Comments Add Comment

भृकुटीमण्डपमा खनाल र ओलीको एउटै बोली

kp-and-jn

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र केपी शर्मा ओलीले एउटै मञ्चबाट बोल्दै नवौं महाधिवशेनले निर्विरोध एवम्सर्वसम्मत रुपमा पार्टी अध्यक्ष चयन गर्ने दाबी गरेका छन् ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा महाधिवशेनको तयारीबारे जानकारी दिन बुधबार बेलुका गरिएको पत्रकार सम्मेलनमा केपी र झलनाथ खनाल सँगै उपस्थित भएका थिए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खनालले विचार र सिद्धान्तमा एक ढिक्का भएकाले नेतृत्व पनि सहमतिमै चुनिने र नवौं महाधिवशेन एकताको महाधिवशेन बन्ने बताए ।

‘नवौं महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई एक बनाउन दिशानिर्देश गर्नेछ’, अध्यक्ष खनालले भने, ‘अन्य कम्युनिष्ट पार्टीमा फोहोर लागेकाले उनीहरुलाई माझेर टल्काएपछि एउटै कम्युनिष्ट पार्टी बनाउन एमाले जुट्नेछ ।’

अहिले चलको विचार र गुटको भेलाले पार्टीको एकतामा फरक नपार्ने तर्क अध्यक्ष खनालको थियो । ‘विचार र नीति केन्द्रीय कमिटिले सर्वसम्मत पारित गरिसकेको छ’, नेता केपी ओलीतर्फ र्फकँदै अध्यक्ष खनालले भने, ‘नेतृत्वमा पनि सहमति हुन्छ, नेतृत्वका लागि हुने निर्वाचन एकताको र अग्रगतिका लागि हुनेछ ।’

केपी ओलीले भने-अध्यक्षमा निर्विरोध हुन्छ

नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासीसमेत रहेका नेता केपी शर्मा ओलीले अध्यक्षमा निर्विरोध हुने बताएका छन् । आफू उपचारका लागि अस्पतालमा रहँदा पार्टीमा गुट बनाएर बहस चलाइएको बताउँदै नेता ओलीले यो महाधिवेशनबाट पार्टी एक भएर अघि बढ्ने बताए ।

‘मलाई स्लाईन चढाएको बेला एकलौटी प्रचार गर्नेहरुलाई गर्नोस भन्ने बाहेक म सँग विकल्प थिएन’, नेता ओलीले भने, ‘पार्टीमा नीतिगत सांगठानिक मतभेद छैन, पार्टीको मूख्य पद अध्यक्ष निर्विरोध चयन हुन्छ ।’

नवौं महाधिवशेन सहमतिको कोषेढुंगा बन्ने बताउँदै नेता ओलीले पार्टीमा संस्थागतरुपमा विचारको बहस गर्न नसकिएको उल्लेख गरे । चुनावै भएमा पनि जित्नेको जित हुने बताउँदै नेता ओलीले परिवारका मान्छेलाई सभासद बनाउनका लागि एमाले स्थापना नभएको बताए ।

महाधिवशेनस्थलमा आयोजित पत्रकार सम्मेलनमा झलनाथ, केपी, विष्णु पौडेल, शंकर पोखरेल, भरतमोहन अधिकारी, अष्टलक्ष्मी शाक्य लगायतको सहभागिता थियो । माधव नेपाल लगायतका नेताहरु भने त्यहीबेला प्रज्ञा प्रतिष्ठानमा भाषण गर्न व्यस्त भएकाले भृकुटीमण्डपमा उपस्थित थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment