Comments Add Comment

दश वर्ष चलाउन पाए देश बनाउँछु

योगेश भट्टराई

म ताप्लेजुङको साँघुमा ०२३ सालको भदौमा जन्मिएँ । आमा महेन्द्रादेवी, बुबा स्व. भीमलाल । पूूर्वको दुुर्गम जिल्ला होताप्लेजुङ, त्यसको पनि दुुर्गम गाविस साँघु हो । सदरमुकामबाट एक दिन पदैल हिँडेपछि मात्रै पुगिन्छ । भौगोलिक रूपमा दुुर्गम भए पनि शैक्षिक रूपले अघि ।

म दुुई वर्षको छँदा नै बुबा बित्नुुभएछ । मलाई उतिधेरै बुुबाको सम्झना छैन । उहाँसँग बिताएका दिनहरूको याद पनि छैन । तर, मैले सुनेअनुसार बुबा समाजसेवी हुनुहुन्थ्यो । त्यस क्षेत्रका अधिकांश विद्यालयलाई चन्दा दिनुुहुन्थ्यो । नयाँ स्कुल खोल्न र खोलिएका स्कुलमा विद्यार्थी पठाउन प्रेरित गर्नुहुन्थ्यो ।

yogesh०५१ सालमा विन्दा घिमिरेसँग विवाह गरेँ । उनी नर्सिङकी विद्यार्थी अखिलकै कार्यकर्ता थिइन् । हाम्रो विवाह प्रेम र मागी आधा-आधा जस्तै भयो । उनीसँग पहिलो भेट गाउँकै मेला बजारमा भएको थियो । दसैँमा घर जाँदा-आउँदा सँगै जाने-आउने गर्थ्यौ । सायद, त्यहीक्रममा एकले अर्कालाई मन परायौँ । त्यस्तो लामो प्रेम सम्बन्ध भएन । चाँडै बिहे गरिहाल्यौँ । उनी अहिले नर्सिङ क्षेत्रमा कार्यरत छिन् । आज म जुन क्रियाशीलताको साथ राजनीतिमा समय लगाइरहेको छुु, त्यसमा उनको ठूलो हात छ । कुनै पनि व्यक्तिको सफलता उनको परिवारको सहयोग पनि उत्तिकै जरुरी हुन्छ । जुन सहयोग मैले पाएको छु ।

यसरी आएँ राजनीतिमा

सात कक्षासम्म मैले साँघुमा नै पढेँ । गाउँमा मावि नभएकाले माध्यमिक शिक्षाका लागि ०३७ सालमा छिमेकी जिल्ला संखुवासभाको मादी गएँ । मादी पुुग्न दुुई दिन पैदल हिँड्नुुपथ्र्यो । राजनीतिक हिसाबले नेपाली कांग्रेसका अगुवाहरूको गाविस मादी त्यतिवेला शैक्षिक रूपमा पूूर्वको राम्रो मानिन्थ्यो ।

त्यतिवेला ०३६ सालको विद्यार्थी आन्दोलनको रापताप बिस्तारै गाउँसम्म फैलिँदै थियो । गाउँसम्म अखिलको चर्चा हुँदै थियो । ०३७ चैत १४ मा पहिलोपटक अखिलले आमहडताल गर्‍यो । आमहडताल गर्नुपर्छ भनेर हामी पनि कस्सियौँ । लाग्यो, ‘आमहडताल भनेपछि अनिश्चितकालका लागि होला Û’

हामीले २० दिनसम्म माविमा हडताल गर्‍यौँ । खासमा एक दिनको मात्रै रहेछ । त्यतिवेला हामी कुनै संगठनमा आबद्ध थिएनौँ । त्यो अभियान र आन्दोलनबाट प्रभावित भएर स्वस्फुर्त गरेका थियौँ ।

सिकुटे सभापति

०४० सालमा एसएलसी पास गरेर काठमाडौं आएँ । मेरो रुचि विज्ञान पढ्ने थियो । त्रिचन्द्र कलेजमा भर्ना भएँ । पढाइभन्दा पनि बढी सांगठनिक गतिविधिमा लागेँ । विज्ञान पढ्नलाई नियमित कक्षा र कडा मिहिनेत अनिवार्य थियो । तर, मेरो बढी समय संगठनतिर गयो । यसपछि विज्ञान पढ्न सकिन्न भन्ने निक्र्योल गरेर महेन्द्ररत्न कलेज ताहाचलमा भर्ना भएँ । ०४१ सालमा भर्नालगत्तै म पहिलोपटक महेन्द्ररत्न कलेजको कक्षा कमिटीको सदस्य भएँ । मलाई संगठित गर्ने संखुुवासभाका दुुर्गाकिरण राई र दोलखाका छिरिङ शेर्पा हुन् ।

जतिवेला म अखिलको कार्यकर्ता बन्दै थिएँ, मेरा कुनै व्याक्तिगत सपना थिएनन् । थियो त समाज बदल्ने सपना र व्यवस्था परिवर्तन गर्ने संकल्प । कक्षा कमिटी सदस्यपछि प्राक सदस्य भएँ । त्यही साल (०४१) मा स्ववियु उपसभापति भएँ । उतिवेला सभापति नै बनाउने भन्ने पनि कुरा थियो । तर, म अत्यन्त सिकुटे थिएँ । ताहाचलमा चाहिँ विद्यालयमा पढाउँदै गरेका जुुँगादारी भएका विद्यार्थी पनि पढ्ने भएकाले ‘नेताचाहिँ अलि परिपक्वै बनाउनुुपर्छ’ भन्ने भयो । र, छिरिङ शेर्पा सभापति भए ।

पछि, ०४३ सालमा स्ववियु सभापति भएँ । उतिवेला पनि म सिकुटे नै थिएँ । २० वर्षको मात्रै थिए । ताहाचल अखिलको केन्द्र थियो । केन्द्रीय होस्टल पनि त्यहीँ थियो । गाउँबाट आउने तल्लो वर्गका विद्यार्थीको केन्द्र थियो । यसकारण पनि यो कम्युनिस्टको केन्द्रजस्तै थियो । त्यतिवेला काठमाडौं उपत्यकाभित्र भर्खर-भर्खर पार्टी स्थापित हुँदै थियो । उपत्यकामा सेल्टर कमै थियो । त्योमध्ये एक थियो ताहाचलको होस्टल पनि । त्यसैले अरू कलेजमा भन्दा ताहाचलमा बढी गतिविधि हुन्थे । हामीले बढी नै खट्नुुपथ्र्यो ।

मध्यरातमा पक्राउ गरियो

०४६ सालको आन्दोलनमा कीर्तिपुरको होस्टलमा थिएँ । अखिलको केन्द्रीय सदस्य थिएँ त्यतिवेला । जनआन्दोलनका लागि अखिल र नेविसंघबाट समन्वय गर्ने समिति थियो । मैले अखिलको तर्फबाट समन्वय गर्नुपथ्र्यो । सुरुमा कांग्रेस र वामपन्थीको सहकार्य थिएन । तर, हामी विद्यार्थीले सहकार्य सुुरु गर्‍यौँ । नारा तय भयो, ‘आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रको निम्ति पञ्चायतको अन्त्य ।’ पञ्चायतविरुद्ध यस्तो नारा तय गर्नु चानचुन कुरो थिएन । त्यही वेला हाम्रो पार्टी तत्कालीन मालेको महाधिवेशन ०४६ साल भदौमा भयो । महाधिवेशनले कांग्रेससँग मिलेर आन्दोलन गर्ने नीति पारित गर्‍यो । लगत्तै भएको कांग्रेसको अधिवेशनले पनि वामपन्थीसँग मिलेर जाने नीति पास गर्‍यो ।

त्यतिवेला विश्वविद्यालयमा बढी नै स्वतन्त्रता थियो । विश्वविद्यालयमा प्रहरी जानुुहुँदैन भन्ने थियो । प्रहरी पठाए ठूलै हल्लीखल्ली र मुद्दा बन्थ्यो । त्यही भएर प्रशासनले हत्तपत्त प्रहरी पठाउँदैनथ्यो । एक हिसाबले विश्वविद्यालय हाम्रै कब्जामा हुन्थ्यो । ०४६ फागुन ७ गते काठमाडौंको नयाँ सडकमा झन्डा प्रदर्शन गर्ने कार्यक्रम थियो । हामीले विश्वविद्यालयमा झन्डा बनाउँदै बोरामा हालेर विभिन्न ठाउँ पठायौं। ६ गते बेलुका समीक्षा गर्‍यौँ, ‘हामीले बढी नै गतिविधि गर्‍यौँ, आज राति होस्टल कब्जा हुनसक्छ, त्यही भएर राति बाहिर जानुपर्छ ।’ होस्टल छाडेर शंकर पोखरेल नयाँ बजारको मदन घिमिरेको कोठामा जानुुभयो । तुलबहादुर गुुरुङ, हितकाजी गुुरुङ र म पाँगा दोबाटोमा अजर्ुुन सुुब्बाको घरमा ।

रातिको दुुई बजे प्रहरी आएर हामीलाई गाडीमा हालेर पुलिस क्लब लग्यो । त्यहाँ पुुगेपछि थाहा भयो, सबै विद्यार्थी नेता बसेको ठाउँमा छापा हानेर सयौँका सख्यामा ल्याइएको रहेछ । संयोगले शंकर पक्राउ पर्नुभएनछ । हामीलाई केही दिन पुलिस क्लबमा राखियो, केही दिन हनुमानढोकामा र केही दिन भद्रगोल जेलमा । केही दिनपछि सिन्धुुपाल्चोकको चौतारा लगेर राखियो । २२ जना थियौँ हामी । तीमध्ये अगुुवा पद्मरत्न तुुलाधर । उहाँलाई २६ गते बिहानै निकालेर लगियो । किन लग्यो भन्ने थाहा भएन । पछि थाहा भयो, राजाले आन्दोलनकारीसँग वार्ता गर्न समन्वयकर्ता खोजेको रहेछ । २६ गते राति हामीलाई पनि जेलबाट छाडियो । भोलिपल्ट हामीलाई बिहानै गाडीबाट काठमाडौं ल्याइयो । चौताराबाट आउँदा बाटैभरि रमाइला दृश्यहरू थिए । दोलालघाटमा धेरै मान्छे रातो झन्डा बोकेर नाचगान गरिरहेका थिए । पहिलोपटक त्यति धेरै मानिसले कम्युुनिस्टको झन्डा बोकेर निस्किएको देख्दा असाध्यै खुसी लाग्यो । हामी सीधै खुलामञ्च गयौँ । गणेशमान, गिरिजाप्रसाद, झलनाथले बोल्नुुभयो । प्रजातन्त्र आएको त्यो दिन हर्ष र गौरवको दिन थियो ।

अखिलको त्यो ऊर्जा

अखिलको दसौँ राष्ट्रिय सम्मेलन पुल्चोकमा भयो । म सचिवालयमा सदस्य तथा प्रचार विभाग प्रमुख भए । पोखराको ११औँ राष्ट्रिय सम्मेलनबाट सचिव भएँ । हेटौँडामा भएको १२औँ सम्मेलनबाट महासचिव । अखिलका तत्कालीन अध्यक्ष रामनाथ ढकाल ०५१ सालमा चुनाव लड्न जानुुभयो । जित्नुु पनि भयो । त्यसपछि उहाँले अध्यक्ष छाड्नुुभयो । त्यसपछि म अध्यक्ष भएँ । विराटनगरमा भएको १३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष भएँ । त्यसवेलाको अखिल लोभलाग्दो थियो । हाम्रो पालामा पहिलोपटक ७३ प्रतिशत कलेजमा स्ववियुु चुनावमा जित्यौँ । त्यसबेला सबै कलेजहरु अखिलमय थियो । विद्यार्थी आन्दोलनलाई शैक्षिक ऐजेन्डातिर केन्दि्रत गर्‍यौँ ।

भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता अभियान चलायौँ । ०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं-कालापानी मार्च गर्‍यौँ । नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गर्‍यो । पूर्व पाँचथरको च्याङथापुदेखि सुस्ता, महेशपुर, टनकपुर हुँदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाइ हामीले गर्‍यौँ । वैदेशिक हस्तक्षेपविरुद्व आन्दोलनमा अग्रभागमा उभिन सफल भयौँ ।

राजाको ‘कुु’ले दियो भूमिका

पार्टी एकीकरणपछि खासै भूमिकामा थिएनौँ । अलि लेखपढ गर्ने समय पनि मिल्यो । जब असोज १८ र माघ १९ मा राजा ज्ञानेन्द्रले ‘कु’ गरे । त्यसपछि एमालेको ठूलो पंक्ति विचलित भयो । त्यो पंक्ति ‘अब २०-२५ वर्ष राजाले खान्छ’ भन्नेतिर लाग्यो । हामी युुवाहरूको जनतासँग सम्बन्ध पनि राम्रो थियो । त्यसपछि हामी पार्टीमा औपचारिक जिम्मेवारी नभएकाहरूका लागि सडक फराकिलो भएर आयो ।

जनतासँगको युवा र जनतासँगको राम्रो सम्बन्धलाई प्रयोग गरेर हामी आन्दोलनमा होमियौँ । ‘राजनीतिमा धुलो टकटकाएर पनि हिँड्नुुपर्छ’ भन्ने थाहा थियो । मैले पनि त्यसै गरेँ । जनआन्दोलनमा हामीलाई जनताले आशावादी अनुुहारले हेरे र साथ दिए । त्यसपछि मैले उपत्यका कमिटीमा आउने मौका पाएँ । उपत्यका सचिवको हैसियतले जनआन्दोलनमा राम्रो भूमिका निर्वाह गर्ने अवसर पाएँ । इतिहासले दिएको अवसर पनि थियो त्यो । जनआन्दोलनको जगमा नै पार्टीमा पनि भूमिकामा आइयो ।

यसरी चल्छ परिवार

म धनी किसान परिवारमा जन्मिएको हुँ । पुख्र्यौली सम्पत्ती पनि राम्रै भएको । म पार्टीको पूर्णकालीन भएकाले पार्टीले केही पारिश्रमिक पनि दिन्छ । श्रीमतीको राम्रै कमाइ छ । घर भाडा पनि आउँछ । दुई जनाको सानो परिवार, खर्च पनि सानै छ । जाँड/रक्सी छोडेको ६ बर्ष जति भयो, चुरोट पिउँदिन । यसले घर बाहिरको खर्च स्वातै घटाएको छ । खाना, लाउन र अन्य सामान्य खर्च पुगेकै छ । कसैका लागि कमाइदिनु छैन, मरेपछि लानु छैन । पैसाप्रति लालचा पनि छैन ।

अबको सपना

६० बर्षसम्म पार्टीमा पूर्णकालीन भएर काम गर्छु । प्रतिस्पर्धा गरेर पार्टी र देशको नेतृत्व गर्ने कोशिस गर्छु । राष्ट्रलाई घात गर्दिन । सके राम्रो गर्छु । नसके नराम्रो चैं गर्दिँन । ६० बर्षपछि सक्रिय राजनीतिबाट अबकास लिन्छु । ट्रस्ट बनाएर गरिव, दुखी, असाहायको शिक्षा, स्वस्थ्य, चेतनाका पक्षमा काम गर्छु । मेरा बाबुले त्यो जमानमा पनि शिक्षाको ज्योती फौलाउन काम गरेका थिएभन्ने सुनेको थिएँ । म पनि त्यस्तै काम गरेर जीवनबाट विदा लिनेछु । मेरा यी सबै काममा मेरी श्रीमतीको ठूलो साथ र प्रेरणा मलाई प्राप्त हुनेछ ।

गरिखानेको पार्टी

६० बर्षअघि शुरु भएको नेपाली क्रान्ति ०६२/६३ मा आउँदा राजनीतिका रुपले पुरा भएको छ । अबको क्रान्ति आर्थिक सम्मृद्धिका लागि हुनु पर्छ भन्ने मलाई लाग्छ । मुलुक बनाउन पार्टी राम्रो बनाउँनु पर्दछ । अब सबै पार्टी सदस्यले श्रम गरेर जीवन चालाउने गर्नु पर्दछ ।

हाम्रो पार्टीका करिब २ लाख ६० हजार पार्टी सदस्य र जनसंगगठनका करिब १५ लाख सदस्यहरुले मात्र पनि उत्पादनका काममा लाग्ने हो भने यो देश १० बर्षमा सम्मृद्ध बन्न सक्दछ । ८० को दशकपछिको चीन, मलेसिया, सिंगापुर, दक्षीण कोरियालगायतका मुलकको अनुभव बाट यदी १० बर्ष मैले पार्टी र राष्ट्रको नेतृत्व गर्न पाएँ भने यो देशलाई बनाउन सक्छुजस्तो लाग्छ । इच्छाशक्ति र इमान्दारिता बाहेक हामीसँग के छैन र ?

स्रोत-मिरर मासिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment