Comments Add Comment

दशैंका ८० प्रतिशत हवाई टिकट सकिए

Airlines

२७ भदौ, काठमाडौं । दशैंमा हवाईजहाजमार्फत् घर जाने सोचिरहनुभएको छ र अहिलेसम्म हवाई टिकट लिइसक्नुभएको छैन भने तपाईका लागि अब टिकट पाउन कठिन हुने छ ।

किनकी, निजी वायुसेवा कम्पनीका झण्डै ८० प्रतिशत टिकट बुकिङ भइसकेका छन् । कतिपय एयरलाइन्स कम्पनीका दशैंमा नियमित उडानतर्फ सबै टिकट सकिसकेका छन् ।

यात्रुको सर्वाधिक चाप रहने दशैंको षष्टी, सप्तमी, अष्टमी र नवमीको लागि हवाई टिकट सकिन लागेका हुन् । बुद्ध एयरले नियमित उडानमा १५ गतेका लागि सबै टिकट बुकिङ भइसकेको बताएको छ ।

अहिले निजी वायुसेवा कम्पनीहरु यति एयर, सिम्रिक एयर, बुद्ध एयर र तारा एयरले आन्तरिक उडान भर्दै आएका छन् । सबै वायुसेवा कम्पनीहरुले आवश्यकताको आधारमा उडान थप गर्ने योजना बनाएका छन् ।

‘कतिपय गन्तव्यमा नियमित उडानमा टिकट सकिसकेका छन्’ बुद्ध एयरकी मिडिया कोअर्डिनेटर विनिता थापाले भनिन्- ‘आवश्यकताअनुसार उडान थप गर्ने योजनामा छौं ।’

सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले भने दुर्गममा अझै टिकट बुकिङ सुरु गरेको छैन् । निगमले दशैंको एक हप्ता अगाडीबाट मात्र दुर्गम गन्तव्यको टिकट बुकिङ सुरु गर्ने बताएको छ ।

सुगम गन्तव्यहरुमा नियमित टिकट बुकिङ भइरहेको जानकारी दिँदै निगमका कर्पोरेट डाइरेक्टर एवं प्रवक्ता सरोजकुमार कसजुले ५० प्रतिशतभन्दा बढी टिकट बुकिङ भइसकेको जानकारी दिए ।

निगमले सुगम गन्तव्यहरुमा ५६ सिट क्षमताको एमए-६० जहाजबाट र दुर्गम गन्तव्यहरुमा ट्वीनअटर जहाजबाट उडान भर्नेछ । ‘हामीले दशैंमा हुने चापलाई मध्यनजर गरेर दुर्गम क्षेत्रमा दुईवटा ट्वीनअटर जहाजबाट ४७ वटा अतिरिक्त उडान भर्छौं, सुगम गन्तव्य भद्रपुर र धनगढीमा पनि एमए-६० जहाजबाट असोज १ देखि तीन/तीनवटा उडान भर्ने योजना छ ।’
अहिले निगमले एमए-६० जहाजबाट भैरहवा र विराटनगरमा हप्ताको ६ दिन उडान भर्दै आएको छ ।

बुद्ध एयरले १६ र १७ गतेका लागि ८० प्रतिशत टिकट बुकिङ भइसकेको बताएको छ । ‘यात्रुको माग बढी भएमा विराटनगर र भद्रपुरमा उडान थप गर्ने सम्भावना छ’ मिडिया कोअर्डिनेटर थापाले भनिन्- ‘अहिले नै यति उडान थप गर्ने भन्ने निश्चित भएको छैन् ।’

बुद्धले नेपालका दश स्थानहरु पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, जनकपुर, सिमरा, धनगढी भरतपुर, तुम्लिङटारमा उडान भर्दै आएको छ ।

यति एयरलाइन्सले पनि नियमित उडानमा ८० प्रतिशत टिकट बुकिङ भइसकेको जनाएको छ । यति एयरका बजार प्रबन्धक रोशन रेग्मीका अनुसार आवश्यकता परे थप उडान गर्ने तयारीमा रहेको जानकरी दिए ।

रेग्मीका अनुसार गत वर्ष यतिले विराटनगर र भद्रपुरमा १/१ उडान थप गरेको थियो । विराटनगर र भद्रपुर हवाई यात्रुको बढी चाप हुने क्षेत्रमा पर्छन् । यतिले विराटनगर, भद्रपुर, नेपालगञ्ज, भैरहवा, जनकपुर, भरतपुर, धनगढी, तुम्लिङटारमा उडान भर्दै आएको छ ।
यति एयरको भगिनी कम्पनी तार एयरको पनि ८० प्रतिशत टिकट बुकिङ भइसकेको छ । दुर्गम क्षेत्रमा उडान भर्दै आएको तारा एयरले पनि आवश्यक परे उडान थप गर्ने बताएको छ ।

ताराले दुर्गम क्षेत्रहरु लुक्ला, जोमसोङ, लामिडाँडा, सिमिकोट, डोल्पामा उडान भर्दै आएको छ ।

अर्को निजी वायुसेवा कम्पनी सिमि्रक एयरले भैरहवा र पोखरामा नियमित उडान भर्दै आएको छ । सिमि्रक एयरका मार्केटिङ प्रमुख प्रज्वल थापाका अनुसार दशैंका लागि ७० प्रतिशत टिकट बुकिङ भइसकेका छन् ।

सिमि्रकले पोखरामा दैनिक ३ वटा र भैरहवामा एउटा उडान भर्दै आएको छ । दशैंको अवसर पारी पोखरामा दैनिक २ उडान थप गरेर ५ वटा नियमित उडान सुरु गर्ने तयारीमा रहेको थापाले जानकारी दिए ।

भैरहवामा आवश्यकता परेमात्रै उडान थप गर्ने बताउँदै उनले अहिले उडान थप गर्ने कुनै योजना नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment