Comments Add Comment

महाधिवेशन उदघाटन रोबोटले गर्छ, प्रतिनिधिलाई फेसबुक र टि्वटर सिकाउँदैछौं

Bishnu-rimal

विष्णु रिमाल, सचिव, महाधिवेशन मूल आयोजक समिति

नेकपा एमालेको नवौं महाधिवेशनको उद्घाटन कसरी हुन्छ ?

नवौं  महाधिवेशनको नेपालमै पहिलोपटक हामी रोबोटको प्रयोग गरेर उद्घाटन गर्दैछौं । उद्घाटन समारोह हामी परम्परागत भन्दा पृथक ढंगले गर्ने तयारीमा छौं । हामीले भृकुटीमण्डपमा अहिलेसम्म मञ्च बनाएका छैनौँ । त्यो काम दुई दिनमा गरेर हामी उदघाटन हलमा रोबोट प्रयोग गर्ने तयारीमा छौं ।

रोबोटले के गर्छ ?

महाधिवेशनको उद्घानटमा हामी ग्राफिक एनिमेशनको प्रयोग गर्छौं । थ्रिडी एनिमेशन र मेकानिकल एनिमेशन प्रयोग गर्छौं । त्यो सबै काममा कम्प्यूटर, प्रविधि र रोबोटको संयुक्त प्रयोग हुन्छ । यहाँसम्म कि हामी उद्घाटनका क्रममा सहभागीहरुलाई स्वागत गर्न र आकाशबाट फूल छर्ने काम पनि रोबोटबाटै गराउँदैछौं । महाधिवेशनलाई प्रविधिमय बनाउन अहिलेबाटै रोबोटिक क्लबका करिब ३० जना इन्जिनियरहरु सक्रिय हुनुहुन्छ ।

यस्तो प्रविधिको प्रयोग कतिको खर्चालु छ ?

हामीले शक्ति देखाउन उतार्ने जनसागरका लागि हुने खर्चका आधारले यो महाधिवेशनलाई हामीले प्रविधिको प्रयोग गर्दैछौं । कागजको भोट गन्न लाग्ने १० दिन समय र २२ सय प्रतिनिधि पाल्न एक दिनमा लाखौं खर्च हुन्छ । यो प्रविधि प्रयोग गर्दा मेशिन किन्न केही लाख खर्च भए पनि परिणाम तत्कालै दिने हुनाले लाखौं बचत हुन्छ । प्रविधिको प्रयोग सबै हिसाबले फाइदाजनक हुन्छ ।

बुटवलमा कागजको भोट गर्दा नयाँ मतपेटिका आएको, फर्जी मत खसेको जस्ता विवाद भए । तर, योपटक त्यस्तो कुनै विवाद हुने सम्भावा नै छैन ।

प्रतिनिधिलाई विद्युत्तीय मेशिन चलाउन आउँछ त ?

मतदानका लागि हामी ६० वटा विद्युत्तीय मेशिन लगातार प्रयोग गर्छौं । भोट हाल्नुअघि महाधिवेशनस्थलमै मेशिन र भोट हाल्ने तरिकाबारे प्रतिनिधिलाई व्यवहारिक तालिम दिइनेछ । भोट हाल्न जान्ने भएपछि मात्रै प्रतिनिधिले भोट हाल्न जानेछन् । भोट हाल्दा आफूले छानेको व्यक्तिलाई रद्द गरेर अर्को व्यक्ति छान्ने विकल्प पनि हामीले दिएका छौं ।

भोटिङ मेशिनमा हामीले उम्मेदवारको नाम र नम्बर राखेका हुन्छौं । निर्वाचन आयोगलाई मेरो सुझाव के छ भने सबै उम्मेदवारहरुको व्यवस्थित सूचीसहितको पर्चा छापिदिएर प्रतिनिधिसम्म पुर्‍याउन सक्दा राम्रो हुन्छ । त्यही पर्चामा उम्मेदवारको नाम चिनो लगाएर गई मत हाल्न सकिन्छ । आखिर जसले जिते पनि एमालेले नै चुनाव जित्ने हो ।

मतदान गर्न जाँदा पनि प्रतिनिधिलाई दिइएको कार्ड मेशिनमा रिड गरेर पठाइनेछ । मेशिनमा कार्ड रिड भइसकेपछि कुनै प्रतिनिधिले भोट नहाली फक्र्यो भने उसले पुनः भोट हाल्नै पाउँदैन । मेशिनका कारणले कुनै समस्या आउन दिँदनौं  ।

भोटिङ मेशिनमाथि शंका गर्ने अवस्था हुन्न ?

हामीले प्रयोग गर्न लागेको मेसिन नेपाली वैज्ञानिकहरु राम-लक्ष्मणले बनाएका हुन् । मेशिनलाई पार्टी मुख्यालय बल्खुमै ल्याएर अध्यक्षसहितका हाम्रा नेताहरुले पनि परीक्षण गर्नुभयो । मेशिनको प्रयोगबारे समस्या भए वैज्ञानिकहरु ल्याएर परीक्षण गराउन भनेपछि हाम्रा नेताहरुले पनि भरोसा गर्नुभएको छ । दुईवटा भोटिङ मेशिन पार्टी मुख्यालयमै राखेर अहिले पनि परीक्षण प्रयोग भइरहेको छ ।

प्रतिनिधिलाई सूचना दिन माइकको प्रयोग हुन्छ कि हुँदैन ?

महाधिवेशन प्रतिनिधिहरुलाई खबर गर्नका लागि हामीले एमालेको एसएमएस सेन्टरबाट एकैपटक सामूहिक एसएमएस पठाउँछौं । सबै प्रतिनिधिको मोबाइल नम्बर हाम्रो सिस्टममा आइसकेकाले दैनिक कार्यतालिकाबारे खबर गर्न हामीलाई समस्या छैन ।

पहिले पहिले प्रतिनिधिहरु बहकिन्छन्, किनिन्छन् भनेर ब्यारेकमै जस्तो राखिन्थ्यो । अहिले त्यस्तो छैन, एमालेका प्रतिनिधिहरु अब आफ्नो विवेक प्रयोग गरेर भोट हाल्न सक्षम भइसकेकाले उनीहरुलाई हामीले आफ्नो सहजतामा बस्ने छुट दिएका छौं । विचार र विधानमा एकमत भएकाले त्यस्तोमा मन विभाजित गर्ने कारण नै छैन ।

यसपालि मतगणना लम्बिने सम्भावना छ कि छैन ?

बुटवलमा भएजस्तो १० औं दिनसम्म यो महाधिवेशन लम्बिने कुनै सम्भावना छैन । २४ गते मतदान सकिएपछि हामी २५ गते मत परिणाम नै सार्वजनिक गर्ने तयारीमा छौं । यसअघि भएको जिफन्टको महाधिवेशन हामीले यही मेशिनको प्रयोग गरेर मार्च २८ देखि ३१ तारिखमा निर्धारित समयभित्रै सम्पन्न गरिसकेका छौं ।

पत्रकारका लागि कस्तो व्यवस्था गर्दै हुनुहुन्छ ?

पत्रकार लागि हामीले यो महाधिवेशनमा रेड कार्पेट नै ओच्छ्याउँदैछौं । एकै पटकमा २० वटा ल्याप्टप चलाउने गरी विद्युत्तीय लाइन उपलब्ध

गराउँछौ । समाचार सम्प्रेषणका लागि मिडिया सेन्टरमा हाई स्पिड इन्टरनेट सुविधा हुनेछ । जहाँबाट पत्रकारहरुले भिडियोसमेत पठाउन सक्नेछन् । हलभित्र पत्रकारलाई खुल्ला हुन्छ ।

हाम्रो आइटी सेक्सन नजिकै ढोकामै मिडिया सेन्टरको व्यवस्था हुनेछ । त्यहीँबाट समाचार अपडेट गर्ने व्यवस्था हनेछ । उच्च गतिको इन्टरनेटका लागि हामीले अप्टिकल फाइबर ओच्छ्याइसकेका छौं । अप्टिकल फाइबर, वाईफाई र वाईम्याक्सको समेत हामीले व्यवस्था गरेका छौं । पत्रकारहरुका लागि सूचना सम्पे्रषणमा कुनै समस्या हुने छैन ।

महाधिवेशनस्थलमा नौलो प्रविधि प्रयोग गर्ने सोच कसरी आयो ?

नेकपा एमालेको नेतृत्वमा रहेका नेताहरु प्रविधिसँग अभ्यस्त छन् र प्रयोग पनि गरिरहेका छन् । एमालेसँग प्रविधि प्रयोग गर्ने राम्रो टिम छ । हामीले यसअघि पनि प्रविधिको प्रयोग गर्दै आएका थियौं । प्रविधिको सफल प्रयोग भने हामीले यसअघि भएको नेपाल ट्रेड युनियन महासंघको महाधिवेशनमा गरेका थियौं । नेकपा एमाले परम्परागत कुरालाईमात्र बोकेर हिँड्ने पार्टी होइन, यसले प्रविधिको पनि भरपूर प्रयोग गर्छ भन्ने सन्देश हाम्रा शुभेच्छुक र नागरिकसम्म दिने प्रयत्न यो महाधिवेशनमा गर्दैछौं ।

एउटा सानो बटम थिच्नासाथ सबै काम गर्न सकिने प्रविधि हुँदा हुँदा झन्झटिलो कागजको प्रयोगमात्र किन गर्ने ? यसअघि संसदीय दलको नेता चुन्ने क्रममा पनि हामीले विद्युत्तीय भोटिङ मेशिनको प्रयोग गरेका थियौं । निर्वाचन आयोगले ०६४ सालमा प्रयोग गरेयता विद्युत्तीय भोटिङ मेशिनको कसैले प्रयोग गरेको थिएन । संसदीय दलको निर्वाचनमा नेपाली युवा वैज्ञानिक राम-लक्ष्मणले बनाएको भोटिङ मेशिन प्रयोगमा ल्याएका हौं ।

कांगे्रसले संसदीय दलको निर्वाचनमा विदेशी भोटिङ मेशिन प्रयोग गर्दा गड्बडी भयो । तर, हामीले प्रयोग गरेको नेपाली भोटिङ मेशिनमा कुनै समस्या देखिएन । संसदीय दलको निर्वाचनदेखि नै अधिकतम प्रविधिको प्रयोग गर्नुपर्ने निष्कर्ष हामीले निकालेका हौं ।

अर्को कुरा, कागजका सामान प्रयोग गर्दा विवाद र झन्झट हुने गरेको छ । हाम्रा प्रतिनिधिका परिचयपत्र कागजका रंगीन बनाउँछौ, भात खान जाने बेला कागजको रसिद काटछौं र ढोकामै प्रतिनिधि छिर्दा पनि चिन्न गाह्रो हुन्छ । त्यसैले योपटक नवौं महाधिवेशनलाई इभेन्ट म्यानेजमेन्ट सिस्टममा लान खोजेका हौं । विकसित विज्ञानअनुसार अघि बढ्ने निष्कर्श निकालेर हामीले प्रतिनिधिको कार्डमा बारकोड प्रयोग गर्ने निष्कर्शमा पुगेका हौं ।

हामी विदेश जाँदाचाँहि मेशिनले रिड गर्ने राहदानी बोक्छौं । तर, हाम्रै कार्यक्रममाचाँहि मेशिनले रिड गर्ने प्रविधिको किन प्रयोग नगर्ने ? भन्ने जिज्ञासा भएपछि प्रविधिमा सम्भव सबै विधिको प्रयोग गर्ने निर्णय गरेका हौं ।

पार्टीको अभिलेखन समितिले यो प्रविधि प्रयोगसम्बन्धी प्रस्ताव ल्याएपछि हामीले कार्यान्वयनमा लगेका हौं ।

कहाँबाट सिक्नुभयो यस्तो प्रयोग ?

विश्वका धेरै देशमा यस्ता प्रविधिको प्रयोग भएको छ, हामी त पछि परेका हौं । हाम्रो दक्षिण एसियामा चाँहि परम्परामा विश्वास गरिन्छ । हामीलाई एसएमएस गरेर निम्ता पठाउँदा अफ्ठेरो लाग्छ, इमेल लेख्दा पुगेन कि भन्ने भ्रम हुन्छ । गाउँतिर जनै सुपारी दिएर गरिने निम्ता भरासिलो लाग्छ, निम्ता त जसरी पनि गर्न सकिन्छ । हवाई पत्रमा लेखेर या इमेलमा या स्काइपीबाट, जसरी पनि खबर त पुर्‍याउने न हो । एमालेले सबैभन्दा पछिल्लो प्रविधिको प्रयोग गर्न लागेको हो । हाम्रा सबै प्रतिनिधिले मोबाइल बोक्छन्, त्यसैले हामीले कुनै सूचना दिनुपर्दा माइकबाट कराइराख्नुपर्दैन । हामीले केन्द्रीय प्रविधिबाट एकै पटक एसएमएस पठाएर खबर गर्न सक्छौं । यसले गर्दा मानिसहरु प्रविधिसँग अभ्यस्त हुँदै परम्पराबाट एक फड्को अगाडि पनि जान्छ । यो महाधिवेशनबाट हाम्रा प्रतिनिधिलाई अलिक आधुनिक बनाउने प्रयास हामीले गरेका छौं ।

महाधिवेशनमा कागजको प्रयोग हुँदैन ?

नवौं महाधिवेशन पेपरलेस होइन, पेपर र प्रविधि दुबैको प्रयोग हुन्छ । सबै प्रतिनिधिसँग ट्याब्लेट र स्मार्ट फोन भएको अवस्थामा पेपरलेस बनाउन सकिन्थ्यो । तर, पनि पेपरको कम प्रयोग गर्ने प्रयास हुनेछ । प्रतिनिधिहरुलाई पार्टीका दस्तावेजहरु इलेक्ट्रोनिक र कागजका दुबै दिइनेछ ।

सामाजिक सञ्जाल र प्रविधि प्रयोगमा एमालेका नेताहरु कत्तिको अगाडि छन् ?

हाम्रा सबै नेताहरु प्रविधि प्रयोगमा अभ्यस्त छैनन् । केही नेताहरुले सामाजिक सञ्जालको राम्रैसँग प्रयोग गरिरहनुभएको छ । यहाँ सेलिब्रेटी टाइपका र युवा नेताहरु फेसबुक र ट्वीटरमा राम्ररी अभ्यस्त भइसकेका छन् । केही नेताको निजी वेबसाइट पनि छ ।

योपटकको महाधिवेशनमा हामीले हाम्रा प्रतिनिधिहरुलाई सामाजिक सञ्जालबारे पनि तालिम दिदैँछौं । कम्तिमा इमेल, इन्टरनेट र सामाजिक सञ्जालमा प्रतिनिधिहरुलाई अभ्यस्त गराउन हामी आधारभूत तालिम दिँदैछौं । अहिले पनि हामीले फेसबुक र ट्वीटरमा बहस चलाइरहेका छौं ।

एमालेले यो पटकको महाधिवेशनको सबै गतिविधि अवलोकनका लागि सञ्चारकर्मीलाई खुल्ला गरेको छ । सामान्यतया कम्युनिष्ट पार्टीको कार्यक्रम सुन्न पनि हुँदैन, पाप लाग्छ भन्ने चलन छ । सूचना लुकाउँदा पत्रकारहरुले पनि दशखालका सूचना बाहिर लाने गर्थे । हामी एमालेले झ्याल ढोका बन्द गर्दा सूचना चुहिएर जाने क्रमलाई रोक्न झ्याल ढोका दुबै खोल्ने निर्णय गरेका छौं । सूचना लुकाउँदा षड्यन्त्र गरेको जस्तो सन्देश गइरहेको छ । त्यसलाई रोकेर अब एमालेका सबै गतिविधिमा सञ्चारकर्मीको सहज पहुँच हुनेछ जसले सही सूचना कार्यकर्ता र नागरिकसम्म पुर्‍याउन सक्छ ।

समाज परिवर्तनको कुराबारे पनि एमालेले बताइरहेको, समाजका शत्रुबारे पनि एमाले प्रष्ट छ । यी सबै कुराबारे जनतालाई बताउन पनि सही सूचना जानु आवश्यक छ । हामीले महाधिवेशनमा बन्दसत्रका महत्वपूर्ण पाटोहरुलाई पनि मिडियामार्फत हामी लाइभ गर्दैछौं ।

हाइटेक प्रविधि प्रयोग भनियो ? यो के रै’छ ।

कुनै समय हामी मोबाइल फोन चलाउनै डराउँथ्यौ । ल्यान्डलाइन फोनबाट बोल्न धक लाग्थ्यो । अहिले एमालेका सबै पुस्ताका नेताहरु स्मार्टफोन राम्ररी चलाउन जान्दछन् । अपरेटिङ सिस्टमबारे पनि राम्रो ज्ञान राख्ने जमात हाम्रो पार्टीमा तयार भइसकेको छ । हाम्रो पहिलो पुस्ताका नेताहरु पनि प्रविधिको प्रयोगमा अगाडि भएकाले महाधिवेशनमा पनि प्रविधिको प्रयोगमा हामी कति सफल हुन्छौं, यो पटक देखिनेछ ।

विद्युत्तीय भोटिङबारे केही बताइदिनुस् न ?

हामी यो पटक ई-भोटिङ गर्दैछौं । परम्परागत प्रविधिमा ब्यालेट बक्समा कागजमा चिनो लगाएर एक सय ४९ जना केन्द्रीय सदस्यका लागि २२ सय १४ जना प्रतिनिधिले हालेको भोट गन्ने हो भने कम्तिमा १० दिन समय खर्च हुन्छ । बुटवल महाधिवेशनमा महाधिवेशन गर्न ७ दिन लाग्दा भोट गन्दा १० दिन खर्च भयो । योपटक हामीले मतदानका लागि १० घण्टा छुट्याएका छौं भने परिणाम सार्वजनिक गर्न जम्मा एक घण्टामात्र ।

अब मतको हिसाब गर्न किन टाउको दुखाउने ? सबै काम कम्प्यूटर गर्न सक्छ भने ढ्वाङमा भोट खसाएर धाँधलीको विवाद किन झिक्ने ? पहिले कागजमा भोट हाल्दा १२ वटामा चिनो लाउने ठाउँमा १३ वटामा लाउँदा रद्द हुन्थ्यो । तर, योपटक कुनै पनि भोट रद्द हुने अवस्था आउँदैन । योपटक मेशिनमा भोट हाल्दा १२ वटामा चिनो लाउँदा मेशिनले तेरो भोट सकियो भन्छ । तर, त्यसो हुँदा आफूलाई मन परेको मान्छे छुटे पुनः भोट हाल्न पाइन्छ । पहिले हालेको भोटलाई आफैंले मेटेर मन परेको मान्छेलाई पुनः भोट हाल्न पाइन्छ । भोट हाल्नेले पनि पटक-पटक सोच्न पाउँछ र मन परेको मान्छे रोज्न पाउँछ ।

हाम्रो एउटा मेशिनमा ५० जना बढीले भोट हाल्न पाउँदैनन् । ५० जनाले खेलीखेली एउटा मेशिनमा दिनभर भोट हाल्न पाउने अवस्था हुन्छ । मेशिनमा भोट हाल्नु ठूलो अर्थ छ, यो प्रविधिको प्रयोगले सामाजिक रुपान्तरणमा पनि राम्रो मद्दत गर्नेछ ।

रुपान्तरणको कुरा तालिमबाट हुने हो । तालिम भनेको सैद्धान्तिक मात्र होइन, व्यबहारिक पनि हुन आवश्यक छ । यो पटक हाम्रा प्रतिनिधिले प्रविधिको तालिम लिएर समाज रुपान्तरणको नेतृत्व गर्ने छन् । २२ सय प्रतिनिधिले प्रविधिको प्रयोगमा जोड दिएर कागजी प्रयोगलाई विस्तारै कम प्राथमिकता दिनेछन् । यसले समाज रुपान्तरणमा ठूलो अर्थ राख्छ ।

यो प्रविधि कतिको सफल होला ?

मेरो विचारमा भोटिङमा शत प्रतिशत सफल हुन्छौं । मेशिनमा कुनै समस्या हुने छैन । हामीले मेशिनलाई पटक-पटक परीक्षण गरिसकेका छौं । त्यसपछि बारकोडमा कुनै समस्या हुँदैन । धेरै मानिस हुने भएकाले लामो लाइन हुँदा बारकोडले एकैपटक धेरै समय काम नगर्ला कि भन्ने मात्र हो, त्यो समस्या समाधान गर्न लागिरहेका छौं ।

प्रस्तुति- ज्ञानेन्द्र खड्का

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment