Comments Add Comment

‘नेपालको फोटो छैन’ भन्दै पुस्तक वितरणमा माधवका भाइको अवरोध

२५ असार, काठमाडौं । नेकपा एमाले महाधिवेशनको बन्दसत्रमा राजेन्द्र राईको पुस्तक च्यातिएको छैटौं दिन बुधबार अर्को पुस्तिका वितरणमा पनि अवरोध सिर्जना भएको छ । एमाले प्रचार विभागले महाधिवेशनका सन्दर्भमा निकालेको उद्घोष नामको पुस्तिका वितरणमा माधव नेपालका भाइ सरोज उपाध्यायले अवरोध सिर्जना गरेको प्रचार उपसमितिका सदस्यले बताए ।

saroj-upadhyayaओली पक्षको प्रचार सामाग्री भएकाले आफूले बन्दसत्रमा बाँड्न पाइँदैन भनेर रोकेको उपाध्यायले बताए । बन्दसत्रभित्र वितरण गर्न लैजाँदै गर्दा नेपाल पक्षधरहरुले रोकेका थिए । त्यसपछि घटनास्थलमा पुगेका माधव नेपालका भाइले ‘यसमा माधव नेपालको फोटो छैन, यो वितरण गर्न पाइँदैन’ भनेर अवरोध सिर्जना गरेका थिए ।

तर, अध्यक्ष मण्डलले भने प्रचार बिभागले निकालेको पुस्तिकालाई एक पक्षको भन्न नमिल्ने भन्दै प्रतिनिधिहरुलाई बाँड्न अनुमति दिएको छ । पुस्तकमा उपाध्यायले भने जस्तो नभइ माधव नेपालको तस्वीर समेत भेटिएको छ ।

प्रचार विभाग सचिव तथा पुस्तिकका सम्पादक सूर्य थापाले भने-‘त्यो कुनै बिचार समूहको पत्रिका होइन, आधिकारिक प्रकाशन हो, अहिले हलमा वितरण हुँदैछ’ थापाले भने । महाधिवेशनको प्रचार उपसमितिले आधिकारिक रुपमा निकालेको सामाग्री बाँड्न कसैले अवरोध गर्न नसक्ने उनको भनाइ छ । उद्घोषमा माधव नेपाल र केपी ओली दुबैका भनाइ तथा सामाग्री प्रकाशन भएका छन् । त्यस्तै अध्यक्ष झलनाथ खनालको विशेष अन्तर्वार्ता प्रकाशित गरिएको छ ।

देशभरिका सबै महाधिवेशन प्रतिनिधिहरुको नामावलीसहितको प्रकाशनमा महाधिवेशनका सन्दर्भका सामाग्री र फोटोहरु प्रकाशित गरिएका छन् । बन्द सत्रको शुरुमै अनाधिकृत रुपमा वितरीत पुस्तक च्यातेर अवरोध सिर्जना भएपछि अध्यक्ष मण्डलको स्वीकृति बिना कुनै पनि पत्रपत्रिका, पुस्तकहरु वितरणमा रोक लगाइएको स्वयंसेवकहरुले बताएका छन् ।

यसैबीच मंगलबार साँझ राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा केपी ओलीको पुस्तक निशुल्करुपमा बाँडिएको थियो । साथै युवा संघ मोरङ-काठमाडौं मञ्चले प्रकाशन गरेको ‘युवा सन्देश’ ओली समूहको कार्यक्रममा बाँडिएको थियो । महेश बूनेत सल्लाहकार रहेको यो पत्रिकामा पर्शुराम बस्नेतसमेत सम्पादन सहयोगी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment