Comments Add Comment

नेपालमा दैनिक चार वटासम्म भूकम्प !

२८ असार, काठमाडौँ । बढ्दो विद्युत्भार कटौतीका कारण भूकम्प मापनसम्बन्धी उपकरण नियमितरुपमा सञ्चालन हुन कठिनाइ भएको छ । अतिजोखिम र संवेदनशील विनासकारी भूकम्प मापन गर्ने मुलुककै एकमात्र केन्द्रीय निकाय राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरमा विद्युत्भार कटौतीले भूकम्प मापनको काम प्रभावकारी बन्न नसकेको हो ।

विद्युत्भार कटौतीले विद्युतीय उपकरण २४ सैँ घण्टा चल्न सकेका छैनन् बिजुलीसँगै इन्टरनेटको पनि उत्तिकै समस्या छ । दूरसञ्चारको नेटवर्क कमजोर हुँदा टेलिफोनको समस्या भइरहेको छ । भूँइचालो आए अटोमेटिक सिस्टमबाट केन्द्रमा टेलिफोनमार्फत जानकारी हुन्छ । केन्द्रमा जनशक्तिको पनि अभाव छ, त्यहाँ हाल भूगर्भ र भूकम्प अध्ययन गरेका आठ जना मात्र कर्मचारी छन् ।

चौबिसै घण्टा सञ्चालन हुनुपर्ने उपकरणका लागि आवश्यक ऊर्जा तथा प्राविधिक जनशक्ति र स्रोत साधनको समेत अभाव रहेको छ ।भूकम्प मापन केन्द्रमा उपकरण पर्याप्त भएपनि त्सलाई सञ्चालन गर्ने आवश्यक बिजुली, इन्टरनेत तथा दक्ष पर्याप्त जनशक्तिको अभाव रहेको बताउँछन्, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख वरिष्ठ भूगर्भविद् सुधीर रजौरे । विदाको दिन र रातको समयमा घरबाटै कम्प्युटर प्रयोग -कनेक्सन) गरेर त्यसको प्रशोधन गरिन्छ । भूकम्प गएको आधा घण्टामा मात्र मापन प्रशोधन गरेर केन्द्रले जानकारी दिने गरेको छ । भूकम्पीय जोखिमको हिसावले नेपाल अति संवेदनशील क्षेत्रमा पर्छ । जनघनत्वका हिसावले काठमाडौँ सबैभन्दा जोखिम रहेको विज्ञहरू बताउँछन् ।

भूकम्पविद् रजौरेका अनुसार काठमाडौँमा अव्यवस्थितरुपमा निर्माण भइरहेका भौतिक संरचना र बढ्दो जनसङ्ख्याको चापका कारण भूकम्पीय जोखिम बढ्दै गएको छ । विश्वका सबैभन्दा बढी भूकम्प जाने देशमा जापान र इण्डोनेसिया पर्छन् । जापानमा हप्तामा एक दिन मानिसले थाहा पाउनेगरी भूकम्प आउने गरेको बताइन्छ । नेपालमा तीनदेखि चार महिनामा एक पटक मानिसले थाहा पाउने गरी भूकम्प जाने गरेको पाइन्छ ।

विज्ञका अनुसार नेपालमा दिनमा तीनदेखि चारवटा चार रेक्टर स्केलसम्मका भूकम्प औसतमा गइरहेका हुन्छन् । नेपालको उच्च हिमाली फेदीमूनि १० देखि २५ किमिको गहिराइमा भूकम्प जाने गर्दछ । पाँच रेक्टरभन्दामाथिको भूकम्पले क्षति पुर्‍याउने गर्छ ।नेपालमा २१ वटा भूकम्प संवेदन केन्द्र (सेस्मी स्टेसन) छन् । राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर र भूकम्प मापन केन्द्र सूर्खेतबाट सेस्मी स्टेसनमार्फत आएका सङ्केतको प्रशोधन गरी भूकम्प मापन गरिन्छ । काठमाडौँमा पश्चिम प्युठानदेखि पूर्वीभेगका १२ वटा स्टेसनबाट रेकर्ड हुन्छ । त्यस्तै पश्चिममा रहेका नौवटा स्टेसनबाट सूर्खेतमा रेकर्ड हुन्छ ।

भूकम्प मापनका २४ सैँ घण्टा उपकरण अटोमेटिक भूकम्पन रेकर्ड गरिरहेका हुन्छन् । चार रेक्टर स्केलभन्दा ठूला नेपाल तथा नेपाल नजिकमा गएमा यहाँ रहेका उपकरणले जिम्मेवार विशेषज्ञलाई फोन गरेर जानकारी दिन्छन् । यदि उक्त भूकम्प ४.५ रेक्टर स्केलभन्दामाथिको छ भने गृह मन्त्रालयलगायत अन्य सरोकार राख्ने निकाय तथा मिडियालाई फोनबाट जानकारी दिने गरिएको केन्द्रले जनाएको छ । भूकम्पको सूचना केन्द्रको वेभसाइट www.seismonepal.gov.np मा पनि राख्ने गरिएको छ ।

अहिलेसम्म सबै उपकरण विदेशी सहयोगमा आउने गरेको र सरकारले पनि आफ्नो आवश्यकताअनुसार यस्ता केन्द्र तथा उपकरणको विस्तार गर्न जरुरी भएको भूगर्भविद् रजौरेले बताए । सन् १९७८ मा स्थापना भएको भूकम्प मापन केन्द्रको स्थापना, सञ्चालन तथा मर्मतमा फ्रान्स सरकारको (एडिएसइ)ले निरन्तररुपमा आवश्यक सहयोग गर्दै आएको छ । भूकम्प उपकरणः भूकम्प संवेदन यन्त्रलाई सिस्मोमिटर भनिन्छ । यसलाई नेपालका विभिन्न स्थानमा रहेका २१ वटा भूकम्प संवेदनशील केन्द्रमा भूसतह (जमिन) मा राखिएको हुन्छ ।

भूकम्पको भविष्यवाणी गर्न हाल सम्भव नभएता पनि भूकम्प मापन केन्द्र तथा भूकम्पन संवेदन केन्द्रको निरन्तर सञ्चालनले हिमालय क्षेत्रको भूकम्पीय प्रक्रिया तथा भूकम्प जोखिम अनुमानको अध्ययनमा निकै उपयोगी मानिन्छ ।केन्द्रमा ३६ वर्षदेखि काम गर्दै आएका प्राविधिक उमेशप्रसाद गौतमले हरेक तीन/चार वर्षमा नयाँ प्रविधि र नयाँ उपकरण आउने गरेपनि त्यसअनुरुपको जनशक्ति र पूर्वाधार खडा हुन नसकेको बताए ।

भूकम्पविद् रमेश पाण्डेले दिनमा पटक-पटक भूकम्प जानेगरे पनि साढे चार रेक्टर स्केलको भूकम्पले मात्र जमिन हल्लाउने भएकाले मापन केन्द्रले त्यसको रेकर्ड राख्ने गरेको बताए । नेपालमा प्रयोग भइरहेका भूकम्प मापन प्रविधि उपकरण सार्क राष्ट्रमै सबैभन्दा उत्कृष्ठ मानिन्छ । यस्ता उपकरण भित्रिसक्दा पनि नेपालमा दक्ष प्राविधिक जनशक्ति र उपकरण सञ्चालनका लागि आवश्यक ऊर्जाको अभावले भूकम्प मापनको काम प्रभावकारी हुन सकेको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment