Comments Add Comment

मेस्सीको जर्सीभन्दा मच्छिन्द्रनाथको भोटो ठीक !

subas-koirala– सुवास कोइराला

अहिले बिश्वकप फुटबलको २०औ संस्करण ब्राजिलमा चलिरहेको छ । यसमा छनौटका विभिन्न चरण पार गरेर ३२ वटा राष्ट्र सहभागी भएका छन् । यो खेलको रौनक सहभागी राष्ट्रमा त्यति छ कि छैन थाहा छैन तर, नेपालमा अति देखिएको छ । के काठमाडौं, के मोफसल,के गाउँ जताततै पहेंला, राता, निला, सेता र सेतो निलो धर्के जर्सी लगाउनेहरुको एक प्रकारको जुलुस नै देखिन्छ,बिशेष गरेर युवा पुस्तामा । हाल आएर खेल मनोरञ्जन मात्र नभएर प्रत्यक्ष राष्ट्रियता सँग जोडिएको बिषय पनि हो ।तर,अहिलेको हाम्रो देशको युवा पुस्ता र फुटबलका नेपाली समर्थक हेर्दा यस्तो लाग्छ-‘खेल सबथोक हो र क्षेत्रीयता, राष्ट्रियता भन्ने चिज केवल मजाकको बिषय हो ।

‘ब्राजिलमा बिश्वकप २०१४ को उद्घाटन हुँदै गर्दा ब्राजिलको राष्ट्रिय झन्डा बोकेर सडक जाम गर्दै सयौको संख्यामा जुलुस निस्किए हाम्रो देशका विभिन्न शहरहरुमा । राष्ट्रियतामाथि योभन्दा ठूलो मजाक के हुन सक्छ ? हाम्रो युवा पुस्ताको ।

कुनै देशको खेल/खेलाडी मलार्इ मनपर्छ भन्नु र त्यसको समर्थन गर्नु सामान्य कुरा हो र ब्यक्तिगत स्वतन्त्रता पनि । तर, कसैको समर्थन गर्ने नाममा त्यही देशको झन्डा बोकेर महंगो पेट्रोलको सत्यनास गर्दै फलानो देश जिन्दावाद भन्दै हिंड्नुको अर्थ के हुन्छ ? यो देशको युवा पुस्ताले राष्ट्रिय झन्डाको अर्थ र महत्व बुझ्छ कि बुझ्दैन ?अनि इतिहासको अध्यन गर्छ कि गर्दैन ? उसले हेरेको छ बिश्वको मानचित्र ? कहाँ पर्छ ब्राजिल ? कहाँनेर छ अर्जेन्टिना ? इरानभन्दा नजिक कि टाढा । दक्षिण कोरिया भन्दा कता ? कहाँ छ स्पेन ? जपान भन्दा पनि नजिक छ ?

के साइनो छ हाम्रो, ब्राजिलसँग ? मावली कि ससुराली ? के त्यो पहेलो जर्सी हाम्रो राष्ट्रिय पोसाक हो ? के सहयोग, सदभाव छ ब्राजिलको हाम्रो राष्ट्रलाई र हामी ब्राजिलको पक्षमा यति मरिहत्ते गरिरहेका छौ ? ओ ! युवा पुस्ता तिमिलार्इ थाहा छ फोकल्याण्डको युद्धमा गोर्खालीसँग नराम्रो हारेपछि अझै पनि अर्जेन्टिनीहरु गोर्खालीलार्इ अति घृणाको दृश्टिले हेर्छन् । अर्जेन्टिनामा बिश्वका धेरै राष्ट्रको दूतावास छ, धेरै देशले हाम्रो देशको गरिबी र अभाव हटाउन हातेमालो गरेका छन् । तर, अर्जेन्टिना र ब्राजिलमा नेपालकाे नाम कतै नाम सुनिँदैन । के तीदेशलार्इ नेपाल भन्ने देश छ भन्ने थाहा होला ? अनि तिमीले लगाएको पहेलो र नीलो सेतो धर्के जर्सीको बारेमा पत्तो होला त ?

यहाँनिर फुटबललाई अनावश्यक राष्ट्रियतासंग जोड्यो भन्ने लाग्न सक्छ, तर कुरा राम्रो र व्यवसायिक फुटबल खेल्नेको समर्थन गर्ने हो भने पनि अहिले हामीले जर्सी आतंक फैलाएका भन्दा फरक र हाम्रो देशलार्इ प्रत्यक्ष सहयोग गर्ने धेरै मुलुकहरु छन्, तिनलार्इ समर्थन गराैं न । जस्तो कि- जर्मन,स्विजरल्याण्ड,फ्रान्स, इङ्ल्याण्ड,नेदरल्यान्ड आदि । तर, हामी नाता न साइनोका ब्राजिल, अर्जेन्टिना भन्दै बुर्कुशी मारिरहेका छौं र फैलाइरहेका छौं जर्शी र झण्डाकाे आतंक ।

मैले यसो भनिरहँदा कुनै देशको खेलको बिशुद्ध समर्थनगर्नु राष्ट्रघात हो भन्न खोजेको चाहिँ हैन ।खेललार्इ बिशुद्ध खेलकै रुपमा बुझेर त्यो देशका खेलाडीहरुले देखाएको प्रदर्शनको आधारमा मुल्यांकन गर्दै समर्थन र बिरोध गर्नेसँग मेरो गुनासो पनि हैन । तर एक चरणका प्राय सबै खेल हेरिसक्दा पाकेको केरा रङको जर्सी लाउने ब्राजिल र फोकल्याण्डमा हामीसँग युद्ध हारेको अर्जेन्टिना दुबैको खेल धेरै स्तरीय देखिएन । यसो हुँदाहुँदै पनि हामी बाँकी ३० देशको खेल हेरेर मूल्यांकन गर्दै खेललार्इ खेलकै रुपमा बुझ्नपट्टि लागेनौं । बरु बर्षौदेखि हामिलार्इ जे कण्ठ थियो, त्यही गरर्यौ ।जसको झण्डा बोक्दै आएका थियौ उसैको बोक्यौ । भेडोझै एकोहोरो लहैलहैमा एउटैको पक्षमा लागिरहयौं । हामीले कमजोर ठानिएका/भनिएकाहरु पनि बलिया भए कि भनेर तिनीहरुको खेल हेर्ने धैर्य कहिल्यै गरेनौं । हामी शक्तिका पुजारी बनिरह्यौं ।

तर, मित्रहरु समय बद्लिसकेको छ । स्पेनलार्इ चिलीले ठेगानलगाइसक्यो । इङ्लेण्ड औपचारिकताका लागि खेल्दै छ । इरानले अर्जेन्टिनालाई हामी नै काफी छौ भनिसक्यो । मेक्सिकोले ब्राजिललार्इ धुलो चटाएर देखाइसक्यो । जर्मनसँग घानाले अंक बराबर गरौं भनेर हिसाब मागिसक्यो । सिंह भनिएको इटालीलाई स्याल ठानिएको कोस्टारिकाले पछार्यो । बेल्जियम आँधी झै अघि बढ्यो । अल्जेरिया,बोस्निया, नाइजेरिया,स्विजरल्याण्ड, क्रोसियाहरु डन भनिएकाहरुलासर्इ कुरी-कुरी गर्दै अगाडि बढे। ब्राजिल जर्मनीसँग लज्जास्पद ढंगले हार्यो ।

दुनियाँ गतिशील छ । खेलमा नयाँ राष्ट्रहरुले क्रान्ति गरिसके,परिवर्तनको छनक दिइसके। तर, हामीले कहिल्यै खेलको स्तर हेरेर समर्थन र बिरोध गर्न सिकेनौं । कहिल्यै खेललार्इ राष्ट्रियतासँग तौलेर हेर्न सकेनौं ।

अंग्रेजी शब्द ‘फ्यान’ को नेपालीमा दुइटा अर्थ लाग्छ , एउटा समर्थक र अर्को हावा फाल्ने साधन । हामी अहिले जे गरिरहेका छौं, त्यसबाट मुल्यांकन गर्ने हो भने हामी दोस्रो अर्थको लागि योग्य छौ । हामी समर्थक कम र हावा बढी भएका छौं । यो सबै हेर्दा त यस्तो लाग्छ ,हामी फेरि एकपटक भुपी को कविताको एउटा अंशलार्इ अक्षरश पालना गर्न गैरहेका छौं -“यो हल्लै हल्लाको देश हो ” ।

यहाँनेर यति धेरै राष्ट्रियताको कुरा गर्नु जरुरी थिएन भन्ने तर्क पनि आउन सक्छ, त्यो केहि हदसम्म सही पनि होला । तर, यो बिशुद्द खेलसँग मात्र जोडिएर आएको बिषय होइन, यो त अहिलेको हाम्रो देशको उदाउँदो पुस्ताको बिचार र नियतले लेख्न बाध्य बनाएको विषय हो । जब देशको युवा पुस्ता नियतवस खल्तिमा पासपोर्ट बोकेर अरुको देशको नागरिकता पाउनलार्इ मरिहत्ते गर्छ र देशलार्इ गाली गर्दै विदेश पलायन हुन्छ, त्यो बेला राष्ट्रियताको कुरा गर्ने कि नगर्ने ? जब देशको राष्ट्रसेवक भनिएको कर्मचारी बिदेशी पि.आर. सिरानीमुनि राखेर यो देशबाट सेवा सुबिधा हसुरिरहन्छ भने त्यहाँनेर राष्ट्रियता खोज्ने कि नखोज्ने ? जब देशका बुज्रुक भनाउँदाहरु डि.भि. परेर अमेरिका जानुलार्इ सबभन्दा ठूलो भाग्य ठान्छन् भने तिनमा राष्ट्रियता खोज्नुजरुरी छ कि छैन ?

‘सत्य सेवा सुरक्षणम’ को कसम खाएको प्रहरीको उच्च ओहदाकोबहालवाला कर्मचारी डि.भि.मा अमेरिका गएर सामान्य कम्पनीमा सेक्युरिटी गार्डको काम गर्न तयार हुन्छ र पहिले आफुले तल्लो दर्जाका कर्मचारीबाट खाएको सलाम भटाभट अमेरिकीलार्इ फिर्ता गर्छ भने त्यहाँनेर स्वाभिमानको कुरा गर्दा अपराध हुन्छ र ?

जब खेलका नाममा युवा पुस्ता बिदेशी झन्डा बोकेर हावादारी नारा लगाउँदै बेपत्ता शहर घुम्छ र राष्ट्रियताको खिल्ली उडाउँछ भने मैले त्यो गलत हो भन्न पाउने कि नपाउने ? जब पढेलेखेका भनाउँदाहरु अफिसका टेबलमा, घरको छतमा, मोटरसाइकलमा, गाडीमा, स्कुले नानीहरुको झोलामा अरु नै देशको झन्डा राखेर राष्ट्रियताको खिल्ली उडाइरहन्छन् भने, त्यहाँ अर्को युवा बोल्नु जरुरी छ कि छैन ?

खेल सामान्य कुरा हो र यहाँ प्रस्तुत गरेको कुरा उदाहरण मात्रै हो । हाम्रो देशको युवा पुस्ता, अझ भनौं टीन एजर पुस्तालाई राष्ट्रियता भनेको राजनीति मात्र हैन भनेर सिकाउनु जरुरी छ । उदाहरण को लागि , जब एउटा युवा हेर्दै नहेरी ‘नेपाली चलचित्र राम्रो हुदैन’ भन्दै हलमा जाँदैन अनि हिन्दी चलचित्र चाहिँ लाग्ने बित्तिकै सबै हेर्छ भने उसलार्इ सिकाउनु जरुरी छ कि -चलचित्र पनि राष्ट्रियतासँग जोडिएको बिषय हो भनेर । अघिल्लो बर्ष साँघुरो, झोला लगायत धेरै राम्रा नेपाली चलचित्र बनेका थिए जसमध्ये साँघुरो र झोलाले त अन्तर्राष्ट्रिय स्तरको अवार्ड पनि पाए । तर, ती चलचित्रले आफ्नाे लागानी पनि उठाउन सकेनन् । त्यही बेला चलेका ‘रामलिला’ ‘दबंग’ जस्ता के के हावादारी हिन्दी चलचित्रले भने करोडौं पैसा लिएर गए ।

मेरो आसय हल्लै हल्लाको पछि दौडेको युवा पुस्तालाई यहाँनेर चलचित्रमा पनि राष्ट्रियतासँग जोडिएको बिषय हो भनेर सिकाउनु जरुरी छ भन्ने हो ।यस्ता धेरै क्षेत्र छन् जहाँ जहाँ हामी चुकेका छौं, त्यहीँबाट खोज्नु जरुरी छ राष्ट्रियता ।

र अन्तमा, हामी दुइथरि मान्छे छौं -एकथरि शहरका चिया पसलमा बसेर देशलार्इ/नेतालार्इ गाली मात्र गर्ने र अर्कोथरि बिदेशमा बस्ने, उसकै देशको नागरिकता भिर्ने अनि फेसबुक र टुइटरका भित्तामा चर्को राष्ट्रियता फलाक्ने । कुरो यति हो – हामीले नयाँ पुस्तालार्इ राष्ट्रियता भनेको नेताहरुको ठेक्काको बिषय मात्रै होइन, यो त हामी सबैको कर्तव्य हो अनि यो राजनीतिमा मात्र लागू हुने बिषय होइन,देश भित्रका सामान्य भन्दा सामान्य बिषयमा पनि लागू हुन्छ भनेर सिकाएनौं भने पछिल्लो पुस्ताले सोध्न सक्छ- ‘बा ! मच्छिन्द्रनाथको भोटो भनेको मेस्सीको जर्सीभन्दा पनि इम्पोर्टेन्ट हो ?’ भनेर । चेतना भया !

(यो लेखकको  व्यक्तिगत विचार हो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment