Comments Add Comment

चारपुस्ते क्यान्सरबाट कोइराला परिवारका १३ सदस्य पीडित

१८ असार, काठमाडौं । करीव ७० वर्षदेखि नेपाली राजनीतिमा प्रभाव जमाउँदै आएको कोइराला परिवारको दोस्रो र तेस्रो पुस्ताले नेपाली कांग्रेस हाँकिरहेको छ । कृष्णप्रसाद कोइरालाका सालीका छोरा अर्थात वीपी कोइरालाका सानीमाका छोरा सुशील कोइरालालाई दोस्रो पुस्ता मान्दा शशांक, शेखर, सुजाताहरु तेस्रो पुस्ताका नेता हुन् ।

चौथो पुस्ताबाट कोइराला परिवारको बिँडो थाम्ने कोही ननिस्के पनि प्राणघातक रोग क्यान्सरले भने कोइराला परिवारको चारै पुस्तालाई भ्याइसकेको छ । कोइराला परिवारको चौथो पुस्ताबाट मनिषाले राजनीति गर्छु भने पनि उनी असफल भइनन् ।

मावलीबाट क्यान्सर आएको दाबी

कोइराला परिवारको तेस्रो पुस्ताका जेष्ठ सदस्य एवं पूर्वराजदूत कमलप्रसाद कोइरालाका अनुसार यो परिवारमा क्यान्सर वंशाणुगत रोग बनिसकेको छ । उनका अनुसार कोइराला परिवारमा सबैभन्दा पहिले वीपी र सुशीलकी सानिमालाई क्यान्सर भएको थियो ।

cancer pidit koirala femaly

वीपी कोइराला र सुशील कोइराला दिदी-बहिनीका छोरा हुन् । दुम्जालीकोइराला भए पनि उनीहरुको नाता कोइराला परिवारबाट भन्दा मावलीतिरबाट नजिक भएको हो । ‘बीपीका चारै दाजुभाइ क्यान्सरबाट बिते’ कमल कोइराला भन्छन्, ‘सुशीलका पनि दुबै दाजु क्यान्सरकै कारण गए’ ।

नेकपा एमाले र पत्रकार पंक्तिमा ‘कमल बा’का नामले चिनिने उनी सिंगो कोइराला परिवारका एकमात्र कम्युनिस्ट हुन् । मात्रिका कोइरालाका छोरा कमलका दुई दिदी-बहिनी सविता र कविताको पनि क्यान्सरबाटै ज्यान गएको थियो ।

चारै भाइलाई क्यान्सर

वीपी कोइराला, केशव कोइराला, तारिणी कोइराला र गिरिजाप्रसाद कोइराला चारै भाइको मृत्युको कारण क्यान्सर बन्यो । त्यस्तै सुशील कोइरालाका पनि दुई दाजुहरु प्रमोद र बिनोदको क्यान्सरबाटै निधन भएको थियो । यो परिवारमा क्यान्सर देखिने सुशील तेस्रो भाइ हुन् ।

पिताजी कृष्णप्रसादका छोरामध्ये मातृकाप्रसाद कोइरालालाई मात्र क्यान्सर भएन । उनी अर्कै पत्नीबाट जन्मिएका सन्तान हुन् । तर, मात्रिकाका छोरीहरुमा क्यान्सर देखियो ।

तारिणीप्रसाद कोइरालाकी छोरी कल्पनाको पनि क्यान्सरबाटै निधन भएको कोइराला परिवारले जनाएको छ । त्यस्तै वीपी कोइरालाकी बहिनी विजयालक्ष्मीको मृत्युको कारण पनि क्यान्सर नै बन्यो । ‘पिताजी र मेरी हजुरआमातिर क्यान्सर देखिएको थिएन, तर वीपी र सुशीलको मावलीतिरबाट कोइराला परिवारमा क्यान्सर प्रवेश गरेको भन्ने गरिन्छ’ कमल कोइराला भन्छन् ।

क्यान्सर वंशाणुगत हुन सक्छ : विशेषज्ञ

विज्ञहरुका अनुसार क्यान्सर रोग नभई एउटा डरलाग्दो संक्रमण हो । यो सरुवा रोग होइन, तर यसले पुस्ता हान्न सक्छ । भरतपुर क्यान्सर अस्पतालका विशेषज्ञ डाक्टर विश्वराम पौडेल क्यान्सर वंशाणुगत रोग नभए पनि कतिपय परिवारमा यसले पुस्ता हानेको छ । ‘मैले बिराटनगरको एउटा परिवारमा यस्तै पुस्तौनी क्यान्सरका बिरामी भेटेको छु’ पौडेलले भने ‘हजुरआमा र आमा हुँदै एकै परिवारका तीन बहिनीलाई स्तन क्यान्सर भेटियो’ ।

क्यान्सरसम्बन्धी विभिन्न अध्ययनहरुका आधारमा यसले ‘जेनेटिक’ गुण लिएको पाइएको छ । ‘विशेष गरी स्तन क्यान्सर आन्ध्राको क्यान्सरचाहिँ परिवारको एउटा सदस्यलाई छ भने त्यो अर्को पुस्तामा समेत सर्ने गरेको अध्ययनहरुले देखाएका छन्’ पौडेलले भने ‘कोइराला परिवारका सदस्यहरु क-कसलाई कुन-कुन क्यान्सर भएको हो, त्यसको त अलग्गै अध्ययन गरेर मात्र भन्न सकिन्छ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment