Comments Add Comment

गौतम बुद्ध विमानस्थलका लागि २२ टेन्डर परेका छन्

रतिशचन्द्रलाल सुमन / महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

rclsनेपालमा दुर्घटना बढ्ने गरेको गुनासो आउँछ । थोत्रा जहाज चलाउँदा पो दुर्घटना बढेको हो कि ?

जहाज कहिल्यै पनि थोत्रा हुँदैनन् । जहाजमा हरेक भागको जीवन हुन्छ । जहाजको सेडुअल व्यवस्थापन गर्न सकेमा त्यसले राम्रो काम गर्न सक्छ । जहाज कन्डिसनमा राखिएको छ कि छैन भनेर अनुगमन गर्ने आवश्यकता रहन्छ ।

जहाजमा खासगरी तीनवटा पक्ष हुन्छन् । एउटा मेसिन हो । आकाशमा उड्दाउड्दै बिग्रन सक्छ भनेर ध्यान दिनुपर्छ । खराब मौसममा परे के गर्ने, आकाशमा बिग्रियो भने के गर्ने भनेर कम्पनीले कार्यविधि बनाइदिएको हुन्छ । यस्तो कार्यविधि एउटा कम्पनीले दिएको हुन्छ, अर्को नागरिक उड्डयनले । तीनवटामा दुईवटा पक्षले राम्रो काम गर्दासम्म केही हुँदैन, दुईवटाले राम्रो काम गरेनन् भने नराम्रो परिणाम निस्कन्छ ।

नेपालको वायुसेवाले नेपाली यात्रुमाझ पनि विश्वास गुमाउन थालिसकेको हो ?

दुर्घटना बढेपछि यात्रुहरुमा त्यो भ्रम बढेको हुन सक्छ । नेपालमा प्लेनमात्र होइन, बसहरु पनि दुर्घटना भइरहेको खबर सुनिन्छ । बस दुर्घटना हुँदा हत्तपत्त छानविन समिति गठन भएको पाइँदैन । तर, वायुयान दुर्घटना हुँदा छानवीन समिति गठन भइहाल्छ । यसबाट नै वायुयानको संवेदनशीलता रहेछ भन्ने थाहा हुन्छ ।

हवाइ सेवासँग सरोकार राख्ने सबै निकाय सचेत नहुँदा दुर्घटना बढेका हुन् । सबै पक्षले आफ्नो संवेदनशीलता बुझेर काम गर्ने हो भने दुर्घटना घटाउन सकिन्छ । अहिले पनि हवाइ उडान सुरक्षित यात्रा हो ।

मानिसको आ-आफ्नो मानसिकता हुन्छ । कतिले भन्लान् हवाइ यात्रा सुरक्षित छैन । कतिपयले भन्लान् सडक यात्राभन्दा हवाइ यात्रा सुरक्षित छ । मैले पनि नेपालको हवाइ क्षेत्र सुरक्षित नै छ भन्छु । सन् १९५५ देखि हालसम्म नेपालमा ७० देखि ७२ वटासम्म हवाइ दुर्घटना भइसकेजस्तो लाग्छ ।

भौगोलिक बनावटअनुसार यति दुर्घटना स्वाभाविक हो र ?

मैले स्वाभाविक हो भन्ने शब्द प्रयोग गरेँ भने मान्छेहरुले रुचाउँदैनन् । हवाइ दुर्घटनालाई भौगोलिक अवस्थासँग जोडेर हेर्नु हुँदैन । नियमभित्र रहेर काम गरेमा जस्तोसुकै भौगोलिक क्षेत्रमा पनि जहाज सहजरुपमा उडाउन तथा अवतरण गर्न सकिन्छ ।

कम्पनीहरुले दुर्घटना हुनुमा भूगोललाई दोष दिन्छन् भने म यसमा सहमत छैन । हामी अहिले उड्डयन क्षेत्रमा जे जति गरिरहेका छौं, त्योभन्दा बढी राम्रो गर्न सक्छौं । हामी बाटो जाम भयो भने फुटपाथबाट मोटरसाइकल दौडाउने, जहाँ पायो त्यहाँबाट सडक क्रस गरेर विपरीत दिशामा जाने, जेब्रा क्रसिङबाट बाटो नकाटेर जहाँ पायो त्यहाँबाट बाटो काट्ने संस्कारमा हुर्किएका मान्छे हौं । हामी सँधै के चाहन्छौं भने छोटो बाटो हिँड्न पाऊँ, नियम-कानुन पालना मेरा लागि बाध्यकारी नहोस् । वायुसेवा सञ्चालक, नियमक, यात्रु सबैले नियमको परिधिमा बसेमा दुर्घटना कम हुन्छन् ।

जिल्लामा भएका विमानस्थल कत्तिको सुरक्षित छन् ?

हामीसँग तीन प्रकृतिका विमानस्थल छन् । तराईमा भएको विमानस्थल, पहाडी भेगका विमानस्थल र दुर्गमका विमानस्थल । हामीले यी विमानस्थलमा न्यूनतम स्रोत साधनको प्रयोग गरेका छौं । कतिपय विमानस्थलमा आवश्यक सुविधा उपलब्ध छन् भने कतिपयमा पिच गर्ने, प्रविधि जडान गर्ने काम भइरहेको छ । अहिले हामी सुरक्षा सतर्कता कसरी अपनाउन सकिन्छ भन्नेमा केन्द्रित छौं । विमानस्थल कालोपत्रे गरेर हुन्छ कि, सामाग्रीहरु राखेर हुन्छ कि उडान र अवतरणलाई सुरक्षित बनाउनेमा हाम्रो ध्यान केन्द्रित छ । अहिले हामीसँग देशभर ५४ वटा विमानस्थल रहेकोमा ३३ वटा सञ्चालनमा छन् ।

हवाइ दुर्घटनामा विमानस्थललाई पनि कारण देखाउने गरेको पाइन्छ नि ?

अहिलेसम्म कतिवटा विमान एयरपोर्टमा दुर्घटना भएका छन् ? नेपालमा विभिन्न स्थानमा अहिलेसम्म जेजति हवाइ दुर्घटना भए, सबै एयरपोर्ट बाहिर भएका छन् । सन् २०१० देखि २०१३ सम्मका ८ वटा दुर्घटनालाई हेर्ने हो भने एउटा यति एयरको जहाज मात्रै लुक्ला विमानस्थलमा दुर्घटना भएको थियो ।

जोमसोममा भएको दुर्घटनामा पाइलटको गल्ती देखिएको छ । मकवानपुरमा भएको अग्नि एयर दुर्घटना, काठमाडौंमा भएको सीता एयर दुर्घटना र काठमाडौंमै भएको बुद्ध एयरको दुर्घटना पनि विमानस्थल बाहिरै भएका हुन् । कमजोर एयरपोर्टका कारण दुर्घटना बढेको भन्ने मैले मान्दिँन । एयरलाइन्सहरुले नियम कानुन पालना नगर्दा दुर्घटना बढेका हुन् ।

त्रिभुवन विमानस्थलको गुरुयोजना कहाँ पुग्यो ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना २०१० देखि २०२८ सम्म हो । हामी अहिले पहिलो चरणको काम गरिरहेका छौं । पहिलो चरणको योजना १० अर्ब रुपैयाँको हो । हामीले विमानस्थलको उत्तर र दक्षिणतर्फ धावनमार्ग विस्तार गर्दै छौं । पूर्वपट्टि हृयाङ्गरहरु बनाउँदै छौं । ट्याक्सी पार्किङको काम भइरहेको छ । विमानस्थलमा अत्याधुनिक प्रविधि जडान गरेर हामी अटोमेटिक सिष्टममा जाँदैछौं । अटोमेटिक सिष्टममा जानेवित्तिकै मानवीय त्रुटिहरु स्वतः कम हुने अपेक्षा छ ।

स्पेनिस कम्पनीले विमानस्थल सुधारका लागि ७ वटा अल्पकालीन तथा दीर्घकालीन विकल्पहरु दिएको छ । हामी उचित विकल्प छानेर काम अगाडि बढाउँछौं । पार्किङ स्थल हामीले पीपीपी मोडलमा बनाइरहेका छौं । उक्त काम २ वर्षमा सम्पन्न गर्ने समयसीमा छ । काम सुरु भएको ८ महिना भइसकेको छ । त्यहाँ ३ सय गाडी पार्किङ गर्न सकिन्छ । आगमन र प्रस्थान कक्ष विस्तार गर्ने काम हुनेछ । प्रस्थान कक्षमा इमिग्रेसनतर्फको भागमा विस्तार भइरहेको छ भने भन्सारतर्फको भागमा आगमन कक्षको विस्तार भइरहेको छ ।

विमानस्थलमा ट्वाइलेट, ट्रली, टेलिफोन र ट्याक्सीको समस्या छ, ट्याक्सीको समस्या समधान भयो । बाँकी तीन कुराको समाधान कहिलेसम्म हुन्छ ?

अहिले नयाँ ट्याक्सी सञ्चालनमा ल्याएर ट्याक्सीको समस्या समधान गर्ने काम भएको छ । टेलिफोनको कुरा हो, पहिला एयरपोर्टमा मोबाइलको नेटवर्किङ राम्रो नभएका कारण टेलिफोनको आवश्यकता बढी थियो । अहिले एनसेल र नेपाल टेलिकम दुबैको एयरपोर्टमा टावर छ । मोबाइलबाट कुराकानी गर्न सकिने भएपछि अहिले विमानस्थलमा ल्याण्डलाइन टेलिफोन खोज्नेहरु निकै कम भेटिन्छन् ।

सेवाग्राहीले टेलिफोनको सही सदुपयोग नगरिदिँदा समस्या आएको हो । कसैले टेलिफोनको रिसिभर निकालिदिने, कसैले तार टुटाइदिने, कसैले फुटाइदिने, कसैले चोरेर लैजाने गरेको पनि भेटियो ।

कम चाप भएका बेला ट्वाइलेट बनाइएको हुँदा अहिले प्रयोगकर्ता बढ्दा समस्या आएको हो । यो समस्या हामीले छिट्टै समाधान गर्छौं । प्रयोगकर्ताले सही प्रयोग नगर्दा ट्वाइलेट फोहोर भएका हुन् । युरोप र यहाँको ट्वाइलेट एकै किसिमले दाँज्न मिल्दैन । त्यहाँको बाटोमा फोहोर छैन, जुत्तामा फोहोर लाग्दैन र ट्वाइलेट पनि सफा हुन्छ । यहाँ बाटोभरि फोहोर छ, जसले गर्दा जुत्ता फोहोर हुन्छ र ट्वाइलेट पनि फोहोर हुन्छ । फोहोर जुत्ता हुनेहरु ट्वाइलेट नआउनुस् भन्न मिल्दैन ।

ट्रली पनि प्रयोगकर्ताले सही प्रयोग नगर्दा समस्या आएको हो । हामीले ट्रलीको संख्या बढाउँदै छौं । हामीले ट्रलीलाई सःशुल्क बनाएर व्यवस्थित बनाउने तयारीमा छौं । निःशुल्क प्रयोग गर्न दिएर पनि ट्रलीको दुरुपयोग बढेको हो ।

त्रिभुवन विमानस्थलमा पाँचतारे होटल निर्माण गर्ने प्रकृया कहाँ पुगेको छ ?

अहिले यो काम मन्त्रालयको जिम्मामा छ । मन्त्रालयले होटलको परियोजना पारित गराउन मन्त्रिपरिषद्मा पेश गरेको छ । हामीले अन्तिम स्वीकृति कुरिरहेका छौं । परियोजना अझै स्वीकृत भएको छैन ।

भैरहवास्थित गौतम वुद्ध विमानस्थलको टेन्डर अवधि थप्नुभयो, टेन्डर नपरेर हो ?

त्यसो होइन । हामीले पहिले नै टेन्डरको अवधि बढाएका थियौं । अहिलेसम्म विमानस्थल निर्माणका लागि २२ वटा टेन्डर परिसकेका छन् । टेन्डर सार्वजनिक भइसकेपछि केही डकुमेन्टमा त्रुटी देखिएपछि एसियाली विकास बैंककै पहलमा समय थप गरिएको हो । विश्वका ठूला कम्पनीहरुले विमानस्थल निर्माणमा चासो देखाएका छन् ।

पोखरा विमानस्थल निर्माण प्रकृया ओझेलमा परेको हो ?

पोखरा विमानस्थलको काम अहिले खासै अगाडि बढेको छैन । नेपाल सरकारले नीतिगत निर्णय गरेपछि मात्र काम अगाडि बढ्छ । फेरि भैरहवा विमानस्थल र पोखरा विमानस्थल निर्माण गर्ने शैली र प्रक्रिया नै फरक हो । भैरहवा विमानस्थल बोओक्यू मोडल टेन्डरमार्फत् निर्माण हुन लागेको हो भने पोखरा विमानस्थल ईपीसी टेन्डर मोडलमा निर्माण गर्न लागिएको हो । यस प्रकृयामा डिजाइनदेखि निर्माणसम्मको जिम्मा टेन्डर लिनेले लिनुपर्छ ।

नेपालको हवाइ क्षेत्रलाई युरोपियन युनियन (ईयू) ले कालोसूचीमा राख्नुको मुख्य कारण के थियो ?

ईयूले नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा राख्नुका मुख्य तीन कारण देखाएको छ । पहिलो, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ‘एभियसन सेफ्टी अडिट फाइन्डिङ्स’लाई घटाउन नसक्नु, दोस्रो, नागरिक उड्डयन प्राधिकरण सक्षम हुन नसकेको र तेस्रो, दुर्घटना घटाउन नसकेको । कालो सूचीमा राख्नुपर्ने कारण यिनै देखाएको छ । नेपालमा सेप्टेम्बर २०१२ देखि सेप्टेम्बर २०१३ सम्म तीनवटा दूर्घटना भएपछि हामीलाई झनै अप्ठ्यारो भयो । आईकाओको अडिट रिपोर्टअनुसार सन्तोषजनक सुधार हुन नसकेको र हवाइ दूर्घटनासमेत घटाउन नसकेको बताउँदै ईयूले कालोसूचिमा राखेको पत्र पठायो ।

युरोप र चीनबीचको व्यापारिक प्रतिस्पर्धाका कारण नेपाल कालो सूचीमा परेको पनि भनिन्छ ?

हामी सरकारी निकाय कागजको आधारमा बोल्छौं । हामीले हल्लाका आधारमा बाहिर कुरा गर्नु हुँदैन । हामीलाई जति पनि कागज दिइएको छ, त्यो कागजमा व्यापारिक कुरा उल्लेख गरिएको छैन । त्यसकारण हामीले युरोप र चीनको व्यापारिक प्रतिस्पर्धाका कारण कालोसूचीमा राखिएको भन्न सक्दैनौं ।

कालो सूचीबाट हटाउन सुधारका काम के-के भइरहेका छन् ?

संसद नभएका कारण हामीले ऐन संशोधन गर्न सकेका छैनौं । तर, विद्यमान ऐनअनुसार जति पनि कानुनको संशोधन गर्न सक्थ्यौं, सबै गरिसकेका छौं । हामीले चेकलिष्ट, कार्यविधि, म्यानुअल बनायौं । कानुनमा भएको संशोधनका कारण क्यानको हातमा अहिले अधिकार आएको छ । दुर्घटना घटाउन सक्दो प्रयास भइरहेको छ । हामीले दुर्घटनालाई ४ वर्गमा सुधार प्रयास गरेका छौं । हामीले सकभर दुर्घटना हुन नदिने, भइहाले पनि धनजनको क्षति हुन नदिने प्रयास गरिरहेका छौं । कसरी यात्रुलाई जोगाउन सकिन्छ भनेर हामी लागि परेका छौं । यसमा हामीले क्षमता पनि बढाएका छौं ।

ईयूको टोली अडिटका लागि नेपाल आउँदैछ । कालो सूचीबाट छुटकारा पाउन सक्ने सम्भावना छ ?

ईयूको ६ जनाको टोली फेब्रुअरी १ तारिखमा नेपाल आउँदै छ । ३ तारिखदेखि टोलीले अडिट सुरु गर्छन् । कालो सूचीबाट हट्नका लागि हामीले पूर्ण प्रयास गरिरहेका छौं । कालो सूचीबाट हटिन्छ, हटिदैँन भन्नेमा उनीहरुले कुन तरिकाबाट अडिट गर्ने हुन्, त्यसमा भर पर्छ । हामीलाई के विश्वास छ भने क्यानले सुधार गर्नुपर्ने काम सबै तिब्र गतिमा गरिरहेको छ, अवश्य सफलता हात लाग्नेछ ।

टोलीले ५ दिन क्यानलाई अडिट गर्छ । सञ्चालनमा रहेका ६ वटा एयरलाइन्सहरुलाई पनि टोलीले अडिट गर्छ । अडिटमा जुन एयरलाइन्ससँग चित्त बुझ्दैन, त्यो एयरलाइन्सलाई कालो सूचीमा राख्छ । जुन एयरलाइन्ससँग चित्त बुझ्छ, उसलाई कालो सूचीबाट हटाउन पनि सक्छ । क्यानको कार्य प्रगतिमा चित्त बुझाएको अवस्थामा सम्पूर्ण हवाइक्षेत्र कालो सूचीबाट हट्छ । क्यानलाई एयरलाइन्स कम्पनीहरुले सहयोग गर्नुपर्छ ।
(भूल सुधार – यसअघि पोष्ट भएको समाचार र अन्तरवार्तामा असावधानीवश फरक व्यक्तिको तस्वीर पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ- सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment