Comments Add Comment

राजधानीका कलेजले पढाउन छाडे शिक्षा र मानविकी

१० असार, काठमाडौं । ‘छोरा बिग्रिए  कमर्स, छोरी बिग्रिए स्टाफ नर्स’ भन्ने रुढीवादी प्रचलन अब थोत्रे भैसकेको छ । काठमाडौं उपत्यकामा अहिले कमर्स र स्टाफ नर्स पढाउने कलेजहरु हृवात्तै बढेका छन् भने मानविकी र शिक्षा पढ्न चाहने विद्यार्थीका लागि चाहिँ कलेज नै नपाइने अवस्था आएको छ ।

राजधानीमा सञ्चालित ४४ वटा उच्चमावि र कलेजमध्ये अधिकांशले कमर्स र साइन्स पढाउने गरेका छन् । यीमध्ये तीनवटा कलेजले मात्रै शिक्षा विषय पढाउने गरेका छन् । ४४ मध्ये २० वटा कलेज र उच्च माविमा मानविकी शंकाय नै छैन ।

उपत्यकाका ४४ कलेजको अवस्था
कमर्स- कलेज -४४, विद्यार्थी कोटा- १२०४८
साइन्स – कलेज- ३८, विद्यार्थी कोटा-१०८३५
मानविकी- कलेज -२४, विद्यार्थी कोटा-१११६
शिक्षा- कलेज-३, विद्यार्थी कोटा-१०६

उपत्यकाका ४४ कलेजमध्ये भक्तपुर नयाँ ठिमीको सनसाइन उच्च मावि, ठिमीकै सुप्रीम एकेडेमी र गोंगबुको नवजीवन एजुकेशन एकेडेमीले मात्रै शिक्षा विषय पढाउने गरेका छन् । यी तीन कलेजमा जम्मा १ सय ६ वटा सीट शिक्षा विषयका लागि छुट्टाइएको छ । पछिल्लो समय शिक्षा विषय पढ्ने विद्यार्थीहरु पाउन छाडेपछि कलेजबाटै विषय हटाउन बाध्य भएको सञ्चालकहरु बताउँछन् ।

काठमाडौं उपत्यकाका बर्नहार्ट कलेज, जेभियर इन्टरनेशनल कलेज, जेभियर्स एकेडेमी, काठमाडौं भ्याली कलेज, किलोल्सन उच्च मावि, नोबेल एकेडेमी, पाटन निष्ट एकेडेमी, प्राईम कलेज, भिएस निकेतन उच्च माविमा मानविकी र शिक्षा विषय पढ्न पाइँदैन ।

त्यसैगरी मोडर्न बोर्डिङ उच्च मावि, रेडन कलेज, लिटिल एञ्जल्स कलेज, सान इन्टरनेशनल कलेज, हिमालयन हृवाईट हाउस लगायतका कलेजहरुले पनि मानविकी र शिक्षा विषयमा कक्षा सञ्चालन गर्दैनन् । उल्लेखित ४४ मध्ये २४ वटा कलेजले मात्रै मानविकी विषयमा कक्षा सञ्चालन गर्छन् । विगतमा सबैभन्दा बढी विद्यार्थी हुने मानविकी संकायप्रति विस्तारै आकर्षण घट्न थालेपछि निजी कलेजहरुले यो विषयलाई पनि विस्तारै हटाउन थालेका हुन् । उपत्यकाका २४ वटा कलेजले मानविकी विषयका लागि १ हजार १ सय १६ सीट छुट्टाएका छन् ।

विज्ञानभन्दा व्यवस्थापनमा धेरै लगानी

उपत्यकामा विज्ञान विषय पढाउने कलेज ४४ मध्ये ३८ वटा छन् । विज्ञान विषयमा पनि पछिल्लो समय विद्यार्थी तथा कलेजहरुको आकर्षण देखिएकै छ । तर, निजी कलेजहरुले साइन्समा भन्दा कमर्शका लागि बढी कोटा छुट्याउन थालेका छन् ।

उपत्यकाका ४४ मध्ये ३८ वटा कलेजमा विज्ञान विषयका लागि १० हजार ८ सय ३५ सीट छुट्टाइएको छ । डाक्टर, इन्जिनियर, पाइलट, बीएसस्सी नर्सिङतिर विद्यार्थीको आकर्षण बढेपछि विज्ञान पढाउने कलेजहरु बढेका हुन् । तर, एसएसलसीमा राम्रो नम्बर ल्याउनासाथ साइन्स नै पढ्नुपर्छ भ्रमबाट विद्यार्थीहरु मुक्त हुन थालेका छन् भन्ने प्रमाण चाहिँ कलेजहरुले गरेको कमर्शतिरको लगानीले संकेत गरेको छ ।

केही वर्ष अगाडिसम्म विद्यार्थीको खासै आकर्षणमा नपर्ने कमर्स विषय अहिले अधिकांश कलेजले पठाउन थालेका छन् । उल्लेखित ४४ कलेजमध्ये सबैले कमर्स विषय पढाउने गरेका छन् । यी कलेजमा कमर्सका लागि १२ हजार ४८ सीट छुट्टाइएको छ । यो साइन्सको भन्दा बढी हो । निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थामा सजिलै जागिर पाइने भएर पनि कमर्समा आकर्षण बढेको बताइन्छ । मुलुकमा औद्योगिक पुँजीवादको विकाससँगै व्यवस्थापनतर्फ आकर्षण देखिएको कतिपयको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment