Comments Add Comment

हानको साधरणसभा थाइल्यान्डमा हुँदै, पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्ने

२ असोज, काठमाडौं । होटल संघ नेपाल (हान)ले यस वर्षको अर्धवाषिर्क साधारणसभा आउँदो शनिबार थाइल्यान्डको राजधानी बैंककमा गर्दैछ ।  हरेक वर्षको अर्धवाषिर्क साधारणसभा नेपालमा पर्यटकीय स्रोत मुलुकमा गर्ने प्रचलन अनुसार यस वर्षको साधारणसभा थाइल्यान्डमा आयोजना गर्न लागिएको हो ।

पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गरेका, नेपालमा ठूलो संख्यामा पर्यटक आउने र संख्यात्मक रुपमा अत्यधिक पर्यटक भित्र्याउने राष्ट्रहरुमा अर्धवाषिर्क साधारणसभा गर्ने नीति अनुसार यस वर्ष HAN-Logoथाइल्यान्डमा कार्यक्रम आयोजना गर्न लागेको हानले जनाएको छ ।

अर्धवाषिर्क साधारणसभामा सहभागि हुन होटल संघ नेपालका अध्यक्ष बीके श्रेष्ठको नेतृत्वमा व्यवसायीहरुको टोली शुक्रबार बैंकक प्रस्थान गर्दैछ । टोलीमा संघका पदाधिकारी तथा सदस्य एवम् बिभिन्न क्षेत्रीय होटल संघका प्रतिनिधिसमेत गरि ६३ जना व्यवसायी तथा अफिसियल प्रतिनिधिको सहभागिता रहनेछ ।

असोज ३ देखि सुरु हुने ५ दिने थाइ भ्रमणका क्रममा नेपाली होटल व्यवसायीहरुले थाइल्यान्डको पर्यटन क्षेत्र, अतिथि सत्कार तथा व्यावसायिक विस्तारका योजनाका विषयमा अध्ययन गर्ने कार्यक्रम रहेको छ ।

नेपालस्थित थाइ राजदुतावास र बैंककस्थित नेपाली राजदुतावासससँगको सहकार्यमा हुन लागेको भ्रमणका क्रममा होटल संघ नेपाल र थाइ होटल एशोसियसनबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिनिधिमन्डलले टुरजिम अथोरिटि अफ थाइल्यान्ड, थाइ टुरिजम काउन्सिल लगायतका निकायसँग भेट गर्नेछ । यस्तै, थाइ व्यवसायी, गैरआवासीय नेपाली,  स्थानीय पत्रकारलगायतसँग पनि नेपालको पर्यटन बिकास र लगानी बिस्तारका विषयमा छलफल हुनेछ ।

बुद्ध जन्मस्थल नेपालमा धेरै थाइ पर्यटकहरु भ्रमण गर्न चाहे पनि सिमित साधनका कारण सम्भव नभइराखेको यथार्थ हो । होटल संघ नेपालको यस अर्धवाषिर्क साधारणसभाले लुम्बिनीमा थाइ पर्यटकको संख्या बढाउन र बसाइ अवधी लम्ब्याउन महत्वपूर्ण योगदान पुर्‍याउने होटल संघ नेपालका महासचिब विनायक शाहले विश्वास व्यक्त गरे ।

‘अहिले भारतीय मार्ग हुँदै लुम्बिनी आउने पर्यटकलाई बुद्धको जन्मस्थल नेपालको बाटो भएर तीर्थयात्रा गराउन सकिन्छ र हामी यस विषयमा थाइल्यान्डका सरोकारवालाहरुसँग प्रस्ताव राख्नेछौं’ महासचिव शाहले भने ।

गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकृया अघि बढिरहेकाले थाइल्यान्डबाट भैरहवासम्म सिधा उडानका लागि सम्भावना रहेको छ । यो साधारणसभाले नेपालप्रति धेरै थाइ नागरिक र पर्यटन व्यवसायीको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।

अर्धवाषिर्क साधारणसभाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । साधारणसभा तयारीका लागि होटल संघ नेपालका महासचिब विनायक शाह र कार्यकारी निर्देशक प्रवेश अर्याल मंगलबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

यसअघि संघको अर्धवाषिर्क साधारणसभा सन् २००९ मा थाइल्यान्ड, सन् २०१० मा मलेसिया, सन् २०११ मा नेपाल, सन् २०१२ मा श्रीलंका र सन् २०१३ मा यूनाइटेड अरब इमिरेट्स -यूएई)मा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment