Comments Add Comment

अंशुवर्माको अभिलेख एवम् लिच्छवीकालीन सम्पदाको संरक्षण सुरु

२६ असार, भक्तपुर । भक्तपुरको झौखेल-७ र ९ मा यत्रतत्र छरिएर रहेका शिवदेव अंशुवर्माको अभिलेख एवम् लिच्छवीकालीन बौद्ध चैत्यलगायतका सम्पदाको संरक्षण सुरु गरिएको छ ।

गत चैत महिनामा यत्रतत्र छरिएको अवस्थामा भेटिएका सम्पदा सङ्कलन गरी संरक्षण गर्न पुरातत्व विभाग दरबार हेरचाह तथा संरक्षण कार्यालयले भक्तपुरसहितको टोलीले बुधबार त्यस स्थानमा गएर लगत सङ्कलन गरेको छ ।कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले यस क्षेत्रमा भेटिएका सम्पदाको लगत लिएको र भोलिदेखि नै छरपष्ट सम्पदाहरु सङ्कलन गरी प्रतिस्थापन गरिने बताए । यसका लागि ५० हजार बजेट विनियोजन भएको बताउँदै उनले एक साताभित्र सबै सम्पदालाई एकै ठाउँमा सङ्कलन गरी प्रतिस्थापन गरिने जानकारी दिए ।

प्राचीन झौखेल ढुङ्गेधारासँगै बाटो किनारामा भासिएर हराउने अवस्थामा रहेको गाविसमै फेला परेको पहिलो अभिलेख, धारासँगै बाटोको पूर्व किनारामा अपूर्ण अवस्थामा जीर्ण रहेको लिच्छवीकालीन चैत्य, सँगै पूजा गरिएको अवस्थामा भेटिएको गणेशको मूर्ति, चैत्य, बसाहा, धाराको पश्चिमतिर एक घरको प्रवेशद्वारमै चौकुने आधार पेटिकासहितको अर्धगोलाकार गर्भमात्र बचेको अवस्थामा अर्को चैत्य भेटिएको छ ।

सोही घरको पछाडि गोठमा गाईभैँसीको मल खाल्डोमा भेटिएको इस्वीको पाँचाैँ या छैटाैँ शताब्दीको मानिएको अशोक चैत्यलगायतका सम्पदाको सङ्कलन गरेर एकै ठाउँमा राखेर संरक्षण गरिने भएको श्रेष्ठले जानकारी दिए । मल खाल्डोमा फालिएको अवस्थामा भेटिएको पञ्चध्यानी बुद्धको मूर्ति, चैत्यहरु लगायतलाई झौखेलधारामा पुनः स्थापन गरेर संरक्षण गरिने भएको हो । धारामा भगीरथ मूर्ति रहे पनि धारासँगै पश्चिमपट्टी खेतमा रहेको मध्यकालीन शिलापत्र हराएको छ ।

यहाँ भेटिएको सम्पदाका अनुसार झौखेल गाविस परापूर्वकालमा माथिल्लो प्राचीन सहर रहेको पुष्टि हुने इतिहासविद् एवम् संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । भेटिएको अभिलेखअनुसार झौखेलमा रहेको पुरानो सहरको नाम ‘थंखोपृंसतलद्रङ्ग’ रहेको पुष्टि हुने उनको भनाइ थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment