Comments Add Comment

कतारमा यसरी ‘दास’ बनाइँदैछ नेपाली कामदार

११ असोज, काठमाडौं । कतारलाई ‘खुला जेल’ भन्दै त्यहाँ नेपाली कामदारलाई दासको शैलीमा राखिएको टिप्पणी गरेपछि अन्ततः कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मा पदबाट बर्खास्त हुनुपर्‍यो । तर, नेपाल सरकारले आफ्ना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिरहँदा अन्तराष्ट्रिय सञ्चारमाध्यमले त्यहाँ कुन हदसम्म नेपाली कामदारको शोषण भइरहेको छ र कसरी नेपालीहरु नारकीय जीवन जिउन बाध्य छन् भन्ने गम्भीर तथ्य सार्वजनिक गरिदिएका छन् ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक यस्तो तथ्यले मायाकुमारीको भनाइलाई पुष्टीमात्र गर्दैन, ९ वर्षपछि हुन लागेको विश्वकप आयोजनाका नाममा कतारले नेपाली श्रमिकमाथि कुन हदसम्मको शोषण गरिरहेको छ भन्नेसमेत प्रष्ट पारेको छ ।

सन् २०२२ को विश्वकप फुटबलको आयोजना गर्न लागेको कतारमा विश्वकपको तयारीका लागि भौतिक पूर्वाधारका निर्माणका क्रममा दर्जनौँ नेपालीले ज्यान गुमाएका छन् । बेलायती पत्रिका ‘द गार्जियन’का अनुसार पछिल्ला हप्ताहरुमा कतारमा दर्जनौँ नेपालीको मृत्यु भएको छ भने हजारौँ नेपालीमाथि श्रम शोषण तथा दुव्र्यवहार हुने गरेको छ ।

dath-qatar

यो गृष्मयाममा कतारमा हरेक दिनजसो कम्तिमा एकजना नेपाली कामदारको ज्यान जाने गरेको र त्यसरी ज्यान गुमाउनेमध्ये अधिकांश नेपाली कामदार युवका अकस्मात हृदयाघातको शिकार हुने गरेको पाइएको छ । गार्जियनका अनुसार कतारमा विदेशी कामदारको सबैभन्दा ठूलो हिस्सा ओगट्ने नेपाली कामदारहरुले त्यहाँ ठूलो शोषण भोगिरहेका छन् र त्यो अन्तरराष्ट्रिय श्रम संगठनको परिभाषाअनुसारको आधुनिक मानव सभ्यताको दासत्वको श्रेणीमा रहेको छ ।

दोहास्थित नेपाली दुतावासले उपलब्ध गराएको दस्तावेजको हवाला दिँदै गार्जियनले जुन ४ देखि अगष्ट ८ को बीचमा ४४ जना नेपाली कामदारको ज्यान गएको र त्यसमध्ये आधाको मृत्यु हृदयाघात, मुटु फेल हुने तथा कार्यस्थलमा हुने दुर्घटनाका कारण भएको जनाएको छ । गार्जियनका अनुसार कतारमा नेपाली कामदारमाथिको शोषणका अन्य भयावह तथ्य यस्ता छन् :

· विश्वकप फुटबल पूर्वाधार परियोजनामा ठूलो संख्यामा नेपाली कामदारलाई बलजफ्ती श्रममा लगाइएको छ ।

· धेरै श्रमिकलाई लामो समयदेखि तलब दिइएको छैन र धेरैले

काम छाडेर भाग्ने डरले तलब दिनमा आलटाल गरिएको छ ।

· कतिपय रोजगारदाताले आफुहरुको पासपोर्ट कब्जामा लिने गरेको र परिचयपत्र समेत नदिने गरेको तथा आफुहरुलाई अवैध कामदार बनाउने प्रयास गरेको पनि नेपाली कामदारले गुनासो गर्ने गरेका छन् ।

· कतिपय कामदारलाई पर्याप्त पानी पिउन पनि दिइएको छैन ।

मालिकको अत्याचार सहन नसकेर झण्डै ३० जना नेपाली शरण माग्दै दोहास्थित नेपाली दुताबासमा पुगेका छन् ।

विश्वकपको निहुँमा बधुँवा

कतारमा नेपाली कामदारमाथि भएको यस्तो शोषण खेलकुदको निहुँमा विश्वको सबैभन्दा धनी देशले विश्वको सबैभन्दा गरीब मध्येको एक देशमाथि गरेको शोषणको रुपमा रहेको गार्जियनले टिप्पणी गरेको छ । हामीले यहाँको काम छाड्न चाहन्छौँ तर कम्पनीले हामीलाई बाहिर निस्कन दिँदैन, लुसेल सिटी विकाश परियोजनामा कार्यरत एक नेपाली कामदारले भने ।

उक्त शहर पुनर्निर्माणको परियोजना ४५ अर्ब डलरमा भैरहेको छ, जहाँ ९० हजार दर्शक क्षमताको एक रंगशाला समेत बन्दैछ, जसमा सन् २०२२ को विश्वकप फुटबलको फाइनल खेलको आयोजना हुनेछ । नेपाली कामदारले यस्तो शोषणबाट आफुहरु आक्रोषित भएको र आफुलाई बाँच्नैका लागि कतार आएकोमा पश्चाताप भएको बताएका छन् ।

सन् २०२२ को विश्वकप फुटबल आयोजक समिति कतार २०२२ सर्वोच्च समितिले विश्वकप फुटबललाई प्रत्यक्ष रुपमा लक्षित गरिएका काम अझै सुरु भैनसकेका दाबी गरेको छ । तथापि लुसेल सहर परियोजना क्षेत्रमा ठेकेदारहरुमाथि लगाइएको आरोपका विषयमा भने गम्भीरतापूर्वक मनन गरिने बताएको छ । साथै उसले यस बारेमा सम्बन्धित सरकारी अधिकारीहरुलाई छानविनका लागि जानकारी गराइसकेको पनि जनाएको छ ।

परियोजना निर्माणमा खटिएका कामदारहरु फोहर होस्टेलहरुमा कोचाकोच भएर बस्न बाध्य भएको र एउटा कोठामा १२ जनासम्म बस्ने गरेको गार्जियनले जनाएको छ । कतिपय कामदारलाई तलबै नदिएर मगन्ते बनाइएको छ । आफुहरु २४ सैँ घण्टा खाली पेट हुन बाध्य भएको भन्दै १२ घण्टा खाली पेटमा कडा श्रम गर्ने र भोकै पेटमा सुत्ने गरेको नेपाली कामदार रामकुमार महराले बताएका छन् । आफुले यस विषयमा गुनासो गर्दा व्यवस्थापकले आफुमाथि आक्रमण गरेको, त्यसपछि आफुलाई निकाला गरेको, तलब नदिएको र आफुले अरु सहकर्मीसँग मागेर खान बाध्य भएको उनको भनाइ छ ।

कतारका लागि निवर्तमान नेपाली राजदुत माया कुमारी शर्माले कतारलाई एक खुल्ला जेल भनेर टिप्पणी गरेको सन्दर्भ उल्लेख गर्दै गार्जियनले कतारमा भएको यस्तो शोषण आधुनिक मानव सभ्यताको दासत्व भएको जनाएको छ ।

दासत्व विरुद्धको अन्तराष्ट्रिय संस्थाका निर्देशक एडन म्याक क्वेडले पछिल्ला तथ्यहरुले कतारमा श्रृंखलाबद्ध बलजफ्ती श्रम भैरहेको पुष्टी गरेको बताएका छन् । यो बलजफ्ती श्रम मानव दासत्वको चरणमा पुगिसकेको र कतारमा विश्वकप तयारीका लागि यस्तो दासत्वको प्रयोग गरिसकिएको उनको भनाइ छ ।

कतारमा आगामी विश्वकप फुटबलका लागि निर्माण गर्न लागिएका विभिन्न परियोजनामा १५ लाख भन्दा बढि विदेशी कामदार छन् । कतारमा रहेका विदेशी कामदारमध्ये ६० प्रतिशत नेपाली छन् । गएको वर्ष मात्र १ लाख जना नेपाली युवा कामका लागि कतार गएका थिए ।

कामदारको मूलुकका दलाल तथा कतारी श्रम ठेकेदारहरुका कारण कतारमा विदेशी श्रमिक शोषणको जोखिममा परेका हुन् । यद्यपि विश्वकप आयोजकले भने परियोजना निर्माणका क्रममा कामदारको मापदण्ड निर्धारण गरिने बताएको भएपनि परियोजना व्यवस्थापको जालो, निर्माण कम्पनी, श्रमिक आपूर्तिकर्ता, श्रम ठेकेदार तथा एजेन्टहरुका कारण यस्तो विषय जटिल बनेको छ ।

विश्वकप फुटबलका संरचना निर्माणका लागि कतारले १ खर्ब डलर खर्च गर्नेछ । लुसेल सहर निर्माण परियोजनाको परामर्शदाता बेलायती कम्पनीले भने परियोजना निर्माणका क्रममा बलजफ्ती श्रम तथा मानव तस्करी लगायतका गलत काम प्रति शुन्य सहनशीलता अपनाइने जिकिर गरेको छ । तर, त्यहाँ कार्यरत नेपाली भने दिनदिनै दयनीय अवस्थामा पुगेका छन् । त्यहाँका धेरै नेपाली कामदारले काम छाड्लान् भन्ने आशंकामा दुई महिनाको तलब दिइएको छैन । कतारको कफाला प्रणालीअन्तरगत विदेशी कामदारले प्रायोजक कम्पनीको अनुमतिविना काम परिवर्तन गर्न तथा देश छाड्न नपाउने भएको हुँदा शोषणमा परेका नेपाली कामदारको अवस्था झनै चिन्ताजनक बनेको गार्जियनले जनाएको छ ।

कतारी श्रम मन्त्रीले तातो मौसममा काम गर्ने श्रमिकको हितमा कडा नियम बनाइउको र उनीहरुलाई उचित पारिश्रमिकका लागि समेत कडा कानून रहेको दाबी गरेका छन्

छानविन गर्ने कतारको प्रतिबद्धता

विश्वकप आयोजक कतारले नेपाली कामदारलाई ‘दास’ जस्तो बनाएको समाचार सार्वजनिक भएपछि छानविन गर्ने बताएको छ । बेलायती पत्रिका गार्जियनले कतारमा पुगेर अनुसन्धानात्मक रिपोर्ट तयार पारेको थियो । रिपोर्ट सार्वजनिक भएपछि फिफाले आफु धेरै चिन्तत भएको बताएको छ । प्रतियोगिताको आयोजकले भने रिपोर्टबारे छानविन गर्ने बताएका छन् । उसले भनेको छ-‘कतारमा कुनै पनि कारदारलाई यस्तो व्यवहार गर्ने छुट छैन ।’

उसले विश्वकपका लागि आवश्यक भौतिक संरचना निर्माणका कार्यरत मजदुरको स्वास्थ्य, सुरक्षामा आफूहरु प्रतिवद्ध रहेको बताएको छ । गार्जियनले गरेको अध्ययनका क्रममा जुन ४ देखि अगष्ट ८ सम्ममा कार्यरत क्षेत्रमा भएको दुर्घटनाको क्रममा कम्तिमा ४४ कामदारको मृत्यु भएको, नेपाली कामदारलाई समयमा तलव नदिएको, राहदानी लिएको र बहिर जान नदिएका लगायतको सार्वजनिक भएको थियो ।

गार्जियनमा प्रसारित भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment