Comments Add Comment

क्षेत्रीबाहुन र जनजातिले जन्माएको सन्तानको पहिचान केहो ?

२७ असार, काठमाडाैँ । संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य आङकाजी शेर्पाको प्रश्न छ – ‘आर्य र आदिवासीवीच बिहे भएपछि जन्म हुने सन्तानको पहिचान के हो ?’ आफैंले उठाएको यो प्रश्नको जवाफ पनि आङकाजीले आफैं दिएका छन् ।ang kaji sherpa

उनी भन्छन्-‘अन्तरजातीय विवाहबाट जन्मेको सन्तानको पहिचान बुबा र आमाको पहिचानका आधारमा सहमतिले निर्धारण हुनेछ । बाबु वा आमा कसको पहिचान लिने वा दुबै पहिचान लिने भन्ने अधिकार स्वयं सन्तानमा सुरक्षित रहनेछ ।’

आदिवासी जनजाति नेता शेर्पाले हालै प्रकाशित गरेको ‘पहिचान र संघीयताबारे फैलाइएका भ्रमहरु’ विषयक हाते पुस्तिकामा अन्तरजातीय विवाहबारे यस्तो उल्लेख गरिएको छ । गोजीमा बोक्न मिल्ने १० रुपैयाँ मूल्य राखिएको सानो पस्तिकामा ५६ वटा प्रश्न र त्यसका उत्तरहरु उल्लेख गरिएका छन् ।

महिलालाई छट्टै राज्य दिनु पर्दैन

आङकाजीले ५१ नम्बरमा प्रश्न उठाएका छन्- ‘महिलाले राज्य माग्यो भने कहाँ दिने ?’ उनको जवाफ छ, ‘पितृसत्तात्मक राज्यसत्ताको उत्पीडनमा परेको नेपालका महिलाले राज्य मागेका छैनन् ।…. त्यसैले महिलाहरुलाई छुट्टै राज्य वा संघीय इकाइ दिइरहनुपर्दैन ।’

खसहरुको प्रदेश खप्तड र कर्णाली

खस जातिको राज्य कहाँ हो ? काजीले भनेका छन्- ‘नेपालमा खस पनि एक जाति (राष्ट्र) हो । पहिचानसहितको १४ प्रदेशमा खप्तड र कर्णाली प्रदेशलाई खसको पहिचानमा आधारित प्रदेश बनाउन सकिन्छ ।’ त्यसैगरी दलितले राज्य मागे भने कहाँ दिने भन्ने प्रश्नमा उनले गैर भौगोलिक प्रदेशबाट केन्द्रमा शासनको साझेदारी प्राप्त हुने र प्रदेश तथा स्थानीय तहमा दलितहरुलाई स्वशासनको अधिकार रहने बताएका छन् ।

विदेशी डलरबारे

पहिचान, संघीयता र धर्म निरपेक्षता विदेशी डलरले ल्याएको माग हो भन्ने आरोपको खण्डन गर्दै आङकाजीले भनेका छन्-‘पहिचान, संघीयता र धर्म निरपेक्षताका लागि आन्दोलन गर्न डलर आएको किमार्थ होइन ।

bio-ang-kaji

तर, आदिवासी जनजातिको आर्थिक तथा सामाजिक सशक्तीकरणको लागिमात्र बेलायत र युरोपियन युनियनले प्रदान गर्दै आएका आर्थिक सहयोग आदिवासी जनजाति आन्दोलन र नेपाल बन्द गरेको निहुँमा सम्पूर्ण सहयोग बन्द गरेका थिए ।’

आङकाजीले भनेका छन्- विदेशी शक्तिकेन्द्र, आइएनजीओले पहिचानविरोधी दल र नेतालाई करोडौं डलर दिएर अखण्ड सुदुर पश्चिमजस्ता जातीय द्वन्द्व बढाउने तथाकथित आन्दोलन गर्न लगाए ।

‘हालै पहिचानविरोधी नेपालको बुद्धिजीवीलाई काठमाडौंस्थित विदेशी दूतावासबाट ६ करोड २८ लाख प्राप्त भएको कुरा सबै सञ्चारमाध्यममा प्रकाशित भएको र संविधानसभामा प्रश्न उठाइएको थियो ।’

गोरु काटेर धर्म निरपेक्षता

एमाओवादी जनयुद्धका बेला माओवादीले गोरु काटेर धर्मनिरपेक्षता घोषणा गरेको भन्दै आङकाजीले पुस्तिकामा लेखेका छन्- ‘माओवादी १० वर्षे जनयुद्धकालमा नै पहिचानसहितको राज्य समिति बनाएर संघीयताको अभ्यास भएको हो ।

गाउँघरमा गोरु काटेर धर्म निरपेक्षता घोषणा भएको सबैलाई जगजाहेरै छ ।’

बाइसे-चौबीसे राज्य नफर्काउने

पुस्तिकाको अन्तिममा आङकाजीले पृथ्वीनारायण शाहका पालामा रहेका भुरेटाकुरे राज्य पुनःस्थापना गर्न संघीयता आएको होइन भनेका छन् ।

पृथ्वीनारायणबारे उनले लेखेका छन्- ‘पृथ्वीनारायण शाहले नेपाल विभिन्न जातिको फूलबारी हो भनेता पनि यथार्थमा एकल जातको फूलबारी बनाए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment