Comments Add Comment

निर्देशक ईमान्दार नहुँदा सिने नगरी बिग्रियो : सुरज सुब्बा

suraj-subba-nalbo

नेपाली सिने क्षेत्रमा लेखक तथा निर्देशक सुरज सुब्बा ‘नाल्बो’ कुनै नौलो नाम होइन । ‘बाटो मूनिको फूल’ सिनेमा निर्देशन पश्चात एकाएक चर्चा कमाएका उनले ८० वटा चलचित्रका लागि कथा लेखिसकेका छन् । पौष २६ गतेबाट उनले नै निर्देशन गरेको चलचित्र ‘बितेका पल’ देशभरका हलमा प्रदर्शनमा आउँदैछ । यसैको सेरोफेरोमा रहेर अनलाइनखबरका लागि विजय आवाजले उनीसँग गरेको कुराकानी :

‘बितेका पल’ चल्ने दिन नजिक आइसक्यो, ढुकढुकी त पक्कै बढेका होला हैन र ?

म आफै सधै नै लो प्रोफाइलमा बस्छु । मैले सिनेमा मन देखि बनाउने कोशिश गरेको छु । मलाई जित्नै पर्छ भन्ने लाग्दैन । सफलता र असफलताको स्वाद मैले राम्रैसँग चाखेको छु । मलाई सिनेमा निर्माणको समयमा ज्यादा टेन्सन हुन्छ । अब सिनेमा तयार भैसकेको छ, दर्शकले कुन रुपमा स्विकार गर्नुहुन्छ, त्यो सिनेमा चलेपछि नै थाहा हुन्छ ।

‘बितेका पल’ सिनेमा बनाउँदा र प्रिमियर पश्चातको अनुभव कस्तो रह्यो ?

हामी सिनेमाका केही दृश्यहरुलाई लिएर दोधारमा पक्कै थियौ । तर सिनेमा हेरिसकेपछि चलचित्रकर्मी र पत्रकारहरुले दिनुभएको सुझाव हाम्रो लागि मार्गदर्शन बन्यो । हामीले पनि सिनेमालाई उहाँहरुको सुझाव अनुसार नै परिष्कृत गरेका छौ । मैले जुन कोशिश गरेको थिए, त्यो प्रिमियर पश्चात सफलताको नजिक पुग्यो भन्ने नै लाग्छ ।

जति पनि दृश्य प्रिमियर पश्चात काँटिए, त्यो पहिले नै काट्नु पर्छ भन्ने लागेको थिएन ?

निर्देशकका हिसाबले म केही दोधारमा नै थिए । तर एउटा निर्देशकमा कन्फ्यूजन र कन्पिmडेन्ट दुबै हुनुपर्छ । म केही दृश्यलाई लिएर दोधारमा थिए । जुन प्रिमियरमा आएको सुझावले परिवर्तन गरिदियो ।

प्रिमियर पश्चात त सिनेमाको चर्चा तपाइको नामले भन्दा नायिका केकी अधिकारीको अभिनयले बढि भयो नि हैन, तपाई छायाँमा पर्नु भएको हो र ?

बिल्कुल मैले त्यस्तो सोचेको छैन । एउटा कलाकारको तारिफ हुनु भनेको पनि निर्देशक नै सफल हुनु हो । ‘नुमा’ भन्ने पात्रलाई सिनेमामा मैले तारिफ योग्य तबरले काम नगराएको भए पक्कै पनि म असफल हुन्थे ।

८० वटा भन्दा बढि सिनेमा लेख्नु भयो, अहिले आफै निर्देशन गर्दै हुनुहुन्छ, के अरुको कामबाट चित्त वुझेन र ?

मैले जति पनि सिनेमाको लागि कथा लेखे, केही सिनेमाहरुको निर्देशकीय पाटोबाट म आफै पनि सन्तुष्ट थिइन । मैले सोचे जस्तो भीजन नआएकाले पनि आफै सिनेमा निर्देशन गर्छु भन्ने लाग्यो । १४ बर्ष अघि २ सिनेमाको निर्देशन गरेर म असफल भएको थिए । तर मान्छे कहिले असफल हँुदैन, उसको काम असफल हुन्छ भन्ने मलाई लाग्छ । यसैले फेरि निर्देशनमा नै फर्किए ।

तपाईलाई धेरैले ‘ओभर कन्भिडेन्स’ भएको व्यक्ति भन्छन् नि ?

त्यो मान्छेको सोचाइमा भर पर्ने कुरा हो । मैले सधै नै नयाँ कलाकार लिएर काम गरेको छु । म स्टारमा भन्दा पनि सिनेमाको बिषयवस्तुमा ध्यान दिन्छु । यसैले पनि यस्तो आरोप आएको हुनसक्छ ।suraj-subbaनेपाली सिनेमाले विकासको बाटो नसमात्नुको पछाडी दोषी को जस्तो लाग्छ ?

मैले सुरुका दिनमा संघर्ष गर्दा थुप्रै निर्देशकले ५ लाख हाल्ने मानिस ल्याउनुहोस्, तपाइको कथामा सिनेमा बनाउला भन्नु हुन्थ्यो । पछि उहाँहरु मैले नै लेखेको कथालाई राम्रै मुल्य तिरेर सिनेमा निर्देशन गर्न तयार हुनुभयो । मैले अरुको कारणले थुप्रै विदेशी सिनेमा कपि गरेको छु । बरु हामी झुर सिनेमा बनाऔं तर अरुको नक्कल नगरौ भन्ने मलाई लाग्छ । नेपाली सिनेमा सफल नहुनुको पछाडि सबैभन्दा दोषी हामी निर्देशक नै हौ । हामी कहिल्यै पनि ईमान्दार भएनौ । जहिले पनि पैसाको लागि सिनेमा बनायौ हामीले । सिनेमा भनेको दाल भातका लागि बनाउने होइन । सिनेमा भनेको नजान्नेहरुका लागि सजिलो र जान्नेहरुका लागि निक्कै गाह्रो बिषय हो । तर हामी निर्देशकहरुले हलुका रुपमा सिनेमालाई वुझिदिदा यो क्षेत्र उकालो लाग्न सकेन ।

तपाई एक निर्माताबाट के चाहनुहुन्छ ?

पैसा मात्र लगानी गर्ने निर्माता हो भने सिनेमा वुझेर बनाउने ‘मेकर’ हो । म निर्मातासँग हैन मेकरसँग काम गर्न चाहन्छु । मेकरलाई चलचित्रको क्यानभास थाहा हुन्छ । निर्मातालाई पैसा मात्र थाहा हुन्छ ।

‘बितेका पल’का निर्माता राजेश घतानी मेकर कि निर्माता ?

उहाँ जानी नजानी मेकर बन्नुभयो । २ वटा सिनेमाको अनुभवले नै उहाँलाई मेकर बनाइदियो ।

‘बितेका पल’लाई जसरी बास्तविक घटना भनेर प्रचार गरिएको छ, आखिर कसरी यो बास्तविक घटना भयो ?

यो एकजना बैनीको जीवनमा घटेको घटना हो । उनलाई म र निर्माता राजेश घतानीले राम्रोसँग चिनेका थियौ । म झुटको खेती गरेर दर्शक झुक्याउन चाहन्न ।

‘वितेका पल’ले दिने सन्देशले समाजमा सकारात्मक वा नकारात्मक कस्तो प्रभाव पार्ला ?

जहाँ माया पाइदैन, त्यहाँ माया खोज्दा पाएको माया पनि गुम्छ । सिनेमाले दिन खोजेको सन्देश यही नै हो । जुन सकारात्मक छ भन्ने नै मलाई लाग्छ । यो सिनेमाबाट दर्शकले जस्तो आशा गर्नुभएको छ, त्यो पाउनुहुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।

‘बितेका पल’ सफल या असफल भएको खण्डमा तपाई कति प्रतिशत जिम्मेबारी लिनुहुन्छ ?

सफल वा असफल जे भएपनि म १ सय प्रतिशत नै जिम्मेबारी लिन्छु । सिनेमाको सम्पूर्ण जिम्मेबारी निर्देशकले नै लिएकाले म सफलता या असफलता दुबैको पूर्ण स्वाद लिन तयार छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment