Comments Add Comment

अहिलेसम्म तीस प्रतिशतमात्र रोपाइँ

२८ असार, काठमाडौँ । असार महिना सकिनै लाग्दा अझै पनि काठमाडौँ दक्षिण भेगमा ३० प्रतिशतभन्दा बढी रोपाइँ हुन सकेको छैन ।विगतका वर्षमा असारको अन्तिम सातासम्म ८० प्रतिशतसम्म रोपाइँ गरिसक्ने कृषक पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसक्दा समस्यामा परेका छन् ।

धान रोपाइँका लागि यस क्षेत्रमा लगभग ५० प्रतिशत खेतमा आकाशे पानीको भरपर्नुपर्ने र आकाशे पानीको भरपर्नु नपर्ने स्थानमा पनि पर्याप्त पानी नपरेका कारण पानीका मूलहरु बढ्न सकेका छैनन् । दक्षिणकाली कृषि सेवा केन्द्रका प्रमुख रघुनाथ खड्काका अनुसार पानीको अभावले गर्दा अहिलेसम्म पनि अधिकांश जग्गा बाँझो रहेकाले कृषकलाई चिन्तित बनाएको छ । यस क्षेत्रमा हालसम्म जम्मा ३० प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको जानकारी गराउँदै उहाँले बाँकी रोपाइँका लागि आकाशे पानीकै प्रतिक्षामा कृषक रहेको बताए ।

असारको पहिलो सातासम्म रोपाइँ गर्ने सोचमा रहेका यस क्षेत्रका अधिकांश कृषक धानको बीउ छिप्पिँदै गएका कारण थप समस्यामा परेको स्थानीय कृषक श्याम बस्नेत बताउँछन् । अझै केही दिनभित्रमा रोपाइँ गर्न नपाउने हो भने यस वर्ष धेरै खेत बाँझो नै राख्न कृषक बाध्य बन्ने उनको भनाइ छ ।

पानीकै अभावमा काठमाडौँका अधिकांश भागमा रोपाइँ प्रभावित भएको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत टीकाकुमारी थापाले बताए । थापाका अनुसार काठमाडौँमा सम्पूर्ण स्थानको रोपाइँको स्थलगत तथ्याङ्कअनुसार हालसम्म ५० प्रतिशत खेतमा रोपाइँ सकिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment