Comments Add Comment

दीपाश्री निरौलाले दीपकराज गिरीलाई नभेटेको भए….

deepa-shree

२७ भदौ, काठमाडौं । ‘तीतो सत्य’मा दीपकराज गिरीकी श्रीमतीको भूमिकामा देखिने चर्चित कलाकार दीपाश्री निरौलालाई सधैंजसो एउटै प्रश्नले पछ्याउन छाडेको छैन- विवाह कहिले गर्ने ?

रेडियो नेपालकी चर्चित धनियाँदेखि चलचित्रकी नायिकासम्म बनिसक्दा दीपाको पछिल्लो पहिचान थपिएको छ – फिल्म निर्माता । उनको लगानीमा बनेको ‘छ एकान छ’ ले दर्शकको माया र व्यवसायिक सफलता हात पारिसकेको छ । यद्यपि उनलाई विवाहको प्रश्नले लखेट्न छाडेको छैन ।

अनलाइनखबरसँगको कुराकानीमा दीपाले आफ्नो सफलता, व्यवसाय र विवाहका बारेमा मनको रहस्य यसरी खोलिन् :

प्रेम र विवाह

मेरो जीवनमा धेरै युवा आए । तर, कोहीसँग पनि मेरो विवाह हुन सकेन । अहिले पनि रगतले कोरिएका प्रेमपत्रहरु आउँछन् ।
मेरो प्रेमलाई संख्यामा लैजान चाहन्न । जुनबेला मेरो जीवनमा मानिसहरु आए, म कलाको आशक्ति थिएँ । यो क्षेत्र नै छोड्नुपर्छ भन्नेहरु पनि धेरै आए, जसलाई मैले अपनाउन सकिँन ।

म एउटा घरमा गएपछि कसैकी बुहारी, कसैकी आमा बन्छु । मैले श्रीमानको मात्र होइन, सासू ससुरा सबैको दायरालाई काट्न मिल्दैन । मैले बिहेपछि कलामा दिएको आशक्ति पाउनै सक्दिँन ।

कुनै केटाको घर सम्हाल्न जानुछ भने मैले पनि सोच्नुपर्छ नि त्यो परिवारको विषयमा ।

जीवनमा एसएलसी दिने समयमा म पहिलोपटक प्रेममा चुर्लुम्म डुबेकी थिएँ । करिब ९ वर्ष हामी प्रेममा डुब्यांै । त्यतिबेला कसैले हेर्दा पनि माया गरेको आभाष हुन्थ्यो ।

म एसएलसीको तयारीका लागि घर नजिकै एक विद्धानसँग पढ्न जान्थें । एकदिन उहाँले मेरो कपीमा प्रेमपत्र छाडिदिनुभएछ । घरमा आमाले भेट्टाएर खुबै पिट्नुभयो । पछि आमालाई देखाउनैका लागि हामी ‘डेट’मा रमायौं ।

छठमा घुम्न जाने, प्रेममा मस्त हुने भइयो । हामीले बिहे नै गर्ने योजना पनि बनाएका थियांै, तर खै, भाग्यले दिएन । भगवानले साइत नजुराएपछि यस्तै हुँदो रहेछ ।

 

मलाई अहिले कुरा गर्दै जाँदा मेरो पहिलो प्रेमको याद आइरहेको छ । त्यही व्यक्तिको तस्वीर झल्झली याद आउँछ ।

म अहिले पनि एकजना व्यक्तिको प्रेममा छु । धेरै वर्ष भयो, हामीले एक अर्कालाई माया गर्न थालेको । एक अर्कालाई हामी धेरै नै केयर र माया गछौर्ं । विवाह गर्ने कुरा पनि खुबै आउँछन् । तर, खै साइत नजुरेपछि यस्तै हुँदोरहेछ ।

मेरो जीवनमा बिहे नलेखेको हो कि जस्तो पनि लाग्छ । फेरि म विवाहलाई महत्व दिने मानिस पनि होइन ।

मैले कहिले भनें ‘भर्जिन छु’ ?

जहाँसम्म मैले भर्जिन भनेको कुरा छ, मलाई थाहा छैन, मैले त्यो कहिले भनें । फेरि भनेकै रहेंछु भने पनि त्यो मेरो नितान्त व्यक्तिगत कुरा हो ।
पहिला-पहिला नायिकाहरुलाई निक्कै उत्ताउला प्रश्न सोध्ने चलन थियो । तर, अहिले यो कम भएको छ । यदि मिडियामा त्यस्तो जवाफ मैले दिएको हो भनेर आएको छ भने मैले हेर्नुपर्छ । म ‘सेक्स’को विषयलाई नितान्त व्यक्तिगत रुपमा राख्न चाहन्छु ।

निर्मात्री किन ? अभिनेत्री नबन्नुको कारण

मलाई लाग्दैन कि, पैसा लगाएपछि हावी बन्नुपर्छ । रकम लगाउने मानिस सिनेमामा हावी हुने चलनलाई रोक्नैपर्छ । कुनै पनि भूमिकामा जो सुहाउँछ, उसैलाई नै लिन जरुरी छ ।

‘टीन एजर’ को बिहेको भूमिकामा म जस्तो ‘वाइ एजर’को के काम ? यसैले मैले ‘छ एकान छ’ मा लगानी मात्र गरें, हिरो बनिँन ।
उमेर भनेको एउटा श्रृङ्खला हो । यो थपिँदै जान्छ । तर, मानिस भने ओझेलमा पर्नुभएन ।

संघर्षले सफल बनाउँछ

deepa-shree-niraulaबाइस वर्षअघि यो क्षेत्रमा आउँदा निक्कै गाह्रो थियो । ‘अग्निपथ’ नामक सिरियलमा काम गरेपछि म फेरि बिराटनगर नै फर्किएँ । तर, कृष्ण मल्लको ‘अभियान श्री’ पुरस्कारमा नव कलाकारको अवार्ड थाप्न काठमाण्डौ नै आउनुपर्‍यो । त्यो अवार्ड जित्दा त अब सबै यहीँ नै भैहाल्छ भन्ने लाग्यो ।

मलाई मदनदास श्रेष्ठले खुबै सहयोग गर्नुभयो जीवनमा । मलाई ‘क’ श्रेणीको कलाकार बनाएर नाटक खेलाउनुभयो ।
दुईवटा कार्यक्रम गरेर रेडियो नेपालको लेखाबाट ५ सय जित्दा आफूलाई काठमाण्डौ नै किन्न सक्छुजस्तो लागेको थियो ।
जीवनमा पाउरोटी खाएर खुबै समय बिताइयो । मसँग अझै पनि मैले प्रयोग गर्ने स्टोभ घरमै छ । त्यही स्टोभले मेरो विगत र संघर्ष सिकाउँछ र मात्तिन दिँदैन ।

दीपक असल साथी हुन्, सिन्दुर सबै थोक होइन

मैले दीपकलाई रेडियो नेपालमा नै भेटेको हो । पछि हाम्रो जोडी ‘रामविलास र धनियाँ’को रुपमा जम्यो ।

उहाँको बिहे १७ बर्षको उमेरमा नै भएको थियो । दीपकजीले मलाई निक्कै ठूलो साथ दिनुभयो । र, मैले पनि सकेजति साथ दिँदै आएकी छु ।
सायद दीपकलाई नभेटेको भए म तनावको जीन्दगी जिउँदै हुन्थें या बिराटनगर नै जान्थें होला ।

उसँग मेरो सम्बन्धको विषयलाई लिएर आरोपमात्र लाग्ने गरेको छ । ऊ मेरो एउटा असल मित्र हो । मलाई दुःख होस् या सुख नै किन नहोस्, दीपकले साथ दिँदै आएको छ ।

मलाई लाग्दैन, एक चिम्टी सिन्दुर नै सबैभन्दा ठूलो कुरा हो । उसको परिवारमा पनि मेरो कारणले गर्दा दुःख भएको होला । तर, दीपकलाई म एउटा केटा खोज, बिहे गरौं भनेर सधैं भन्छु । दीपक मलाई तिमी कला क्षेत्र छोडेर टाढा जान्नौ भन्छ ।

मलाई सानो पर्दा नै फाप्यो

मलाई सानो पर्दामा नै धेरै माया मिलेको छ । धेरै माया मैले ठूलो पर्दा भन्दा सानो पर्दामा नै पाएको छु । म हिरोइन मात्र भएको भए यो स्थानमा आउँदिनथें होला ।

हिरोइन बन्नका लागि एउटा अवधि चाहिन्छ । तर, मैले रोजेको क्षेत्रमा त्यस्तो दायरा छैन । उसो त मलाई फिल्ममा पनि ठीकठाक नै भन्थे । म खुबै जमेकी नायिका थिइँन ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment