Comments Add Comment

बहिरा विद्यार्थीका लागि आवाशिय सुविधासहितको छात्रबृत्ति माग

आरपी सुवेदी

१८ असार, नेपालगन्ज । बहिरा विद्यार्थीलाई राज्यले आवाशिय छात्रबृत्तिसहितको विद्यालय शिक्षाको व्यवस्था गर्न उनीहरुका अभिभावकले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन माग गरेका छन् । बहिरा विद्यार्थीलाई अन्य विद्यार्थीको जस्तो सिकाउन र पढाउन विभिन्न कठिनाई हुने भएकोले बहिरा विद्यार्थीको लागि संकेतिक भाषाको तालिम र शिक्षाको आवश्यकता औल्याउँदै उनीहरुलाई अनिवार्य रुपमा आवाशिय छात्रबृत्तिसहितकोे शिक्षाको व्यवस्था मिलाउनु पर्ने बहिरा विद्यार्थीका अभिभावकको माग छ ।

बाँके बागेश्वरीकी कुन्ता राजवशीले आफ्नो कक्षा ५ मा पढ्दै गरेको छोरा अन्जनसिंह राजवंशीले साधारण विद्यालयमा पढाउदा सामान्य अंक अक्षर नै चिन्न नसकेकोले उसलाई संाकेतिक भाषामा पढाई हुने आवाशिय विद्यालयमा पठाउनुको विकल्प नभएको गुनासो गरिन् । उनले भनिन्,’बहिरा बालबालिकाहरु अन्य भन्दा उनीहरुको फरक क्षमता हुन्छ उनीहरुलाई संकेतिक भाषा प्रयोग गरेर पढाउनु पर्छ । तर, सबै सामुदायिक विद्यालयमा सांकेतिक भाषा जानेका शिक्षक शिक्षिका नहुने भएकोले मेरो छोरो अन्जन जस्तै बालबालिकाको लागि आवाशिय छात्रबृत्तीको व्यवस्था राज्यले गरिदिनु पर्छ ।’

बाँके कोहलपुरका बलमानसिंह घर्तिमगरले आफ्नी कक्षा ६ पढ्दै गरेकी छोरी नैसरी घर्तिमगरको लागि दिनहुँ घरबाट विद्यालय जान आउन कठिन भएकोले उनलाई पनि आवाशिय शिक्षा दिलाउनको लागि छात्रबृत्ति दिनु पर्ने माग गरे । उनको जस्तै बाँके चिसापानीका गगनपति जैसिको भनाई छ । जैसीको छोरी धनमायाँ ढुंगाना पनि बहिरा विद्यार्थी हुन् ।

जिल्ला शिक्षा कार्यालय बाँकेका शिक्षा अधिकारी देवेन्द्रराज खनालले बहिरा बालबालिकालाई राज्यले ख वर्गको अपांङगतामा राखेकोले उनीहरुलाई आवासिय सुविधाको छात्रबृत्ति दिन कठिन भएको बताए । राज्यले क श्रेणीका अपांङगता भएकालाई मात्र आवाशिय छात्रबृत्तीको लागि प्रति बालबालिका २ हजार ५ सय ख श्रेणीका लागि ५ सय, ग श्रेणीको लागि ३ सय र घ श्रेणीको लागि ५० रुपैयाँ मासिक छात्रबृत्ति दिदै आएको छ । बहिरा बालबालिकालाई ख श्रेणीको अपांङगतामा सूचीकृत गरेको कारण उनीहरुलाई आवाशिय छात्रबृत्ती दिन कठिन भएको कार्यालयको भनाई छ ।

बहिरा विद्यार्थीको लागि रेरी बाँकेले चिसापानीमा संाकेतिक भाषाको आवाशिय विद्यालय सञ्चालन गरेको छ । रेरीले बहिरा बालबालिकाको लागि समाहित शिक्षा कार्यक्रम अनुसार सञ्चालनमा ल्याएको सो छात्रावासमा २५ जना बहिरा बालबालिकालाई राखेर पढाउँदै आएको कार्यक्रम संयोजक सागर अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment