Comments Add Comment

पहिले पत्रकार, अहिले एमाले केन्द्रको दाबेदार

-गोकुल बास्कोटा

सामान्य रुपमा हेर्दा महाधिवेशन पार्टी जीवनको नियमित कोर्स हो । तर, अहिले हाम्रो देश संक्रमणकाललाई अग्रगामी र लोकतान्त्रिक निकासमा पुर्‍याउनु पर्ने ठाउँमा छ ।gokul-Baskota त्यस अर्थमा यो महाधिवेशनलाई नियमित कोर्षका रुपमा मात्रै बुझ्नु हुँदैन । जनआन्दोलनका उपलब्धीलाई संस्थागत गर्ने र आर्थिक सामाजिक रुपमान्तरणको आधार तयार गर्ने काम यो महाधिवेशनले गर्नै पर्ने छ । सामाजिक आर्थिक रुपान्तरण र तिब्र आर्थिक विकासको कार्यभारलाई बोक्न सक्ने भिजनरी र सही मान्यतामा दृढ ईच्छाशक्ति क्षमता भएको नेतृत्व निर्माण गर्नु पर्ने यो महाधिवेशनको मुख्य काम हो ।

मुल नीतिगत प्रश्नमा औपचारिक रुपमा कसैले मतभेद प्रस्तुत गरेको हामीले थाहा पाएका छैनौं तर, पार्टीको मुल नीतिसँग असहमत रहेका साथीहरुवाट अप्रत्यक्ष ढंगले त्यसलाई नरुचाएको कुरा पनि बाहिर आएको छ । यसका बाबजुद जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट आन्दोलनको र नेपालको सामाजिक आर्थिक रुपान्तरणको मार्गदर्शक सिद्धान्त हो भन्ने कुरामा कसैले खुला रुपमा मतभेद राख्न सकेको छैन । जवजप्रति कसको अरुचि थियो भन्ने कुरा जव खुलेर कसैले त्यसका विरुद्ध तर्क दिन सकेको छैन भने कसैलाई यसको विरोधीका रुपमा बुझ्नु जरुरी छैन ।

व नेतृत्वको प्रश्न, सही नीति कार्यान्वयनका लागि सिंगो पार्टी पंक्तिमा ताजगी ल्याउन र नेपालको राजनीति सीमित ब्यक्तिहरुको गोलचक्करवाट मुक्त हुन खोजिरहेको छ र गतिशीलताको सन्देश दिन चाहन्छ भन्ने सावित गर्न हामी यतिवेला नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका छौं । क्रान्तिकारी नेतृत्व निर्माणको सामाजिक मनोविज्ञान नै अवरुद्ध हुनेगरी पुरानै नेतृत्वको पक्षमा उभिनु वैज्ञानिक पनि हुँदैन । मलाई लाग्दैन कि कोही एक्काइसौं शताब्दीको भरपुर चेतनायुक्त महाधिवेशन प्रतिनिधिले पटक पटक परिक्षण भइसकेको पुरानै नेतृत्व रोज्नेछ ।

नेतृत्व हस्तान्तरण केपी ओलीलाई अध्यक्ष बनाउने मात्रै कुरामा सीमित छैन । हस्तान्तरणको पद्दति बसालेर सहज नेतृत्व हस्तान्तरण र गतिशीलतावाट शक्ति आर्जन गर्ने नीतिसँग जोडिएको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शन अनुरुप नै यो कुरा आएको छ । एउटै ब्यक्ति जति लोकपि्रय भए पनि सधैंका लागि ऊ सत्तामा रहँदा राजनीतिक वितृष्णाको आधारभूमी खडा हुँदो रहेछ र त्यसले राजनीति प्रदुषणको जन्म पनि गराउँदो रहेछ । त्यसले गति होइन निराशा उत्पन्न गर्छ । नयाँलाई परिक्षण गर्ने, पछिल्लो पंक्तिलाई आस्वस्त पार्ने कुरामा अवरोध हुँदो रहेछ भन्ने देखियो । यसले कि त नेतृत्व हस्तान्तरण एउटा वलात् परिवर्तनको विषय हुने र आन्दोलन विभाजित हुने कि सिंगो पार्टी पंक्ति मनोटोनस भएर शिथिलीकरणको दिशा तर्फ जाने रहेछ । त्यसैले नेतृत्व हस्तान्तरण एमालेको जीवनलाई स्वस्थ्य बनाउन र सलल बगेको पानी झैं गति र स्वच्छता प्रदान गर्न आवश्यक छ भन्ने निश्कर्षमा हामी पुगेका छौं ।

केपी ओली पहिल्यैदेखि पार्टीको आन्तरिक जीवनको लोकतान्त्रिकरणका पक्षमा उभिएको र पार्टीलाई नेतृत्व गर्न सक्षम शीर्षस्थ तहको नेता भएकाले उहाँको नाम यसमा अगाडी आएको हो । मैले पार्टीको भूमिगत जीवनदेखि नै यस आन्दोलनको सफलताका लागि आफुलाई समाहित गरेको छु । नेकपा एमालेको लक्ष प्राप्तिका लागि विभिन्न भूमिकामा आफुलाई प्रस्तुत गरिसकेको छु र तदनुरुपको जिम्मेवारी पनि पुरा गर्दै आएको छु । चाहे पञ्चायतकालमा अनेरास्ववियुको कार्यकर्ताका रुपमा होस् वा त्यस लगत्तै केन्द्रीय तहमा रहेर । पार्टी जिल्ला कमिटीमा सदस्य देखि दुई पटक सम्म अध्यक्ष रहेर आफ्नो ठाउँमा योगदान गरेको छु । एउटा खास भूमिकामा केही समय आफुलाई लगाएपछि आफुले गर्ने काममा गतिशीलता ल्याउन पनि नयाँ भूमिकाको खोजी हुनु स्वभाविक हो । मसँग पार्टीले अंगालेको नीतिप्रतिको स्पष्टता छ, त्यसलाई बोकेर हिँड्ने र जिम्मेवारी पुरा गर्न लगाउनु पर्ने समय पनि छ, अनि सोही अनुरुपको उमेर र उत्साह पनि छ । त्यसैले यसपटक केन्द्रीय कमिटी सदस्यका लागि आफुलाई सम्पूर्ण प्रतिनिधि समक्ष प्रस्तुत गरेको छु । तर, फेरि पनि यो टीमवर्ककै प्रश्न हो ।

कुनै समय पत्रकारिता मेरो मुख्य पेशा थियो र पत्रकारिता त्यसवेला निरंकुशताको अन्त्य गर्न हामीले अपनाएको महत्वपूर्ण साधन थियो । त्यो वैधानिक र सार्वजनिक चेतना अभिबृद्धिको आन्दोलन थियो । तर त्यसलाई मैले ब्यवसायिक र पेशागत सीमा भित्र मात्रै खुम्च्याएको थिइनँ । त्यसवेला मैले पत्रकारिता गर्दा पनि पार्टीका मान्यता र आदर्शहरुको प्राप्तिका लागि नै गरेँ । भूगोलको पार्टी काम खासगरी जिल्ला कमिटी अध्यक्ष हुँदा त्यस ठाउँमा पार्टी कामलाई प्रभावकारी बनाउन र पार्टीको साख, उचाइ र भूमिका बृद्धि गर्न मुख्य ध्यान दिएँ । मेरो रुची अहिले पार्टी केन्द्रीय कमिटीमा प्रतिनिधित्वको हो र त्यसका लागि सार्वभौम प्रतिनिधिहरुले मलाई उपयुक्त ठान्नुहुन्छ भन्नेमा विश्वस्त छु । त्यसपछि पार्टीले जुनसुकै क्षेत्र वा फाँटको काममा खटाउन आवश्यक ठान्छ त्यसका लागि म सदैव तयार छु उत्साहपूर्वक आफ्नो जिम्मेवारी पुरा गर्न वचनवद्ध छु ।

(एमाले काभ्रेका अध्यक्ष बास्कोटा केपी ओली पक्षबाट केन्द्रीय सदस्यका दाबेदार हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment