Comments Add Comment

एमालेलाई ‘बाउन्स चेक’ हैन, नर्सरीजस्तो बनाऔं

rajendra-aryalराजेन्द्र अर्याल 

बिसौनी, बार, भित्ता र चौतारीहरु चर्किए !

भाइ बैनी थिए, आज बैरीझैं किन बषिर्ए !!

खन्तीले फेदमा कोही खोसि्रँदै छन् ढलाउन !

झोस्दैछन् क्रोधको राँको कोही ज्यूँदै जलाउन !!

कवि नरेन्द्र पौडेलले लेखेको यो कविताको अंश एमालेको महाधिवेशनको सम्मुखमा सान्दर्भिक देखिएको छ । अहिले एमाले नेताहरु मानौं असारपछि पार्टीमै नवस्ने गरी निकृष्टतामा झरेर आरोप लगाइरहेका छन् । मानांै, संसदीय निर्वाचनमा विपक्ष दलका उम्मेदवारलाई गाली गलौज गरेजस्तै गरि । यद्यपि एमालेको अध्यक्ष पदका लागि कसैले स्वयम् मुखबाट खोलेको अवस्था छैन । यसको अर्थ उम्मेदवारी दर्ता हुनुपूर्व पनि सर्वसम्मतिको झिनो आशा बाँकी छ । तर, जुन हिसावले आरोप प्रत्यारोपमा उत्रिएको छ त्यसले एमालेका लागि शुभसंकेत गर्दैन ।

आन्तरिक लोकतन्त्रको अभ्यास अन्य पार्टीहरुका लागि पनि अनुकरणीय बनेको एमाले फेरी पनि अनुकरणीय बन्नुपर्छ । संसदीय नेताको निर्वाचन परिणामपछि एमालेमा भण्डारखाल पर्व हुन्छ भनेर बसेका विपक्षीहरुलाई पार्टी अध्यक्ष झलनाथ खनालको विशालताले आगोमा पानी खन्याएजस्तै गरिदियो, भने दलको नेतामा निर्वाचित भएपछि केपी ओलीले संविधानसभामा पार्टी अध्यक्षका लागि कुर्सी छोडिदिएर जुन संस्कृतिको शुरुवात गरे त्यसले एमालेजनमा शितलता प्रदान गर्‍यो । तर यो निर्वाचनमा अध्यक्षको उम्मेदवार वनेर उपविजेता बन्नेले त्यो विशाल हृदय देखाउन सक्छन् कि सक्दैनन् प्रतिक्षाको विषय छ । किनकि कवि नरेन्द्र पौडेलले लेखेजस्तै हिजो सँगसँगै जेलनेल भोगेका नेताहरु आज विपक्षी नेताहरुलाई गर्ने व्यवहार गरिरहेका छन् । प्रतिनिधि चयन भएपछि केही नेताहरु निकै अक्रोशित ढंगले प्रस्तुत भएका छन् जुन स्वभाविक मान्न सकिँदैन ।

एमाले नवौं महशाधिवेशन शुरु हुनै लाग्दा पनि नेतृत्वमा को भन्ने विषयले मात्र प्राथमिकता पाएको छ । नीतिमा एक भएपछि स्वभाविक हिसावले नेतृत्वका विषयमा बहस आरम्भ हुनु अन्यथा होइन । तर, कतिपय नेताका अभिव्यक्ति अस्वभाविक र पार्टी कार्यकर्तामा नैराश्यता ल्याउनेखालका छन् । नीतिमा सहमति भएपछि नेतृत्वमा पनि सर्वसम्मत होस भन्ने एमालेजनको आशा छ । त्यसमा नेताहरु गम्भीर देखिदैनन् । निर्वाचित प्रतिनिधिहरुलाई भोलि मै अध्यक्ष हुन्छु, तँलाई यो पद दिन्छु भनेर काठमाडौको नयाँ बानेश्वरस्थित अर्याल होटल बुकिङ गरेर बल्छी थापेका छन् भने कोही अल्फाबिटासँगै रहेको फ्ल्याटमा । तर कार्यकर्ता चाँहि हिजो पनि बाँडीचुँडी भागशान्ति जयनेपाल गर्दै आएका नेताहरुलाई राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्ष मिलाएर बाडीचुडी खाउँ भन्दैछन् । अहिले शीर्ष नेतृत्वमा रहेका झलनाथ खनाल, माधव नेपाल र केपी ओली सबै मिल्दा नै एमाले एकताबद्ध बन्छ, समृद्ध नेपालको अगुवाइ यही पार्टीले नै गर्न सक्छ ।

कार्यकर्ताको भावना अवसरको न्यायोचित वितरण गर भन्ने मात्र हो । यसमा एमालेजनको भावना आत्मसाथ पार्टीका नेताहरुले गर्छन गर्दैनन् हेरेर बसेका छन् । यदि नेताहरुले गरेनन् भने प्रतिनिधिहरुले फैसला गर्ने नै छन् । पार्टीको जेठो वा अघिल्लो पुस्ता पदप्रति निरन्तर आशक्ति देखाइरहँदा पछिल्लो पुस्ताले त चुनौती दिन सकिरहेको छैन ।

परिवर्तनका पक्षपाती युवा भनिने नेताहरु अलग पहिचान बनाउन समेत हिम्मत र आँट देखाउन सकेका छैनन् । यसको साटो फरक-फरक विचार समूहका नाममा तिनै नेताको पुच्छर समाएर वैतर्नी तर्न खोजेको देखिन्छ । यसले पार्टीमा या त पछिल्लो पुस्ता सक्षम भैसकेको छैन भन्ने तथ्य देखाउछ या त पछिल्लो पुस्ता ठूलो रुखको तप्केनीमा फसेको छ भन्ने निष्कर्ष निकाल्छ । त्यसो हो भने अब एमालेले नयाँ वा पछिल्लो पुस्तामा नेतृत्व हस्तान्तरणको यात्रा आरम्भ गर्नुपर्छ । मुलुकले नै परिवर्तनको चाहना ब्यक्त गरिरहँदा एमालेजनले पनि परिवर्तनको चाहना गर्नु अन्यर्थ हुँदैन ।

तर, त्यो परिवर्तन अब युवामैत्री अर्थात नयाँ पुस्ताका लागि आधार स्तम्भ बन्नुपर्छ । नकी घुमीफिरी रुम्जाटार भनेझै केही नतेाकै लागि मात्र हुनुहुदैन । कम्तिमा दशौं महाधिवेशनमा नेतृत्व नयाँ पुस्ताको वनोस् । त्यसका लागि नवौं महाधिवेशन कोशे ढुंगा बन्नुपर्छ । नेतृत्वको रस्साकस्सीमा रुमल्लिरहेको एमालेले ध्यान दिन नसकेको विषय नयाँ जेनेरेशनको कसरी आकर्षणको विषय भन्ने हो । ०४६ को जनआन्दोलनपछि खुल्ला हुँदा एमालेको नेतृत्व भर्भराउँदो थियो । कार्यक्रममा सबै युवै युवा देखिन्थ्ये । नेतृत्व स्वयम् महासचिव मदन भण्डारी ४० वर्ष तलकै थिए । केन्द्रीय कमिटीमा ३५ वर्ष आसपासका थिए । ०७१ सालमा आइपुग्दाको यो बीचको २५ वर्षको अन्तरालमा आइपुग्दा पनि त्यतिवेलाकै नेतृत्वकर्ताको वरिपरि पार्टी घुमिरहेको छ । यसको समीक्षा गर्ने कि नगर्ने ? त्यसवेला केन्द्रीय कमिटीमा पुगेका नेताहरु अहिले ३५ वर्ष आसपासका नेता केन्द्रीय कमिटीमा जान ईच्छुक भए आलाकाँचा छन् भनेर उडाउने चलन बसेको छ । यसले पार्टी नेतृत्व युवामा हस्तान्तरण गर्न तयार छ त ? भन्ने यक्ष प्रश्न उब्जाउँछ ।

नेतृत्व बलात् हस्तान्तरण गरिने विषय होइन, यसका लागि पार्टीले विधि, प्रकृया अवलम्बन गरेर वातावरण निर्माण गर्नुपर्छ । अहिलेसम्म पार्टी नेतृत्वले ध्यान दिएन । तर, अब यसतर्फ ध्यान दिन विलम्ब गर्नु हुँदैन । नेतृत्व छाता आकारको होइन, पिरामिड शैलीमा बन्नुपर्छ । पहिले पार्टी कार्यकर्ता उत्पादन गर्ने नर्सरीमा रहेको अनेरास्ववियुको अवस्था के छ ? शिक्षक संगठनको अवस्था के छ ? यस विषयमा गम्भीर छलफल र बहसको विषय बनाउने कि नवनाउने ? अहिलेको नेतृत्वमा रहेका र आउने चाहना राखेका मध्य धेरै विधार्थी राजनीतिबाट उदाएकै देखिन्छ । तर, यो समय सँधै रहिरहँदैन ।

युवाहरुको आकर्षण र वाईसिएललाई विस्थापित गरेको युवा संघ नेपालमाथि विभिन्न जोड र कोणबाट आक्रमण गरिन्छ । तर, व्यक्ति विभिन्न कारणले गलत बाटोमा लागे पनि अरु रुपान्तरित हुन्छ, सुध्रन्छ भन्दा एमालेले ठाँउ दिने कि नदिने ? यसलाई ‘डनवाद’को संज्ञा दिए कार्यकर्ता कसरी उत्पादन हुन्छन् वा कसरी युवा पार्टीमा आउँछन् ? हिजो नारायणी अञ्चलका ईमान्दार र त्यागी नेता केदार न्यौपानेलाई वाईपास गर्दै सलिम अन्सारीलाई पुल्पुल्याउने र मोहमुद आलमको विकल्पमा रामचन्द्र प्यासीलाई पुल्पुल्याउँदा एमालेको हालत के भयो ? त्यो विषयको समीक्षा गर्ने कि नगर्ने ? यी त केवल नमूना उदाहरण मात्र हुन् । तर एमालेका सचेत प्रतिनिधिहरुले अब कस्तो एमाले बनाउने गम्भीर भएर सोच्न जरुरी छ ।

एमालेमा नेता आशलाग्दा छन्, तर नयाँ पिढीको आकर्षणको केन्द्र बन्न सकिरहेको छैन । जुन भोलिको लागि जोखिम देखिन्छ । नयाँ पिँढी अध्ययन वा रोजगारीको लागि विदेशिएको छ । राजनीतिप्रति वितृष्णा छ, त्यसलाई आकर्षण गर्ने नीति र कार्यक्रम खोई ? अहिले एमालेमा रद्द भएको चेकजस्तो विगत जसले गर्जो टार्दैन र उधारो तमसुकजस्तो भविष्य भएको नेताहरु चाहिएको छैन । सफा चेक र निष्कलङ्क तमसुक भएका नेताहरुको खाँचो छ । यसका लागि जनताको वहुदलीय जनवाद जस्तो सिद्धान्तको प्रकाशमा रहेर पार्टी र नयाँ नेपालको परिकल्पना साकार पार्ने नेतृत्व एमालेका प्रतिनिधिहरुले चयन गर्न जरुरी छ । यसैमा सबैको भाग्य र भविष्य जोडिएको छ ।

(अर्याल प्रेस चौतारीका अध्यक्ष एवं एमाले महाधिवशेन प्रतिनिधि हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment