Comments Add Comment

विश्वकप इतिहासमै ब्राजिलको लज्जास्पद हार, जर्मनी फाइनलमा

Miroslav-Klose-1

२५ असार, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले जर्मनीविरुद्धको सेमिफाइनलमा विश्वकप फुटबलकै इतिहासमा लज्जास्पद हार व्यहोरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा घरेलु टोलीविरुद्ध गोलको वर्षा गरेको जर्मनी भने ७-१ को जितका साथ फाइनलमा पुगेको छ ।

विश्वकपको सबै संस्करण खेल्ने एक मात्र ब्राजिलले यसअघि १९८० मा उरुग्वेसँग ६-० को हार व्यहारेको थियो । जर्मनी २००२ पछि पहिलो पटक पटक फाइनलमा पुगेको हो ।

स्टार स्ट्राइकर नेयमार घाइते भएपछि निकै कमजोर देखिएको ब्राजिलले पहिलो हाफमा पाँच गोल खाएको थियो । उसको डिफेन्समा कप्तान थिएगो सिल्भाको अभाव खडि्कएको थियो । दोहोरो पहेालो कार्डकारण उनले सेमिफाइनल गुमाए ।

Brazil

खेलको ११ औं मिनेटमा थोमस मुलरले गोल गर्दै जर्मनीको खाता खोले । टोनी क्रुसको कर्नरमा उनले सेन्टर बक्सबाट भली गोल गरे । ब्राजिल विश्वकपमा उनको यो पााचौ गोल हो ।

खेलको २२ औं मिनेटमा मिरोस्लाभ क्लोजले अग्रता दोब्बर पारे । यो उनको कीर्तिमानी गोल समेत थियो । उनले ब्राजिलका पूर्व स्टार रोनाल्डोको नाममा रहेको १५ गोलको कीर्तिमान भंग गरे । क्लोजले विश्वकपमा सर्वाधिक १६ गोल गरे ।

२४ र २६ औं मिनेटमा टोनी क्रुजले लगातार दुई गोल गरे भने २९ औं मिनेटमा सामी खेदेराले गोल गरेपछि जर्मनीले पहिलो हाफमा ५ गोलको अग्रता लिएको छ । जर्मनीले क्लोजको गोलको ६ मिनेटमा चार गोल गर्‍यो ।

दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको ब्राजिलले सुरुवातमा केही राम्रा मुभ बनाएपनि गोल गर्न सकेन । ब्राजिलियन टोलीमा गोल स्कोरर नेयमारको अभाव प्रष्ट देखिएको थियो । ओस्कार, पाउलिन्हो र रामिरेजको प्रहार जर्मन गोलकिपरले रोके ।

कमजोर डिफेन्सको फाइदा उठाउँदै ६९ औं मिनेटमा जर्मनीका आन्द्रे सुर्लेले गोल गरे । उनले कप्तान फिलिप लाहमको पासमा तीन डिफेण्डरको बीचबाट क्लोज रेन्ज गोल गरे । ७९ औं मिनेटमा सुर्लेको प्रहार बारमा लागेर गोलमा परिणत हुादा जर्मनीले ७-० को फराकिलो अग्रता कायम गर्‍यो ।

खेलको ८४ औं मिनेटमा ब्राजिलका रामिरेजको प्रहार जर्मन गोलरक्षक नुयुरले बचाए भने ८९ औं मिनेटमा ओस्कार चुके । लगतै बर्नार्डको प्रहार निकै आकासियो । काउन्टरमा राम्रो बल लगेको जर्मनीका ओजिलको प्रहार फ्रेममा पर्न सकेन ।

खेलको अन्तिममा ब्राजिलका ओस्कारले गोल गरेपनि निकै ढिला भइसकेको थियो र घरेलु टोलीविरुद्ध ७-१ को जितका साथ जर्मन फाइनलमा प्रवेश गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment