Comments Add Comment

कथा- प्रेमको बाटो

–सन्तोष खतिवडा

Santosh-Khatiwodaउमेर त खासै भएको छैन तर उसको शारीरिक बनावटले उमेर भएकै लाग्दछ । निख्खर कालो हैन, हिस्सी परेको कालो भएपनि गालामा भएका अनगिन्ती दागहरुले अनुहार कालो नै लाग्दछ । दुवै कानमा चाँदीको कुण्डल लगाएको छ । पातलो शरिरमा उसले लगाएको कपडा पटक्कै सुहाएको छैन । लामो अगाडी तिर राखेको जुल्फे कपाल कहिलेकाँहि निधार सम्म आइपुग्दा टाउको झड्काएर पछाडी तिर पठाउँदछ । बेला बेलामा दाहिने हातका औलालाई फिँजाएर काँइयो जस्तै बनाउँछ र निधारमाथि बाट औंलाहरुलाई छिराएर टाउकोको बिच भाग सम्म पु¥याउँछ । अनि छरिएका कपाललाई मिलाउँछ ।

उ कहाँ जन्मियो उ आफैँलाई थाहा छैन । आमा बाबु को हुन्, त्यो पनि थाहा छैन । उ बुझ्ने हुँदा उसले आफुलाई कुलेश्वर महादेवस्थानको एउटा पाटीमा पाएको थियो । हरेक मिनेटमा दुई सर्को गाँजा तान्ने जोगीको साथमा उ मात्र हैन उसको बहिनी पनि उ संगै थिई । गाँजाको नशा मष्तिस्कमा मात्र हैन शरिरको फोक्सो र मुटुमा पनि चढेकोले होला त्यो जोगीले पनि उनीहरुलाई छोड्यो, यो संसार छोड्यो । जोगीलाई जलाउन हुँदैन खाल्डो खनेर त्यो माथी नुन हालेर गाड्नुपर्छ भन्ने मानिसहरुलाई उसले अन्तिम संस्कार गर्न पुरै सहयोग गरेको थियो । जोगी मर्दा दाजु बहिनी त्यति रोएका थिएनन् तर अन्तिम संस्कार गरिसकेपछिको रात भने जोगीको ख्वाङ्ग ख्वाङ्गको एकोहोरो खोकी सुन्न नपाउँदा नियास्रो मानेर रोए ।

उसको आफ्नो भन्नु त्यहि वहिनी मात्र थिई, त्यसैले होला उ वहिनीलाई असाध्यै माया गर्दथ्यो । उसलाई कसैले केहि भन्यो भने कालो अनुहार थप कालो बनाउँथ्यो तर ङिच्च दाँत देखाएर हाँसिदिन्थ्यो वहिनीलाई जिस्काउँदा या गालि गर्दा भने सहन सक्दैन थियो । हातमा रहेको सामान जे छ त्यसैले झट्टी छोड्थ्यो । केहि भएन भने हातको औंलालाई दह्रैै मुक्का बनाउँथ्यो र झम्टीहाल्थ्यो । आफु कम खान्थ्यो, फोहोरी र नराम्रो लुगा लगाउँथ्यो तर वहिनीलाई सुकिलो लुगाको ब्यबस्था गरिदिन्थ्यो । खाना पनि आफुले भन्दा धेरै खुवाउँथ्यो अनि राम्रो र मिठो खुवाउँथ्यो ।

उसको नाम कसले राख्यो उसलाई थाहा छैन । नाम संग मतलब पनि छैन, नामले कसले बोलाउँछ र उसलाई । मानिस नामको लागि मात्र बाँच्दछ । तर कसैलाई नामको जरुरत नै पर्दैनथ्यो भने ति दुई दाजु वहिनी पनि थिए । तैपनि दाजुको किशोर र विहिनीको नाम अप्सरा भनेर बोलाउने गर्दथ्यो जोगीले उनीहरुलाई । समय संगै किशोर र अप्सरा ठुला भए । १६बर्षको उमेरमानै किशोरले आफनो एउटा ग्याङ्ग बनाएको थियो । उ ग्याङ्गको नाइके थियो । उनीहरु ग्याङ्गमा ६ जना थिए जुन ग्याङ्गको एउटा महत्वपूर्ण सदस्य थिइन अप्सरा । अप्सरा नाम जस्तै राम्री थिइन् । दाजु संग उनको अनुहार कतै मिल्दैनथ्यो, गोरो वाटुलो अनुहारमा रिठ्ठा जस्ता ठुला ठुला गोला आँखाहरु असाध्यै सुहाउँथे उनलाई । दुखले कति दिन खाना खानै नपाएपनि उनको मुहारको चमक भने ज्युँ का त्युँ रहन्थ्यो । दाजु दुब्लो र पातलो भएपनि उनी थोरै मोटी थिइन् र सानै देखि दाजुको मायामा हुर्किएकी उनी पाटीको बासमा पनि ठुलै बंगलामा हुर्केकी जस्ती देखिन्थिन् ।

किशोरको ग्याङ्गले आफनो क्षेत्र तय गरेको थियो । कुलेश्वरको महादेवस्थानलाई केन्द्रबिन्दु बनाएर कालिमाटी, टेकु, वल्खु र कलङ्कीसम्मको क्षेत्रलाई उनीहरुले आफ्नो वनाएका थिए । उनीहरुको काम प्रष्ट थियो। पाटीमा हुर्किएका अनि आमा बाबुको पत्तो नभएका नेपालका अक्सर बालबालिकाको काम जस्तै फोहोरको डङ्गुर भित्रबाटै प्लाष्टिक र फलामको टुक्रा खोतल्नु । त्यो दैनिकी थियो तर त्यो दैनिकीलाई परिबर्तन गर्दथे कहिले काँही किशोरको ग्याङ्गले । उनिहरु त्यहि आसपासका क्षेत्रमा भएका घरहरुबाट सुटुक्क सामानहरु चोर्न पछि पर्दैनथे । यसरी चोर्ने सामान कहिले घर बनाउन राखेका फलामका छड, सिमेन्टका भरी बोरा अनि धाराका पाइप हुन्थे भने भाग्यले साथ दियो भने घर भित्रै छिरेर ठुलै सामान पनि हात लगाउँथे । अप्सरा अलि फरक स्वभावकी थिइन् । चोर्ने कुरामा ऊनी फरक मत राख्थिन् तर सधैं अल्पमतमा पर्थिन ।

किशोरको ग्याङ्ग अलि झगडालु पनि बन्दै गएको थियो । आफ्नो क्षेत्र भित्र अरु कोही आफु जस्तै बालकहरु आए भने लखेट्ने र पिट्ने काम पनि गर्न पछि पर्दैनथ्यो ।

पाटे आफुलाई किशोर पछिको दोस्रो नाइके मान्दथ्यो । देब्रे गालामा कन्चट नजिकै दुवि हैन अर्कै के हो सेतो टाटो थियो पाटेको । सायद त्यहि टाटोको कारणले उसको नाम पाटे रहेको हुनसक्छ । किशारेको अनुपस्थितिमा उ आफु नाइके भएको घोषणा गथ्र्यो । पाटे अप्सरालाई मन पराउँथ्यो । उसलाई लाग्दथ्यो अप्सराको लागि उ मात्र योग्य केटा हो । तर अप्सरा पाटेलाई पटक्कै मन पराउँदिनथी ।

किशोरले घोषणा गरेको उसको क्षेत्रभित्र उसैको बर्ग, उमेर र पेशाका धेरै समुह थिए । एउटा समुह थियो अर्जुनको जो किशोरको अस्तित्व स्विकार गर्दैनथ्यो । जन्म र कर्म अर्जुनको पनि किशोरको जस्तै थियो तर उनीहरुमा फरक के थियो भने अर्जुन चोरी चकारीमा बिश्वास गर्दैैनथ्यो । आफ्नो मेहेनतले कमाएको पैसाले मात्र जीवन धान्न पर्दछ, चोरीले पेट भर्नु भन्दा भोकै बस्नु ठिक हो भन्ने सोचाइ राख्दथ्यो । आँटिलो स्वभावको अर्जुन गलत कुराको लागि तर्क दिन र उस्तै परे कुस्ति खेल्न पनि पछि पर्दैनथ्यो । उ सहि कुराको लागि कोहीसंग पनि डराउँदैनथ्यो ।

एक दिन अर्जुन र उसका साथीहरु प्लाष्टिक र फलामका टुक्रा टिपेर टेकुतर्फ फर्कदै थिए । वाटोमा उनीहरुको भेट किशोर ग्याङ्ग संग भयो । किशोर र पाटे थोरै अगाडी बढे, पाटेले अर्जुनको छातीमा समायो । उसको झड्काले अर्जुनको पछाडी वोकिरहेको धोक्रो भुँइमा खस्न पुग्यो अनि अर्जुनको सर्ट जुन पुरानो भएर मक्किएको थियो, च्यातियो । “साले तुँलाइ हाम्रो ठाउँमा काम नगर भनेको हैन । तुँलार्इ मार्दिउँ, । मा साला…” उसले अरु वोल्न नहुने अनि सुन्न नहुने गाली के–के गथ्र्यो होला तर अप्सरा उनीहरु सँगै थिई । पाटेले अप्सराको इज्जत गरे झै पुलुक्क अप्सरातिर हेर्यो । अर्जुन पनि कम को कहाँ थियो र, उ शारीरिक र मानसिक दुवै हिसाबले पाटे भन्दा बलियो थियो । आफ्नो छाती अगाडीको पाटेको हात समातेर फनक्क देव्रेतिरवाट पाटेलाई उल्टो घुमायो अनि पाटेको दुवै हात समातेर उसलाई ककरक्क पारेर लडायो । पाटे भुइँमा लडेपछि आफु उठ्यो अनि आफ्नो च्यातिएको कपडालाई पनि तानतुन गरेर मिलायो । बहादुरीपूर्वक करायो “ त धेरै हिरो बन्छस् , यो ठाउँ तेरो बाजेको हो?” “म यहिं काम गर्छु , तँ के गर्छस् ” । उसले हेर्न त किशोरतर्फ हेरेको थियो तर उसका आँखा अप्सरासँग जुध्न पुग्यो । अप्सरा पनि अर्जुनलाई हेर्दै थिई । अप्सरा अर्जुनको बहादुरी भन्दा पनि उसको असल वानीले पहिले नै उसँग आकर्षित भइसकेकी थिई । अर्जुनको आँखा अप्सरासँग जुध्दा उसलाई कस्तो–कस्तो हुन्थ्यो, कहाँ–कहाँ छोएजस्तो, दुखेजस्तो, तर उसले त्यो छुवाईलाई, दुखाईलाई बुझेकै थिएन । एक हुल भुस्याहा कुकुरहरु उनीहरुको वोरातिर हेर्दै अघिदेखि भुकिरहेका थिए । उनीहरुको लुछाचुँडीले त झनै ठूलो आवाजले घुमीघुमी भुक्दैथिए । त्रिपुरेश्वरतिर वाट साइरन लगाउँदै पुलिसको गाडि आयो । उनीहरु तितरबितर भए ।

यो झगडा अव दैनिक जस्तो चल्न थालेको थियो । तर, हरेक चोटीको झम्काभेटमा आक्रमण किशोर ग्याङ्गले नैगरेको हुन्थ्यो अनि अर्जुन ग्याङ्गले वचावट । अर्जुनले धेरै पटक किशोरको पिटाइ खाएको थियो त्यस्तै अर्को दैनिकी थियो– अप्सराको कुनै वहानामा दाजु र उसका साथीहरुलाई छोडेर अर्जुनलाई भेट्नु । दुवै जना धेरैबेर कुराकानी गर्थे। एक अर्काको अङ्गालोमा बाँधिएका हुन्थे । प्रेम भन्ने कुरा नै यस्तै रहेछ । यो प्राकृतिक रहेछ जुन सिकाउन नपर्दो रहेछ । सडकबाट देखिने उनका आँखा अगाडीका ठूला–ठूला बङ्गला देखाउँदै कल्पनामा रमाउँथे ।“ हामी पछि यस्तै घर बनाउने, यो प्लाष्टिक टिप्ने काम पनि नगर्ने, कुकुरले धेरै लखेट्छ, मान्छेले धेरै हेप्छन्, गाली गर्छन् । राम्रो कपडा लगाएर राम्रो काम गर्ने ।” उनीहरुका रमाइला कल्पना, सपना,सायद त्यो प्रेमको शक्तिको उपज थियो । त्यसैमा हराइरहेका हुन्थे । कति रमाइलो थियो उनीहरुको संसार जहाँ माया थियो, साथ थियो अनि सपना थियो । सपनाको संसार, अलग्गै संसार, हरेक चाहनाको प्राप्ती हुने संसार, यथार्थ भन्दा फरक बिचित्र संसार ।

दिनहरु बित्दै गए । दुई ग्याङ्ग बिचको झगडा र दुई जना बिचको प्रेम बढ्दै गयो । किशोर बहिनी लाई असाध्यै माया गर्दथ्यो । बहिनी पनि दाजुलाई उत्तिकै माया गर्दथी तर अप्सराले किशोरलाई अर्जुनको बारेमा केहि बताइन । अर्जुनलाई नपिट्नको लागि, झगडा नगर्नको लागि धेरै चोटी अनुरोध गर्न खोजी, अर्जुनको प्रेम छचल्किएका आँखाहरुले त कयौँ पल्ट बताए पनि तर आँखाले बताए पनि आवाज मुखबाट निकाल्न भने सकिन । केहि दिनदेखि अप्सरा बिरामी थिइ, वेलुका वेलुका ज्वरो आउँथ्यो । जब ज्वरो बढ्थ्यो उसको सास फुल्दथ्यो, फेर्न गाह्रो हुँन्थ्यो । जोड जोडले स्वाँ स्वाँ गर्दथी । तर, आफ्नो बिरामीको बारेमा भने दाजुलाई भनेकी थिइन । उसलाई थाहा थियो–उसको बिरामीले दाजु धेरैनै चिन्तित हुन्छ ।

किशोर ग्याङ्गलाई कुनै राजनैतिक पार्टिको आन्दोलन कार्यक्रमको लागि निमन्त्रणा आएकोले केहि दिनको लागि आफ्नो ठाँउ छोडेर अन्तै जानु पर्ने भयो । उनीहरु पहिला पनि यसरी ढुङ्गा हान्ने र बाटो छेक्ने कार्यक्रममा आमन्त्रित हुन्थे । ढुङ्गा हानेपछि टन्न खान पाउने अनि पैसा पनि पाउने कारणले यस्तो निम्ता आउँदा उनीहरु चुक्दैनथे । आफुलाई भाग्यमानी मान्दथे । अप्सराले उ नजाने कुरा बताई, किशोर उसलाई छोडनु पर्दा खुशी त थिएन तर सजिलै पैसा कमाउने अनि मिठो खाने लोभले बहिनीलाई एक्लै पाटी छोडेर गयो । उनीहरुलाई आन्दोलनमा लगेको दलाल नयाँ थियो । बदमास निस्कियो । १० दिनको कार्यक्रम पछि कवुल गरेको पैसा दिएन । उनीहरुले निकै झगडा गरे तर केहि सीप लागेन। “साले खातेहरु, तिमीहरुलाई खुवाएको मासु र भात, तिम्रा बाउले दिन्छन् ? , भाग यहाँबाट ! ” भनेर हप्काएर पठायो । त्यो दलाललाई गाली गर्दै पिट्ने योजना बनाउँदै उनीहरु कुलेश्वरतर्फ फर्कदै थिए । आँखा अगाडी अर्जुनलाई देखे । अर्जुनको हातमा एउटा प्लास्टिकको पोको थियो अनि उ एक्लै थियो । उनीहरुलाई दलाल सँग रिस उठेको थियो । अर्जुनलाई एक्लै देखेपछि रिस उसैलाई पोख्नु पर्छ भनेझै किशोर ग्याङ्ग उ तिर अगाडी बढे । उसको हातमा रहेको प्लास्टिकको पोको पनि उनीहरुको आकर्षण हुन सक्थ्यो ।

किशोर ग्याङ्गले अगाडिका दिनमा लखेट्दा अर्जुन कहिले पनि भाग्दैन थियो । सर्टका वाउला माथि सार्दै, लड्न तयार भइ हाल्थ्यो तर आज भने उ लड्ने मनस्थितीमा थिएन । त्यसैले भाग्यो । अर्जुन भागेकोले किशोर ग्याङलाई लखेट्न झनै प्रेरणा मिल्यो । सधै उनीहरु संग भिड्न तयार हुने अर्जुन, भाग्नुले लड्दै नलडी विजय प्राप्त गरेझै भयो । उनीहरुले अर्जुनको पोकोमा पक्कै ठुलै मुल्यवान सामान भएको अन्दाज गरेका थिए त्यसैले अर्जुनलाई अब उनीहरुले छोड्ने वाला थिएनन् । अर्जुन आफ्नो प्लास्टिकको पोकालाइ छाती अगाडि दुबै हातले च्यापेर दौडिरहेको थियो अनि किशोर उसको पछि–पछि उसलाई भेट्न खोज्दै थियो । अर्जुन दौडदै भन्दै थियो “ आज मलाई जान देउ, आज म तिमीहरु सँग लड्दिन, मलाई भोलि बरु तिमीहरुले जे गरेपनि सहन्छु, म यो ठाउँ पनि छोड्न तयार छु, तर आज केहि नगर ।”अर्जुन धेरै बेर दौडियो, पुरा वल निकालेर दौडियो तर ५ जनाले उसलाई घेरावन्दी गरिहाले, पक्डीहाले । उसलाई ५ जनाको बिचमा राखेर वरिपरिबाट घेर्दै किशोर ग्याङ्ग अर्जुनसँग उसको प्लास्टिकको पोको माग्दैथे । अर्जुन भने आफनो पोकालाई झन जोड जोडले च्याप्दै थियो अनि रुँदै भन्दै थियो “मेरो यो झोलामा तिमीहरुलाई काम लाग्ने केहि छैन, मलाई आज जान देऊ ।”

उसको रुवाईले कसैको मन पग्लनेवाला थिएन । त्यो लडाँई फोहोरमा हुर्किएको जीवनहरु बिचको अस्तित्वको लडाई थियो । अर्जुनलाई मजा चखाउने ठुलै मौका थियो किशोरलाई । किशोरले अर्जुनको पोको च्याप्प समात्न खोज्यो । अर्जुन बचाउनको लागि पछाडि हट्दैथियो । ढुङ्गामा अल्झियो, अर्जुन लड्यो। उ लडेर पनि पोका च्यापिरहेको थियो । लडेको अर्जुनको हातबाट किशोरले पोका खोस्न खोज्यो। अर्जुन र किशोरको लछाचुडीमा पोको च्यातियो । पोको भुइँमा खस्यो । पोको बाट एउटा औषधी को सिसी भुइँमा बजारिएर फुट्यो । प्लास्टिक भित्र एउटा पाउरोटीको पोका अनि दुधको आधा लिटरको प्याकेट पनि थियो, दुबै छरिएर यत्रतत्र भए । सिसी फुटेको देखेर सबै सिसी तर्फ हेर्न थाले , अर्जुन सिसी तिर हेर्दै रुन थाल्यो । हिजो अस्ति भए उसले त्यहि फुटेको सिसीले उनीहरु माथि प्रहार गथ्र्यो होला तर आज केहि गरेन । रुँदै पाउरोटी र दुधका पोका टिप्यो अनि ५ जनाको छेडो बाट फेरि भाग्यो । अर्जुन अघि अघि उनीहरुलाई छल्दै, छल्दै भाग्दै थियो अनि किशोर ग्याङ्ग उसलाई लखेट्दै थियो ।

अर्जुन प्लास्टिकले बनाएकोे एउटा सानो छाप्रो भित्र छिर्यो । त्यो छाप्रो साह्रै नै सानो थियो । टाउको निहुराउँदै किशोरहरु पनि छाप्रो भित्र छिरे । छाप्रोमा एक जना केटी सुतिरहेको थिइन् । अचेत अवस्थामा थिइन् । अर्जुन उनको हात समाँउदै रुँदै थियो। “मैले तिम्रो लागि औषधी ल्याउन सकिन, तर मैले दुध र पाउरोटी ल्याएको छु । उठ, तिमीलाई निको हुन्छ, तिमीलाई केहि हुन्न ।” उ ठुलै आवाज निकालेर रुन थाल्यो । अचेत अवस्थामा सुतिरहेको शरिर लगभग मृत तुल्य थियो तर ओठ भने, “दाइ” “दाइ”को आवाजले बरबराउँदै थियो । किशोरले थाहा पायो उसले भर्खर फुटाएको औषधी अरु कसैको हैन, उसैको प्यारी बहिनीको लागि ल्याइएको रहेछ । “बहिनी के भयो तिमीलाई?” उ रुँदै बहिनीको टाउको नजिक पुग्यो । अप्सराको आँखा पनि आँशुले भरिए । आँखाको माथिल्लोपटिृको परेला तल झारिन् । आँशुआँखावाट बगेर गालासम्म आयो अनि गालामा थोप्ला बन्यो । मुखवाट आवाज निक्लिएन काँपीरहेको एउटा हातले दाजुको हात समातिन् अनि अर्को हातले अर्जुनको हात समातिन् । उनलाई हेर्दा लाग्दथ्यो उनी ती दुई हात मिलाउन चाहान्थिन् । तिमीहरु कहिल्यै झगडा नगर, गलत काम पनि नगर सत्मार्गमा हिँड । मैले तिमीहरु दुवैलाई पे्रम गरेको छु, फरक फरक किसीमको तर मेरो प्रेमको वाटोमा सत्कर्म मात्रै छ, झगडा र अमेल छैन, मेलमिलाप र माया मात्र छ । उनी पूर्ण अचेत भइन् , सेतो आँखा कता कता पल्टाइन् । एक चोटी बलैले दाइतिर हेरिन् अनि हेरेको हेर्यै भइन् ।

उनले आफ्नो माया गर्ने दाजुलाई र प्रियतमलाई अनि दुखि संसारलाई एकैचोटी छोडिन् । किशोर, अर्जुन अनि किशोर ग्याङ्गका सबै रुन थाले, रुँदै किशोरले अर्जुनलाई च्याप्प अँगालो हाल्यो । रुँदै भन्न खोज्दै थियो “अर्जुन तँ अब नजा है, हामी संगै वस्ने, अनि राम्रो काम मात्र गर्ने । वहिनीले चोरी गरेको, झगडा गरेको कहिले मनपराइन, अब म चोरी गर्दिन, तँ म सँगै वस् है ।’ तर आवाज उसको घाँटीवाट निक्लिएन खाली अर्जुन–अर्जुन मात्र भनिरह्यो भनिरह्यो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment