Comments Add Comment

एमालेको ‘मिनी चुनाव’ मा हात हालाहाल

२२ असार, काठमाडौं । नेकपा एमालेको जारी नवौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत दस्तावेजहरुमाथि छलफल गर्न बनेको १९ वटा समूहमा टोली नेता छान्न अधिकांश समूहमा निर्वाचन भएको छ ।

धेरै समूहमा चुनाव भएको छ भने केहीमा सहमति भएको छ । माधव नेपाल पक्ष र केपी ओली पक्ष दुवैले टोली नेतामा दाबी गरेपछि चुनाव भएको हो । १७ बटा समूहको टोली नेता चयन गर्दा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली पक्षका ९, माधवकुमार नेपालका ७ जना टोली नेता चुनिएका छन् । एकजना मध्यमार्गी छन् । एमाले कार्यकर्ताले यो चुनावलाई ‘मिनी चुनाव’को संज्ञा दिएका छन् ।

अञ्चलगत रुपमा समूह विभाजन गरिएकाले कुन अञ्चलमा कसको बहुमत छ भनेर प्रष्ट हुने भएकाले पनि नेताहरुले चुनावमा जोड दिए । सहमतिले टोली नेता चयन भएका समूहमा पनि जसको बाहुल्य छ, उसैको पक्षलाई नेता बनाइएको छ ।

कहाँ कसको बर्चश्व ?

मेची अञ्चलमा चुनावबाटै ओली समूहका देवेन्द्र दाहाल निर्वाचित भएका छन् । उनीसँग नेपाल पक्षका तिलकुमार मेन्याङबो पराजित भए । त्यस्तै कोशीबाट नेपाल समूहका जीवन घिमिरे सर्वसम्मत रुपमा टोली नेता भए । सगरमाथामा विवाद भएपछि दुवै पक्षले आ-आफ्नो टोली नेता बनाएका छन् । नेपाल पक्षबाट यज्ञराज सुनुवार र ओली पक्षबाट विशाल भट्टराईका अलग-अलग समूह भएपछि अध्यक्ष मण्डललाई विवाद मिलाउन जिम्मा दिइएको छ ।

नारायणीबाट माधव नेपाल पक्षका रामकुमार भट्टराईले ओली पक्षका अनन्त पौडेललाई पराजित गरेर टोली नेता निर्वाचित भएका छन् । त्यस्तै उपत्यकाबाट मध्यमार्गी भूमिकामा रहेका टंक कार्की सर्वसम्मत रुपमा टोली नेता चयन भएका छन् । गण्डकीबाट ओली पक्षका मायानाथ अधिकारी टोली नेता चयन भएका छन् भने तल्लो लुम्बिनीबाट ओली पक्षकै खिमलाल भट्टराई चयन भएका छन् । त्यस्तै धौलागिरी र उपल्लो लुम्बिनी समूहबाट ओली पक्षकी मीना केसी टोली नेता चयन भएकी छन् । उनले नेपाल पक्षका इन्द्रलाल सापकोटालाई पराजित गरेकी हुन् ।

कणर्ाली र राप्तीको समूहबाट ओली पक्षका कुमार दशौंदी टोली नेता चयन भएका छन् भने भेरीमा विवाद भएपछि अलग-अलग टोली बनेका छन् । नेपाल पक्षका विष्णु रिजाल र ओली पक्षका यमलाल कँडेलको अलग टोली बनेका छन् । यो विवाद पनि अध्यक्ष मण्डलमा पुगेको छ ।

बागमती अञ्चलको समूहबाट नेपाल पक्षका लालकुमार केसीले ओली पक्षका कैलाश ढुंगेललाई पराजित गरेर टोली नेता बनेका छन् । जनकपुर अञ्चलको समूहबाट नेपाल पक्षका लक्ष्मण पौडेल टोली नेता चयन भएका छन् । उनले ओली पक्षका सरोज यादवलाई पराजित गरे । सेतीबाट नेपाल पक्षका हर्कबहादुर सिं टोली नेता चुनिएका छन् । महाकालीबाट नेपाल पक्षका दिपक भट्ट टोली नेता बनेका छन् ।

जनवर्गीय संगठनहरुको समूहबाट ओली पक्षका महेश बस्नेत सर्वसम्मत रुपमा टोली नेता चयन भएका छन् । महासंघीय ढाँचाका मोर्चाहरुको समूहमा भने दुवै पक्षबीच चुनाव भएको थियो । चुनावबाट ओली पक्षका खगेन्द्र राईले नेपाल पक्षका विश्वनाथ प्याकुरेललाई पराजित गरेर टोली नेता बनेका छन् । त्यस्तै केन्द्रीय सल्लाहकार र जेष्ठ कम्युनिस्ट मञ्चको समूहबाट ओली पक्षका गोपाल शाक्य टोली नेता चयन भएका छन् । केन्द्रीय विभागबाट ओली पक्षका सूर्य थापा टोली नेता बनेका छन् । उनले नेपाल पक्षका विरोध खतिवडालाई पराजित गरे । प्रवास समूहबाट अशोक थापा टोली नेता चुनिएका छन् । उनी नेपाल पक्षका हुन् ।

मिनी निर्वाचन

एमालेका महाधिवेशन प्रतिनिधिहरुले टोली नेताको निर्वाचनलाई पार्टी नेतृत्वको मिनी निर्वाचनको संज्ञा दिएका छन् । अञ्चल-अञ्चलको अलग समूह बनाएर चुनावबाट नेता चयन भएकाले कुन अञ्चलमा कसको पक्ष बहुमतमा छ भन्ने प्रष्ट हुने नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले बताए ।

‘यसले लगभग दृश्य क्लियर गर्छ तर सर्वसम्मत चयन भएका ठाउँको भन्न सकिन्न’ उने भने । ओली पक्षका नेता रामनाथ ढकालले टोली नेता चयनबाटै प्रतिनिधिहरु कसको पक्षमा बढी छन् भन्ने अनुमान लगाउन सकिने बताए । ‘सर्वसम्मत भएका ठाउँमा पनि जसको बहुमत छ उसलाई अर्को पक्षले छाडेको हो’ ढकालले भने ।

आ-आफ्नै दाबी

टोली नेताको निर्वाचनले भावी अध्यक्षको तस्वीर देखाउने भएकाले दुवै पक्षका सम्बन्धित अञ्चलका नेताहरु आ-आफ्नो गुटको टोली नेता जिताउन खटिएका थिए । ओली पक्षले आफू जित्ने ठाउमा सर्वसम्मत गराएर अन्यत्र चुनाव गर्न जोड दिएको नेपाल पक्षको आरोप छ ।

‘उनीहरुले आफ्नो बहुमत भएको ठाउँमा सर्वसम्मत गराए, अलि कन्फ्युज भएका ठाउँमा चुनाव गराएर आफ्नो हैसियत जाँच्न खोजे’ नेपाल पक्षका एक नेताले भने ‘टोली नेतामै ओलीको बहुमत भयो भनेर मनोवैज्ञानिक आतंक सिर्जना गर्न खोजियो’ ।

टोली नेता चयनमा आफ्नो वर्चश्व स्थापित भएपछि ओली पक्ष भने उत्साहित भएको छ । ओली पक्षका नेता राजन भट्टराईले जितेको ठाउँमा धेरै मतको फरक र हारेका ठाउँमा थोरै मतले हारेकाले ओलीको पक्षमा ७० प्रतिशत प्रतिनिधि देखिएको दाबी गरे । तर, नेपाल पक्षका नेताहरुले भने ओली पक्षको दाबीलाई अस्वीकार गरेका छन् ।

‘कतिपय ठाउँमा हामीले सहमतिमा छाड्यौं, तर गलत ढंगले प्रचार भयो’नेपाल पक्षधर प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष दुर्गा शर्माले भने । महाधिवेशन प्रतिनिधि समेत रहेका शर्माले ओली पक्षले योजनावद्ध रुपमा चुनाव गराएको आरोप लगाए ।

हात हालाहाल

चुनाव गराउने कि सर्वसम्मत गराउने भन्ने विवाद हुँदा कतिपय अञ्चलको समूहमा हात हालाहाल समेत भएको थियो । आफूमाथि नेपाल पक्षकाले हात हालेको भन्दै दैलेखका सभासद समेत रहेका लक्ष्मीप्रसाद पोखरेल प्रदीप ज्ञवालीसमक्ष गुनासो गर्न पुगेका थिए । सेती र सगरमाथामा पनि सामान्य हात हालाहाल भएको थियो । नेपाल पक्षका रत्न खत्रीले आफूलाई यमलाल कँडेलले गलहत्याएको गुनासो गरे ।

यस्तै नेपाल पक्षामा रहेका बिष्णु रिजालले आफूलाई ओली पक्षका यमलाल कँडेलले पटक-पटक हातपातको प्रयास गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment