Comments Add Comment

केपी र माधवको अनुहार हेर्ने कुरो भएन, लाइन एउटै छ

देव गुरुङ, सचिव नेकपा-माओवादी

राजनीतिक खेलाडी देव गुरुङलाई हामीले विश्वकप फुटबल खेलबारे केही प्रश्न सोध्यौं । त्यसपछि एमालेमा अध्यक्षका लागि भइरहेको राजनीतिक खेलमा तपाई केपी ओलीको फ्यान हो कि माधव नेपालको भनेर पनि सोध्यौं । क्रान्तिको कुरा गर्न रुचाउने भएकाले गुरुङलाई त्यसपछि सोधियो, इराकमा भइरहेको युद्धबारे । अनि, राष्ट्रिय स्वाधीनतासँग जोडेर भारतीय प्रधानमन्त्री मोदीका विषयमा पनि गुरुङको राय बुझ्ने प्रयास गरियो ।

dev-gurung1

विश्वकप फुटबल भैराखेको छ, तपाईले खेल हेर्ने गर्नुभएको छ कि छैन ?

हेर्न मन नलागेको त होइन । तर, राति हुन्छ, त्यो पनि तीन/तीन टाइम हुने भएकाले कुनै-कुनै आक्कल-झुक्कल बेलुका पौने १० बजे हुने खेल हेर्छु । सबै त हेर्न सम्भव भएन ।

तपाई कुन देशको टीमको फ्यान हो ?

कुनै त्यस्तो च्वाइस, फ्यान भन्ने स्थिति त होइन, सामन्यतया जसले राम्रो खेल्छ, उप्रतिको सहानुभूति हुने कुरा स्वाभाविकै भैहाल्यो । जसले राम्रो खेल्दैन, उप्रति सहानुभूति नहुने सामन्यतयाः सबैमा नै हुने कुरा भैहाल्यो ।

तपाईको विचारमा यसपालिको वल्र्डकप कसले जित्ला ?

मैले यही नै भनेर त भनेको छैन । विगतमा स्पेन, इटलीहरु अगाडि आइराखेका थिए भने पछिल्लो चरणको प्रवृत्ति हेर्दा तिनीहरुले हारेका छन् । अहिले अलि नयाँ प्रकारको सिनारियो देखिन्छ । नेदरल्याण्डले शायद अहिले अंक बढी ल्याइराखेको अवस्था छ । एवं प्रकारले अर्जेन्टिना, ब्राजिल, जर्मनीचाँहि अलि प्रतिस्पर्धामा आउँछन् कि ? सेमी फाइनल, फाइनसम्म यिनै पुग्छन् कि भन्ने लाग्छ ।

एउटा राजनीति खेलको कुरो गरौं, एमालेको महाधिवेशन आएको छ । तपाईहरुको पार्टी माधव नेपालको पक्षमा कि ओलीको ?

पार्टीभित्र आन्तरिकरुपमा उहाँहरुले निर्वाचनको अभ्यास गरिराख्नुभएको छ । यो नितान्त उहाँहरुको आन्तरिक मामिला हो । यो आन्तरिक मामिला हामीले टीकाटिप्पणी गर्ने विषय होइन भन्ने लाग्छ । त्यसकारण जसले जिते पनि यो उहाँहरुको आन्तरिक मामिला हो । लाइनको हिसाबले उहाँहरुमा केही फरक देखिँदैन । हामीले व्यक्तिको अनुहार हेर्ने विषय परेन, हामीले लाइन हेर्ने कुरा हो । लाइनको हिसाबले उहाँहरुमा अन्तर देखिँदैन ।

हाम्रो आशा र आकांक्षा के होभन्दा जसले जिते पनि आगामी दिनको यात्राको सन्दर्भमा डेमोक्रेसीको मोडलबारे जे-जस्तो सोचेको भए पनि राष्ट्रियताको रक्षा गर्ने प्रश्नमा उहाँहरुकोृ सकारात्मक भूमिका रहोस् भन्ने हाम्रो कामना छ । व्यक्तिगतरुपमा कसले जितोस्, कसले हारोस् भन्ने हामी टीकाटिप्पणी गर्दैनौं ।

इराकमा सशस्त्र युद्ध भइराखेको छ, मसालका महामन्त्री मोहविक्रम सिंहले त सुन्नी विद्रोहीलाई समर्थन गरिसके, नेकपा-माओवादीचाँहि इराक मामिलाबारे के भन्छ ?

यसबारे डिटेलमा टिप्पणी गर्ने स्थितिमा हामी पुगेका छैनौं । अहिले हामी अध्ययन गरिराखेका छौं । प्रारम्भिक प्रकारको मिडियामा आएको सूचनाका आधारमा हेर्दाखेरि प्रो अमेरिकन पपेड सरकारको विरुद्धमा उठेको आवाजजस्तो देखिएको हुनाले त्यस अर्थमा यो सकारात्मक हो कि भन्ने देखिन्छ । तर, इस्लामिक स्टेट स्थापना गर्ने कुरा उठिराखेको हुनाले अहिलेको सन्दर्भमा धार्मिक राष्ट्र स्थापनातर्फ जानु कत्तिको तर्कसंगत होला भन्ने प्रश्न पनि आफ्नो ठाउँमा छ । त्यसकारण यस विषयमा अहिले नै हामीले एउटाको पूरै समर्थन गर्ने र अर्कोको पूरै विरोध गर्ने स्थितिमा हामी छैनौं । अहिले इराकमा जुनप्रकारको अमेरिकी पपेड सरकार छ, त्यसका विरुद्ध जुनसुकै समूहले आजाव उठाए पनि त्यसबारे हामीले नकारात्मक टीका टिप्पणी गर्न मिल्दैन । तर, अहिलेको डेमोक्रेटिक युगमा मध्ययुगीन धार्मिक राज्य स्थापना गर्ने कुरा त बेठीक हुन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेेपाल आउने चर्चा छ, उनी देशभक्त हुन् भन्दा तपाईको पार्टीकी प्रवक्ता पम्फा भुसालमाथि तपाईकै पार्टीका डा. ऋषिराज बरालले चर्को आलोचना गरेको सुनियो । नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे के भन्न चाहनुहुन्छ ?

भारतको सत्तामा बीजेपी आओस् या कांग्रेस आइ आओस्, दुबैको नेपालप्रतिको नीतिमा कुनै आधारभूत फरक छैन । उनीहरुको समान प्रकारको नीति देखिन्छ ।

नरेन्द्र मोदी धार्मिक र सांस्कृतिकरुपमा पशुपतिको दर्शन गर्न आउने रे भन्ने मिडियामार्फत सुनिएको छ । त्यो ढंगले तीर्थयात्रीका रुपमा भ्रमण गर्न आउने कुरालाई हामीले अन्यथा लिने विषय परेन । राजकीय भ्रमणका रुपमा आउने कुरा त अहिलेसम्म आएको छैन । खैर, जुनसुकै भ्रमण किन नहोस्, अहिलेको स्थितिमा नेपाल र भारतका वीचमा थुप्रै प्रकारका सन्धी सम्झौताहरु छन् । भारतको इन्ट्रेस्टका अगाडि नेपालको राष्ट्रिय हितहरु कुण्ठित भइराखेका छन् । विगत लामो समयदेखि नेपालको राष्ट्रिय अस्मिता कुण्ठित हुँदै आइराखेको अवस्था छ । त्यसकारणले छिमेकीको समान अस्थित्वलाई स्वीकार गर्ने, संयुक्त राष्ट्रसंघको बडापत्रको मान्यतालाई अवलम्बन गर्ने र विगत कालमा भएका सन्धी सम्झौताहरुको पुनरावलोकन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यसैले अबको सन्दर्भमा समानताका आधारमा अगाडि बढ्ने प्रयास हुनुपर्छ । यो दिशातिर अघि बढ्छन् बढ्दैनन् भन्ने कुराचाँहि अब मोदीको सरकारको कुरा हो । यो त भविश्यको कुरा हो । विगतको अनुभवलाई हेर्दा नेपाललाई हेर्ने सम्बन्धमा बीजेपी र भारतीय कांग्रेसवीच फरक देखिँदैन ।

राजनीतिक रुपले सम्बन्ध राख्नुपर्नेमा सेक्युरिटी हेर्ने विङमार्फत हेर्ने काम भइराखेको छ । यसले गर्दा नेपाल र भारतवीचको सम्बन्धमा कटुता पैदा हुँदै गइराखेको छ ।

नेपाली राजनीतिको कुरा गर्दा बालुवाटारमा प्रधानमन्त्रीको नेतृत्वमा सम्पन्न चार दलको बैठकमा गोलमेच सम्मेलनबारे सहमति भएको हल्ला सुनिन्थ्यो । बालुवाटारको त्यो सहमति सेलाएको हो ?

हप्ता दिनभित्र फेरि मिटिङ बस्ने र अवधारणाबारे टुंगो लगाउने चार दलको वीचमा सहमति भएर उठेको हो, तर फेरि बैठक बस्न सकेको छैन । अहिलेसम्म यसबारे सरकारले कुनै पहलकदमी लिएको देखिँदैन ।

प्रधानमन्त्री विदेशमा भएकाले पो काम रोकिएको हो कि ?

यो विषयमा हामीले सोधेका थियौं, प्रधानमन्त्री उपचारका लागि विदेश जानुभयो भने अरुले पहलकदमी लिनुहुन्छ कि लिनु हुन्न ? हैन सकिन्छ, नसकिने भन्ने छैन भन्ने प्रकारकै कुरा थियो । तर, अहिलेसम्म सरकारले कुनै पहल लिएको देखिँदैन । यसले के बताउँछ भने दलहरु यस विषयमा त्यति गम्भीर छैनन् । यो विषयमा सरकारले नै बोलाउनुपर्ने र पहल लिनुपर्ने हो । जसरी प्रधानमन्त्री सुशीलजीले शुरुवात गर्नुभयो, त्यही ढंगले उहाँहरुले पनि गर्नुपर्‍यो । तर, सरकारले अहिलेसम्म बोलाएको छैन । राष्ट्रिय सहमति निर्माण गर्नका लागि सर्वपक्षीय सम्मलेन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । तर राष्ट्रिय सहमति निर्माणका लागि कतिपय दलभित्रका साथीहरु तयार हुनुहुन्न भन्ने देखिन्छ । एकले अर्कालाई पेलेरै जाने मानसिकता पनि उहाँहरुमा हुन सक्छ ।

एमाओवादीलगायत पाँच दलसँग मोर्चा त बनाउनुभयो, तर त्यहाँभित्रैका केही दलसँग तपाईहरुको पार्टी एकताको कुरा पनि चलेको थियो, त्योचाँहि कहाँ पुग्यो ?

मणि थापाजीहरु साथै परिजी थापाहरुसँग पनि धेरै राउण्ड कुराकानी चलेको हो । सैद्धान्तिक रुपले हाम्रो लगभग समान धारणा विकास भएको अवस्था छ । संगठनात्मक विषयमा मात्र सहमतिमा पुग्न बाँकी छ । सहमति भएका दलहरुवीच एकता गर्नका लागि यो पाँच दलीय मोर्चाले डिस्टर्ब हुँदैन । तर, अरु घटकले पनि पार्टी एकताको प्रश्न उठाइरहेको अवस्थामा वैचारिक छलफलहरु सबैसँग टुंग्याएरै गर्ने कि त भन्ने प्रकारको पनि हुने भयो । खास गरिकन एमाओवादीले पनि पार्टी एकता गर्नुपर्‍यो भनेर निर्वाचनको परिणामपश्चात उहाँहरुले निकै जोडबलका साथ उठाउनुभएको छ ।

कहिले होला एमाओवादीसँग पार्टी एकता ?

विगतमा कमी कमजोरी भए भन्ने कुरालाई आत्मसाथ गरेको कुरालाई हामीले सकारात्मकरुपमा नै लिएका छौं । तर, यो भावनात्मक पक्षले मात्रै पुग्दैन । त्यसैले हामीले ६ बुँदे प्रस्ताव गरेका छौं । आवश्यक पर्‍यो भने वार्ता गर्न पनि तयार छौं भनेर वार्ता टोली पनि बनाएका छौं । तर, यो ६ बुँदे प्रस्तावमा उहाँहरुबाट रेस्पोन्स आएको छैन । त्यही विषयमा वार्ता गरौं भन्ने कुरा पनि आएको छैन । ६ बुँदे प्रस्तावमा छलफल गर्ने त्यस्तो ठोस केही देखिएको छैन । यो स्थितिमा तत्कालै पार्टी एकताको सम्भावना हुने कुरो भएन । तर, मुलुकका सामु संयुक्त संघर्षमा रुपमा उठाउनुपर्ने इस्युहरु छन्, यो अवस्थामा हामीले सहकार्यको थालनी सुरु गरेको अवस्था हो ।

प्रचण्डको नेृतत्वमा पहिचान पक्षधरहरुको बेग्लै मोर्चा छ, तपाईहरुको पनि ३३ दलीय मोर्चा छ, अहिले फेरि पाँच दलको अर्को मोर्चा बनाउनुभयो । एउटै मोर्चा बनाए हुन्न ?

हामी के कुरामा सहमत छौंं भने संविधानको अन्तरवस्तुलगायतका अहिलेका समसामयिक विषयवस्तुका सन्दर्भमा मिल्न सक्ने शक्तिहरुसँग सहकार्य गर्दै जानुपर्छ भन्ने त हाम्रो मान्यताकै कुरा भैहाल्यो । यो हिसाबले उहाँहरुले पनि अलग ढंगले कार्यक्रमहरु अगाडि बढाउन सक्नुहुन्छ । हामीले पनि ३३ दल लगायतका मोर्चाहरुमा सहकार्य गर्न नसक्ने भन्ने विषय भएन, सहकार्य गर्न सकिन्छ ।

तर, यसरी मोर्चैमोर्चा बनाउँदा संघर्ष र आन्दोलन पनि त विकेन्द्रित होला नि ?

यो इस्युको हिसाबले गोलबन्द हुने कुरा भयो । त्यसैले विषयगत रुपमा हुने मोर्चाबन्दीलाई यसले समस्या पार्दैन भन्ने लाग्छ ।

नेकपा माओवादीको राष्ट्रिय सम्मेलनको तयारी कहाँ पुग्यो र यो कहिले हुन्छ ?

हामीले गत चैतमै जिल्ला सम्मेलनहरु सम्पन्न गर्ने भनेर सोचेका थियौं । बैसाखसम्ममा आन्तरिक रुपले प्रशासनिक कामहरु, जस्तै प्रतिनिधि चयन, सदस्यता नवीकरण लगायतका कामहरु फाइनल गर्ने र अरु व्यवस्थापकीय तयारीलाई एक महिना समय राखेको खण्डमा असारको पहिलो हप्तासम्म राष्ट्रिय सम्मेलन गर्न सक्छौं भन्ने लक्षका साथ सुरु गरेका थियौं । तर, केही व्यवहारिक र प्राविधिक खालका कामहरु बाँकी रहेको रह्यै भए । बैसाखमा सक्ने भनेको काम अझै सकिराखेको छैन । खासगरी सदस्यता नवीकरण गर्ने, त्यसको संख्या निश्चित गर्ने र त्यो अनुपातमा प्रतिनिधि संख्या यकीन गर्ने काम गर्न सकेका छैनौं । नवीकरणलाई फाइनल गरेपछि पनि तयारीका लागि थप १ महिना समय लाग्ने देखिन्छ । यही कारणले सम्मेलन सर्दै गइराखेको छ । अब असारको अन्तिमसम्म सक्नुपर्छ भनेरै तयारी गरिराखेका छौं । यो ‘टाइम फ्रेम’ भन्दा दायाँ-वायाँ केही भनेका छैनौं ।

तपाईहरुको पार्टीभित्रै गडबडी छ रे नि ? जस्तो काठमाडौंको सम्मेलनमै झगडा देखियो । यही कारणले गर्दा राष्ट्रिय सम्मेलन पछि सरेको होइन ? एमाओवादीसँग एकता गर्नुहुन्न भन्ने मत पनि छ भन्ने सुनिन्छ, यथार्थ के हो ?

पहिलो कुरा त सम्मेलनहरुमा पार्टी एकताबारे बहसै चलेको छैन । जति पनि जिल्ला सम्मेलन सम्पन्न भएको छ, त्यहाँ राजनीतिक परिस्थिति सहितका प्रतिवेदनहरु प्रस्तुत भएका छन्, ती प्रतिवेदनहरुमा कहीँ पनि विवाद र मतभेद देखिएको छैन । त्यसैले नीतिगत रुपमा हाम्रो पार्टीभित्र काहिँ पनि विवादै रहेन । कमिटी चयन गर्ने सन्दर्भमा थोरै थोरै छलफल बहस त भैहाल्छ ।

त्यसो भए तपाईहरुको पार्टी एक ढिक्का छ ?

मूलभूत नीतिगत प्रश्नमा अहिलेसम्मको सन्दर्भमा समान धारणा नै छ । मैले अघि नै निवेदन गरें कि ६ बुँदे प्रस्ताव पास गर्दाखेरि पनि हामीले सर्वसहमतिले नै गरेका छौं । त्यसमा कुनै पनि विमति छैन । भविश्यमा हुन सक्ने सम्भावनालाई त हामी अस्वीकार गर्न सक्दैनौं । तर, अहिलेसम्म नीतिगरुपमा फरकै मत भनेर त्यस्तो केही आएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment