Comments Add Comment

राजदूत बन्ने सहसचिवको नाम मन्त्रीको खल्तीमा

मात्रिका पौडेल

निजामति कर्मचारीहरुका लागि परराष्ट्र मन्त्रालय एउटा सुन्दर ‘सपना’ हो । परराष्ट्र मन्त्रालय सबैको रोजाइ र आकर्षणमा पर्छ । तर, त्यही परराष्ट्र मन्त्रालयका कर्मचारी भने मन्त्रालयमा बस्न पटक्कै रुचाउँदैनन् । उनीहरुको ध्याउन्न जसरी हुन्छ, विदेशस्थित कुटनीतिक नियोगमा पोष्टिङ पार्नेतिर हुने गरेको छ ।mahendra-pandey

मन्त्री नै छक्क

परराष्ट्रका कर्मचारीको विदेश मोह देखेर मन्त्री महेन्द्रबहादुर पाण्डे पनि अचम्मित भएका छन् । ‘परराष्ट्र मन्त्रालयका तलदेखि माथिसम्मको कर्मचारीतन्त्रमा मन्त्रालय बस्नै नचाहने, विदेशतिरै ताक्ने प्रवृति रहेछ’ अनलाइनखबरसँग कुरा गर्दै मन्त्री पाण्डले भने ‘त्यसैले मैले विदेशमा पोष्टिङ तथा नियुक्तिका लागि मापदण्ड निर्धारण गरेको छु’ ।

निश्चित मापदण्ड नहुँदा पहुँच, चाकडी र चलखेलका आधारमा केही व्यक्ति सधैं आकर्षक स्थानमा अड्डा जमाएर बस्ने र त्यसो गर्न नसक्नेहरु मन्त्रालयमै थन्किने अवस्था रहेकाले मापदण्ड बनाउनुपरेको पाण्डेले बताए । ‘मापदण्ड बनाएपछि सबैले अवसर पाउँछन्’ उनले भने । मन्त्री पाण्डेले परराष्ट्र मन्त्रालयका सहसचिवहरुमा मन्त्रालयमा बस्न नचाहने प्रवृत्ति बढी देखिएको अनुभवसमेत सुनाए ।

देश पनि हेर्ने, मुख पनि फेर्ने

‘देश पनि हेरिने मुख पनि फेरिने’ भएकाले सबैको ध्यान मन्त्रालय भन्दा विदेशस्थित नियोगहरुमै जाने हुन्छ’ परराष्ट्र मन्त्रालयका एक पूर्वसचिव भन्छन् ‘अझ अमेरिका, बेलायत वा जेनेभामा जान मारामार नै हुन्छ’ । निश्चित मापदण्ड बनाएर प्रणाली स्थापित गर्न नसकिए परराष्ट्र मन्त्रालयबाट कुटनीतिज्ञ उत्पादन हुनुको साटो कुटिल नीतिज्ञ उत्पादन हुने उनको भनाइ छ ।

जानकारहरुका अनुसार डलरमा तलब पाइने, जहान परिवार उतै लगेर छोराछोरीलाई पढाउन पाइने जस्ता आकर्षणका कारण यस्तो भएको हो । अझ कतिपयले त परिवारका सदस्यलाई कुटनीतिक मर्यादा विपरित ती देशमा जागिर समेत खुवाउने गरेकेा पाइएको छ । ‘कतिपय राजदूतले विदेशमा व्यापार व्यवसाय गरेका र कतिपयले परिवाका सदस्यलाई जागिर खुवाएर देशकै बेइज्जत गरेका छन्’ गैरआवासीय नेपाली संघ डेनमार्कका घनश्याम गौतमले अनलाइनखबरसँग भने ‘कुनै राजदूतले देशको प्रतिनिधित्व गर्लान् भनेको ठाउँमा देशको बेइज्जत समेत गर्छन् कुनै बेला’ ।

राजदूत बन्न हानाथाप

अहिले बिभिन्न १४ देशमा राजदूत खाली छन् । ती मध्ये ६ जना परराष्ट्रका सहसचिवमध्येबाट पठाउने तयारी सरकारले गरेको छ । बाँकी ८ देशमा राजनीतिक नियुृक्तिबाट राजदूत पठाइनेछन् । राजदूत बन्नका लागि पनि सहसचिवहरुबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । मन्त्री पाण्डे भने जति अस्वस्थ प्रतिस्पर्धा गरे पनि मापदण्ड बाहिर गएर कसैलाई सिफारिस नगर्ने बताउँछन् ।

‘करिअर डिप्लोम्याट भने पनि मैले कसले कस्तो काम गर्दा रहेछन् भन्ने हेरिसकेको छु,राजनीतिक नियुक्ति र करिअरवालाको कुनै फरक छैन’पाण्डेले भने ‘जति अस्वस्थ प्रतिस्पर्धा गरे पनि मापदण्ड बनाइएको छ, अब त्यो मापदण्ड अनुसार सिफारिस हुन्छ’ । मन्त्री पाण्डेका अनुसार लामो समय मन्त्रालयमा बसेका, बरिष्ठतामा माथि रहेका, यसअघि धेरै अवसर नपाएका र अवकाशका बेला नजिकिएकाहरुलाई राजदूतमा प्राथमिकता दिइनेछ । ‘मैले राजदूतहरुको प्रस्ताव तयार पारिसकेको छु, प्रधानमन्त्री र शीर्ष तहमा सहमति हुनासाथ राजदूत नियुक्ति हुन्छन्’ पाण्डेले भने ‘कुनै समस्या छैन, मात्रै प्रधानमन्त्रीका कारण अड्किएको हो’ ।

को-को बन्दै छन् राजदूत ?

मन्त्रालय स्रोतका अनुसार राजदूतमा सिफारिस हुने सम्भावित ६ जना सहसचिवको पहिलो सूची बनिसकेको छ । त्यसमा खगनाथ अधिकारी, दीपक धिताल, अम्बिका लुइँटेल, अमृत राई, कालिप्रसाद पोखरेल र अर्जुनकान्त मैनालीको सम्भावना बढी रहेको बताइन्छ । तर, अरु सहसचिवले पनि आफू हुनुपर्ने तर्क सहित लबिङ गरिरहेका छन् ।desire-to-be-a-ammbasador

परराष्ट्र मन्त्रालयका १६ सहसचिवमध्ये बरिष्ठताका आधारमा निमित्त सचिव शंकर बैरागीपछि दोस्रो नम्बरमा खगनाथ अधिकारी छन् । सेवा अधिकारी, कृष्ण ढकाललगायतका सहसचिव विदेशस्थित नियोगमै छन् । मन्त्रालयमा सबैभन्दा बढी बसेकाहरुले आफूलाई बरिष्ठ भन्छन् । त्यसो हुँदा कालिप्रसाद र अर्जुन राईको नम्बर अरुभन्दा माथि हुन्छ ।

यसरी मिल्दैछ सन्तुलन

अर्जुनकान्त मैनाली र अम्बिका लुइँटेलको अवकाशको समय नजिक भएकाले उनीहरुले राजदूतको अवसर पाउनेछन् । सहसचिवहरुबीच प्रतिस्पर्धा भइरहेका बेला मन्त्री पाण्डेले भने सबै सन्तुलन मिलाएर ६ जनाको नाम आफ्नो डायरीमा टिपेका छन् । ‘जाति, क्षेत्र, लिंग र बरिष्ठता सबैलाई आधार बनाइएको छ’ परराष्ट्रका एक उच्च अधिकारीले भने ‘अलि अलि राजनीतिक रंग पनि मिलाइएको छ ।

खगनाथ अधिकारी, कालिप्रसाद पोखरेल र अमृत राई एमाले निकट सहसचिव मानिन्छन् । अर्जुनकान्त र दीपक धिताल कांग्रेसनिकट हुन् । अम्बिकालाई परराष्ट्रका कर्मचारीले कतै नखुलेकी भनेर चिन्छन् । कर्मचारी भन्छन्- जागिरको अवधि सकिन लागेको र महिला भएका कारण उनको विकल्प पनि छैन’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment