Comments Add Comment

त्रासमा बाँचेको फुजेलको रामकहानी

योगेश ढकाल, (फुजेलबाट फर्केर)

‘फुजेल जाने बाटो कताबाट हो ?’ गोरखा बजारभन्दा केही तल लक्ष्मी बजारमा स्थानीयलाई सोध्यौं । ती पसलेले पाउदेखि शीरसम्म केहीबेर एकटकले नियाले । केहीछिन बोलेनन् । नसुनेझैं लागेर फेरि सोध्न लागेको थिएँ, मुन्टो अर्कातिर बटारेर ‘ऊ त्यही ओरालतिरबाट हो ।’ जवाफ फर्काए ।

धुलाम्मे कच्चीबाटो त्यसमाथि जंगलभित्रको उकालो र ओरालो थियो फुजेल जाने बाटो । बस्ती त्यति थिएनन् बाटो छेऊमा । कोही भेट्नेवित्तिकै फुजेल जाने बाटो सोध्नुपर्ने अवस्था थियो । बाटोमा खुलेर स्थानीयले हामीलाई जवाफ दिएनन् । फुजेलमा पुग्दा त्यस्तै भयो ।

लक्ष्मीबजारदेखि फुजेल पुग्दासम्मै स्थानीयहरुमा एकतमासको उदासीपन आउथ्यो फुजेल गाउँ सोध्नेवित्तिकै । अनुहारमा त्रास प्रष्टै देखिन्थ्यो । ‘नुरप्रसाद अधिकारीको घर कुन हो ? हामीले फुजेलमा एक स्थानीयलाई सोध्यौं । उनले डराउँदै बाटामाथिको घर देखाइदिए । उजाड । ठूलो घारीभित्र थियो घर ।

बोल्नै डराउँछन्

कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै आमा गंगामाया र बाबु नन्दप्रसाद अनशन बसेपछि गोरखाको फुजेल गाउँ यतिबेला चर्चामा छ । द्वन्द्वकालीन अवधिमा फुजेलमा सुरक्षाकर्मी र माओवादी दुवै पक्षबाट १९ जनाको हत्या भएको रहेछ । तीमध्ये एक थिए कृष्णप्रसाद अधिकारी । ०६१ सालमा कृष्णप्रसाद अधिकारीको हत्या तत्कालीन नेकपा माओवादीले चितवनमा गरेको थियो । ०६१ सालअघि युद्धको त्रास जति थियो, फुजेलवासीले त्योभन्दा कयौं गुणा त्रास ०६४ पछि भोगिरेहको अनुभूति भयो । ०६४ सालबाट निरन्तर फुजेलवासी अधिकारी परिवारको मुद्दामामिला झेल्दै आएका छन् । कहिले बिजुली लाइन विस्तारको विवादमा गोरखा धाएका छन् । कहिले कृष्णप्रसादको हत्याको आरोपमा चितवन धाउनुपर्ने बाध्यतामा छन् ।

फुजेलवासी एक्लैदुक्लै नयाँ मानिसलाई भेट गर्दैनन् । खुलेर कुरा गर्न सक्दैनन् । सुरक्षाकर्मी बेलाबेला पुग्छन् । सुरक्षामा चिन्ता नलिन भन्छन् । तर, पनि फुजेलवासीको मन थामिन्न । को कतिखेर कृष्णप्रसादको हत्याराको सूचीमा परी गिरफ्तारीमा परिने हो भन्ने उनीहरुमा डर, त्रास छ ।

‘नन्दप्रसादकी माइली भाउजूलाई अंश दिनुपर्छ भन्नेहरु कृष्णप्रसादको हत्याराको सूचीमा छन् । नन्दप्रसादले गाउँ छाडेेपछि गाईभैंसी, बाख्रा पालिदिने, खेतीपाती लगाइदिनेहरु पनि हत्याराको सूचीमा छन् । अहिले पनि नन्दप्रसादको बारेमा केही बोल्यो भने हत्याराको सूची थपिने धम्की आइरहेको छ । त्यसैले बोल्नै डर लागिरहेको छ’ स्थानीय रुदप्रसाद पन्तले भने ।

गाउँलेहरुका अनुसार अहिले पनि नन्दप्रसादका छोरा नुरप्रसाद गाउँलेलाई हत्याराको सूची थपिने भन्दै त्रास देखाइरहेका छन् । मोबाइलमा म्यासेज गर्नेदेखि हल्कारामार्फत धम्की आउने गरेको स्थानीयको भनाइ छ । स्थानीयहरु नयाँ मानिससँग सामुहिक मात्रै भेट गर्छन् । रामकहानी सुनाउँछन् । कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका ११ जना दोषी होइनन् भनेर उनीहरु दशीप्रमाण जुटाउँछन् । यसैमा दिन बितिरहेको छ उनीहरुको ।

’हामीले बोलेको मिडियामा आउँदैन’

‘हामीले जे बोल्यो, त्यसको ठीक उल्टो काठमाडौं पुग्छ । त्यही भएर बोल्न पनि मन लाग्दैन । तपाईहरुसँग बोलेर पनि के हुन्छ र’ स्थानीय भैरवाश्रम उच्चमाविका शिक्षक शम्भुप्रसाद देवकोटाले भने । मानवअधिकारीकर्मी र पत्रकारको टोली ५ पटक फुजेल पुगेसकेछन् स्थलगत अध्ययनका लागि । उनीहरुसँग स्थानीयले सामुहिक अन्तरंग गरेछन् । अधिकारी परिवारलाई सजिलै पुनःस्थापित गराउन सकिने मानवअधिकारकर्मीको टोलीलाई जवाफ दिएका रहेछन स्थानीयले । तर, त्यही मानवअधिकारकर्मीको टोलीले अधिकारी परिवारको सुरक्षा ग्यारेन्टी नभएको रिपोर्ट तयार पारेछन् । त्यसपछि फुजेलका ४२ घरपरिवार पुरै आक्रोशित छन् काठमाडौका मानवअधिकारवादीसँग ।

fujel1

ताङलीचोक बतासेको प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसमेतले अधिकारी परिवारलाई सहजै पुनस्थापित गर्न सकिने लिखितरुपमै सरकारलाई जानकारी दिएका रहेछन् । ताङलीचोकको प्रहरी चौकीमा भेटिएको एउटा जिल्ला प्रहरी कार्यालय गोरखालाई पठाएको एउटा पत्रमा अधिकारी परिवारका लागि सुरक्षा अवस्थामा कुनै समस्या नभएको र हत्यामा गाउँलेको संलग्नता नभएको उल्लेख छ । ‘कृष्णप्रसादको मृत्यु तत्कालीन द्वन्द्वरत पक्ष माओवादीबाट चितवनमा भएको हो । र, नुरप्रसादले घरमा आफैले ताला लगाएर काठमाडौ गई बस्ने गरेको, खेत बाँझै रहेको तर भोगचलन गर्न सकिने अवस्थामा रहेको’ पत्रका उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर रामचन्द्र पौडेलले पनि फुजेलवासी त्रासमा बाँचेको बताए । ‘अधिकारी परिवार आए भने गाउँमा चौकी नै राखेर भए पनि सुरक्षा दिन तयार छौं । तर,उनीहरु नै आएका छैनन्’ पौडेलले भने ।

झगडाको चुरो

स्थानीयवासीले हाम्रो टोलीलाई दिएको वयान अनुसार नन्दप्रसाद परिवारले आफ्नै एकाघरकी माइली भाइबुहारी सीता अधिकारी -एकल महिला) र टुहुरा तीन छोरीहरुलाई अंश नदिई चर्को आर्थिक अभावमा पारेपछि स्थानीयले अंश दिलाइदिन पहल गरेका रहेछन् । छुटिई भिन्न नभएका नन्दप्रसादका माइला भाइको रुखबाट लडेर मृत्यु भएको रहेछ । त्यसपछि भाइबुहारीलाई अंश नदिई निकाल्न खोजेछन् । सीताले अंश दिलाइदिन छरछिमेकसँग गुहार मागिछन् । र, कही अंश दिन बाध्य भएपछि गाउँलेप्रति रुष्ट बनेर नन्दप्रसादले अंश दिलाउन पहल गर्नेहरुलाई रिसिइवी साँध्न गाउँलेलाई कृष्णका हत्यारा हुन् भनी किटानी जाहेरी दिएको आरोप नन्दप्रसादकी माइली भाइबुहारी सीता अधिकारीले भनिन् ।

त्यहीसँग जोडिएर अर्को घटना भएछ गाउँमा । विजुली लाइन विस्तार गर्ने क्रममा अधिकारी परिवारको जग्ग्ामाथि विजुली लाइन पर्न गएकोमा गाउँलेहरुसँग विवाद गरी गाउँलेविरुद्ध उजुरी दिन गएका ०६४ पुस १० गते गाउँ छोडेका रहेछन् । अधिकारी दम्पतिले विजुली लाइन विस्तारको विवादपछि माइती/ससुरालीमा बसी भाइ/सालोलाई घरमा घाँस दाउरा गर्न पठाएका रहेछन् । तर, त्यसरी पठाएको व्यक्तिले केही समय रेखदेख गरेर घर फर्केका रहेछन् । अधिकारी दम्पति त्यसपछि गाउँमा नफर्की सदरमुकाम गई गाउँलेविरुद्ध उजुरी हालेछन् । त्यसबखत उनीहरुका गाईभैसी,बाख्रा भएको र त्यसको करिब एक डेढ महिनासम्म घाँसपात स्थानीयले गरेको भनाइ छ । गाउलेले घाँसपात गर्दैगर्दा अधिकारी परिवारले उल्टै धम्क्याउने र जसले घाँसपात गर्छ उसलाई पनि बाँकी नराख्ने र कृष्णप्रसाद हत्याराको आरोपमा किटानी जाहेरी दिने भनी हल्कारा पठाएपछि गाउँलेले स्थानीय ताङलीचोक बतासे चौकीलाई जानकारी गराई घाँसपात गर्न छोडेको स्थानीय पन्तले बताए । पछि बतासे प्रहरी चौकीले केही समय घाँसपात गरेको र उनीहरुले पनि लामो समयसम्म घाँसपात गर्न नसक्ने भएपछि गाईभैंसी थलामै मरेका रेकर्ड प्रहरी चौकीमा छ ।

स्थानीय शिवप्रसाद पौडेलका अनुसार ससुरालीबाट सिधै गोरखा सदरमुकाम गई कृष्णप्रसादको हत्यारा भनी गाउँलेलाई धरकपड गर्न प्रहरी प्रशासनलाई रिपोर्ट गरेको र सो पश्चात सबै गाउँले सदरमुकाम गई प्रहरी प्रशासनको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरी कृष्णप्रसाद हत्यामा गाउँलेको कुनै संलग्ता नभएको र उक्त घटना द्वन्द्वकालीन अवस्थामा भएको भनी जिल्ला प्रशासन कार्यालय गोरखाले ०६४ सालमा मुद्दा नचल्ने भनी निर्णय गरेको र द्वन्द्व पीडितका नाममा अधिकारी परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउने निर्णयसमेत भएको रहेछ ।

के भन्छन् आरोपी र स्थानीय ?

रामप्रसाद अधिकारी, हत्या आरोपी

कृष्णप्रसादको हत्या भएको दिन हामी गाउँले फुजेलमै कुलो खनिरहेका थियौं । मृतकका दाजु नुरुप्रसाद स्वयम् हामीसँग कुलो खन्नेमा थिए । घटना घटेको खबर सुनेको भोलिपल्ट पनि हामी कुलो खनिरहेका छौं । हामी कुलो खन्न गएपछि अरु साथीहरु शवबारे बुझ्न चितवन गएका हुन् । के हामी एक सेकेन्डमा चितवन पुगेर कृष्णप्रसाद अधिकारीलाई मारेर यहाँ आइपुग्यौं होला ?

आरोप लगाउनुपर्ने खास कारण व्यक्तिगत रिसिइवी नै हो । नुरप्रसादकी माइली आमा (सीता अधिकारी)लाई अहिलेसम्म अंश दिन मानेका छैनन् । माइली आमालाई अंश दिनुपर्छ । उनलाई टुहुरा बालबच्चा पाल्न गाह्रो हुन्छ भनेर गाउँलेले अंश दिलाइदिन पहल गरेका थिए । त्यो एउटा रिस हो । अर्को कुरा चाँहि बिजुली लाइन विस्तारको हो । अघिल्लो दिनसम्म नन्दप्रसादचाँहि विजुली वाल्न सहमत थिए । र एक हजार रुपैयां शिक्षक लोकनाराण अधिकारीलाई उनका नाममा लगाइदिएका हुन् । नुरुप्रसादले बेलुका के भन्यो भोलिपल्ट मलाई चाहिँदैन भन्न थालेर घरछेऊमा गाडेको पोल हटाउन भने । सम्झाउने कोशिस गरियो । केही सीप नलागेपछि स्थानीय विद्युत समितिले पोल सार्ने निर्णय गरयो ।

शिवप्रसाद पौडेलको घरमा बिजुली लाइन लैजान खोज्दाखेरि उनको बारीको एउटा रुख मुठार्न पर्ने भयो, तारले छुने भएकाले । त्यो बुटा मुठारेपछि नुरुप्रसादकी आमा गंगामायाले पोल नै काटिदिइन् । त्यही पोल काटेलगत्तै उनीहरु घर छोडेर हिँडेका हुन् । सत्य यस्तो हुदाँहुदै ज्यानमाराको मुद्दा हाल्छन भने हत्या गरेको पुष्टि गराउन कारबाही भोग्न तयार छौ भनेर सुरक्षाकर्मी र मानवअधिकारकर्मीलाई पनि भनेका छौं हामीले ।

सीता अधिकारी, हत्या आरोपी (नुरुप्रसादकी माइली आमा)

नन्दप्रसादकी माइली भाइबुहारी हुँ । मेरा तीन नानी छन् । मेरा श्रीमान रुखबाट लडेर बित्नुभएको हो । उहाँहरु तीन दाजुभाइ हुन् । पछि मलाई छुट्याइदिनुभयो । दाजुभाइ छुटिई भिन्न भएका थिएनौं । मेरा श्रीमानको मृत्युपछि अंश नदिने भन्नुभयो । कसरी नानी पाल्ने भन्ने गाह्रो भयो । त्यतिबेला गाउँका छरछिमेकले अंश दिनुपर्छ भन्नुभयो । त्यही कारणले हामीलाई हत्याको आरोप लागेको हो । देखेको सुनेको केही होइन । मेरो घर तल छ । आउने जाने थिएन । मेरो दाइले पनि अंश पाउनुपर्छ भनेर बोल्दिनाले दाइ विष्णु तिवारीलाई पनि ज्यान मुद्दा हालेका छन् ।

रेडियो, टिभीले भनेको र पत्रिकामा कृष्णप्रसादको हत्यामा संलग्न छ रे भनेपछि आरोपी भनेको थाहा भएको हो । अहिलेसम्म घर छोडेर कहीँ गएको छैन । कोही आउँदा कृष्णप्रसादको घर कुन हो भनेर सोध्नुहुन्छ । कोही आउँदा के भएको हो यस्तो भन्नुहुन्छ । अहिलेसम्म सुरक्षाकर्मीले पनि केही भनेका छैनन् । झुटो मुद्दा हो । मैले अंश माग्दा गाउँलेलाई आरोप लगाइएको छ । मेरो आत्मादेखि लागेका चाँहि मेरै रिसले गाउँलेलाई दुख दिएको हो ।

शिवप्रसाद पौडेल, छिमेकी

भलको पानी दायाँबाया भयो भनेर मलाई मुद्दा हालेको हो नन्दप्रसादले । अहिले पनि भलको विवाद भएको गौंडा देखाउन सक्छु । कृष्णको हत्या गरेको ११ जनाको ज्यान मुद्दामा चाँहि मलाई मुद्दा हालेको होइन । अरुमै मुद्दा हालेको छ । गाउँका ३५ जनालाई मुद्दा हालेको छ । ०६४ पुस १० गते बिजुली लाइन विस्तार गर्दा गंगामायाले पोल काटिन् । अनि उनीहरु गाउँ छोडेर हिँडे । बाहिर भएका बाख्राहरु पनि खोरमा लगेर थुनिछन् । खोर र घरको ढोकामा ताला लगाइछन् । यही डाडाँडाँडै लोग्ने स्वास्नी भागेर हिँडेका हुन् । अदालतमा चाँहि भाला, खुकुरी लिएर खेदेका भनेर उजुर गरेछन् । उनीहरु गाउँ छोडेको २३ दिनसम्म आएनन् । र, २३ दिनका दिन ४२ जना जिल्लामा गएर विद्युत लाइन विस्तारमा यस्तो यस्तो विवाद भएको भनेर सिडियो र डीएसपी गीता उप्रेतीलाई भनेका हौं । सीडिओ कार्यालयमा ‘नुरप्रसाद खुरक्क गाउँमा बाआमा लिएर जानुहोस् । यस्तो फटाहा काम पनि गर्ने’ भनेर सिडिओ, डीसएसपीले भन्नुभयो । त्यसपछि ‘यहाँ म मिल्दिन’ भन्दै नुरप्रसाद हिँडेको हो ।

अनि कृष्णप्रसादको हत्याको कुरामा पनि त्यहाँ नुरुप्रसादले छवेलाई कैद हाल भन्न थाल्यो । यस्तो अपराध हामी गर्न सक्दैनौं, छविलालले मारेको होइन भनेर कागज गरेर आयौं हामी सिडिओ कार्यालयबाट ।

उ गाउँमा आएन । पुस १० गतेदेखि २ महिना त हामीले उसको गाईभैंसी, बाख्रा पालिदिएको हो । ४ वटा सानाठूला भैंसी, ६ वटा बाख्रा थिए । पछि नुरप्रसादले जसले बस्तुभाऊलाई घाँसपात गर्छ, उसलाई पनि कृष्णप्रसादको हत्याराको सुचीमा राख्दिन्छु भन्दै धम्की पठाउन थाल्यो । त्यसपछि हामीले जीउनधन सरकारको भन्दै छोडिदिएको हो बतासे प्रहरी चौकीलाई जानकारी गराएर । मरेपछि पनि चौकीबाट प्रहरी आएर पुरेको हो । हामी खाल्डोमा हालेको पनि होइन,प्रहरीले नै हालेको हो । त्यो माइन्यूट त प्रहरीसँग पनि छ ।

रेवती पौडेल, ७९ वर्षीया स्थानीय महिला

गाउँ नै उज्यालो पार्ने छविलालाई थुन्नहुन्छ ? आफुले पढाएको विद्यार्थीलाई आफैले मार्छ ? आफ्नै छोरो काट्न सक्छ ? आफुले पढाएको विद्यार्थी र छोरो उस्तैउस्तै त हो नि ।गंगामाया साह्रै बदमास भएर निस्की । परिवार समालेर बस्नुपर्नेमा अहिले अनशन बसेकी छ । बिजुलीको पोल आफैले गएर गिडीँ अनि ओरालो लागेर हिँडी । यसरी गाउँलेलाई जिउँदै मार्नहुन्छ ? बरु पुरै गाउँलेलाई लगेर एकै चिहान पारिदिए हुन्थ्यो । यसरी दुःख पाउनुभन्दा ।

शम्भुप्रसाद देवकोटा शिक्षक भैरवाश्रम उच्चमा

घटनाको १८ महिनापछि मात्रै किटानी जाहेरी दिएको हो नुरप्रसादले । उसले दिएको किटानी जाहेरी पनि गलत छ । ०६१ जेठ २६ गते दर्ता भएको किटानी जाहेरीमा नम्बर नखुलेको मोटरसाइकलमा आएका पेस्तोधारी ३ जना अज्ञात व्यक्तिले चितवनको रत्ननगरपालिका वडानम्बर १ बकुलहर चोकमा हत्या भएको उल्लेख गरेको छ ।

०६२ मंसिर २६ गते पुनः दिएको किटानी जाहेरीमा गोरखाको फुजेल गाविसका ११ जनालाई आरोप लगाइएको छ । पुरै झुटो मुद्दा लगाएर गाउँलाई दुःख दिने काम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment