Comments Add Comment

शिरीष र सोफिया इन्चोनतर्फ

२९ भदौ, काठमाडौं । पौडी खेलाडी शिरीष गुरुङ र सोफिया शाह दक्षिण कोरियाको इन्चोनमा हुने १७ औं एसियाली खेलकुदमा सहभागी हुन आइतबार दक्षिण कोरियाको इन्चोन प्रस्थान गरेका छन् ।

नौ राष्ट्रिय कीर्तिमानधारी शिरीषले ५०, १ सय र २ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । सोफियाले ५० र १ सय मिटर फ्रिस्टायलमा खेल्ने छिन् । सोफियाको नाममा दुई राष्ट्रिय कीर्तिमान छ ।

पौडीमा जम्मा ४ खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । बाँकी खेलाडीमा मिराज प्रजापति र सोनिरा विष्ट छन् । मिराजले पनि सोफियाले खेल्ने स्पर्धामा भाग लिनेछन् । सोनिराले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छिन् ।

प्रशिक्षकमा रविन पौडेल र व्यवस्थापकमा नरेश वैद्य रहेका छन् । एसियाडअन्तर्गत फुटबलको प्रतिस्पर्धा सुरु भइसके पनि औपचारिक उद्घाटन भने सेप्टेम्बर १९ तारिखमा हुनेछ । पौडी सेप्टेम्बर २१ देखि २६ तारिखसम्म सञ्चालन हुनेछ ।

त्यस्तै एसियाड दौरान नै हुने एसियाली पौडी महासंघको सम्मेलनमा सहभागी हुन नेपाल पौडी संघका अध्यक्ष एवं दक्षिण एसियाली पौडी महासंघका उपाध्यक्ष अशोक वज्राचार्य तथा पौडी संघका महासचिव जगतमान श्रेष्ठ पनि इन्चोन जाने छन् ।

शिरीष र सोफिया बाहेकका टोली सोमबार इन्चोन जाँदैछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाले बिदाइ गरे ।

ट्रायथलन टोली इन्चोन जाने

इन्चोन एसियाडमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली ट्रायथलन टोली सोमबार दक्षिण कोरियाको इन्चोन प्रस्थान गर्दैछ ।

सेप्टेम्बर २६ देखि सुरु हुने ट्रायथलनमा दुई-दुई पुरुष र महिला खेलाडीले मिक्स रिले इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । यो स्पर्धामा २ सय ५० मिटर पौडी, ६.६ किलोमिटर बाइकिङ र १.६ किलोमिटर दौड समावेश छ ।

पुरुषमा रुद्र कट्वाल र बसन्त थारु तथा महिलामा केशरी थापा मगर र यामकुमार घलेले खेल्नेछन् । महिला खेलाडीले विदेशी भूमिमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment