Comments Add Comment

माधव र ओलीले अध्यक्ष पद झलनाथलाई छाड्नुपर्छ

Pursotam Paudel  (1)पुरुषोत्तम पौडेल, युवा तथा खेलकुद मन्त्री

नेकपा एमालेको ठूलो पंक्ति माधव नेपाल र केपी ओलीका पक्षमा बिभाजित भएका बेला केही नेताहरु झलनाथ खनाललाई नै अध्यक्ष बनाउने अभियानमा लागेका छन् । यो अभियानका एक प्रमुख अभियन्ता हुन् युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल । एमालेको केन्द्रीय सल्लाहकार परिषदका सदस्य तथा नेपाल खेलकुद महासंघका अध्यक्ष समेत रहेका पौडेल अध्यक्ष झलनाथ खनालको किचन क्याबिनेटका सदस्य हुन् ।

खनाल पक्षका अधिकांश नेताहरु माधव नेपाललाई अध्यक्ष बनाउन हिँडेका बेला उनी भने खनाललाई नै अध्यक्ष बनाउनुपर्ने पक्षमा दृढतापूर्वक उभिएका छन् । नेपाल र ओली जो अध्यक्ष भए पनि एमालेमा बिभाजन आउन सक्ने खतरा उनले औंल्याएका छन् । प्रस्तुत छ, पौडेलसँग अनलाइनखबरका लागि मात्रिका पौडेलले गरेको कुराकानी ः

एमालेका अधिकांश मन्त्रीहरु सत्ताको दुरुपयोग गरेर केपी ओलीलाई जिताउन हिँडेको आरोप माधव नेपालले लगाइरहेका छन्, तपाई चाहिँ कसलाई जिताउन लाग्नुभएको छ ?

अरु मन्त्रीहरुका बारेमा म केही जान्दिँन, तर मचाहिँ एमालेमा कुनै पक्ष वा विपक्षमा लाग्ने भन्दा पनि पार्टीलाई एकतावद्ध बनाउन र सहमतिको नेतृत्व निर्माण गर्न लागेको छु । अरु मन्त्रीले पनि त्यसरी सत्ताको दुरुपयोग गरेजस्तो लाग्दैन । एमालेको प्रतिनिधि छनोटमा सत्ताको कुनै असर पर्छजस्तो पनि मलाई लाग्दैन ।

जहाँसम्म म कसलाई जिताउन लागेको भन्ने कुरा छ, म यस प्रकरणमा कुनै गुटमा छैन । माधव नेपाल वा केपी ओली कसैको पक्षमा लागेको छैन र लाग्दिँन पनि । सहमतिका साथ एमालेको नयाँ नेतृत्व चयन गर्नुपर्छ, त्यो सहमति झलनाथ खनाल, माधव नेपाल वा केपी ओली जसका नाममा पनि हुन सक्छ ।

देशैभरिका कार्यकर्ताहरु माधव र केपी गुटमा बिभाजित भएर प्रतिनिधि चुनिइसकेका छन्, अब त्यो सहमतिको रटानको के अर्थ होला र ?

यो कुरा गलत हो । सबै कार्यकर्ता माधव र केपी गुटमा बिभाजित छैनन् भन्ने कुरा पनि बुझ्नुपर्छ । अहिले सर्वसम्मत रुपमा धेरै जिल्लाबाट प्रतिनिधिहरु छानिएर आएका छन् । धेरै जिल्लाबाट निर्वाचित भएकाहरुले पनि आफूलाई कुनै गुटमा राखेका छैनन् । गुटबाट चुनाव जितेर आएकाहरु पनि सहमतिको पक्षमा छन् । प्रतिनिधि बन्नका लागि यो वा त्यो गुटमा लागे पनि कार्यकर्ता बिभाजित होइन, संगठित एमाले चाहान्छन् । त्यसका लागि कुनै गुट वा प्यानलको होइन, सहमतिको नेतृत्व चाहिन्छ ।

सहमतिको नेतृत्वको फेजआउट भइसक्यो नि होइन र ? अब त माधव र केपीमध्ये को अध्यक्ष बन्ने भन्ने मात्रै फैसला हुन बाँकी होइन ?

कम्युनिस्ट पार्टीमा बिचारको बहस हुन्छ, नेतृत्वको होइन । बिचारमा ‘प्यानलवाइज’ छलफल हुन्छ, तर नेतृत्वमा हुँदैन । एमालेमा झलनाथ खनालको नेतृत्वमा नीति, बिचार र कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । सामान्यतः कम्युनिस्ट पार्टीमा जसको नीति पास हुन्छ, नेता पनि उही हुन्छ भन्ने मान्यता स्थापित छ । तर, अहिले जे भइरहेको छ, त्यो दुर्भाग्यपूर्ण छ । किनकि नीति र विचारमा कुनै विवाद छैन, मात्र नेतृत्वमा विवाद छ । त्यो पनि जसको नीति पारित भयो, उसले सहमति खोजिरहेको छ । तर, अरु नेताले नेतृत्व दावी गरिरहेका छन् । स्वभाविक रुपमा झलनाथको नीति पारित भएपछि अध्यक्ष पनि उहाँ नै हुनुपर्छ ।

तर, झलनाथले त नेतृत्वका लागि दाबी नै गर्नुभएन नि ?

झलनाथ खनालले अध्यक्ष हुन्न भन्नुभएको छैन । उहाँले मैदानमा गएर ताउर माउर नगरेकै हो । उहाँले त्यो किन गर्नुभयो भन्ने पनि आफ्नै कारण छन् । ०६४ को निर्वाचनमा एमाले ३३ सिटमा खुम्चिएर तेस्रो पार्टी बन्यो । नैतिकताका आधारमा तत्कालीन महासचिव माधव नेपालले राजीनामा दिएपछि झलनाथ खनालले नेतृत्व गर्नुभयो । उहाँले पार्टीलाई नयाँ ढंगले संगठित गर्नुभयो । विचारको नेतृत्व गर्नुभयो ।

अहिले एमाले प्रगतिको बाटोमा छ, उहाँको नेतृत्वमा । ३३ सिटको पार्टी ९१ सीटमा पुग्यो । डेढ लाख सदस्यबाट अढाइ लाख सदस्य पुगेका छन् । यो सबै सफलताको नेतृत्व खनालले गर्नुभयो । उहाँले नै एमालेलाई प्रगतिको बाटोमा लैजानुभयो । जसले यो पार्टीलाई बैचारिक ढंगले संगठित गर्दै सफलतामा पुर्‍यायो, उसले स्वाभाविक रुपमा नेतृत्वको हक राख्छ ।

झलनाथ खनाल नै किन चाहियो त ? माधव नेपाल वा केपी ओली आए के हुन्छ ?

सहमतिमा जो आए पनि हुन्छ । किनकि एमालेका तीनै जना नेताहरु सम्माति हुनुहुन्छ । तर, अहिले जेजस्ता हर्कत भइरहेका छन्, त्यसले राम्रो संकेत गरेको छैन । इतिहासलाई हेर्ने हो भने एमाले जब-जब प्रगतिको बाटोमा हिँडेको छ, त्यतिबेला खतराका संकेतहरु देखिने गरेका छन् । ०४९ मा पाँचौ महाधिवेशनमा पार्टी बैचारिक रुपले गाउँसम्म दुई खेमामा बाँडियो । पार्टी बिभाजनको डर थियो । तर, कार्यकर्ताले दबाब दिएर मनमोहन अधिकारी र मदन भण्डारीको नेतृत्वमा सहमतिको नेतृत्व चयन गरे ।

त्यसपछि एमालेले ०५१ को आम चुनाव र ०५४ को स्थानीय चुनावमा सफलता पायो । ०५४ मा छैठौं महाधिवेशनमा अहिलेकै जस्तो गुटको लडाइँ भयो, जसले गर्दा पार्टी फुटेर ०५६ मा एमाले पराजित भयो । अहिले पनि त्यस्तै संकेत देखिँदैछन् । त्यही कारण पनि सहमतिको नेतृत्व झलनाथ खनालले गर्नुहुन्छ भनेको हो ।

तपाईको मतलब माधव नेपाल वा केपी ओली अध्यक्ष हुँदा पार्टी फुट्न सक्छ भन्ने हो ?

पार्टी फुट्न नै भन्न त सकिन्न, तर विभाजनका संकेतहरु देखा परेका छन् । अहिले एकले अर्को विरुद्ध जे-जस्ता गतिविधिहरु गरिरहेका छन्, त्यसले एमालेलाई घाटा पार्छ र अन्ततोगत्वा विभाजनमा लैजान्छ । विभाजन नै नहुँदा पनि पार्टीभित्र एकले अर्कोलाई घात गर्ने प्रचलन बढ्छ । यसको संकेत गत संविधानसभा निर्वाचनमा धेरै ठाउँमा देखियो । एमाले पहिलो भएको पार्टी हो, तर अन्तरघातले हामी दोस्रो भयौं ।

तपाईको विचारमा अहिलेसम्मको संख्या हेर्दा प्रतिनिधिहरु माधव वा केपी कसको पक्षमा बढी होलान् ?

मैले ठ्याक्कै हिसाब त गरेको छैन । तर पनि प्रतिस्पर्धा राम्रै देखिन्छ । तर, म त दुबै समूहमा भन्दा सहमतिको नेतृत्व बन्नुपर्छ भन्ने पक्षका साथीहरु धेरै आएको देख्छु । अहिले जुन गुटबाट जितेर आएका भए पनि महाधिवेशन हलमा गएपछि ती साथीहरुको वास्तविक मत प्रकट हुने छ । महाधिवेशन प्रतिनिधिहरुले सहमतिमा नेतृत्व चयन गर्न दबाब दिनेछन् ।

तपाईको मतलब झलनाथ खनालको पक्ष निर्णायक हुन्छ भन्ने हो ?

यो नवौं महाधिवेशनमा हो, झलनाथ खनालको झन् महत्वपूर्ण भूमिका हुने देख्छु म । अहिले करीव १६ सय प्रतिनिधि निर्वाचित भएर आएकामा गुटमा खुलेका एक हजार जतिमात्रै छन् । करीव ६ सय प्रतिनिधि सहमतिको पक्षमा छन्, त्यही नै हो झलनाथको शक्ति । तिनै प्रतिनिधि निर्णायक हुनेछन् ।

तपाई लेखेर राख्नुस् नवौं महाधिवेशनको हलमा झलनाथको भूमिका निर्णायक र महत्वपूर्ण हुनेछ ।

खनालका अधिकांश मान्छे माधव नेपाललाई जिताउन लागेका छन्, यो अवस्थामा उहाँको निर्णायक भूमिका कुनै नेतालाई जिताउन हो कि आफैं हुनका लागि हो ?

उहाँ आफैं हुनका लागि भन्दा पनि एमालेलाई अहिलेको आवश्यकताअनुरुप बलियो र सशक्त पार्टी बनाउन र भविष्यमा पहिलो पार्टी बनाउनका लागि सहमतिको नेतृत्व आवश्यक छ । त्यो नेतृत्व झलनाथ खनालबाट सम्भव छ ।

जहाँसम्म झलनाथका मान्छे माधव नेपालतिर गएका भन्ने कुरा गलत हो । कोही केपीतिर लागेका पनि छन् । तर, झलनाथ खनालका मान्छे सबै माधव नेपालतिर लागे भन्ने कुरा गलत हो ।

मैले हिजो समाचार पढेँ, खेलकुद महासंघका सबै प्रतिनिधि माधव नेपालका भनेर लेखेका रहेछन् । तर, त्यस्तो होइन, ती मान्छेहरु त सर्वसम्मतिको पक्षका हुन् । मेरो नेतृत्वको महासंघका ती प्रतिनिधि झलनाथका पक्षधर हुन् ।

तपाईलाई पनि त माधव नेपालको गुटमा राखेको देखिन्छ नि ?

अहिले म माधव वा केपी दुबैको कोटामा छैन । तर, म दुबैको हुन सक्छु । अहिले एमालेमा मजस्ता धेरै छन् । कसैको पुच्छर नसमाती एमाले भएर बाँच्न सकिन्छ भन्ने मान्यता राख्ने साथीहरु पनि धेरै छन् । अहिले जबर्जस्ती बिल्ला भिराइदिने संस्कार देखिएको छ, तर त्यस्तो अवस्था छैन । माधव वा केपी कतै नलागी पनि एमालेमा आत्मसम्मानका साथ बाँच्न पाइन्छ भन्ने समूहको प्रवक्ता हुँ म ।

अहिले माधव र केपीका मात्र प्रतिनिधि आइरहेका बेला मान्छेले झलनाथ खनालका मान्छे खोइ त भनिरहेका छन्, वास्तवमा झलनाथका मान्छे नै छैनन् त ?

मैले अघि नै भनिसकेँ, झलनाथको पक्षमा निर्णायक प्रतिनिधिहरु आइसकेका छन्, जो सर्वसम्मत नेतृत्व चाहान्छन् । अहिले दुई गुटले चुनावी माहौल बनाएकाले तेस्रो व्यक्तिको चर्चा नहुन सक्छ, तर तेस्रो पक्षको भूमिका महाधिवेशन हलमा गए पछि देखिन्छ । झलनाथ नै एमालेमा अहिले निर्णायक शक्ति हुन् । सहमतिको नेता जो भए पनि फरक पर्दैन । यदि निर्वाचन भयो भने पनि दुई पक्षबीच पहिले नै यस्तो वातावरण बन्नुपर्छ, हारे पनि जिते पनि एकले अर्कोलाई स्वीकार गर्ने, पार्टीको नीति बिचार कार्यन्वयन गर्ने, काम गर्ने वातावरण बनाउनुपर्छ ।

अहिलेको अवस्था हेर्दा त जसले जिते पनि प्यानल नै जित्ने देखियो नि ?

कसैको पनि प्यानल जित्ने सम्भावना छैन । आठौंमा त प्यानल जितेनन् भने अहिले त्यो सम्भव नै छैन । कसैले पनि ठूला कुरा नगरे हुन्छ, प्यानल जिताउन उनीहरुले सक्दैनन् । एमाले कार्यकर्ता त्यति अविवेकी छैनन् । एमालेमा एउटा पक्षलाई निषेध गरेर अर्कोले पार्टी चलाउन सकिन्छ भन्ने नसोचे हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment