Comments Add Comment

दशैंमा ३५ हजार खसीबोका राजधानी भित्रिँदै, भेडा च्याङ्ग्राको आयात घट्ने

३० भदौ, काठमाडौं । यस वर्ष राजधानीमा ३५ हजारको हाराहारीमा खसीबोका राजधानी भित्राउने व्यवसायीहरुको तयारी छ । घटस्थापना भन्दा ४/५ दिन अगाडीदेखि खसीबोकाहरु राजधानी भित्राउन सुरु हुन्छ ।

Dasailai-Khasi
फाइल तस्वीर/अनलाइनखबर

व्यवसायीहरुले दशैंमा राजधानीमा ३० देखि ३५ हजार खसीबोका बिक्री गर्ने बताएका छन भने खाद्य संस्थाले ३४ सय बोका बिक्री गर्ने जनाएको छ । माशुको बढी खपत हुने दशैंमा अभाव नहोस भनेर प्रयाप्त ध्यान पुर्‍याइएको चौपाय खरिद बिक्री सेवा संघ कलंकीका अध्यक्ष दीपक थापाले बताए ।

व्यवसायीहरुले सुर्खेत, सल्यान,  दाङ, बर्दिया, गाईघाट, नुवाकोट, रामेछाप, धादिङ तथा छिमेकी मुलुक भारतबाट खसीबोका ल्याउने तयारी गरिरहेका छन् । दशैंमा राजधानी भित्राउन लागिएको ३५ हजार खसीबोकामध्ये २० देखि २५ हजार भारतबाट भित्रिने अध्यक्ष थापाले अनलाइनखबरसँग बताए ।

अहिले काठमाडौं उपत्यकामा झण्डै ४ सय जना चौपाय व्यापारी रहेका छन् । जसमा नेपाली र भारतीय नागरिक दुबै रहेको खड्काले बताए । व्यवसायीले दशैंका लागि खसीबोका ल्याउन सुरु गर्न लागेको बताए पनि मूल्य भने तय नभइसकेको जानकारी दिए ।

‘गत वर्ष औषतमा प्रतिकिलो ४३५ रुपैयाँमा खसीबोकाको मासु बिक्री भएको थियो, यसपटक त अहिले नै त्यति मूल्यमा बिक्री भइरहेको छ’ अध्यक्ष थापाले भने- ‘यस पटकको दशैंमा खसीबोकाको भाउ सामान्य बढ्ने सम्भावना रहेको छ ।

त्यसो त खसीबोकाको भाउ माग र अपूर्तिले पनि तय गर्छ । माग भन्दा आपूर्ति कम भयो भने खसीबोकाको भाउ स्वतः बढ्छ भने माग भन्दा आपूर्ति बढी भयो भने भाउ स्वतः घट्ने छ ।

हरेक व्यवसायीले बिक्री गर्ने खसीबोकाको भाउ समेत फरक फरक हुने गर्छ । उनीहरुले खसीबोका किनेको र राजधानी ल्याउँदा लागेको लागत जोडेर भाउ तय गर्ने गरेको अर्का व्यवसायी गिरिराज बस्नेतले बताए ।

भेडा च्याङ्ग्रा घट्ने

हिमाली क्षेत्र तथा छिमेकी मुलुक चीनको तिब्बतबाट आयात हुँदै आएका भेडा च्याङ्ग्राको आयात यस वर्ष घट्ने सम्भावना रहेको व्यवसायीहरुले बताए । ठाउँ-ठाउँमा गएको बाढी पहिरोका कारण भएको सडक अवरुद्धका कारण भेडा च्याङ्ग्राको आयात घट्ने सम्भावना रहेको उनीहरुको भनाई छ ।

राजधानीमा खासगरी मुस्ताङबाट पोखरा हुँदै र तिब्बतबाट खासा तातोपानी हुँदै भेडा च्याङ्ग्रा ल्याउने गरिन्छ । तिब्बतबाट नेपाल आउने अरनिको राजमार्ग जुरे पहिरोका कारण ठप्प भएको हुँदा आयात कम हुने सम्भावना रहेको हो ।

‘केही व्यवसायीहरुले हिँडाएर ल्याउने तयारी गरेपनि अधिकांश व्यवसायीहरु भेडा च्याङ्ग्रा भन्दा पनि खसीबोका बिक्री गर्ने सोचाइमा रहेका छन्’ व्यवसायी बस्नेतले भने- ‘जसले गर्दा अहिले भेडा च्याङ्ग्राको स्वाद लिन चाहाने उपभोक्ता बञ्चीत हुनुपर्ने देखिन्छ ।’

राजधानीमा दशैंमा १५ देखि २० हजार भेडा च्याङ्ग्रा आयात हुन्थ्यो । अहिले ५/७ हजार भेडा च्याङ्ग्रा पनि राजधानी भित्रिने सम्भावना रहेको छैन् । नेपालमा धेरै संख्यामा तिब्बतबाट भेडा च्याङ्ग्रा आयात हुने गथ्र्यो ।

हिमाली क्षेत्रमा जडिबुटी खाएका भेडा च्याङ्ग्राको स्वाद लिन उपभोक्ता चाहन्छन् । मुस्ताङबाट भित्रिने भेडा च्याङ्ग्रा म्याग्दीको बेनी, बाग्लुङ, पोखरामा खपत हुन्छ । डोल्पा तथा हुम्लामा उत्पादन हुने भेडा च्याङ्ग्रा नेपालगञ्ज लगायतको तराई बेल्टमा खपत हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment