि कुरा गरेको जानकारी दिनुभयो ।

एमाओवादी नेता श्रेष्ठको आफ्नै शब्दमा यस्तो छ गृहकार्य :

राजनीतिक समितिको बैठककै बीचमा शेरबहादुरजीले के भन्नु भो भने म प्रकाशजीको दृष्टिकोण र लाइनमा सहमत छु । बैद्यजीहरुलाई ल्याएर चुनावमा जानुपर्छ । नत्रभने बेकारमा देशलाई अर्को द्वन्द्वमा किन फसाउने ?kaji-2

एमालेका माधवजीले भन्नु भो, पहिला वैद्यजीहरु चुनावमा आउनुहुन्छ भन्ने मलाई पनि लागेको थिएन । तर, प्रकाशजीले मलाई फोन गरेर उहाँहरु आउने सम्भावना छ अगाडि बढ्नुस् भन्नु भो र म अगाडि बढेको हुँ । उहाँहरुलाई जसरी पनि ल्याउँ, चुनावको ब्यवहारिक ढंगले पछाडि सारेर भए पनि ल्याउँ भन्ने कुरामा पनि म सहमतै हो, अहिले पनि सहमत छु प्रकाशजीसँग । तर, उपेन्द्र यादवहरुले चाही चुनाव मंसिर ४ बाट सार्‍यो भने हामी चुनावमा भाग लिन्नौं भनेको हुनाले म पछि हटेको हुँ । नत्र भने म पनि सहमत छु, मधेसवादीहरुसँग कुरा गर्नुस् । माधवजीले सबैको अगाडि बैठकमै भन्नुभो । फेरि देउवाजीसँग मेरो छुट्टै कुरा पनि भो ।

त्यसपछि मैले उपेन्द्र यादवसँग कुरा गरेँ, तपाईले बैद्यजीहरुलाई चुनावमा ल्याउनु हुन्न भन्ने दृष्टिकोण राख्नु भएको हो ? तपाईले मंसिर ४ मा चुनाव गर्नु पर्ने, मंसिरमै चुनाव गर्नु पर्ने के हो त भनेर वार्ताको बेलामा भन्नुभएको थियो नि त ? दैवी नीति हो यो भनेर भनेको हैन ? अहिले त बैद्यलाई ल्याउँदा व्यवहारिक रुपमा चुनाव सार्नुपनि पर्छ भन्दा सार्नै हुन्न भन्नु भो रे, यहि हो त यथार्थ ? यसो भनेर सोध्दा यादवजीले त्यस्तो हैन, उहाँहरु आउनुहुन्छ भने हामी तयार छौं भन्नुभो ।

त्यसपछि मैले किरणजीसँग अस्ति मात्र कुरा गरेको छु । फेरि वार्ता सुरु गर्ने र यो प्रक्रियामा जानेबारे म पोलिटब्यूरोमा राख्छु भनेर वैद्यजी जानुभयो । पोलिटब्यूरोमा के भयो मलाई जानकारी आएको छैन । सायद आजै उहाँसँग मेरो कुरा हुन्छ ।

फेरि मेरो उपेन्द्र यादवसँग पनि कुरा भएको छ र मैले किरणजीसँग कुरा गर्नुस भनेको छु । त्यसैगरी म नेपाली कांग्रेस र एमालेका साथीहरुसँग पनि कुरा गरिरहेको छ । सम्भवतः आजै हुन पनि सक्छ । त्यतिमात्र हैन, नागरिक समाजका केही प्रभावशाली व्यक्तिहरुसँग पनि मेरो कुरा भइरहेको छ ।

वैद्यलाई ल्याउनुपर्ने चार कारण

मेरो भनाइ के हो भने चारवटा कारणले वैद्यजीहरुलाई चुनावी प्रक्रियामा ल्याउन आवश्यक छ । पहिलो कुरा, नेकपा-माओवादी भनेको जनयुद्धको एउटा शक्ति हो । यसकारणले ऊ शान्ति प्रक्रियाको पनि एउटा हिस्सा हो । निर्वाचन गर्नु भनेको शान्ति प्रक्रियालाई पूर्णरुपले सफल पार्नु पनि हो । त्यसैले यो कोणबाट पनि उहाँहरुलाई सहमतिमा ल्याउनुपर्छ । दोस्रो, संविधानसभाका चुनाव सफल पार्न पनि उहाँहरुलाई ल्याउनुपर्छ । तेस्रो कुरा, संविधानसभामा सबैको स्वामित्व होस्, नयाँ संविधानमा सबैको स्वामित्व होस् भन्नलाई पनि उहाँहरुलाई ल्याउनुपर्छ । र, चौथो कुरा देशलाई द्वन्द्वको नयाँ श्रृंखलामा जान नदिनका निम्ति पनि वैद्यजीहरुलाई सहमतिमा ल्याउनुपर्छ । यी चारवटा कारणहरुले गर्दाखेरि नेकपा-माओवादीलाई निर्वाचन प्रक्रियामा ल्याउनुपर्छ । र, यो सम्भव छ । तर, यो संभावनातिर उच्चस्तरीय राजनीतिक समिति र सरकारले गम्भीरतापूर्वक ध्यान दिएनन् र ऐतिहासिक भूल गरे भन्ने मेरो मान्यता हो ।

चुनाव सार्ने राजनीतिक मागै होइन

वार्तामा जे कुरा गर्न सम्भव थियो, त्यो नगरिएको हुनाले मैले नेताहरु गम्भीर भएनन् भनेको हुँ । पहिला त वैद्यजीहरुको पोखरा बैठकले चुनाब बहिस्कारको निर्णय गरेको थियो । बहिस्कार मात्रै होइन, चुनाव ध्वंश गर्ने पनि निर्णय गरेको थियो । त्यतिखेर मैले के भनेको थिएँ भने उहाँहरु आफ्नो गलत दृष्टिकोणले गर्दाखेरि चुनावमा आउँदै आउनुहुन्न भने हामीले चुनाव गर्नु पर्ने हुन्छ । तर, उहाँहरुले पछि चुनावमा आउने निर्णय गर्नुभयो । मुख्यतः पछिल्लो पोलिटब्यूरो बैठकबाट चुनावमा आउने निर्णय गर्नुभयो र आफ्ना मागहरुमा लचकता देखाउनुभयो । उहाँहरुले पहिले चुनाव बहिस्कार गर्ने भन्नुभएको थियो । त्यसपछि माग के राख्नुभयो भने चुनावमा आउँछौं तर, २५ बँदे पूरै खारेज गर्नुपर्छ, ११ बुँदे खारेज गर्नुपर्छ, खिलराज रेग्मीको सरकार हटाउनुपर्छ, संविधानको अन्तरवस्तुमा सबै सहमत हुनुपर्छ, पूर्ण समानुपातिक चुनावी प्रणालीमा जानुपर्छ, सर्वाधिकार सम्पन्न गोलमेच सम्मेलन गर्नुपर्छ, आदि मागहरु थिए । यसले पनि उहाँहरु पूरै चुनावमा जाने अवस्थामा आइपुग्नुभएको छैन भन्ने बताउँथ्यो । किनभने यी सबै मागहरु पूरा गर्न सम्भव थिएन ।

तर, वैद्यजीहरु पछि के कुरामा आउनुभयो भने चुनावमा जाने तर दुईवटा माग मात्रै पूरा गरे हुन्छ । एउटा, खिलराज रेग्मी नेतृत्वकै सरकार अन्तरगत जान सकिने, तर रेग्मीले प्रधानन्यायधीशबाट राजीनामा दिनु पर्ने । दोस्रो, व्यवहारिक कारणले गर्दाखेरि चुनावको तयारीका लागि चुनावको मिति सारिनु पर्ने । दोस्रो त कुनै मागै होइन, उहाँहरुले व्यवहारिक हिसाबले भनेको हो । पहिलो मात्रै राजनीतिक माग हो, प्रधानन्यायधीशलाई राजीनामा गराउने । यो सम्भव थियो भनेको हुँ मैले । यसमा गम्भीरतापूर्वक सोच्ने र यो दिशातिर घटनाक्रमलाई लैजाने काम भएन भन्ने मेरो दृढ मत छ ।

रेग्मीसँग सिरियस कुरै भएन

मेरो कुरो एकदम प्रष्ट छ । खिलराजजीलाई प्रधानन्यायाधीश भएकैले सरकार प्रमुख बनाएको भन्ने उहाँको पहिलेको कुरा थियो । उहाँले सामान्यतः यस्तो भन्नुभयो होला । तर, मेरो भनाइ के हो भने सबै राजनीतिक पार्टी, सबै सम्बन्धित पक्ष गएर उहाँसँग गम्भीररुपमा कुरा गरेर देश बर्बाद हुन लाग्यो, तपाईको जिम्मेवारी भनेको जसरी पनि चुनाव सफल पार्नु हो, त्यसैले तपाईकै नेतृत्वको सरकारले चुनाव गर्न सक्ने तर, सबै पार्टीलाई सहमतिमा ल्याएर चुनाव गर्न सकिने ऐतिहासिक अवसर किन गुमाउनु हुन्छ भन्न सकिन्छ । जबकि यो चुनाव भएन भने देश नयाँ द्वन्द्वको श्रृंखलामा जान सक्छ र फेरि गृहयुद्ध पनि हुन सक्छ, देशमा फेरि रगतको खोलो बग्न सक्छ, त्यसको जिम्मेवारी तपाई लिन सक्नुहुन्छ ? त्यसैले माओवादीलाई पनि ल्याएर ऐतिहासिक ढंगले चुनाव सफल पार्नुपर्छ भन्ने ढंगले रेग्मीसँग सिरियस कुरा भयो भन्ने नै मलाई लाग्दैन ।

मैले बुझेको के हो भने रेग्मीजीसँग कुरा त भयो, तर, वार्ता भैराखेको छ, तपाईले राजीनामा दिनुपर्छ भन्ने माग पनि छ भनेर रिपोर्टिङ हुँदाखेरि रेग्मीजीले यो त पहिलेकै कुरा हो, मैले राजीनामा दिन्न भनेर भनिसकेको छु भन्ने अर्थमा मात्रै मैले यसलाई लिएको छु । नत्र भए खिलराज रेग्मीले सोच्नुपर्दैन ? उनी देशको नागरिक होइनन् ? उनलाई सम्पूर्णरुपमा चुनाव गराउने जिम्मा दिइएको होइन ? चुनाव सम्पन्न गर्न पनि पाइने र माओवादीलाई समेत ल्याएर चुनाव सम्पन्न गर्न पाइने ऐतिहासिक अवसर उनले किन गुमाउने ?

रगतको खोलो बगे रेग्मीले जिम्मेवारी लिनुपर्छ

खिलराज रेग्मीलाई नकारात्मक कोणबाट हेर्ने हो भने उनी संविधानसभा विघटन गर्ने मान्छे हुन् भनेर चिनिएका छन् । फेरि उनकै कारणले देश गृहयुद्धमा गयो भने रगतको खोलो बगाउने जिम्मेवार पनि खिलराज रेग्मी नै हुन्छन् । यो स्थितिलाई बुझाएर रेग्मीजीसँग कुरा गर्न सकिँदैनथ्यो र ? यति यो बुझ्दै नबुझ्ने हुन् भने खिलराज रेग्मी के हुन् त ? खिलराज रेग्मीको नियत के हो त भन्ने प्रश्न इतिहासमा उठ्छ । यसको जवाफ उनले दिनुपर्छ । त्यसैले मेरो विचारमा खिलराज रेग्मीसँग देशको विशिष्ट संवेदनशील परिस्थितिलाई ध्यान दिएर सबै राजनीतिक पार्टीहरुले गम्भीरतापूर्वक कुरै गरेनन् भन्ने मेरो भनाइ हो ।

अब के गर्नुपर्छ ?

अहिले हामी दोस्रो संविधानसभाको निर्वाचन गर्न गइराखेका छौं । राष्ट्रलाई निकास दिन मुख्यतः अहिलेसम्म नेपाली जनताले गरेका संघर्षका उपलब्धीहरुलाई संस्थागत गर्न संविधानसभाबाट संविधान निर्माण हुन नसकेपछि र संविधानसभा विघटन भैसकेपछि संविधानसभाको चुनावमा जानुको विकल्प छैन । तर, यो संविधानसभामा हामीले देशका सबै राजनीतिक पार्टीहरुलाई सामेल गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो स्पष्ट दृष्टिकोण हो ।

कुनै राजनीतिक पार्टी आफ्नो गलत चिन्तन वा राजनीतिक लाइनका कारण चुनावमा आउँदैनन् भने त्यस्तो राजनीतिक पार्टी चुनावमा नआएसम्म चुनाबै नगर्ने भन्ने हुँदैन । तर, जब कुनै पार्टी चुनावमा आउँछु भन्छ भने चुनावमा आउने नीतिगत निणैय गरिसकेपछि व्यवहारिक रुपमा त्यसलाई सम्बोधन गर्न हामी तयार हुनुपर्छ भन्ने मेरो धारणा हो । यसै सन्दर्भमा मोहन वैद्य किरणले नेतृत्व गर्नुभएको नेकपा-माओवादीले अहिले चुनावमा सहभागिता जनाउने निर्णय गरेको छ । तर, यो निर्णय गर्दागर्दै पनि उहाँहरुले आफ्ना केही मुद्दाहरु सम्बोधन हुनुपर्‍यो भन्नुभएको छ ।

हामीले पछि पछुताउनुभन्दा समयमै सच्याउने दृढता देखाउनुपर्छ । राजनीतिक नेतृत्वको बुद्धिकुशलता नेतृत्व खुवी इतिहासको यस्तै कालखण्डमा देखा पर्ने हो । त्यसैले मैले के भन्नु गरेको छु भने राजनीतिक समिति र किरणजीहरुको बीचमा जुन वार्ता भंग भयो, त्यो एतिहासिक भूल हो । यसले देशलाई दुरगामी नकारात्मक असर गर्छ । त्यसमा मेरो गम्भीर असहमति र आपत्ति छ भनेर मैले आफ्नो मत त्यो वार्ता भएको बैठकमै दर्ज गरेको थिएँ । अहिले मे के अपील गर्छु सबैलाई भने त्यो निर्णयलाई पुनःविचार गरेर सच्याउनुपर्छ ।

यदि किरणजीहरु आफ्नो राजनीतिक माग प्रधानन्यायाधीशबाट राजीनामा दिने कुरा छोडेर चुनावमा आउनुहुन्छ भने त सबैभन्दा बेश भइहाल्यो । यद्यपि म चाहीँ उहाँहरुले यो माग नराखेको भएपनि हुन्थ्यो भन्नेमा छु । चुनावमा जाने नै भएपछि यो माग छोडिदिएपनि हुन्थ्यो, जसरी पनि जनतामा जाउँ भन्नु कुरालाई मुख्य बनाएर प्रधानन्यायाधीशबाट राजीनामाको माग छोएहुन्थ्यो वा निणर्ायक मुद्दा बनाउन मिल्दैनथ्यो भन्ने मलाई लाग्छ । तर पनि उहाँहरुले त राख्नु भो । अब हामीले सोच्नु के पर्छ भने राजनीतिक पार्टीहरुले आफ्नो राजनीतिक फेससेभलाई पनि केही गर्छन् । यदि त्यो कुरा छोडिदिने हो भने उहाँहरुलाई के पर्‍यो भने हामीले चुनाव बहिस्कारको निर्णय गरेर गल्ती गरेको थियौं, अब हामीले त्यसलाई सच्यायौं । अब हाम्रो पार्टी दर्ता गराइपाउँ, भोट हाल्न पाउँ भनेर निवेदन दिएको जस्तो व्यवहार त गर्न भएन नि राजनीतिक समितिले । उहाँहरुले के भन्न खोज्नु भो भने हाम्रो एउटा कुरो जनतालाई भन्ने ठाउँ यति त गरौं नि भन्ने ठाउँ त केही दिन पर्‍यो नि । सबै माग छोड्दै छोड्दै एउटा राजनीतिक माग राख्नु भएको छ, त्यो मागमा सहमति गरेर हामीले यति त गरौं भन्ने जनतालाई देखाउन दिएर चुनावमा ल्याउनु बुद्धिमानी कि त्यो नगरेर देशलाई द्वन्द्वको दिशामा लैजाने । त्यसैले फेरि पनि मेरो आग्रह के भने प्रधानन्यायाधीशबाट राजीनामा दिएर भए पनि, उहाँहरुलाई तयारीका लागि केही समय दिएर भए पनि सबैले चुनावमा भाग लिने, संविधानसभाबाट बन्ने संविधानमा सबैको स्वामित्व लिने र देशमा शान्ति स्थापना गर्ने प्रक्रिया पूर्ण सफल हुने दिशातिर जानुपर्छर् भन्ने मेरो मान्यता हो ।

यसो गर्दा प्रविधिक रुपमा मंसिर ४ को चुनाव सार्नुपर्ने हुन्छ । किनभने उहाँहरु (मोहन बैद्य) जसरी पनि चुनाव सार्नुपर्छ भनेर आउनु भएको छैन । मैले बुझेको चुनाव सार्नु पर्ने उहाँहरुको बाध्यता हो ।

हामीले भनेको, पहिलो बैद्यजीहरुसँग देशको विशिष्ट परिस्थितिमा उहाँहरु पनि चुनावमा आउनुपर्‍यो, सबै मिलेर चुनावमा जानुपर्‍यो । तत्कालीन निकास यही हो भन्नेमा कुरा भएको हो । उहाँहरुलाई चुनावमा ल्याउने हाम्रो पहिलो एजेण्डा हो । त्यो हुँदा एजेण्डा मिल्नेहरुसँग मिल्नुपनि पर्छ भन्ने सामान्य कुरा हो ।

विदेशीहरु निर्णायक होइनन्

निर्णायक त नेपालीका राजनीतिक पार्टी र तीनका नेताहरु नै हुन् । अरु कसैले के भन्छ भन्ने कुरा वास्ता नगरेर हाम्रो राष्ट्रको हितमा के हुन्छ भनेर आफ्नो निर्णय गर्न सक्ने क्षमता नेपालका नेताहरुले प्रदर्शन गरे त भइहाल्यो नि । फेरि पनि गर्ने त नेपालका नेताहरुले नै हुन् । विदेशीहरु निर्णायक बने भनेपनि नेपाली नेताहरुमार्फत नै बन्ने हो । त्यसकारण नेपाली नेताहरु नेपाली जनताको अत्मनिर्णयको अधिकार प्रयोग गरेर आफूलाई सक्षम रुपमा प्रस्तुत भयो भने समस्या हल हुन्छ । हैन भने आफू कमजोर भएपछि अरुले आफ्नो अनुसार चलाउन खोज्नु अहिलेको विश्व परिवेशमा स्वभाविक छ । हामीले आदर्शवादी भएर अरुले राम्रो मात्र गरिदिएहुन्थ्यो, हस्तक्षेप नगरिदिए हुन्थ्यो भनेर सोच्नु एउटा कुरा हो, व्यवहारमा त्यस्तो हुन्न । व्यवहारमा नेपालको हितमा के छ ? नेपाली जनताको हितमा के छ भनेर सोच्ने सामथ्र्य हामी राजनीतिक पार्टीहरुले राख्नपर्छ । तर, समस्या त्यही हो ।

दुई माओवादीवीच अहिले एकता सम्भव छैन

पार्टी एकताको छलफल नै भएको छैन । एउटा कुरा के सत्य हो भने हामी (एमाओवादी)सँगको पार्टी एकताको बढी चर्चा, हामीसँगको मोर्चाबन्दीको बढी चर्चाले पनि बैद्यजीहरुलाई सहमतिमा ल्याउने सन्दर्भमा कांग्रेस-एमालेलाई नकारात्मक ढंगले सोच्न उत्प्रेरित गर्‍यो । यद्यपि पार्टीहरुले देशले जित्छ कि जित्दैन भनेर सोच्नु पर्ने हो । तर पनि यथार्थ के हो भने पार्टीहरुले आफ्नो स्वार्थलाई पनि हेर्छन् । त्यसो भएकाले बैद्यजीहरुलाई ल्याउँदा दुईवटा माओवादी मिलेर जाने हो भने बेकारको आफैं हार्ने दिशातिर किन जाने भनेर मात्र कांग्रेस-एमालेले सोच्ने दिशातिर गयो जस्तो लाग्छ । एउटा पक्ष यो पनि हो । तर, यर्थाथ कुरा के हो भने हाम्रो पार्टी एकताको अहिले छलफल नै भएको छैन र सम्भव पनि छैन । नहुने चर्चा गरेर फाइदा छैन ।

वार्ताका निम्ति वार्ता नहोस्, वार्तालाई परिणाममुखी बनाउने ढंगले वार्ता हुनुपर्छ । अब त प्रष्टै कुरा छ, किरणजीहरुले चुनावमा आउँछु भनेको अवस्थामा चुनावमा ल्याउने दायित्व हाम्रो हो । चुनावमा आउन्न भनिरहेको बेला चाहिँ चुनावमा ल्याउन पहल गरेजस्तो देख्ने, चुनावमा आउँछु भनेर लाइन पारित गरेपछि ल्याउन पहल नगर्नु वा गम्भीर नदेखिनु इतिहासले माफ गर्ने कुरा होइन ।

अरुण बराल/ राजकुमार श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment