Comments Add Comment

बहुविवाह विरोधी ब्यानर एमाले महाधिवेशनस्थलबाटै हरायो

double-marriage

२७ असार, काठमाडौं । महिला हिंसा र बहुविवाहमा संलगन व्यक्तिलाई पार्टीका कुनै पनि कमिटीमा नराख्न माग गर्दै एमालेको महाधिवेशनस्थलमा टाँगिएको ब्यानर रातारात गायव पारिएको छ । उषाकिरण तिम्सिनालगायतका महिला प्रतिनिधिहरुको अगुवाइमा बन्दसत्र हल बाहिर टाँगिएको ब्यानर राति नै हराएको हो ।
पहिलोपटक महाधिवेशन प्रतिनिधि बनेका एमालेका युवा महिलाहरुले बहुविवाह गर्ने र महिला हिंसामा संलग्न रहेकाहरुलाई पार्टीका कुनै पनि कमिटीमा नराख्न अभियान चलाएका थिए । ‘तर रातारात हाम्रो ब्यानर गायब पारिएछ’ तिम्सिनाले अनलाइनखबरसँग भनिन् ‘दुईटी भाउजू राख्नेहरुले यस्तो गरेका हुन्’ ।

बहुविवाहवाला उम्मेद्वार

तिम्सिनाका अनुसार बहुविवाहमा संलग्न केही व्यक्तिहरु यसपटक पनि एमाले नेतृत्वका लागि चुनावी मैदानमा छन् । त्यसमा एकजना बहुविवाह गर्ने महिलासमेत रहेको स्रोतले जनाएको छ । महिला हिंसामा संलग्न दाङका दुई प्रतिनिधि उत्तरकुमार ओली र मानवहादुर रावतको महाधिवेशन प्रतिनिधि भने खारेज भएको छ । त्यस्तै पत्नीमार्फत काउैकर्ता ठगेको आरोप लागेका पूर्वमन्त्री जीतु गौतमको उम्मेदवारी रद्द भएको छ ।

महिला हिंसाको विषय एनजीओ आइएनजीओले मात्र उठाइरहेकाले राजनीतिक दलहरुबाटै यसबारे आफ्नो धारणा नबनाएसम्म केही परिणाम नआउने भएकाले आफूहरुले यो अभियान चलाउन खोजेको तिम्सिनाले बताइन् । ‘तर हाम्रो अभियानबाट डराएका केही दाइहरुको षडयन्त्रणमा ब्यानर फालिएछ’ उनले भनिन् ।
एमालेमा बहुविवाह गर्नेलाई पार्टीले अनुशासनको कारवाही गर्ने गरे पनि तयो कर्मकाण्डीमात्र हुने गरेको महिला प्रतिनिधिहरुको आरोप छ ।

‘कारवाही कर्मकाण्डी पाराको छ, केही समयपछि फेरि उसैलाई नेता मान्नुपर्छ’ एमाले महाधिवेशनकी सबैभन्दा कान्छी प्रतिनिधि सरिता श्रीषले भनिन् । अहिले उम्मेदवार भएकामध्ये चार/पाँचजना बहुविवाहका आरोपित रहेको स्रोतले जनाएको छ । उनीहरुको नाम भने महिला नेतृहरुले लिन मानेनन्-‘हामीले प्रवृत्तिको विरोध गरेका हौं, व्यक्तिको होइन,’ एक महिला प्रतिनिधिले भनिन्- ‘यसमा मन्त्री भैसकेका मान्छेसमेत छन् ।’

यो पनि पढ्नुस् :

एमालेमा ज्वाइँ-जेठान, सम्धी र दम्पत्ती उम्मेदवार धेरै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment