Comments Add Comment

हारेका उमेद्वार फेरि मतदाताको घरदैलोमा

ज्ञानेन्द्र खड्का

१४ मंसिर, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनमा पराजित उमेद्वारहरु आफूलाई मत दिने मतदातालाई धन्यवाद दिन भन्दै फेरि घरदैलो अभियानमा निस्किएका छन् ।

काठमाडौं क्षेत्र नं. ९ मा कांग्रेस उमेदवार ध्यानगोविन्द रञ्जितसँग पराजित हुनुभएका एमाले उमेद्वार कृष्णगोपाल श्रेष्ठले दैनिक पत्रिकामा आभार-पत्र प्रकाशित गरेर मतदातालाई धन्यवाद दिंदै चाँडै मतदाताको घरदैलोमा आउने प्रतिवद्धता जनाउनुभएको छ । ‘मलाई मत दिनुहुने सबै मतदातालाई धन्यवाद दिन्छु, जनता आमा हुन्- कहिले रिसाउँछिन्, कहिले गाला मुसार्छिन्’ श्रेष्ठले भन्नुभएको छ, ‘म पराजित भएपनि मेरो स्थानबाट संविधानसभामा जानेले दलित, जनजाति, महिला र पिछडिएका वर्गको संविधान बनाउन भूमिका खेलुन्, म भने अहिले पनि जनताको साथमै छु ।’Krishna-gopal-Message.111

मकवानपुर २ बाट पराजित एमाओवादी नेता नारायणकाजी श्रेष्ठले राजनीतिमा हारजीतलाई सामन्य भन्दै चुनावमा आफूले हारे पनि आफूलाई मत दिनेहरुप्रति आभार प्रकट गर्नुभएको छ । ‘मलाई मत दिने सबै मतदातालाई म धन्यवाद दिन्छु, मतदातालाई धन्यवाद नि म चाँडै घरदैलोमा पनि आउनेछु ।’ नेता श्रेष्ठले भन्नुभएको छ ।

मकवानपुरमा विजेता उमेद्वारहरुसँगै पराजित उमेदवारहरु पनि अहिले घरदैलो अभियानमा छन् । मकवानपुर १ बाट विजयी कांग्रेसका उमेदवार इन्द्र बानियाँ, २ बाट विजयी एमालेका सुवाससिंह ठकुरी, ४ बाट विजयी राजाराम स्याङ्तानसँगै उनीहरुका पराजित उमेद्वाहरु पनि मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा छन् ।

मकवानपुरबाट पराजित उम्मेद्वारहरु कांग्रेसका रघुरमण न्यौपाने र राप्रपा नेपालका दीपकबहादुर सिंह मतदाताको घरदैलोमा लाग्नुभएको छ । विजेतासँगै पराजित उमेदवारहरु पनि घरघरमा आएपछि मतदातासमेत खुसी भएका छन् । ‘एउटा निर्वाचनमा हारेका छौं, राजनीतिमा हारेको होइन ।’ उमेद्वार न्यौपानेले भन्नुभयो, ‘चुनाव हारेपछि मतदाताकहाँ पुग्दा हामीलाई भव्य स्वागत गर्नुभएको छ ।’

Balkrishn-Dahal
बालकृष्ण दाहाल

पूर्वी नेपालको पहाडी जिल्ला ओखलढुंगामा पनि विजयी उमेदवारसँगै पराजित उमेदवारहरु पनि घरदैलो अभियानमा छन् । ओखलढुंगा १ बाट पराजित हुनुभएका कांग्रेस उमेदवार बालकृष्ण दाहाल जनताको साथमै रहेर काम गर्ने प्रतिवद्वता जनाउँदै घरदैलो अभियानमा जुट्नुभएको छ । कांग्रेस नेतासमेत रहनुभएका दाहालले जिल्लाको विकास र संविधान निर्माणका लागि आफ्नो पूर्ण साथ र सहयोग रहनु बताउनुभएको छ ।
एमाले उमेद्वार यज्ञराज सुनुवारसँग पराजित हुनुभएका दाहालले ओखलढुंगा सदरमुकाममा पत्रकार सम्मेलन गरेरै हार सहर्ष स्वीकार्नुभएको थियो । ‘संविधान निर्माणमा मेरो प्रत्यक्ष संलग्नता नभएपनि जिल्लाको विकासका लागि म निरन्तर कृयाशील रहनेछु ।’ दाहालले पत्रकार सम्मेलनमा भन्नुभएको थियो ।

रुपन्देही १ र ३ बाट कांग्रेसका उमेद्वारसँग पराजित एमाले पोलिटव्यूरो सदस्य छविलाल विश्वकर्मा र एमाले केन्द्रीय सदस्य घनश्याम भुसाल आ-आफ्ना क्षेत्रका मतदातालाई धन्यवाद दिन व्यस्त बन्नुभएको छ ।

क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांडसँग ८६ मतले पराजित भुसालले आफू संविधानसभामा नगएपनि संविधान निर्माणमा भूमिका निर्वाह गर्ने बताउनुभएको छ । ‘प्राविधिकरुपमा म पराजित भएपनि संविधान निर्माणको लागि पार्टीबाबाट सक्दो सहयोग पुर्‍याउने छु,स्थानीय विकासको लागि व्यक्तिगतरुपमा निरन्तर लागिपर्नेछु ।’ भुसालले भन्नुभयो ।

Chhabilal-BK-and-Matadata
रूपन्देही १ बाट पराजित एमाले उमेदवार छविलाल विश्वकर्मा चुनावपछिको घरदैलोका क्रममा मतदातासँग ।

त्यस्तै क्षेत्र नं. १ मा कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकसँग २ सय ४ मतले पराजित एमाले उम्मेद्वार विश्वकर्मा पनि मतदातालाई भेट्दै जनताको सुखदुखको साथी बन्ने बताउनुभएको छ ।  रुपन्देही ४ बाट पराजित एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पनि शुक्रवार सो क्षेत्रका मतदातालाई भेटेर आफुलाई दिएको मतप्रति आभार व्यक्त गर्नुभएको छ ।

सल्यान क्षेत्र न २ बाट पराजित हुनुभएकी नेपाल परिवार दलकी उमेदवार योगमाया घर्तीले पनि घरदैलो थाल्नुभएको छ । व्यक्तिगत स्वार्थका लागि राजनीति नगरेको बताउँदै घर्तीले मतदाताको घरसम्म पुग्दै एक विद्यालयलाई १७ लाख ३० हजार बराबरको सहयोग गर्नुभएको छ । मतदातालाई धन्यवाद दिंदै घरदैलो अभियान पछि घर्तीले २ लाख ३० हजार रुपैयाँ र १७ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्नुभएको हो ।

अघिल्ला निर्वाचनमा पराजित भएपछि मतदातालाई गाली गर्दै हिँड्ने कु-प्रथालाई तोड्दै पराजित उमेदवारहरु चुनावपछि मतदाताको घरमा पुगिरहेका छन् । विजयी उमेदवार जितको खुसीमा मतदाताकहाँ पुगिरहँदा पराजितहरु भने अर्को पटक आफूलाई जिताउन आग्रह गर्दै मतदाताको घरमा पुग्न थालेका हुन् ।

विजयी उम्मेदवारजस्तै अघिपछि कार्यकर्ता लगाएर मतदातालाई धन्यवाद दिन पराजित उमेदवारहरु घर दैलो अभियानमा लागेका हुन् । पराजित उमेदवारहरु हारलाई सहर्ष स्वीकार्दै ‘छायाँ सभासद’ बनेर काम गर्ने प्रतिवद्वता गर्ने चुनावपछि गाउँ छिरिरहेका हुन् ।

चुनाव जितेका उमेदवारहरुले गाउँलाई माया मार्ने गुनासो आइरहेका बेला पराजित उम्मेदवारहरु पनि विज्ञप्ति निकालेर, मिडियाबाट र घरदैलोमै पुगेर आफूलाई भोट दिने मतदातालाई धन्यवाद दिन व्यस्त बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment