Comments Add Comment

एमाओवादीका लागि प्रतिष्ठाको विषय बन्यो काठमाडौं

१३ कात्तिक, काठमाडौं । देशमा सबैभन्दा ठूलो दल बनेको एमाओवादी अघिल्लो चुनावमा काठमाडौं दोस्रो दल बनेको थियो । यसपालि उसले विगतको विरासत कायम राख्छ या कांग्रेसलाई जितेर पहिलो दल बन्छ भन्ने विषयमा धेरैको चासो छ । स्रोतका अनुसार एमाओवादीले कात्तिक अन्तिममा उपत्यकामा प्रचण्ड र बाबुरामलाई सम्बोधन गराउने हस्तक्षेपकारी रणनीति बनाएको बुझिएको छ ।prachanda-and-renu-dahal

अघिल्लो चुनावमा ठूलो पार्टी बनेको एमाओवादीका लागि मुलुकको राजधानीमा पहिलो पार्टी बन्न नसक्नु उसका लागि प्रतिष्ठासँग जोडिएको विषय हो । ०६४ को चुनावमा एमाओवादीले काठमाडौंबाट ४ सीट जितेको थियो भने कांग्रेसले ६ सीट । एमाओवादीले अघिल्लो चुनावमा २ नं, ६ नम्बर, ७ नम्बर र १० नम्बरबाट चुनाव जितेको थियो ।

पहिले माधव नेपाललाई जित्ने झक्कु सुवेदी हाल समानुपातिकमा हुनुहुन्छ भने ६ नम्बरका हितमान शाक्य वैद्य समुहमा हुनुहन्छ । ७ मा जित्ने हिसिला यमी र १० मा जित्ने प्रचण्डबाहेक सबै नयाँ उम्मेद्वार छन् । पहिले झक्कु सुवेदीले माधव नेपाललाई हराएको २ नम्बर क्षेत्रमा यसपालि एमाओवादीले हार्नु भनेको उसको प्रतिष्ठाको विषय बन्ने निश्चित छ । तर, ०६४ को चुनावमा सिन्धुलीमा जिउँदो सहिद बनाइएका लीलामणि पोखरेललाई दोस्रोपटक जिउँदो सहिद बनाउन लागिएको चर्चा एमाओवादीभित्र चल्न थालेको छ । त्यसैगरी पहिले जितेको ७ नम्बर क्षेत्रमा हिसिला यमीको पराजय भएमा एमाओवादीको प्रतिष्ठामा आँच आउने भन्दै एमाओवादी कार्यकर्तामा चिन्ता छ ।

पूर्वसभासद हितमान शाक्य वैद्य समूहमा लागेको अवस्थामा काठमाडौं ६ गुमायो भने एओवादीलाई पार्टी विभाजनले असर गरेको प्रमाणित हुनेछ । तर, एमाओवादीले विद्यार्थी नेता हिमाल शर्मालाई सो क्षेत्रमा कुनै पनि केन्द्रीय सदस्यसम्म नदिई एक्लै चुनावी मैदानमा पठाइएको छ । छोरीका लागि भने साधन, स्रोत र आर्थिकको अभाव हुन नदिइएको गुनासो कार्यकर्ताहरुको छ ।maoist-cader-kathmandu

मुक्ति प्रधान उठेको ८ नम्बर क्षेत्र पनि रेणु दाहालको क्षेत्रमा जस्तै पहिले एमाओवादीले तेस्रो स्थान हासिल गरेको ठाउँ हो । हाल पासाङ चुनाव लडिरहेको क्षेत्रमा पनि पहिले एमाओवादीले तेस्रो स्थान हासिल गरेको थियो । प्रचण्डले विगतमा निकटम प्रतिद्वन्दी बनेका र वैद्य पक्षको प्रभाव रहेका ठाउँबाट चुनाव लडिरहेका ठूला नेतालाई भन्दा कांग्रेसका प्रकाशमान सिंह विरुद्ध चुनाव लडेकी सामान्य कार्यकर्ता तहकी आफ्नी छोरीलाई बढी काखी च्यापेको र यसले गर्दा उपत्यकाको चुनावमा विगतको विरासत जोगाउन एमाओवादीलाई मस्किल पर्ने आँकलन कार्यकर्ताहरुले गर्न थालेका छन् ।

काठमाडौंमा एमाओवादी पहिलो दल बन्ला कि दोस्रो ?

हाल देवेन्द्र पौडेलले उम्मेद्वारी दिएको काठमाडौंको ९ नम्बर क्षेत्रमा अघिल्लो चुनावमा एमाओवादीले कांग्रेससँग २ सय ७ मतको झिनो अन्तरले पराजय ब्यहोरेको थियो । उक्त क्षेत्रमा प्रचण्ड आफैंले भोट मागिदिएको खण्डमा जित्न सजिलो हुने एमाओवादी कार्यकर्ता बताउँछन् । तर, पहिले जितेका कांग्रेसका ध्यान गोविन्द रञ्जित र एमालेका कृष्णगोपाल श्रेष्ठ पौडेलका बलिया प्रतिद्वन्दी हुन् ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा आफू उठेको १० नम्बर क्षेत्र र छोरी रेणु दाहाल उठेको १ नं क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिनुभएको छ । उहाँले छोरी र आफ्नोबाहेक मंगलबार गणेश रेग्मी उठेको ३ नम्बर क्षेत्रमा पनि सहभागिता जनाउनुभएको छ ।

निकै ठूलो मेहनत र सहभागितामा मंगलबार नयाँ बानेश्वरमा आयोजितसभामा प्रचण्डका बाबुछोरीले भाषण गर्नुभयो । प्रचण्डले उपत्यकामा आफ्नो र छोरीको बाहेक अन्य नेताको चुनाव क्षेत्रमा मत माग्न खासै भ्याउनुभएको छैन । तर, आफ्नो र छोरीको क्षेत्रबाहेक उपत्यकाका सबै चुनाव क्षेत्रमा प्रचण्डले उपस्थिति जनाउने एमाओवादीको रणनीति छ । गगन थापालाई हराउन र पासाङलाई जिताउन प्रचण्ड र बाबुराम कात्तिक २९ गते चाबहिल जाने कार्यक्रम छ ।

काठमाडौं ४ का एमाओवादी उम्मेद्वार नन्दकिशोर पुन पासाङले आगामी कात्तिक २९ गते प्रचण्ड र बाबुराम दुबैले चावहिल क्षेत्रमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने बताउनुभयो । ‘२९ गते दुबै नेता मेरो क्षेत्रमा आउनुहुन्छ, स्थान भने तय भैसकेको छैन ।’ पासाङले अनलाइनखबरसँग भन्नुभयो । त्यसैगरी काठमाडौं ८ का उम्मेद्वार मुक्ति प्रधानले भन्नुभयो, ‘अध्यक्ष प्रचण्ड उपत्यकाका सबै चुनाव क्षेत्रका कार्यक्रमहरुमा सहभागी हुने योजना छ । हामीले बोलाएपछि उहाँ आउनुहुन्छ ।’

एमालेका माधव नेपालसँग काठमाडौं २ मा प्रतिश्पर्धा गरिरहनुभएका एमाओवादीका केन्द्रीय नेता तथा ०४८ सालका जनमोर्चाका पूर्वसांसद लीलामणि पोखरेलको चर्चा रेणु दाहालको भन्दा फिक्का देखिएको छ । विगतमा दुई ठाउँबाट हारेका माधव नेपाललाई सभासद बनाएर प्रधानमन्त्रीको कुर्सीसम्म पुर्‍याउन भूमिका खेलेका प्रचण्डले लीलामणिको चुनाव क्षेत्रमा अहिलेसम्म भोट मागिदिन भ्याउनुभएको छैन ।

आफूले १० हजार मतान्तरले चुनाव जित्ने रोचक दाबी गरिरहेका काठमाडौं ३ का एमाओवादी उम्मेद्वार गणेश रेग्मीको क्षेत्रमा भने प्रचण्ड पुग्नुभएको स्रोतले बतायो । काठमाडौं ५ का एमाओवादी उम्मेद्वार महेन्द्र श्रेष्ठ पनि यतिबेला प्रचण्डपुत्रीका अगाडि छायाँमा पर्दै गएका छन् । काठमाडौं ६ मा एमालेका योगेश भट्टराई, पूर्वमेयर केशव स्थापित र कांग्रेसका भीमसेन दास प्रधानसँग प्रतिश्पर्धा गरिरहेका विद्यार्थी नेता हिमाल शर्माको प्रचार-प्रसार पनि रेणुकै कारण छायाँमा परेको छ ।

काठमाडौं क्षेत्र नं ७ मा एमाओवादीबाट बाबुराम पत्नी हिसिला यमी उठ्नुभएको छ । काठमाडौं ९ मा एमाओवादीका दोस्रो पुस्तामा चर्चित अनुहार देवेन्द्र पौडेलको उम्मेद्वारी परेको छ । एमालेबाट नेवार समुदायका चिर परिचित नेता कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका ध्यानगोविन्द रञ्जितसँग कडा प्रतिश्पर्धा गरिरहेका पौडेललाई सहयोग गर्न प्रचण्डसँग अहिलेसम्म पुग्नुभएको छैन ।

कार्यकर्ताले चिया खान नपाउने अवस्था

काठमाडौं उपत्यकाका एक एमाओवादी उम्मेद्वारले नाम उल्लेख गर्न डराउँदै अनलाइनखबरसँग भने,-‘मसँग त चुनाव लड्ने आर्थिक स्रोत पनि छैन, कार्यकर्ताले कालो चियासम्म खान नपाउने अवस्था आयो । ठूला नेताले यो क्षेत्रमा ध्यानै दिएनन् । ध्यान दिएको भए जितिने क्षेत्र हो यो । कसैलाई भने खर्च पनि प्रशस्त दिइएको छ, नेताहरु पनि खटाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment