Comments Add Comment

एमाले पदाधिकारीमा क-कसको सिधा टक्कर ?

२६ असार, काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको अध्यक्ष झलनाथ खनालको चट्टानी अडान र कार्यकर्ताको चाहनालाई तोड्दै अन्ततः नेकपा एमालेका नेताहरु अलग-अलग प्यानल बनाएर कडा प्रतिस्पर्धामा उत्रिएका छन् ।

अध्यक्षदेखि बैकल्पिक केन्द्रीय सदस्य हुँदै बिभिन्न आयोगका सदस्यसम्म अलग-अलग प्यानल र उम्मेदवार खडा भएका छन् । प्यानल बनाउनु एमालेको विधान र निर्वाचन आचार संहिता विपरित हुन्छ ।

एमालेको अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुबैले उम्मेदवारी दिएका छन् । नेपालको प्रस्तावक नितेषनन्दन मिश्र र समर्थकमा रामकुमार भट्टराई छन् । ओलीले कृष्णगोपाल श्रेष्ठ समर्थक र राजन भट्टराईलाई प्रस्तावक राखेर अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा नेपाल पक्षले दुई समावेशी उम्मेदवार उठाएको छ भने ओली पक्षले तीन समावेशी र दुई खुल्लामा उम्मेदवार बनाएको छ । खुल्लामा ओली पक्षबाट वामदेव गौतम र प्रदीप नेपाल उम्मेदवार बनेका छन् भने नेपाल पक्षबाट युवराज ज्ञवाली, राजेन्द्र पाण्डे र भीम रावल छन् । समावेशी उम्मेदवारमध्ये ओली पक्षबाट विद्या भण्डारी र नेपाल पक्षबाट अष्टलक्ष्मी शाक्यको टक्कर पर्ने भएको छ । त्यस्तै जनजाति उम्मेदवारमा ओली पक्षका किरण गुरुङ उम्मेदवार बनेका छन् । मधेशीबाट नेपाल पक्षले लालबाबु पण्डित र ओली पक्षले धर्मनाथप्रसाद साहलाई भिडाएका छन् ।

महासचिवमा ओली पक्षबाट इश्वर पोखरेल र नेपाल पक्षबाट सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरेल हाल पनि महासचिव छन् । पाण्डे भने अध्यक्ष झलनाथ खनालका विश्वासपात्र मानिन्छ ।

उपमहासचिवमा ओली पक्षका बिष्णु पौडेल र शंकर पोखरेलसँग नेपाल पक्षका घनश्याम भुषाल र रघुजी पन्त भिड्नेछन् । पौडेल र पोखरेल हाल सचिव छन् । एमालेमा विधान संशोधन गरेर उपमहासचिव पद श्रृजना गरिएको हो ।

पाँच सचिवमा पनि ओली पक्षले तीन जना समावेशी र दुई जना खुल्लातर्फका उम्मेदवार उठाएको छ । ओली पक्षबाट खुल्लामा प्रदीप ज्ञवाली र बिष्णु रिमाल छन् । जनजातिबाट पृथ्वीसुब्बा गुरुङ र केशवलाल श्रेष्ठ तथा मधेशीबाट रघुवीर महासेठ उम्मेदवार बनेका छन् । नेपाल पक्षले खुल्लाबाट गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य र बेदुराम भुषाललाई उठाएको छ भने जनजातिबाट परशुमेघी गुरुङ उम्मेदवार बनेका छन् ।

समावेशीको हिसाबले अेालीको प्यानल बढी सन्तुलित देखिएको छ । तर, धेरै हाल पदाधिकारीमा रहेका अनुहार ओलप् प्यनलबाटै उठेका छ्न । ओली प्यानलबाट एक महिला, दुई मधेशी, तीन जनजाति पदाधिकारी उम्मेदवार छन् ।

नेपाल पक्षबाट एक महिला सहित एक जनजाति र एक मधेशी उम्मेदवार छन् । अष्टलक्ष्मी शाक्यलाई जनजाति र महिला दुवैमा समावेश गर्दा दुई जनजाति उम्मदेवार नेपाल पक्षबाट भएका छन् ।

पदाधिकारीमा समावेशीतालाई ध्यान दिने भनिए पनि निश्चित कोटा नछुट्याएका कारण व्यक्तिको आवश्यकता हेरेर उम्मेदवार बनाइएको नेपाल पक्षका नेताहरुले बताएका छन् । केन्द्रीय सदस्यमा आरक्षण रहेकाले पदाधिकारीमा कोटा निश्चित नगरिएको तर, समावेशी नेतृत्व निर्माण गर्न खोजिएको उनले बताए ।

ओली पक्षले भने पूर्ण समावेशी नेतृत्व बनाउन कोटानै छुट्याएर आफूहरुले उम्मेवार बनाएको बताएको छ । ओलीको टिममा बढि समावेशीकरण गर्न पृथ्वीसुब्बा गुरुङले दबाब दिएका थिए ।

अनुशासन आयोगमा नेपाल पक्षले हालका अध्यक्ष अमृतकुमार बोहोरालाई नै उम्मेदवार बनाएको छ । ओली पक्षबाट केशव बडाल उठेेका छन् ।

केपी ओलीको प्यानल (सूची सहित)

माधव नेपालको प्यानल (सूचीसहित)

Uml election final list

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment