Comments Add Comment

एमालेमा ज्वाइँ-जेठान, सम्धी र दम्पत्ती उम्मेदवार धेरै

uml-9th-congress-main-gate

२७ असार, काठमाडौं । नेकपा एमालेका पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म एक दर्जनभन्दा बढी एकै परिवारका सदस्य उम्मेवार बनेका छन् । यस्तो पारिवारिक उम्मेद्वारी माधव नेपाल र केपी ओली दुबैतिर देखिएको छ । अध्यक्षका प्रत्यासी माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डे खुल्लातर्फ केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै स्वतः बरिष्ठ नेता पदमा निर्वाचित भइसकेका झलनाथ खनाल र नेपाल प्यानलका सचिवका उम्मेदवार भीम आचार्य ज्वाइँ-जेठान हुन् ।

नेपाल प्यानलका उपाध्यक्ष उम्मेदवार राजेन्द्र पाण्डे र महासचिवव उम्मेदवार सुरेन्द्र पाण्डे सहोदर दाजुभाइ हुन् । अनुशासन आयोगका अध्यक्ष उम्मेदवार अमृतकुमार बोहोरा र पार्टी उपाध्यक्ष उम्मेदवार अष्टलक्ष्मी शाक्य पति-पत्नी हुन् । ओली प्यानलका उपमहासचिव उम्मेदवार शंकर पोखरेल र महिलातर्फ केन्द्रीय सदस्य उम्मेदवार सुजिता शाक्य पति-पत्नी हुन् । त्यस्तै कृष्णगोपाल श्रेष्ठ आफू उम्मेदवार नबने पनि पत्नी बिना र सालो बिनोद श्रेष्ठ दुबैलाई ओली प्यानलबाट केन्द्रीय सदस्य उम्मेदवार बनाउन सफल भएका छन् ।

ओली प्यानलबाटै केन्द्रीय सदस्यका उम्मेदवार महेन्द्रबहादुर पाण्डे र बिन्दा पाण्डे सहोदर दाजुबहिनी हुन् । नेपाल पक्षका उपाध्यक्ष उम्मेवार युवराज ज्ञवाली र ओली पक्षका केन्द्रीय सदस्य उम्मेदवार लक्ष्मण ज्ञवाली पनि सहोदर दाजुभाइ हुन् । ज्ञवालीका अर्का भाइ रामकुमार ज्ञवाली पनि केन्द्रीय सदस्यका दावेदार थिए, तर उनको प्रतिनिधिमा मनोनयन नै नभएकाले रोकिए ।

त्यस्तै अोली पक्षका केन्द्रीय सदस्य उम्मेदवार रविन्द्र अधिकारी र राजन भट्टराई ज्वाइँ-जेठान हुन् । अधिकारी राजनका बहिनी-ज्वाइँ हुन् । संयोग नै मान्नुपर्छ एमालेको आन्तरिक राजनीतिमा यी ज्वाइँ जेठान पहिलोपटक एउटै गुटमा छन् । । नत्र यी दुई सधैं अलग गुटमा हुने गर्थे । ओली पक्षका केन्द्रीय सदस्य उम्मेदवार बलराम बास्कोटा र सावित्रा भुसाल पनि पति-पत्नी हुन् । बास्कोटा खुल्ला र भुसाल महिला कोटामा उम्मेदवार बनेका छन् ।

नेपाल प्यानलबाट गोविन्द कोइरालाले खुल्लातर्फबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनकी पत्नी गौरा प्रसाई महिलातर्फबाट केन्द्रीय सदस्यको चुनाव लड्दैछिन् । नेपाल प्यानलबाटै नरेश खरेल खुल्लातर्फबाट केन्द्रीय सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । उनकी पत्नी पवित्रा निरौला खरेल महिला तर्फबाट केन्द्रीय सदस्यकी उम्मेदवार भएकी छन् ।

एकाघरका नाता नभए पनि एमालेका केही नेताहरु एकै खलकका छन् । सिन्धुपाल्चोकका अरुण नेपाल र सरेश नेपाल एकै खलकका दाजुभाइ हुन् । अरुण नेपाल माधव प्यानलबाट र सरेश ओली प्यानलबाट केन्द्रीय सदस्यका उम्मेदवार हुन् । रामेछापका कैलाश ढुंगेल र माधव ढुंगेल पनि एकै खलकका दाजुभाइ हुन् । उनीहरु दुवैजना ओली प्यानलबाट केन्द्रीय सदस्यका उम्मेवार छन् ।

ओली प्यानलबाटै केन्द्रीय सदस्यमा उठेका केशव देवकोटा र मनोज देवकोटा पनि एकैखलकका काका भतिज हुन् भने सोही प्यानलकी केन्द्रीय सदस्य उम्मेदवार गोमा देवकोटा केशवकी भाउजू हुन् । ओली प्यानलकै केन्द्रीय सदस्यका उम्मेदवार भानुभक्त ढकाल र रामेश्वर फुँयाल पनि अलि टाढाबाट ज्वाइँ-जेठान नाता पर्छन् । त्यस्तै सक्रिय राजनीतिबाट पहिले नै छाडिसकेका मोदनाथ प्रश्रितका छोरा डा. बिजय पौडेल पनि नेपाल पक्षबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment