Comments Add Comment

एमालेमा मौलायो जँड्याहा संस्कृति !

अरुण बराल/ टिप्पणी

२१ असार, काठमाडौं । नेकपा एमालेका देशैभरिका नेता र कार्यकर्ताहरु यतिबेला महाधिवशेनका लागि राजधानीमा भेला भएका छ्न । योबेलामा एमालेभित्र कस्तो संस्कृति मौलाउँदै गएको छ भन्ने बुझ्नका लागि काठमाडौं उपत्यका अत्यन्तै सहज बनेको छ ।

काठमाडौंमा देखिएको एमाले नेता-कार्यकर्ताको व्यवहारले उनीहरुमा उपभोक्तावादी सांस्कृतिक विचलन आउन थालेको स्पष्ट हुन्छ । वर्गसंघर्ष र समाजवादको वकालत गर्ने एमालेभित्र दलाल पुँजीवादीहरुसँग मागेको पैसाले रक्सी पिउने संस्कार मौलाएको देखिएको छ ।

एक जमानामा काठमाडौंका त्रिचन्द्र, रत्नराज्य र नेपाल ल क्याम्पसका कोठाहरु वामपन्थी बहसका केन्द्र बन्ने गरेका थिए । त्यही त्रिचन्द्र क्याम्पस पढेका झलनाथ खनालले हाँकेको एमाले पार्टी यतिबेला निशुल्क पाइने कलेजका हलहरु छाडेर विभिन्न महंगा होटल र बेङक्वेटहरुमा पैसाको खोलो बगाएर बहुदलीय जनवादको ननभेज बहसमा उत्रिएको छ ।

ठुला होटलमा मासुभात र ‘दुरुम पानी’ नखाई र बहुलीय जनवाद र समाजवादको बहस गर्नै नसक्ने अवस्थामा एमालेका नेता कार्यकर्ताहरु पुगेका छन् । महाधिवशेनको सन्दर्भमा दुबै गुटले राजधानीको इन्द्रेणी फुडल्याण्ड, अल्फाबेटा, क्वालिटी बेङ्क्वेट, अर्याल होटल, आलिशान गजल रेष्टुरेन्ट, एभरेष्ट होटल, बेइजिङ रेष्टुरेन्टदेखि हिमालय होटलसम्म आयोजना गरेका पार्टी र भोजभतेरहरुको आर्थिक स्रोत के हो ? त्यहाँ एमाले कार्यकर्ताले पिएको महंगो रक्सीको पैसा कहाबाट आएको हो ? त्यो रक्सी खाने पैसा दलाल कर्पोरेट पुँजीवादले उपलब्ध गराएको हो या कार्यकर्ताबाट गाँस काटेर उठाइएको लेबीबाटै रक्सीको खोलो बगाइएको हो ?

नेपालमा समाजवाद स्थापना गरेर अमेरिकासम्म निर्यात गर्ने बताएको एमालेले महाधिवशेनमा यो संास्कृतिक विषयमा भने शायदै छलफल गर्ला । साधा जीवनशैली अपनाउनुपर्नेमा रक्सी खाएर समाजवादी भइने भए गाउँको जँड्याहा सबैभन्दा पहिले समाजवादी बन्ने थियो । रक्सी खानुलाई कम्युनिस्टहरुले अन्यथा मान्दैनन्, तर कसको पैसाले रक्सी खाइँदैछ ? यो महत्वपूर्ण प्रश्न हो ।

एमालेले होटलहरुमा महंगो रक्सीका लागि कार्यकर्तालाई गरेको खर्च समाजवादी पुस्तकहरुको खरीदमा गरेको भए उत्तम समाजवादी संस्कृति देखिने थियो कि ? तर, पुरानो कोट लगाउ, नयाँ किताब किन भन्ने थोरोको भनाइलाई एमालेले उल्टाएको छ । ‘नयाँ कोट लगाऊ नयाँ रक्सी खाऊ’ भन्ने संस्कार एमालेमा विकसित भएको छ । तर, यसको स्रोत के नि ? एमालेले यसको जवाफ दिने गरेको छैन ।

किड्नीका बिरामीहरुले नेतृत्वको दाबी गरिरहेका बेला एमाले नेताले रक्सी सेवनबाट मृगौलामा पर्न सक्ने असरबारे लेखिएका पुस्तकहरु कार्यकर्तालाई झोलामा हालेर वितरण गरेको भए त्यसले एमाले कार्यकर्ता र पार्टी दुबैको स्वास्थ्यलाई फाइदा गर्ने थियो ।

एमाले नेता कार्यकर्ताहरुले वौद्धिक बहस र छलफल भन्दा पनि ‘दारुपानी’तिर बढ्दा जोड गरेको देख्दा यो पार्टीले उपभोक्तावादको विकासमा कांग्रेसलाई समेत उछिन्न थालेको छ ।

उपभोक्तावादले डनवादमा पुर्‍याउँछ

महंगो होटलमा रक्सी र मासु नखाई बहुदलीय जनवादी विचार प्रस्फुटन हुन छाडेपछि त्यसका लागि पैसाको जरुरत पर्छ । एमाले नेताको आफ्नो कुनै भिन्नै इलम नभएकाले यसका लागि चन्दा माग्नुपर्ने हुन्छ । गरिबले चन्दा दिने कुरै भएन, त्यसैले धनीमानीहरुसँगै हात पसार्नुपर्ने हुन्छ । दिएनन् भने हप्काउनुपर्ने हुन्छ र त्यसो गर्दा ‘डनगिरी’ गर्नुपर्ने हुन्छ ।

व्यापारी र पुँजीपतिबाट चन्दा लिएपछि तिनले पनि सरकारबाट केही आश गर्छन् र उनीहरुलाई कुनै राजनीतिक नियुक्ति दिलाइदिने वा कर छुट इत्यादि गराइदिने गर्नैपर्छ । यसो गर्दा भ्रष्टाचार मौलाउँछ ।

पार्टीको फजुलखर्ची नीतिलाई निरन्तरता दिन सरकारी स्रोत पनि दुरुपयोग गर्नैपर्ने हुन्छ । यसका साथै गोप्यरुपमा बि्रफकेस ओसार्नै पर्ने हुन्छ । यसो गरेर जुटाइएको रकम महाधिवशेनमा कार्यकर्तालाई यति आम्दानी भयो, यति खर्च भयो भनेर देखाउनै सकिँदैन ।

माधव नेपाल र झलनाथ खनालले जाँड खाएको थाहा छैन । तर, एमालेलार्इ यस्ता सांस्कृतिक स्तरमा पुर्याउने काम उनीहरूकै नेतृत्वमा भएको हो ।

जबजका रोलमोडल : पशुराम बस्नेत !

नेकपा एमालेको महाधिवशेनमा सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका पर्शुराम बस्नेत पनि प्रतिनिधिका रुपमा सहभागी छन् । अराजनीतिक फौजदारी अभियोग लागेका व्यक्तिलाई एमालेले सगर्व चुन्ने र चुनिने अधिकारसहित महाधिवशेनमा उपस्थित गराएको छ । एमालेले उनलाई तिमीमाथि वित्तीय फौजदारी मुद्दा लागेको छ, पार्टीलाई बिटुलो नबनाऊ भन्न सकेन ।

पर्शुराम बस्नेतले गैरकानूनी ढंगले सम्पत्ति नकमाएको एमालेका कतिपय नेताहरुले तर्क गर्दै आएका छन् । धेरैले भन्छन्, उनी दोलखाबाट केही वर्ष पहिले गाडीमा काम गर्ने कामदारका रुपमा मोरङको बिराटनगर पुगेका थिए । आज उनी करोडपति बनेका छन् ।

एकाध वर्षमै गाडीको ‘खलाँसी’बाट बैधानिक किसिमले करोडपति बन्न सक्ने विद्या पर्शुराम बस्नेतसँग छ भने एमालेले यो विद्यालाई पनि बहुदलीय जनवाद र समाजवादको विकासको अंग बनाउन आवश्यक छ । नेपाली श्रमजीवीहरु जीवनभर हड्डी घोट्दा पनि खान नपुग्ने अवस्थामा छन् । होनहार नेपाली छोराछोरीहरु विदेशमा पसीना बगाएर पनि जीवनका आधारभूत आवश्यकता पूरा गर्न सकिरहेका छैनन् । यो बेला एमालेले किन यस्तो करोडपति बन्ने विद्यालाई आफ्नो उत्पादनमुखी दस्तावेजमा समेटिरहेको छैन ? किन उसले बस्नेतलाई ‘बहुदलीय जनवादको रोलमोडल’ बनाउन सकिरहेको छैन ?

एमालेमा अहिले जुन प्रकारको जँड्याहा संस्कृति मौलाइरहेको छ, यो अवस्थामा कितावको किरो घनश्याम भुसालले हारेर आर्थिक उत्पादनको हिरो पर्शुराम बस्नेतले जिते भने आश्चार्य नमाने हुन्छ । । पार्टीमा जँड्याहा संस्कतिको जगेर्ना लागि घनश्याम हैन, पर्शुरामहरुको आवश्यकता पर्छ । जस्तो नीति, उस्तै नेतृत्व कम्युनिष्टहरुको मूल्य र आदर्श हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment