Comments Add Comment

हिन्दू धर्मलाई राजतन्त्र पुनस्र्थापनाको हतियार बनाउने प्रयास

mohan-bikram-singh1– मोहनविक्रम सिंह

यही २० देखि २७ जूनसम्म भारतको गोवामा सम्पन्न हिन्दूवादी सङ्गठनहरूको एउटा सम्मेलनले नेपाललाई हिन्दूराष्ट्र बनाउने घोषणा गरेको छ । यहाँ यो उल्लेखनीय छ कि राप्रपा नेपालका एकजना केन्द्रीय सदस्यको पनि त्यो सम्मेलनमा उपस्थिति थियो । भारतको भाजपाले पहिलादेखि नै नेपाललाई हिन्दू राष्ट्र बनाउने तथा राजतन्त्रको पुनस्र्थापना गर्नुपर्ने कुरामा जोड दिँदै आएको छ । अहिले भारतमा उनीहरूको बहुमत भएर सरकार बनेपछि नेपाल वा भारतका हिन्दुवादी वा राजावादीहरू बढी उत्साहित भएका छन् ।

तर, भारत स्वयं धर्मनिरपेक्ष देश हो । त्यहाँहिन्दूवादीहरूको सरकार बन्दैमा के त्यो देश हिन्दू राष्ट्र बन्न सक्नेछ ? प्रष्ट छ कि त्यहाँहिन्दूवादीहरूको सरकार बने पनि उनीहरूले त्यहाँहिन्दू राज्य बनाउन सक्ने छैनन् ।

नेपालको राजनीतिक व्यवस्था कुन प्रकारको हुनेछ, यो नेपाली जनताले निर्णय गर्ने कुरा हो । नेपालमा गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा व्यापक जनमत तयार भएको छ । राजावादीहरूले स्वयं त नेपालमा गणतन्त्र र धर्मनिरपेक्षताको व्यवस्थालाई बदल्ने सामथ्र्य राख्दैनन् । अब उनीहरूले भारतका हिन्दूवादीहरू वा उनीहरूको सरकारको आडमा नेपालमा राजतन्त्रको पुनस्र्थापना गर्ने वा नेपाललाई हिन्दू राष्ट्र बनाउने षडयन्त्र गर्दैछन् । तर उनीहरूको त्यो प्रयत्नले नेपालको वस्तुस्थिति वा इतिहाससँग मेल खान्न ।

नेपाल बहुधार्मिक देश हो । त्यसकारण यहाँकुनै एउटा धर्मलाई राज्यको धर्म बनाउने कुरा जनताको व्यापक जनमतविरुद्धको कुरा हुनेछ । त्यस प्रकारको प्रयत्न गरियो भने देशमा गम्भिर प्रकारको अशान्तिको स्थिति उत्पन्न हुनेछ ।

त्यही प्रकारले नेपालमा राजतन्त्रको पनि कुनै भविष्य छैन । व्यापक जनमत त्यसका विरुद्ध छ । कुनै प्रकारले त्यसलाई पुनस्र्थापना गरियो भने त्यसले राजतन्त्रका विरुद्ध झन् ठूलो विष्फोटलाई जन्म दिनेछ । अहिले देशमा कायम भएको गणतन्त्रले देश र जनताका सबै आवश्यकता पूरा गर्दैन । तैपनि अहिलेको अवस्थामा त्यसको प्रगतिशील महत्व छ र त्यसलाई संस्थागत गर्ने हाम्रो प्रयत्न हुनु पर्छ ।

धर्म व्यक्तिगत आस्था र विश्वासको विषय हो । तर संसारका कैयौँ देशहरूमा यसलाई प्रायशः विभिन्न राजनीतिक उद्देश्यहरूको पूर्तिको माध्यम गराउने गरिएको छ । त्यस अनुसार नेपालमा पनि राजावादीहरूले त्यसलाई राजतन्त्रको पुनस्र्थापनाको हतियारका रूपमा प्रयोग गर्ने प्रयत्न गरिरहेका छन् । हाम्रो देशमा हिन्दू धर्ममाथि विश्वास गर्ने जनताको ठूलो सङ्ख्या छ । उनीहरूका धार्मिक भावनाहरूलाई राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि हतियारको रूपमा प्रयोग गर्ने प्रयत्न गरिरहेका छन् । त्यसरी उनीहरूले धर्मलाई राजनीतिसित लैजाने प्रयत्न गरिरहेका छन् ।

हिन्दुस्थानको उदाहरण हाम्रो अगाडि छ । त्यहाँभारतीय जनता पार्टीले धर्मलाई सत्ता प्राप्तीको माध्यमको रूपमा प्रयोग गर्ने प्रयत्न गर्दै आएको छ । खास गरेर राम जन्मभूमिको कुरालाई उठाएर त्यसले चुनावमा सफलता प्राप्त गर्ने गरेको छ । भारतको स्वतन्त्रता आन्दोलनको समयमा अङ्ग्रेजले धर्मको आधारमा हिन्दू र मुसलमानहरूका बीचमा फुट पारेर स्वतन्त्र आन्दोलनलाई कमजोर पार्ने प्रयत्न गरेका थिए । त्यसरी हिन्दू र मुश्लिमहरूको बीचमा फुट पारेर भारतलाई विभाजित गर्न सफल भएका थिए । मध्य-पूर्वमा मुस्लिम कट्टरपन्थीहरूले इस्लाम धर्मको आधारमा आतङ्क मच्याइरहेका छन् ।

पहिले बि्रटिस साम्राज्यवादले साम्राज्यवादको विस्तारका लागि इसाई धर्मलाई आफ्नो हतियारको रूपमा प्रयोग गरेको थियो । अहिले पनि साम्राज्यवादीहरूको त्यो नीति कायम छ । विश्वको इतिहास यो कुराको साक्षी छ, मध्यकालका युद्धहरूमध्ये धेरैजसो धर्मको नाममा नै लडिएका थिए । कैयौँ राजाहरूले धर्मको आडमा नै आफ्नो राज्यको स्थापना गर्ने वा त्यसलाई कायम राख्ने प्रयत्न गरेका थिए । त्यसरी विश्वको इतिहासमा धर्मलाई आफ्नो राजनीतिक स्वार्थहरूका लागि प्रयोग गरिएका असङ्ख्य उदाहरणहरू छन् । त्यस प्रकारको परम्परालाई अगाडि बढाउँदै हाम्रो देशमा राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि प्रयत्न गदर्ैैछन् ।

विश्वको स्तरमा राजतन्त्र एउटा इतिहासको विषय बनिसकेको छ । त्यसको अब कुनै भविष्य छैन । कतिपय देशमा वैधानिक राजतन्त्रको रूपमा त्यो प्रणाली अहिले पनि कायम रहेको देखिन्छ । तर त्यस रूपमा पनि उनीहरूको अस्तित्व गौण पक्ष रहेको छ । ती देशहरूमा प्रजातान्त्रिक पक्ष नै प्रधान पक्ष रहेको छ । नेपालमा राजावादीहरूले राजतन्त्रलाई वैधानिक राजतन्त्रको रूपमा पुनस्र्थापना गर्ने कुरामा जोड दिइरहेका छन् । तर हाम्रो देशको इतिहासले बताउँछ, राजतन्त्र वैधानिक राजतन्त्रको रूपमा कायम भएको अवस्थामा पनि त्यसले निरङ्कुश राजतन्त्रको नै रूप लिने गरेको छ । पौष १ गते र माघ १९ गतेका उदाहरण हाम्रा अगाडि छन् । अहिले वैधानिक राजतन्त्रको रूपमा त्यसको पुनस्र्थापना भयो भने पनि त्यसको प्रवृत्ति निरङ्कुश राजतन्त्रको रूपमा नै पुनस्र्थापना हुने कुरामा कुनै शङ्का छैन ।

नेपालमा जनताको निरङ्कुश शासन वा राजतन्त्रका विरुद्ध लामो समयसम्मको सङ्घर्षको परिणामस्वरूप नै देशमा गणतन्त्रको स्थापना भएको हो । कतिपय पक्षहरूले यो कुरा बताउने गर्दछन् कि नेपाली जनताको आन्दोलनको कारणले होइन, विदेशीहरूको योजना अनुसार नै नेपालमा गणतन्त्रको स्थापना भएको हो । तर त्यस प्रकारको सोचाइले नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनको गौरवपूर्ण पक्षको अवमूल्यन गर्दछ । आज संसारमा कुनै पनि देशको आन्दोलन विशुद्ध राष्ट्रिय आन्दोलन हुँदैन । त्यसमा समान विचार राख्ने विदेशी शक्तिहरूको पनि महत्वपूर्ण योगदान रहेको हुन्छ । अमेरिकाको स्वतन्त्रताको आन्दोलनकै कुरा गरौँ । त्यसमा प|mान्सको समर्थनले महत्वपूर्ण भूमिका खेलेको थियो । दक्षिण अपि|mकाको स्वतन्त्रता आन्दोलनलाई विश्वव्यापी समर्थन प्राप्त भएको थियो, जसले विदेशी शक्तिहरूको समर्थनका कारणले नेपालमा गणतन्त्रको स्थापना भएको भन्छन्, उनीहरू पनि २००७ सालमा भारतको समर्थनका कारणले राणा शासनको विरुद्धको सङ्घर्ष गलत थियो वा राजा त्रिभुवन सत्तामा आउनु गलत थियो भन्न सक्दैनन् ।

नेपालमा प्रजातान्त्रिक आन्दोलनहरूमा अन्तर्राष्ट्रिय समर्थनको महत्वपूर्ण भूमिका रहने गरेको भए पनि मुख्य रूपमा नेपाली जनताको आन्दोलनको परिणामस्वरूप नै नेपालमा गणतन्त्रको स्थापना भएको हो ।

त्यसरी गणतन्त्रको स्थापना हुनुमा नकारात्मक रूपले नेपालका राजाहरूको पनि महत्वपूर्ण भूमिका रहेको कुरालाई अस्वीकार गर्न सकिन्न । महेन्द्र वा ज्ञानेन्द्रले बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरङ्कुश राजतन्त्रलाई कायम गर्ने प्रयत्न नगरेको भए शायद अहिलेसम्म पनि देशमा वैधानिक राजतन्त्र नै रहने थियो । तत्कालीन युवराज पारसको पनि गणतन्त्रको आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण योगदान रहृयो । उनको गुण्डागर्दीले पनि जनतामा राजतन्त्रका विरुद्ध व्यापक असन्तोष र जनमत तयार पारेको थियो । जनताले यो सोच्न थालेका थिए कि देशमा राजतन्त्र कायम भएमा पारस नै भावी राजा हुनेछन् र त्यो कुराको कल्पना गर्नु पनि अत्यन्त असहज कुरा थियो । त्यो अवस्थामा राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना एक मात्र सही विकल्प थियो ।

आज देशमा जुन प्रकारको बहुदलीय व्यवस्था कायम भएको छ, त्यो पनि सही छ भन्ने होइन । त्यसकारण यसको ठाउँमा अरू उच्च स्तरको जनपक्षीय, प्रगतिशील वा क्रान्तिकारी व्यवस्थाका लागि सङ्घर्ष गर्नु पर्ने आवश्यकता छ । तर अहिलेको व्यवस्था गलत छ भन्नुको अर्थ पुनः राजतन्त्रतिर र्फकनु पर्दछ भन्ने होइन । त्यसले देशलाई अरू प्रतिगमनको दिशामा लैजानेछ । नेपालको राजतन्त्रको इतिहास कुन प्रकारको रहेको छ ? त्यो जनताबाट लुकेको छैन । राणा शासन कायम हुनुभन्दा पहिले शाह वंशीय राजाहरूको कालमा जनतामाथिका अन्याय, अत्याचार, दरवारिया षडयन्त्र, गम्भीर प्रकारका काण्डह/m तथा २००७ सालपछि पञ्चायती कालको कालो इतिहास,पछि दरबारभित्र भएको भीषण हत्याकाण्ड, ठूलो पैमानामा राष्ट्रिय सम्पत्तिको दुरूपयोग, भ्रष्टाचार, विभिन्न प्रकारका अपराध आदि कुराहरू नेपाली जनताबाट लुकेका छैनन् ।

अब राजावादीहरूले हिन्दू धर्मका नाममा ती सबै कुराहरूमाथि पर्दा हालेर राजतन्त्रको पुनस्र्थापनाका लागि प्रयत्न गर्दैछन् । राजतन्त्रको सम्पूर्ण इतिहासमाथि विचार गर्दा अब देशमा त्यसको पुनस्र्थापनाबाट नेपाल वा नेपाली जनताको कुनै हित नहुने कुरा दिनको उज्यालो झैँ प्रष्ट छ ।

नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश हो । यस्तो देशमा कुनै धर्मलाई राज्यको धर्म बनाउनुको परिणामस्वरूप जनताका बीचको एकता र सद्भावना खल्बलिने छ । राष्ट्रिय एकता कमजोर हुनेछ । त्यसैले नेपाललाई हिन्दू राज्यको रूपमा पुनस्र्थापना गर्ने होइन, सबै धर्महरूलाई समान स्तरमा राखेपछि नै राष्ट्रिय एकतालाई मद्दत पुग्नेछ ।

धर्मप्रति पनि हामीले आदर्शवादी दृष्टिकोण नअपनाएर वस्तुवादी दृष्टिकोण अपनाउनु पर्दछ । नेपालमा ठूलो सङ्ख्यामा मानिसहरूको हिन्दू धर्ममाथि आस्था भएको कुरा सत्य हो । तर त्यसको अर्थ त्यसलाई यथावत रूपमा कायम राख्ने प्रयत्न गर्नु पर्दछ भन्ने सोचाइ सही होइन । धर्ममा भएका असङ्गतिहरूको सुधार गर्दै आएर नै समाजको विकास हुँदै आएको छ । कुनै बेला समाजमा सति प्रथा थियो । त्यस अनुसार पतिको मृत्युपछि पत्नीहरूलाई जिउँदै चितामा जलाइन्थ्यो । धर्मका नाममा नै राजालाई परमेश्वर मानिथ्यो र उसको निरङ्कुश सत्ताप्रति भक्तिभाव देखाउन जनताको मनोविज्ञान तयार पार्ने कोशिस गरिन्थ्यो । धर्मको नाममा नै पतिलाई परमेश्वर मान्ने शिक्षा दिइन्थ्यो र महिलाहरूलाई पूरै पराधीन राख्ने प्रयत्न गरिन्थ्यो ।

छुवाछूत जस्ता प्रथाह/m धर्मको नाममा टिकेका व्यवस्थाहरू हुन् । त्यसरी हिन्दू धर्म सामन्ती व्यवस्था, राजतन्त्र र पितृसत्तात्मक व्यवस्थाको अभिन्न अङ्गका रूपमा रहँदै आएको छ । ती सबै कुराहरूका विरुद्ध जनताको चेतना उठ्नाका साथै धर्मका नाममा जनतामाथि भएका धेरै अन्याय र अत्याचारहरू घटेर गएका छन् । तर समाप्त भएका छैनन् । त्यसकारण हिन्दू धर्मप्रतिको जनताको आस्थामा आदर गर्दा गर्दै पनि त्यसका जनविरोधी पक्षहरूका विरुद्ध जनताको चेतना उठाउनु पर्ने वा सङ्घर्ष गर्नु पर्ने कुरामा हामीले लगातार जोड दिने गर्नु पर्दछ । तैपनि व्यक्तिगत आस्था र विश्वासको रूपमा अन्य सबै धर्महरूका साथै हिन्दू धर्मको धार्मिक स्वतन्त्रतालाई पनि सम्मान गर्नु पर्ने आवश्यकतालाई हामीले स्वीकार गर्नु पर्दछ । त्यस सन्दर्भमा प्रथम, राजतन्त्रको पुनस्र्थापनाका लागि हिन्दू धर्मलाई हतियार बनाउने र द्वितीय, त्यसलाई राज्यको धर्म बनाउने कुरालाई हामीले दृढतापूर्वक अस्वीकार गर्नु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment