Comments Add Comment

बीमा संस्थानका प्रशासक रामबहादुर खड्काले राजीनामा दिए

पुष्प दुलाल

२६ असार काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानका प्रशासक रामबहादुर खड्काले राजीनामा दिएका छन् । मंगलबार संस्थानको सञ्चालक समितिलाई राजीनामा पत्र बुझाएको खड्काले अनलाईनखबरलाई जानकारी दिए । खुल्ला प्रतिस्पर्धाका आधारमा तीन वर्षका लागि नियुक्ति भएका खड्काले १५ महिनामै राजिनामा दिएका हुन् । संस्थान निर्देशन बोर्डको सिफारिसमा नियुक्त भएका सार्वजानिक संस्थानका कार्यकारी प्रमुखको यो पहिलो राजीनामा हो ।

Ram-Bahadur-Thapaसार्वजनिक संस्थामा भएको राजनीतिकरण र भ्रष्टाचारको अन्त्य गर्न डा. बाबुराम भट्टराईको सरकारले संस्थान निर्देशन बोर्ड गठन गरि संस्थानहरुमा खुल्ला प्रतिस्र्धाका आधारमा कार्यकारी प्रमुख नियुक्तको सुरु गरेको थियो । निर्देशन बोर्डले गराएको लिखित र मौखिक परिक्षामा ‘राम्रो विजनेस प्लान’ प्रस्तुत गरेपछि नियुक्तिका लागि बोर्डले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये मन्त्रीपरिषदले खड्कालाई नियुक्ति गरेको थियो । उनको राजीनामा पनि मन्त्रिपरिषदले नै स्वीकृत गर्नुपर्ने हुन्छ ।

किन दिए खड्काले राजिनामा ?

किन राजीनामा दिनुभएको भन्ने अनलाईनखबरको प्रश्नमा खड्काले ‘संस्थागतरुपमा काम गर्न नपाएपछि राजिनामा दिएको’ बताए । त्यसबाहेक उनले राजिनामाको विषयमा केही बोल्न चाहेनन । संस्थान सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर सिंहले भने कर्मचारीले अनावश्यक दवाव दिएपछि खड्काले राजिनामा दिएको बताए । ‘कर्मचारीले संस्थालाई प्रणालीमा ल्याउन दिएनन र जहिल्यै सेवा सुविधा मागेर आन्दोलन गरिरहे’ सिंहले भने -कर्मचारीको अनावश्यक बखेडा थेग्न नसकेर उहाँले राजिनामा दिनुभएको हो ।

कर्मचारीले काम गर्ने वातावरण नबनाएपछि खड्काले राजीनामा दिएको संस्थान निर्देशन बोर्डका अध्यक्ष बिमल वाग्लेले बताए । ‘रामबहादुरजी वातावरण पाए काम गर्न सक्ने क्षमतावान र इमानदार मान्छे हो’ उनले भने । अर्थ मन्त्रालयका संस्थान हेर्ने एक अधिकारी भन्छन् -उहाँले लेखापरिक्षण गराउँछु र प्रोभिजनिङ गर्छु भन्नुभएको थियो । प्रोभिजनिङ गर्दा बोनस खान नपाईने भएपछि कर्मचारी संगठनहरुले उहाँलाई टिक्नै दिएनन् ।’ ती अधिकारीले संस्थानमा ट्रेड युनियन खारेज नगरेसम्म व्यवसायिकरुपले चल्न नसक्ने ठोकुवा गरे ।

के-के गरे खड्काले ?

१५ महिना कार्यकारी प्रमुख रहँदा खड्काले थुप्रै सुधारका प्रयासहरु गरेको अध्यक्ष सिंह बताउँछन् । ‘संस्थानको आन्तरिक लेखापरिक्षण र लगानी व्यवस्थापन संस्थागत बनाउन ठूलो प्रयास गर्नुभयो’ सिंहले भने -२०६२/०६३ सालको लेखापरिक्षण गराउनुभयो । त्यसयताको भने लेखापरिक्षण भएको छैन् । सरकारले २०५२ सालमा बीमा संस्थानले गर्दै आएको निर्जीबन र जीबन बीमाको कारोबार अलग-अलग गर्ने निर्णय खड्काले १९ वर्षपछि कार्यान्वयन गराए ।

दुईदिन पछि सञ्चालक समितिको बैठकले खड्काको राजीनामाको स्वीकृत गर्ने र कर्मचारीमध्येका वरिष्ठलाई केही समयका लागि प्रशासकको जिम्मेवारी दिने अध्यक्ष सिंहले जानकारी दिए । संस्थानमा एक सय ७० जना स्थायी कर्मचारी छन् । २०२७ सालमा स्थापना भएको राष्ट्रिय बीमा संस्थान नेपालको पहिलो बीमा कम्पनी हो । तर, राजनीतिक हस्तक्षेप र कर्मचारीहरुको अनावश्यक दवावका कारण वित्तीयरुपमा टाट पल्टिने अवस्थामा छ । ‘वित्तीय अवस्था कस्तो छ भन्ने हामीलाई पनि थाहा छैन’ अध्यक्ष सिंहले भने ।

अख्यियारको निर्देशन पछि बोनस फिर्ता

संस्था घाटामा गएपनि कर्मचारीले बोसन खाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई वितरण गरिएको आठ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता गराउनु निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपश्चात पाँच करोड रुपैयाँ फिर्ता गरिसकिएको अध्यक्ष सिंहले बताए । ‘धमाधम फिर्ता गरिरहेका छांै’ उनले भने । अख्तियारले २०५२ सालयताको सम्पूर्ण विवरणसमेत माग गरेको छ । अख्तियारले बोन फिर्ता गराएपछि कर्मचारीहरु अझ रुष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment