Comments Add Comment

एमालेका दुवै गुटले बिधानको धज्जी उडाए

२६ असार, काठमाडौं । एमालेको नवौं महाधिवेशनबाट नेतृत्व चयनका लागि बनाइने मतपत्रमा माधवकुमार नेपाल र केपी शर्मा ओलीको प्यानलनै राखिने भएको छ ।

बिधानमा प्यानल बनाएर उम्मेदवार बन्न नपाइने भनिए पनि नेपाल र ओली दुवै समूहले प्यानलकै आधारमा मतपत्र छाप्न निर्वाचन आयोगलाई दबाब दिएका छन् । उम्मेदवारी मनोनयन प्यानलअनुसार भएपछि निर्वाचन आयोगले एउटै मतपत्रमा दुबै प्यानलका उम्मेदवारको नाम छाप्ने भएको छ । अध्यक्षका दुवै उम्मेवारले मतपत्रमै प्यानलगत नामवाली प्रकाशित गर्न आग्रह गरेपछि निर्वाचन आयोगले सोही बमोजिम तयारी गरेको निर्वाचन आयोगका प्रमुख सोमनाथ प्यासीले जानकारी दिए ।

दुबैपक्षले प्यानल खडा गरेर एकमुष्ठ मनोनयन गराएपछि स्वतन्त्र उम्मेदवारी दिन खोजेकाहरु पछि हटेका छन् । आ-आफ्नो समूहमा टिकट नपाएकाहरुले स्वतन्त्र उम्मेदवारी नदिउन् भनेर प्यानलगत चुनाव लड्न खोजिएको स्रोतले जनाएको छ ।

तर आयोगले स्वतन्त्र उम्मेदवारको पनि मतपत्रमा अलग्गै नाम प्रकाशित गर्ने भएको छ । एउटै मतपत्रमा दुई वटा कोष्ठ तयार गरेर दुबै तर्फका उम्मेदवारको पद खुलाएर समानान्तर रुपमा नाम छाप्ने तयारी भइरहेको छ ।

निर्वाचन आयोगले मनोनयनको सबै प्रक्रिया पूरा गरेर बिहीबारै साँझसम्म उम्मेदवारको अन्तिम नामवाली प्रकाशित गर्ने तयारी गरेको छ । एमालेको निर्वाचन प्रक्रियालाई निष्पक्ष र तटष्थ बनाउन सरकारको निर्वाचन आयोगको टोली महाधिवेशनस्थलमा आउने भएको छ ।

दुबै गुटबीच विवाद बढेपछि सरकारी निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्न बोलाउने तयारी थियो । तर, निर्वाचन प्रक्रिया पार्टीकै निर्वाचन आयोगले अघि बढाएपछि सरकारी आयोगले अनुगमकको भूमिका खेल्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment