Comments Add Comment

संस्मरण- इन्द्रचोकका रैथाने यसरी भोजपुरे भयौं

शैलेन्द्र साकार

हाम्रो परिवारलाई भोजपुर जिल्लाभरि नै ‘हुलाकी सन्तान’ भनेर भन्थे । मलाई लाग्छ, अहिलेसम्म पनि सम्पूर्ण भोजपुरका अलि पुराना मानिसहरु ‘हुलाकी जेठाको नाति’ भन्नासाथ हामीलाई चिन्छन् । त्यसको प्रमुख कारण त मेरो हजुरबा मुखिया कुष्णबहादुर श्रेष्ठ मैले आँखा खोल्दा पनि भोजपुर हुलाकको कार्यालय प्रमुख (मुखिया) हुनुहुन्थ्यो । मैले सुने अनुसार उहाँका पिता, मेरा जीजुबाजे पनि हुलाकमै प्रमुख हुनुहुन्थ्यो । एक प्रकारले पुस्तैनी हुलाकमै लगातार प्रमुख भएर जागिर खाएकाले जिल्लाभरि ‘हुलाकी सन्तान’ भनेर हाम्रो प्ररिवार प्रसिद्ध हुन पुग्यो । हाम्रो खलक त्यहाँ कसरी पुग्यो होला भन्ने विषयमा मैले सुनेको कुरा म यहाँ व्यक्त गर्न चाहन्छु । यो एउटा किम्वदन्तिको रुपमा रोचक कथा छ । यो रोचक कथा समय काट्ने मेलोको रुपमा र कहिलेकाहीँ कानेखुशीका रुपमा जाडोको बेला अगेनामा मकल ताप्दै कथाको रुपमा हामीले सुन्दै आएका हौं । यो कथा मेरो पिताजीले उहाँको पिताजीबाट र मेरा हजुरबाले उहाँको पिता अथवा जीजुबाबाट परम्परागत रुपमा सुन्दै आएको हुनुपर्छ ।

यद्यपि यो कथा मैले मेरो छोरालाई अथवा नाति नातिनालाई सुनाउन पाएको छैन । किनभने काठमाडौंमा त्यसरी आगो ताग्दै सबै परिवार बसेर गफ गर्ने मौका एकदमै कम हुन्छ । सबैको आ-आफ्नो बुफूर्सदी छँदै छ । यो आत्मसंस्मरणकै माध्यमबाट मेरा सन्तानहरुले यो कुरा थाहा पाउन् भन्ने मलाई छ । यो कथा मैले आफ्नो हजुरबा, बा बाहेक माइला हजुरबाका छोरा भीमबहादुर साहुजी र कान्छा हजुरबा अम्बरबहादुर श्रेष्ठबाट बारम्बार सुन्दै आएको छु । पछि मेरा काका डा. गजेन्द्रमणि प्रधानबाट पनि दशैंको भोजमा नाटकीय रुपमा सुन्दै आएको हुँ । भर्खरै मैले आफ्नो साक्खै काकालाई ‘प्रधान’ भने लेखेँ । मेरो वास्तविक जागिरे नाम र पढाइको प्रमाणपत्र नागरिकताको नाम शंकरप्रसाद श्रेष्ठ छ । यो फरक कसरी भयो । मबाहेक मेरा दाजु, भाइ बहिनीहरु प्रधान नै लेख्छन् र मेरो नामको पछाडि मात्र ‘श्रेष्ठ’ कसरी जोडियो र यो प्रश्न हामीलाई चिन्ने जसले पनि राख्ने गरेका छन् । हाम्रो पुर्खा जुन काठमाडौं पूर्व लागेको थियो त्यो ठाउँमा अहिले पनि जोशी र प्रधानको बाहुल्य छ । श्रेष्ठहरु पनि छन् । त्यसैले पूर्व लागेको हाम्रो पहिलो पूर्खाको थरका बारे हामी कोही पनि प्रष्ट छैनौं । एउटा कुरा भने प्रष्टसँग भन्न सकिन्छ र त्यो के भने उहाँ खासै नेवार हुनुहुन्थ्यो । त्यो कुरा भन्न लागेको कथाले पनि व्याख्या गर्ने छ ।

नेपालको इतिहासको प्रसिद्ध कोतपर्वपछि अभ्युदय भएको जंङ्गबहादुरका भाइ रणोद्वीप सिंहलाई गद्धिच्यूत गर्न एउटा ठूलो षडयन्त्र वि.स. १९३८ मा रचिएको थियो । त्यो पर्व ‘३८ सालको पर्व’ भनी इतिहासमा प्रसिद्ध छ । मेरा पूर्खा त्यसबेलाका जल्दाबल्दा कर्णेल इन्द्रजीत सिंह कहाँ केही काम गर्थे । के काम गर्थे भन्ने कुरा कहीं कतै नलेखिएकाले केही भन्न सकिन्न । हुनसक्छ । कर्णेलको हिसाब किताब राख्ने काम, हुनसक्छ बैठके, ढोके, हुक्के, बगैँचे जे पनि । मेरा बाबु बाजेका कुरा बुझ्दा उहाँ कर्णेल इन्द्रजीतको कारोवारको हिसाव किताब राख्ने सुब्बा, खरिदार, मुखिया या यस्तै केही । उहाँ असन बालकुमारी थानका पक्का नेवार हुनुहुन्थ्यो । विहानै करसाहेव कहाँ नै जानुपर्ने भएकाले शायद धेरै जसो समय उहाँ दरवारमा नै बिताउनु हुन्थ्यो । दरबारका खास विश्वस्त मानिसमा उहाँको गणना हुन्थ्यो । त्यसबेलाका कर्णेल इन्द्रजीतका कति पत्नीहरु थिए, त्यो त अहिले भन्न सकिन्न, भन्न सकिने कुरा पनि भएन । शायद धेरै जसो समय उनी जङ्गी कामकाजमै व्यस्त रहन्थे । आफ्ना पत्नीहरुलाई समय दिन भ्याउँदैन थिए । उनकी एकजना पत्नी मेरा हजुरबाका हजुरबासँग प्रेममा फसेकी थिइन् । उहाँहरुको प्रेम कति गहिरो रहेछ त्यो त एकदिन अकस्मात भागेर हिँडेपछि नै सर्वत्र हल्ला भयो । शायद यही कुरालाई प्रमुख विषय बनाएर नाटककार बालकृष्ण समले ‘प्रेमपिण्ड’ नाटकको रचना गरेका होलान् । त्यसबेला जारलाई काट्न पाउनु न्यायसंगत कुरा थियो । पत्नी लाने जारलाई, त्यसमाथि आफ्नै महलमा काम गर्ने नेवारलाई काट्नु कर्णेल इन्द्रजीतका लागि वायाँ हातको खेल थियो । उनले आफ्ना केही गुप्तचरहरुलाई नेवारको खोज खबर गर्न पश्चिम लागे । कर्णेलकी पत्नीको जिउभरि गहना गुरिया र सुनले झपक्कै थियो रे । पश्चिम एक नम्बर त्रिशूली नेर पुगेपछि दुवै थाकेर कतै बास बसेको बेला एक या दुई जना डाकाले राति मार्नलाई नाङ्गो खुकुरी चम्काउँदै आफूतिर आउन लागेको मेरा पुर्खाले प्रष्ट देख्नु भयो । रोइकराई गरी आफूसँग भएभरको गहना त्यही आक्रमकलाई बुझाएर ज्यानको भीख माग्नु सिवाय अर्को उपाय थिएन ।

पश्चिम लाग्नु खतरापूर्ण थियो । साथमा भएको सबै रुपैयाँ पैसा डाकालाई बुझाएर मेरा पूर्खा आफ्नी प्रेमिकालाई लिएर काठमाडौं नै फर्की केही समय लुकेर गुप्तवास बस्नु भयो आफन्तहरु कहाँ । एउटा प्रख्यात ज्योतिषलाई आफन्तहरुले हेराएछन् । ज्योतिषले धेरैबेर चिना टिपन हेरेर यस्तो सल्ला दिए- “पश्चिममा ज्यानको खतरा थियो टर्‍यो । अब पूर्वतिर लाग्नोस् । यहाँबाट पूर्व लाग्दा ठीक १३ दिनमा जुन ठाउँमा पुग्नुहुन्छ त्यहीँ ठाउँमा घरजम गरेर बस्नुहोला, ज्यान बाच्ने छ र भविष्यलाई पनि राम्रो होला ।”

यस्तो स्पष्ट दिशानिर्देश पाएर पूर्खादम्पति पूर्व लाग्नु भयो । असनको घर आफन्तहरुलाई जिम्मा लगाएर कुम्लो कुटुरो बोकेर त्यो प्रेमी जोडी पूर्व लाग्यो । असन बालकुमारी थानको त्यो घर कस्तो थियो भन्ने विषयमा मेरा बाजे कृष्णबहादुर श्रेष्ठसँग यस विषयमा कहिल्यै कुनै कुराकानी भएन । किनभने हामी नातिहरु उहाँलाई त्यो सोध्ने अवस्थामा आइपुग्दा बाजेको मृत्यु भइसकेको थियो । ५५ वर्षकै उमेरमा मुटुको व्यथाले उहाँको मृत्यु भयो । घरका बारे हजुरआमा शारदाले धेरै बताउन सक्नुहुन्थ्यो । किनभने उहाँहरु त्यो घरमा धेरै बस्नु भएको थियो र मेरा पिता र काकाको जन्म पनि त्यही घरमा भएको थियो । मेरी आमालाई लिएर वि.स. २००२ सालतिर पहाडको बाटो १३ दिन हिंडेर बा-आमा काठमाडौं आउनु भएको थियो । आमाको भनाइ अनुसार त्यसबेला मेरा दाजु परशु प्रधान टुकुटुकु हिंड्न सक्ने भएकाले पूर्व पहाडदेखि काठमाडौंसम्मको यो यात्रा सुरु भएको थियो । त्यति सानो उमेरमा पनि परशु दाइको बाल-हिंडाइ निकै आश्चर्य लाग्दो थियो । एउटा बच्चा बोक्ने भरिया पनि साथै भएकाले अलि सजिलो भयो । वि.स. २००३ सालको सुरुका केही महिनासम्म मात्र उहाँहरु असनमा बस्नु भयो । मेरो गर्भाधान त्यही समयमा भएको रहेछ । मेरो जन्म भोजपुरमा भएको भए पनि म गर्भमा बास बसेको समय रहेछ बा-आमा काठमाडौंको असनमा बस्ने गरेको बेला । यो पनि एउटा आश्चर्यजनक संयोग नै हो ।

असन बालकुमारीको त्यो घर चार तलाको झिंगटीको छानो भएको पुरानो खालको घर थियो । भुइँतलामा रिफेलका अग्ला सिपाहीहरु बस्थे । त्यहाँबाट हनुमानढोका जान एकदम नजिक भएकाले पनि काँठका मानिसहरु त्यहाँ बहालमा बस्न रुचाउँथे । भर्‍याङका कुना काप्चातिर अलि-अलि र बुईंगलमा छ्यास्छ्यास्ति सेता ख्याकहरु भेटिन्थे । ती ख्याक्हरु भकुण्डो जस्तै गुर्र… गुड्दै तल माथि गरिरहन्थे र घरका कुनै सदस्यलाई पनि कुनै किसिमको बिगार गर्दैन थिए । मेरी आमा पहाडबाट खास गाउँको ‘मनु’का रुपमा शहर आउनु भएकाले र नेवारी भाषा पनि नआउने भएकाले उहाँको कतै आवतजावत थिएन । मेरा बा भने पर्रर नेवारी भाषा बोल्न सक्नुहुन्थ्यो । उहाँले नजिकैको दरवार हाइस्कुलमा कक्षा ८ सम्म पढ्नु भएको थियो र दरवार हाइस्कूलका प्रथम पि्रन्सिपल बटुकृष्ण मैत्रको लामो दाह्री खेलाएर बसिरहन्थे भनी धेरैपल्ट हामीलाई बताउनु भएको थियो । बटुकृष्ण मैत्र बङ्गाली शिक्षक थिए र दरवार हाईस्कुलका प्रथम पि्रन्सिपल । अँ त ख्याकहरु दिनभर कोठाका कुनाबाट भर्‍याङका कुना र भर्‍याङका कुनाहरुबाट सर्दै गुड्दै बुईंगलतिर र बुईंगलबाट गुद्रुङ-गुद्रुङ गरेर झर्दै विचित्र खेलहरु देखाइरहन्थे । तिनीहरुसँग तर्केर, जोगिएर तल माथि गर्नु पर्दथ्यो । ती ख्याकहरु छाम्दा हिउँजस्ता चिसा थिए । त्यति चिसो वस्तु आजसम्म मेरी आमाले छुनु भएको थिएन । एउटा रहस्यमय डर बातावरणमा घुमिरहन्थ्यो । त्यसबेला मेरा बाजे अमालकोट कचहरी पशुपतिमा जागिर पाएर भोजपुरबाट काठमाडौं आउनु भएको थियो ।

त्यो असन बालकुमारीको घर २०१४ सालमा १४ हजार रुपैयाँमा विक्री भएको कुरा मैले पछि सुनेँ । मेरा कान्छा हजुरबा अम्बरबहादुर श्रेष्ठलाई २०१५ सालको चुनाव लड्न पैसाको आवश्यकता थियो । उहाँमा राजनीतिक रुचि थियो र त्यसबेला डा. के. आई. सिंहको चर्चित पार्टी संयुक्त प्रजातन्त्र पार्टीको पूर्वाञ्चल सभापति हुनुहुन्थ्यो । त्यो भन्दा पहिला उहाँ टंकप्रसाद आचार्य नेतृत्वको प्रजा परिषद्का भोजपुर जिल्ला सभापति हुनु हुन्थ्यो भन्ने कुरा सुनेको थिएँ । २०१५ सालको चुनावमा भोजपुरको उत्तरी क्षेत्रबाट चुनाव लडेर उहाँ काङ्ग्रेसका दीवानसिंह राईसँग चुनाव हार्नु भएको थियो । भोजपुरको सोर्‍याङ गाउँमा रहेको खेतबारी सप्पै कान्छो भएका नाताले उहाँले पाउनु भएको थियो । मेरा बाजे कृष्णबहादुरलाई यही कुरामा आफ्नो पितासँग असाध्य रीस उठेको थियो ।

आफ्नो पूर्खाको थलो अरु कसैलाई जिम्मा लगाएर पूर्व लागेको त्यो जोडी १३ औं दिनमा भोजपुर भन्ने ठाउँमा आइपुग्यो । त्यहाँ कहीँ कतै केही थिएन, पहाडको खुट्टा र घना जङ्गल मात्र । कर्णेल इन्द्रजीतको भयावह डर बोकेर हिँडेका पूर्खा एउटा अँध्यारोको अनिश्चित यात्रामा होमिएका थिए । काठमाडौंबाट कहिल्यै कतै नलागेको त्यो जोडी आफ्नो परिचय लुकाउँदै हिँडेको हिँड्यै भयो । यसरी तेहै्र दिनमा माझ किराँत भोजपुरमा वि.स. १९३८ मा आइपुग्यो त्यो जोडी । ज्यातिषको सल्लाहअनुसार हाम्रो पूर्खालाई त्यहाँ बस्नु नै थियो । चारैतिर बाघ, भालु र जङ्गल छ । केही किराँत जातका मानिसहरु छन् बाउँठिएका र अरठ्ठ । बोल्नै नहुने । चारहात लामो सिरुपाते खुकुरी कम्बरमा भिरेर हिँड्ने । नजिकै सिद्धकालीको जङ्गलबाट बगिरहेको मीठो, स्वच्छ र असाध्य चिसो पानी छ । जसले एकपल्ट पनि त्यो सिद्धकालीको धाराको पानी चाख्छ उसले जिन्दगीभर त्यो पानी भुल्दैन भनेर आज पनि भनिन्छ । त्यहीँ भनाइलाई उद्धृत गर्दै भाइ प्रदीप नेपालले कतै भेटमा एकपल्ट भनेको थिए- “हामी सिद्धकाली धाराको पानी खाएर हुर्केकाहरु, हाम्रो कसैसँग झुक्ने बानी नै छैन ।” खैर जे होस्, भोजपुरेहरुलाई यो कुरा असाध्य मनपर्छ भन्ने कुरा प्रदीप नेपाललाई राम्रैसँग थाहा छ ।

यता काठमाडौंमा कर्णेल इन्द्रजीत आफ्नो जार काट्न खुकुरीमा साँध लाउँदै थिए । तर उनी परेछन् तात्कालिन श्री ३ का विरोधी समूहमा । नेपालको इतिहासमा चर्चित ३८ सालको पर्वका बारे यहाँ धेरै व्याख्या नगरौं । छोटकरीमा भनौं । श्री ३ रणोद्दिप सिंह (श्री ३ जङ्गबहादुरका भाइ) लाई सत्ताच्यूत गर्न धीर शम्शेरले गोप्य षडयन्त्रको सूत्रपात गरेका थिए । तर षडयन्त्रको पर्दाफास समयमै भएकाले विरोधिहरु सम्पूर्ण समातिए र उनीहरुलाई ज्यान सजाय दिइयो । विपक्षमा लागेका सेनाका थुप्रै व्यक्तिहरु तत्काल मारिए । मारिनेमध्येमा एउटा प्रमुख नाम थियो कर्णेल इन्द्रजीत ।

(कवि शैलेन्द्र साकारको प्रकाशोन्मूक आत्मकथा ‘पैतालामुनि’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment