Comments Add Comment

आर्थिक क्रान्तिका लागि एमालेमा युवा नेतृत्व

Niraj-achryaनिरज आचार्य

नवौं महाधिवेशन चलिरहेका बेलामा अध्यक्ष क. झलनाथ खनालको राजनीतिक प्रतिवेदन हात परिसकेको छ । राजनीतिक क्रान्ति पुरा गरी आर्थिक क्रान्तिको बाटोमा लम्किनुपर्ने एमालेको अबको बाटो निक्कै उपयुक्त बाटो हो । केही राजनीतिक दलहरुसँग सहकार्य, केहीसँग एकताका कुराहरु पनि आएका छन् । यसमा पनि एमालेको यात्रा निरन्तर कुसल नै हुनेछ । तर, यो राजनीतिक प्रतिवेदनले पार्टीमा लामो समयदेखि काम गरिरहेका युवा नेताहरुको भूमिका, युवाको नेतृत्व र उनीहरुको व्यवस्थापनको विषयमा उल्लेख्य रुपमा कुरा उठ्न सकेको छैन । त्यसकारण युवा प्रतिनिधिहरुले महाधिवेशनमा विचारको नेतृत्व सहित ०४६ को आन्दोलनताका बलिदान गर्ने जुझारु युवा पुस्ताको सहभागीता र निणर्ायक भुमिकाका बारेमा कुरा उठाउन आवश्यक देखिन्छ ।

राष्ट्रको मेरुदण्डका रुपमा रहेको युवा शक्तिको राजनीतिक व्यवस्थापनको टड्कारोे आवश्यकताका प्रश्नहरु उठेका छन् । यो महाधिवेशनमा पनि उठिरहेका छन् । इतिहासले युवा आन्दोलनबाटै कोल्टे फेरेका उदाहरणहरु पर्याप्त बोकेर पनि युवाको सन्दर्भ जहिले पनि सवालमा मात्र सीमित बनेका छौं हामी । नवौं महाधिवेशनको सन्दर्भमा पनि हामीले युवाका मुद्दालाई गहनताका साथ उठाएका छौं र यो महाधिवेशनम युवा नेतृत्व कसरी आउन सक्छ भन्ने प्रश्न पनि उठिरहेको छ । यसबारे विभिन्न तह र नेतृत्वमा पनि अहिले बहस जारी छ । युवा मुद्दा बन्यो, त्यसको समाधानको उपाय कहिलेपनि बन्न सकेन । सृजनशीलता, जोस, परिवर्तनको उत्तोलकका रुपमा परिभाषित भयो तर त्यसको सरल व्यवस्थापनको उदाहरणचाहीँ कहिल्यै बनेको सुन्न पाइएन, युवाशक्ति । नेपालमा भिन्न प्रकारले युवाआन्दोलन भए । अहिलेपनि युवाआन्दोलनकै चरणमा मात्र छ । विभिन्न शासनहरुको पतनका लागि युवा आन्दोलन सशक्त भयो, अहिले आफैंभित्रको आन्दोलनको चरणमा बहसमा सीमित बनेको छ । यो बहस बन्द सत्रभित्र पनि जारी छ, अब उठेको छ ।

नेपालमा युवाआन्दोलको इतिहास लामो छैन । यद्दपि जहाँनिया राणा शासनको दमन शोषण र उत्पीडनका विरुद्ध असंगठितरुपमा पनि युवाहरुले आन्दोलनकेा जेहाद छेडेका थिए । राणा शासक विरुद्ध प्रथम युवा सहिद लखन थापाको विद्रोह होस् या सुब्बा कृष्णालालले मकैको खेती नामक रचनाबाट गरिएको साहित्यीक विद्रोह तथा कवि भानुभक्तको साहित्यीक जागरण अथवा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको वि्रदोह होस्, सवै राणा शासनको विरुद्धमा र प्रजातन्त्रका लागि असंगिठत रुपले गरिएका आन्दोलनहरुका प्रतीक मानिन्छन् । अरु पनि थुप्रै ब्यक्तिहरुले विभिन्न रुप, शैली र तरिकाबाट आन्दोलनहरु गरेका थिए । प्रचण्ड गोर्खा र जयतु संस्कृतम् जस्ता आन्दोलनका नामबाट केही युवाहरुले संगठित आन्देालनको आरम्भ गर्ने कोशिष गरेका थिए । त्यस्ता आन्दोलनहरुको प्रेरणाले नेपाल प्रजापरिषद्, राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसको गठन होस् या २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना र २००७ सालको क्रान्ति यी सवै तत्कालिन युवाहरुकेा साहस, अगुवाई र पहलकदमीका गतिला परिणामहरु थिए ।

राजनीतिक ब्यवस्था परिवर्तनका आन्दोलनहरुमा युवाहरु सामेल भए, अगुवाई गरे, सहादत प्राप्त गरे, फाँसीमा परे, जेल बसे, घाईते भए । तर पनि युवाहरुको हक हितका लागि काम गर्ने छुट्टै संगठनहरु थिएनन् । युवाको हक हित र सरोकारका सवालमा काम गर्ने युवा संगठनको महसुश गरेर कमरेड पुष्पलालको अगुवाईमा २००८ सालमा युवक संघको गठन गरियो । २०१० सालमा विपि कोईरालालको अगुवाईमा तरुण दलको स्थापना भयो भने २०११ सालमा अखिल नेपाल विद्यार्थी फेडेरशन, २०१४ सालमा हिरण्यलाल श्रेष्ठको संयोजकत्वमा युवा कम्युनिष्ट लिगको स्थापना गरेर संगठित युवा आन्दोलनको शुरुवात गरिएको थियो ।

२०२८ सालमा झापा विद्रेाहकालीन अवस्थामा गठन र परिचालन भएको रेडगार्ड र २०२२ सालमा स्थापना भएको अनेरास्ववियुले गरेको आन्दोलनको जगमा भएको २०३६ को विद्यार्थिआन्दोलनले पञ्चायतको जग हल्लाउने काम गर्‍योे । परिणामतः पञ्चायती शासकले २०३६ सालमा जनमत संग्रह गर्न वाध्य भयो वहुदल पक्षलाई जवर्जस्त हराईए पनि त्यो पञ्चायती ब्यवस्था मक्किसकेको थियो । २०३६ को युवा तथा विद्यार्थी आन्दोलनको बीरासतको जगमा उठेको २०४६ को जनाआन्दोलनमा हजारौं युवाहरु अग्रीम मोर्चामा सामेल भएका थिए । सोही आन्दोलनले पञ्चायती ब्यवस्थालाई सदाका लागि अन्त्य गरेर मुलुकमा वहुदलीय ब्यवस्थाको स्थापनाको आधारभुमि खडा गरेकोे थियो । यसबीचमा पनि ००७ साल अघिका नेताहरुले पार्टी, सरकार र सत्तामा बसेर युवा परिचालन गरे । उनीहरुको जोस र जाँगरको आधारमा नेतृत्वमा पुर्‍याउन र सहयोग गर्ने बाटो खुल्न सकेको थिएन । ०५८ देखि ज्ञानेन्द्र शाहले जब सत्ता हत्याए अनि पाका राजनीतिक दलका नेताहरुले दल र सत्ता र व्यवस्था नै हल्लिने भएपछि सारा युवालाई आन्दोलनमा उतारे । ०६२/६३ को आन्दोलनमा युवा, विद्यार्थी सवै मोर्चामा उभिए, कतिले सहादत प्राप्त गरे र मुलुक संविधानसभाको निर्वाचनबाट गणतन्त्र नेपालमा औपचारिक रुपमा प्रवेश गरेको थियो ।

राजनीतिमा नलागे पनि राजनीतिक सचेतनता राख्नुपर्दछ तर यस्तो सचेतनताभन्दा आफ्नो भविष्यप्रति युवाहरू बढी नै आकषिर्त छन् । यसले असल प्राविधिक, प्रशासक तथा व्यवस्थापक त मुलुकले पाउन सक्छ तर असल राजनीतिज्ञको अभाव वा अनुपस्थितिमा गलत शासकबाट भावीपुस्ताले शासित हुनुपर्ने सम्भावना बढिरहेको छ । त्यसकारण राजनीतिक रुपमा पनि हर व्यावसायीक युवाहरुको भुमिका सवल बनाउनका लागि युवा सरोकारको आन्दोलन व्यवासायीक रुपमा अघि बढ्नुपर्दछ । राजनीतिक क्रान्तिले मुलतः आर्थिक क्रान्तिको कडीलाई समात्न सकेको अवस्था छैन । राजनीतिक क्रान्तिजस्तो अलि सजिलो र छिटो सम्पन्न गर्न नसकिने आर्थिक क्रान्तिको बाटो पहिल्याउन र योजना बनाउन राजनीतिक दलहरू र तिनका नेताहरू चुकेकै कारण अहिले युवा आन्दोलन कतै अलमलिएको जस्तो भान हुन्छ । दलहरूमा नयाँ युवाहरूको राजनीतिक भर्नाक्रम सन्तोषजनक देखिएको छैन । युवाहरूको अनुपस्थितिले ती दल र सङ्घहरूमा युवासुलभ गतिशीलता कम हुन जान्छ । अहिले सृजनात्मक भन्दापनि अपराधीकरणतिर उन्मुख भएका युवालाई मुख्यधारको राजनीतिमा तान्नका लागि विशेष कार्यक्रमको आवश्यकता देखिएको छ ।सवैभन्दा जटिल प्र्रश्न भनेकै विदेशीएका युवाहरुको रोजगारी, उनीहरुको सहज व्यवस्थापन बनेको छ । यो मामलामा युवा संघ अथवा राजनीतिक संगठनहरुको भुमिका त्यति प्रभावकारी बन्न सकेको छैन । विदेशिएका युवालाई आफ्नै मुलुकमा श्रम गर्ने वातावरण बनाउनका लागि युवा सहकारी लगायतका विभिन्न कार्यक्रम तत्काल ल्याउनुपर्ने देखिएको छ ।

युवाको योगदानबाट यो ठूलो राजनीतिक क्रान्ति पुरा भएको तर आर्थिक क्रान्ति सुरु नभइसकेको अवस्थामा छौं हामी । जंगलतिर रहेका दलहरु सहरतिर आए, सत्तामा पुगे, यथास्थितिवादी दलहरु ग्णतन्त्र स्वीकार्न बाध्य भए र नेकपा एमालेले त्यसको संयोजन र सम्बर्द्धन गरेको थियो । राजनीतिक क्रान्ति पुरा भए पनि आर्थिक क्रान्तिका लागि एमालेको मूल मन्त्रलाई पुरा गर्ने दायित्व र सामथ्र्य युवा नेतृत्वबाट मात्रै सम्भव छ । पार्टीका अगुवा नेताहरुको नेतृत्वमा राजनीतिक क्रान्ति पुरा भयो, अब आर्थिक क्रान्तिको बाटो पहिल्याउने र त्यसमा सहभागीता जनाएर आर्थिक उन्नतीका लागि योगदान दिने जिम्मा पार्टीभित्रैबाट सुरु हुनुपर्छ । खासगरी यो महाधिवेशनले पुरा गर्नुपर्छ, युवा नेतृत्व ल्याएर ।

महाधिवेशनले पाका र अनुभवी नेतालाई पनि समेट्ने र आर्थिक र उत्पादनको बाटोमा युवा नेतृत्वको टिमबाट नयाँ र परिवर्तित उदाहरणीय एमाले निर्माण गर्ने मौका पाएको छ । यो मौकालाई खेर फाल्नु हुँदैन । आर्थिक क्रान्ति त्यतिबेला मात्र सम्भव हुनेछ जतिवेला युवा शक्ति पार्टी र राज्यको हर निणर्ायक भुमिकामा पुग्नेछन् । शताव्दि सुहाउँदो, प्रविधि सुहाउँदो र परिवर्तित नेतृत्व सहित समृद्धशाली एमाले निर्माणका लागि युवा टिमलाई केन्द्रमा राख्दै पाका टिमहरुलाई पनि व्यवस्थापनको पाटो खोजौं ।

नेतृत्व हस्तान्तरणका नाममा पार्टीलाई फेरि पनि पाँच वर्षसम्म जाम गरेर युवा शक्तिलाई केन्द्रमा आउन नदिने पाटोतिर लाग्नु हुँदैन । जबसम्म नेतृत्व हुँदैन, तबसम्म निर्माण र उत्पादनमा हात हाल्न सक्ने वैधानिकता प्राप्त हुँदैन । सोचमा नयाँ, व्यवाहार र योजनामा नयाँ युवा नेतृत्व महाधिवेशनबाट आउन सक्छ, मौका छ । अवसरको प्रयोग गर्नैपर्छ । पुराना र पाका नेतालाई सल्लाहकारका रुपमा राखेर यो महाधिवेशनले नयाँ युवा पुस्ताको नेतृत्व केन्द्रीय समितिमा ल्याए बहुसंख्यक र बहुमत रुपमा रहेका नेपाली कम्युनिष्टहरुका लागि ठूलो पाठमात्र हुनेछैन, एउटा एमालेको परिवर्तनले सारा मुलुक हाँक्ने सवै दलमा परिवर्तनको लहर चल्नेछ र मुलुकको सवैक्षेत्रमा युवा नेतृत्व र सृजनशीलता कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment