Comments Add Comment

चिनियाँ जहाजको व्यवसायीक उडान सुरु

Nepal-Airlines११ असार, काठमाडौं । नेपाल वायुसेवा निगमको चिनियाँ ‘एमए-६०’ जहाजले आजदेखि व्यवसायीक उडान सुरु गरेको छ । जहाजले विहान ९ बजे २९ जना यात्रु र ६ जना चालक दलका सदस्यहरु बोकेर विराटनगरमा पहिलो व्यवसायी उडान गरेको हो ।

‘जहाजले विराटनगरमा सफलतापूर्वक पहिलो व्यवसायीक उडान गरेको छ’ निगमका कर्पोरेट डाइरेक्टर एवं प्रवक्त रामहरि शर्माले भने- ‘आजदेखि व्यवसायीक उडान सुरु भएको छ, अब नियमित उडान हुनेछ । जहाज विराटनगर विमानस्थलमा करिव ४० मिनेटमा पुगेको थियो ।

जहाजले आज एउटामात्र उडान भर्ने प्रवक्ता शर्माले बताए । ‘भोलीदेखि तालिका अनुसार नियमित उडान हुन्छ, आज भने एउटा मात्र उडान गर्ने हाम्रो योजना छ’ शर्माले अनलाइनखबरसँग भने । जहाज निर्माता कम्पनीबाट आएका पाइलट र को-पाइलटले जहाजलाई विराटनगर पुर्‍याएका हुन् ।

जहाजले काठमाडौंबाट विराटनगर, भैरहवा, भद्रपुर र धनगढीमा उडान गर्ने निगमले जनाएको छ । निगमले केही समय प्रमोसनका लागि यात्रुहरुलाई सस्तो भाडामा उडाउने भएको छ ।

सातामा १५ उडान भर्ने निगमको योजना रहेको छ । निगमको उडान तालिका अनुसार जहाजले विराटनगरमा दैनिक एक र अन्य क्षेत्रमा सातामा दुई देखि तीन उडान भर्ने छ ।

निगमले करसहित काठमाडौं-भद्रपुरका लागि प्रतियात्रु ४ हजार १ सय ३० रुपैयाँ, भैरहवाका लागि ३ हजार १ सय ४५ रुपैयाँ, विराटनगरका लागि ३ हजार ५ सय ५ रुपैयाँ र धनगढीका लागि ५ हजार ७ सय ४० रुपैयाँ भाडादर तोकेको छ । यो भाडा केही महिनाका लागि मात्र तय गरिएको निगमले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment