गोपाल दाहाल, धरान
किराँती राजा यलम्बरको मूर्ति स्थापना गर्ने भनेर भेडेटारमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा आयोजक नै भागेपछि कलाकारहरु अलपत्र परे । कार्यक्रम आयोजना गर्ने भुवन राई र राजेशपायलकै आफन्त नाता पर्ने प्रताप राईले पैसा नदिएपछि कलाकारहरु अलपत्र परेका थिए । कार्यक्रम सकिँदा आयोजकहरु नै गायब भएपछि गायकहरु विना पैसा फर्किए । प्रायोजकलाई भेडेटार चोकमा कार्यक्रम आयोजना गर्ने भनेर प्रस्ताव पेश गरेपनि कोठाभित्र कार्यक्रम आयोजना गरिएको थियो । दर्शकहरु पचास जनापनि नभएको भन्दै गायक विनोद खम्बुले भने ‘कार्यक्रम सारै झुर भयो ।’
राजेश पूर्वमा व्यस्त
गायक राजेश पायल राई अहिले पूर्वका बिभिन्न ठाउँमा सांगीतिक कार्यक्रममा व्यस्त बनेका छन् । गत शनिबार भेडेटारमा सांगीतिक कार्यक्रम गरेर पुर्वको सांगीतिक यात्रा थालेका उनले त्यसपछि धरानमा लिम्बु भाषाका गीत गाए । अहिले कार्यक्रमकै शिलशिलामा झापामा रहेका राजेश त्यसपछि पुर्वका विभिन्न जिल्लामा पुग्ने तयारीमा छन् ।
हालै सार्वजनिक भएको राजेशको एल्बम ‘दर्शन नमस्ते २’ का गीतले खासै चर्चा नकमाएपनि राजेश पुरानै गीतहरुको साहारामा पुर्वको सांगीतिक यात्रामा निस्किएका हुन् ।
भेडेटारमा आयोजीत कार्यक्रममा राजेशसँगै भिषण मुकारुङ, रेश्मा सुनुवार, विनोद खम्बु र राईमन राईले गीत प्रस्तुत गरेका थिए भने धरानमा आयोजीत याक्थुङ पालामसाँझमा राजेशले एकल प्रस्तुति दिएका थिए । उनले लिम्बु भाषाका केही र आफ्ना नयाँ पुराना गीतहरु गाएर कार्यक्रमलाई रमाईलो पारेका थिए ।